नेपाली संगीतप्रेमीको मनमुटुमा बसेका संगीतकार हुन्, राजु सिंह । नेपाली संगीतको उन्नयन र प्रवद्र्धनमा उनको योगदान अविस्मरणीय छ । सँगै, उनको जीवन भोगाइ र संगीत–संघर्ष झनै प्रेरणादायी छ ।
सबैका प्रिय
राजु पुतलीसडकमा जन्मे, हुर्किए । छरछिमेक उनको पढाइ र स्वभावको चर्चा गर्थे । उनीहरू राजुबाट निकै प्रभावित थिए, भन्थे, ‘छोरो हुनु त राजु जस्तो !’ राजु पढाइमा पनि निकै अब्बल थिए । हरेक कक्षामा प्रथम कि दोस्रो भइहाल्थे ।
राजुको सांगीतिक यात्रा सात वर्षको उमेरदेखि सुरु भयो । उनका गुरु थिए बुबा भगत सिंह । उनी वरिष्ठ वाद्यवादक थिए । राजुलाई बिहान चारै बजे उठाइन्थ्यो । त्यतिबेला उनले भ्वाइलिन सिके । भगतले राजुलाई संगीत सिकाउन कहिल्यै सम्झौता गरेनन् । बुबाको नियम कडा थियो । उनले अनुशासन पालना गर्नैपर्थ्याे । यसेकारण राजु बुबासँग खुब रिसाउँथे । उनी सोच्थे– कस्तो जंगबहादुर जस्तो ।
भगत पुस–माघमा राजुको हातलाई अझै चिसो बनाएर भ्वाइलिन प्राक्टिस गराउँथे । उनी भन्थे, ‘जति चिसो हातले भ्वाइलिन बजायो, उति राम्रो हुन्छ ।’
चकलेटले तान्यो
राजु टोलमा सबैको प्रिय हुनको कारण थियो, भ्वाइलिन बजाउन जान्नु । उनले भानुभक्त मेमोरियल र शहीद शुक्रमा पढे । उनी संगीत कौशल र पढामा राम्रो भएकाले विद्यालयमा पनि सबैका प्रिय बने । उनी गीत पनि निकै राम्रोसँग गाउँथे ।
शुक्रबार हुने कार्यक्रममा उनी नै गीत गाउँथे, बाजा बजाउँथे । उनी ती दिन सम्झँदै भन्छन्, ‘गीत गाइदिँदा प्रशस्तै चकलेट पाइन्थ्यो । चकलेटकै लोभमा गीत गाउँथें ।’
परिवार चाहन्थ्यो, राजुले संगीत सिकोस् । तर राजुलाई संगीतकार बन्न दबाब दिइएको थिएन । संगीत सिक्दैमा ‘परफर्म’ गर्नु नै पर्छ भन्ने सोच न परिवारको थियो न राजुको ।
जर्मन संगीतिज्ञ प्रभावित
सानैदेखि संगतले होला, उनलाई संगीत क्षेत्रबाट टाढा हुन मन लागेन । उनी सांगीतिक कार्यक्रममा सहभागी भइरहन्थे । एकपटक उनी बागबजारमा फ्रेन्च सांस्कृतिक संस्थाले गर्ने कार्यक्रम सहभागी भएका थिए । जर्मनका संगीतज्ञ हेब्रोन उनको वाद्य कौशलबाट प्रभावित भए । जुन सांस्कृतिक कार्यक्रम राजुका लागि अवसर भन्यो ।
हेब्रोनकै सहयोगमा राजुले लन्डनको त्रिनिट कलेजमा छात्रवृत्तिमा संगीत पढ्न पाए । यसपछि उनले लन्डनमा चार वर्ष संगीत अध्ययन गरे । जहाँ उनले संगीत र भ्वाइलिनमा ८ लेभलसम्मको अध्ययन पूरा गरे । लन्डनबाट नेपाल फर्केपछि उनले अर्थशास्त्रमा स्नातकोत्तर पूरा गरे ।
भ्वाइलिन वादकदेखि संगीतकारसम्म
