यस वर्षको बुसान इन्टरनेशनलफिल्म फेस्टिभलमा अर्को नेपाली फिल्म पनि छनोट भएको छ । राजेशप्रसाद खत्री लिखित तथा निर्देशित सर्ट फिल्म ‘जुलुङ्गो (अ स्केयरक्रो)’ बुसानको ‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिशन’ अन्तर्गत छनोट भएको हो ।
बुसानले चारदिन अघि सार्वजनिक गरेको छनोट सूचीमा मुख्य प्रतिस्पर्धामा सुजित बिडारीको नेपाली फिचर ‘ऐना झ्यालको पुतली’सँगै एसियन सर्टमा प्रतिस्पर्धामा ‘जुलुङ्गो’ छनोट भएको हो ।
एसियाको प्रतिष्ठित कोरियाली फिल्म फेस्टिभल बुसानमा छनोटसँगै निर्माण टोलीले बिहिबार ‘जुलुङ्गो’को पोस्टर सार्वजनिक गरेको छ ।
यस सेक्सनमा एसियाबाट प्रतिस्पर्धाका लागि १० फिल्म छनोट हुँदा जुलुङ्गो पनि परेको हो । नेपाल, फ्रान्स र हङकङको संयुक्त निर्माणमा बनेको यस फिल्मका निर्माताहरु मीनबहादुर भाम (नेपाल), क्याथरिन डसार्ट (फ्रान्स) र शुक फोङ चोक (हङकङक) हुन् ।
यस सेक्सनमा नेपालसहित इरान, भियतनाम, मलेसिया, फिलिपिन्स, भारत, मंगोलिया, कम्बोडिया, बंगलादेशको फिल्महरु छानिएका छन् । छानिएका अधिकांश फिल्महरु अन्तर्राष्ट्रिय सहकार्यमा निर्माण भएका छन् । यस सेक्सनको विजेताले ‘सोन्जि अवार्ड’का साथै १० हजार अमेरिकी डलर (करिब ११ लाख ७० हजार) पाउनेछ ।
'जुलुङ्गो'को कथावस्तु
मुगुको परिवेशमा एक बालिकाले आफ्नो पढ्ने रहरलाई आफैभित्र राखेर घरायसी काममा सिमित राख्नुपर्ने बाध्यता नै जुलुङ्गोको कथावस्तु हो । पश्चिममा ‘भ्याउना’ भनेर भनिने जुलुङ्गोको अर्थ बाली–नाली रक्षा गर्न राखिने मान्छे आकृतिको बुख्याँचा भन्ने हुन्छ ।
बुख्याँचा बनाउने जिम्मा पाएपछि आमालाई सहयोग गर्नुपर्ने कारणले स्कुल जानबाट बञ्चित भएकी नानीको कथाहो जुलुङ्गो । ‘बालदिवसको विशेष कार्यक्रमका लागि नृत्य प्रशिक्षण लिँदालिँदै कक्षाकोठाबाटै आमाले हात समाएर नानीलाई घर फर्काएपछि उसको पढ्ने सपना निमोठिन्छ । त्यसपछि एकातिर बालदिवसको चर्को नारा घन्किन्छ भने आर्कोतिर नानी आफ्नो परिवारको लागि खेतमा पसिना बगाउन बाध्य हुन्छे’, निर्देशकले राजेशले बताए ।
मुगुको दुर्गम गाउँका शिक्षक समेत रहेका निर्देशक राजेशप्रसाद खत्री आफ्नै वरिपरीका दुःख साट्न फिल्म निर्माणको हुटहुटी रहेको उनले बताए । उनले भने, ‘विद्यार्थीसँग मेरो गहिरो आत्मियताका कारण उनीहरुका व्यक्तिगत अनुभव र मेरो अवलोकनका उपज हुन्, मैले प्रस्तुत गर्ने कथा ।’
उनको यसअघिको फिल्म ‘जालगेडी’ पनिमुगुकै परिवेशमा बनेको थियो । जसले थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्ड पाएको थियो ।
सिडिपी, आरु प्रोडक्सन, अस्लेसा इन्टरटेमेन्ट, ग्रिन एज फिल्मस् प्रोडक्सनसँगको सहकार्यमा शून्य फिल्मस्ले निर्माण गरेको फिल्मको सिनेमाटोग्राफी शिशिर बिसांखेले गरेका हुन् । त्यस्तै असिम खनालको सहायक निर्देशन रहेको जुलुङ्गोको किरण श्रेष्ठकोे सम्पादन, किशोर आचार्यको साउण्ड डिजाइन रहेको छ ।
फिल्मा मुगुकै स्थानीय कविता बुढा, राधिका मल्ल, तारादेवी मल्ल, कविराज भाम लगायतको अभिनय रहेको छ ।
रहेको छ ।
फिल्मको निर्देशकीयमा राजेशले भनेका छन–
म चलचित्रकर्मीका अलावा सरकारी शिक्षक हुँ । मुगु जिल्लाको अतिदुर्गम गाँउको एक प्रथामिक विद्यालयमा अध्यापन गर्दछु । मेरा अधिकांश दिनहरु विद्यालय, विद्यार्थी र गाँउलेहरुसँग बित्छन् । बाध्यात्मक परिस्थितिका कारण म विद्यालयको काँडेतार भन्दा बाहिर उम्केर कथा खोज्न सम्भव नै छैन तसर्थः चलचित्र निर्माणको हुटहुटी मेटाउन म काँडेतारको परिधिभित्र सम्भावना खोज्दछु ।
विद्यार्थीसँग मेरो गहिरो आत्मियता निर्माण भइरहेको छ । ती विद्यालयका बालबालिकाका व्यातिmगत अनुभव र मेरो अवलोकनका उपज हुन मैले प्रस्तुत गर्ने कथा । ‘जुलुङ्गो’ भन्दा अघि निर्माण गरेको लघु चलचित्र ‘जालगेडी’ र अब गर्न लागिरहेको फिचर चलचित्र श्यामश्वेत तस्वीर पनि विद्यार्थी र विद्यालयकै कथासँग सम्बन्धित छन् ।
हिजो विद्यालय किन नआएको ?
आमाले आलु रोप्न जाँउ भनिन् । गाइलाई घाँस काट्दा काट्दै ढिलो भयो । पाहुन आएर खाना पकाउँदै हैरान भो । बाबु समात्नु थियो आदिआदि ।
यी छात्रका होइनन् बिचरी छात्राहरुका आवाज हुन् । यस्तै यस्तै आवाजको तरंग हो जुलुङ्गो । संसार विकासको दु्रतगति र आधुनिक चिन्तनमा अघि बढ्दै गर्दा मैले देख्ने समाजकी महिला÷छात्राहरुको अवस्था किन दयनीय त ? यो प्रश्नको खोज हो जुलुङ्गो ।
घामपानी, असिनाबर्षा, चिसोतातो, हर्षउल्लास, शोकचिन्ता केहीले पनि फरक नपारी मौन आफ्नो कर्तव्यमाथि सदा निष्ठावान बुख्याँचा र मैले देख्ने समाजकी महिलाहरुको प्रतिविम्व चित्रणको प्रयास हो यो कथा ।
यसले पहाडमा भएका जीवनका कठिनाइहरू र साथसाथै, बाँच्नको लागि उनीहरूको संघर्षमा हिमाली समुदायहरूको दुविधा पनि उजागर गर्ने प्रयास गर्दछ । यो फिल्म ग्रामीण गाउँमा एक केटीको सपना, भावना, विचार र बलिदानको बारेमा छ ।