नेपालमा जितेन्द्र जोशी, शकुन्तला प्रधान, डा. बेनी जंगमलगायत शास्त्रीय गायक गायिकासँग संगीत सिके । २०४७ पौष २८ गते । रेडियो नेपालमा राजुले संगीत गरेको गीत रेकर्ड भयो । गीत ज्ञानेन्द्र गद्घालको थियो । राजुलाई गीतको बोल अझै याद छ, भन्छन्, ‘कहीँ कतै देखें जस्तो’ । त्यतिबेला वरिष्ठ कलाकारले उनलाई राम्रो संगीतकारको उपमा दिए, जुन उनी अझै सम्झन्छन् ।
त्यतिबेला ब्यान्ड बनाउने चलन थियो । राजु सिंह पनि ‘प्रतिबिम्ब’ ब्यान्डमा सहभागी भए । राजु सम्मिलित ब्यान्डले चार वटा एल्बम बजारमा ल्यायो । प्रतिबिम्बले ‘रिमेक’ गरेको ‘कहाँ तिम्रो मायालुले छाडिगए’ बोलको गीत हिट भयो । यसपछि उनी ब्यान्डबाट ५ तारे होटलमा ज्याज म्युजिसियनका रूपमा वाद्यवादन बजाउँथे ।
ब्यान्डबाट सोलो संगीतकारका रूपमा उनको युटर्न भयो, यसमा गायक आनन्द कार्कीको हात छ । एभरेस्ट होटलमा आयोजित कार्यक्रममा कार्कीले उनलाई भने, ‘ब्यान्डमा बस्यो भने नाम पनि आउँदैन, तिमी जस्तो राम्रो संगीतकारले ब्यान्डबाट बाहिर आउनुपर्छ ।’
उनी कार्कीको सल्लाहबाट प्रभावित भए । उनले ब्यान्डबाट बिदा हुने निर्णय गरे । यसपछि उनी सोलो संगीतकारका रूपमा अघि बढे ।
कार्कीले राजुलाई संगीत भर्ने अवसर दिए । राजुले कार्कीको ‘फेरि तिम्रो याद आयो’ एल्बमका सबै गीतमा संगीत भर्ने मौका पाए । यसपछि उनी औपचारिक रूपमा संगीतकार भए ।
राजुले चर्चित गायक गायिकाका गीतमा संगीत दिएका छन् । उनले गुलाम अली, आशा भोषले, योगेश वैद्य, दीप श्रेष्ठका गीतमा संगीत दिएका छन् । नवीन के भट्टराई, कर्णदास, जगदीश समाल, सुगम पोखरेल, दीपेश किशोर भट्टराई, दीपक बज्राचार्य, रामकृष्ण ढकाललगायतका गीतमा राजुकै संगीत रहेको छ ।
- पुराना गीतसंगीत संरक्षण गर्नुपर्ने बेला आएको उनको ठम्याइ छ । उनी नयाँ पुस्ताले पुराना स्रष्टालाई नचिन्ने अवस्था आउनु सांगीतिक क्षेत्रको विडम्बना ठान्छन् ।
दिनेश अधिकारीको ‘लिपि एल्बम’मा संगीतकार अम्बर गुरुङ, गोपाल योञ्जन, रनजीत गजमेर र राजुको संगीत रहेका गीत छन् ।
उनी आफूलाई ‘लक्की’ संगीतकार ठान्छन् । राजुका ३५औं एल्बम बजारमा आइसकेको छ । ३० वर्षको सांगीतिक यात्रामा उनले १ हजार १ सय ४३ वटा गीतमा दिएका छन् । उनी आफूले संगीत भरेका गीतको नोटेसन संकलन गरेर राखेका छन् ।
‘उमेर बढ्दै जाँदा संगीत जवान हुँदै जान्छ’
राजु उमेर र संगीतलाई तुलना गर्छन् । उनको मान्यता छ– जति उमेर बढ्दै जान्छ, संगीत त्यति नै जवान हुनुपर्छ । उनी समकालीन साथीको प्रगतिमा गर्व गर्छन् ।
उनी पछिल्लो सांगीतिक बजारका बारेमा टिप्पणी गर्दै भन्छन्, ‘अहिलेका गीत संगीतमा मनोरञ्जनलाई बढी फोकस गरिएको छ । बाँच्ने र नाच्ने गीतहरु हुनुपर्छ । स्रष्टाहरूले यस्ता गीत बनाउन छाडेका छन् । स्रष्टा ट्रेन्डअनुसार चल्न थालेका छन् ।’
उनी गीत संगीतमा सिर्जनाभन्दा एडिटर हाबी भएको ठान्छन् । उनी भन्छन्, ‘कतिपयलाई प्रविधिले संगीतकार बनायो, कतिपयलाई लक्ष्मीले ।’
सांगीतिक क्षेत्र कन्सर्ट, महोत्सव, भिअर्स र युट्युबमा बढी फोकस भएको छ । उनी भन्छन्, ‘यसले तत्काल सुख दिए पनि राम्रो सिर्जना बन्छ भन्ने लाग्दैन ।’
- उनको मान्यता छ– जति उमेर बढ्दै जान्छ, संगीत त्यति नै जवान हुनुपर्छ । उनी प्रतिस्पर्धीलाई आशीर्वाद दिन्छन्, ‘मभन्दा राम्रो हुनू ।’
कुनै बेला रेडियो नेपालमा गीत, स्वर र संगीतको परीक्षा पास गर्नुपथ्र्याे । जुन सेन्सर सांगीतिक क्षेत्रमा आवश्यक ठान्छन् उनी । संगीतकार र गीतकारलाई दिनुपर्ने पैसा बचाउन गीत, संगीत आफैँले गर्न थालिएको छ । ‘यो प्रवृत्तिबाट राम्रो सिर्जना नआउन सक्छ । जो जेमा परफेक्ट छ, उसले त्यही काम गर्नुपर्छ,’ राजु भन्छन् ।
अक्रेस्टा स्थापना
उनी नेपालमै अन्तर्राष्ट्रिय स्तरको अक्रेस्टा स्थापना गर्न चाहन्छन् । जसका लागि उनी योजना बनाउँदै छन् । उनी भ्वाइलिन वादकका रूपमा एक कार्यक्रममा प्रस्तुत हुँदै छन्, जसको उनी योजना बनाउँदै छन् ।
राजु भन्छन्, ‘राज्यले सबै विधाका संगीतलाई संरक्षण गर्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयमा छात्रवृत्तिमा पढ्ने व्यवस्था मिलाइदिनुपर्छ ।’
पुराना गीतसंगीत संरक्षण गर्नुपर्ने बेला आएको उनको ठम्याइ छ । उनी नयाँ पुस्ताले पुराना स्रष्टालाई नचिन्ने अवस्था आउनु सांगीतिक क्षेत्रको विडम्बना ठान्छन् । उनी देशको विकास संगीतसँग जोडिएको तर्क गर्छन् । उनी भन्छन्, ‘देशको विकास कति भएको छ भन्ने त्यहाँको संगीतले देखाउँछ ।’
राजु अहिले रचनाकार वसन्त वित्यासी थापासँग सहकार्य गरेर एल्बम निकाल्दै छन् । उनीहरूबिच सहकार्य भएको २५ वर्ष भयो । एल्बमको नाम ‘तिमी मेरो साथी’ रहेको छ, जसमा सामाजिक चेतनाका विषय समेटिएको छ । यतिबेला राजु प्रविधि र ट्रेन्डअनुसार अपडेट हुँदै संगीतमा नौलो प्रयास गर्दै छन् ।
प्रसवः पीडा र खुशी स्तम्भका सामाग्रीहरु पनि पढ्नुहोस्
‘डाक्टर ! पेटमा त अर्को पनि बच्चा छ कि क्या हो ?’- कलाकार सरिता लामिछाने
‘बच्चा सम्झेर कति रात झिमिक्क गरिनँ’- खेलाडी आयुशा शाक्य
चौध घण्टा बाँचेको छोरो- नेत्री हिसिला यमी
‘फिल्म खेल्न गर्भपतन गराएँ’- कलाकार करिश्मा मानन्धर
‘सबैले भन्थे तिम्रो बच्चा हुँदैन, बच्चा जन्मेपछि ७ दिन छुन पाइन’-कलाकार लुनिभा तुलाधार