२०६४ साल । असारको एक मध्यान्ह । श्रीमान् ऋषि लामिछाने र उहाँको साथीसहित कपनमा जग्गा हेर्न गएकी थिएँ । जग्गा हेरेर फर्किने बेलामा एक्कासि कालो भएर आयो । रिंगटा लाग्यो । बेहोस भएर ढलेछु । बेहोस हुनुअघि लागेको थियो– अब म मर्ने भएँ, पानी पिउन पाए बाँच्थे हुँला ।
कपन अहिले जस्तो भरिभराउ थिएन । नजिकै पानी पनि पाइएनछ र ऋषिजी धेरै आत्तिनुभएछ । केही छिनमा मेराे होस आयो । म होसमा आउँदा उहाँ कालोनीलो हुनुभएको थियो । पसिनाले लछप्पै भिज्नुभएको थियो । होसमा आएपछि मलाई पनि के भएको होला भन्ने एकखालको तनाव भयो ।
- ३ दिनमा त म चिटिक्क भएँ, तर पेट घटेको थिएन । पेटमा अझै के चलेझैं लाग्थ्यो । डाक्टरलाई भने, ‘डाक्टर मेरो पेटमा त अझै के चल्दै छ त ! अर्को पनि बच्चा छजस्तो छ ।
हामी चेकअपका लागि डा. ज्योति अग्रवालकहाँ गयौं । चेकअपपछि थाहा भयो– म गर्भवती भएकी रहेछु । त्यो बेलाको खुसी शब्दमा वर्णन गर्न सक्ने खालको हुन्न रहेछ । त्यति बेला हाम्रो विवाह भएको ११ वर्ष भइसकेको थियो । यो ११ वर्षमा कम्तीमा पनि ११ हजार पटक सुनियो होला– बच्चा कहिले जन्माउने भन्ने प्रश्न । यो प्रश्नले कहिलेकाहीँ हामी दुवैलाई बिथोल्थ्यो– हामी किन बच्चा जन्माइरहेका छैनौँ ! तर, हामी दुवैको एउटै सपना थियो, ‘बच्चा जन्मनुअघि आफ्नै घर होस् । बच्चाले खेल्ने आँगन होस् ।’ त्यसैले पनि सायद यस्ता प्रश्नको हामी बेपर्बाह सामना गर्दै आएका थियौं ।
०००
११ वर्षको दौरानमा हामीले डेरा छोडेर आफ्नै घरमा बस्न सुरु गरिसकेका थियौं । अबचाहिँ बच्चा जन्माउनु पर्छ है भन्ने भयो । ऋषि र मैले सल्लाह गर्यौं । ‘बेबी प्लान’ गर्याैँ । प्रेगनेन्ट भएको पक्का भयो । सबै ‘केस हिस्ट्री’ बुझेपछि डा. ज्योतिले ‘बच्चा पाउने कि फाल्ने’ भनेर प्रश्न गर्नुभयो । मैले ‘बच्चा जन्माउने प्लान हो’ भनेँ । त्यो क्षण कहिल्यै बिर्सन्न जीवनमा ।
त्यतिबेला आफूलाई के मीठो लाग्छ भन्ने भन्दा पनि बच्चालाई कुन खानाले असर गर्दैन भन्नेमा ध्यान जाने रहेछ । त्यतिबेला हामी २ जना त थियौं । एकले अर्काको सकेको केयर गर्यौं । ४५ दिनमा डाक्टरले बच्चाको ‘हार्टबिट’ सुनाउनुभयो । हामी दुवै जना रोएछौं । त्यो धड्कन सम्झँदा अहिले पनि मन ढक्क हुन्छ ।
उत्साहित थिएँ । समयअनुसार पेट बढ्दै गयो । तर, गर्भवती छु भनेर केयर गरेर बस्ने समय भएन । ‘ब्याक टु ब्याक’ सुटिङ चलिरहेको थियो । ‘परिचय’ सकिने ‘फेज’मा थियो । नेपाल टेलिभिजनमा ‘पर्दा’ भन्ने कार्यक्रम चलाउँथेँ । ‘पर्दा’को रिर्पोटिङदेखि फाइनलसम्म सहभागी हुन्थेँ । त्यतिबेला पर्दाको छुट्टै ‘चार्म’ थियो । २०६५ साल वैशाख १३ गते ‘डेलिभरी डेट’ पाएँ । ‘स्टक’मा कार्यक्रम राख्ने भनेर थुप्रै कार्यक्रम खिचियो । म सुत्केरी भएको भोलिपल्ट नेपाल टेलिभिजनबाट ‘पर्दा’ कार्यक्रम प्रसारण भयो । म हस्पिटलमा थिएँ, हेर्न पाइनँ ।
गर्भवती भएको समयका अनौठा–अनौठा अनुभव थुप्रै छन् । पेट बढ्दा नै अनौठो लाग्यो । बच्चा चल्न थालेपछि झन् अनौठो लाग्यो । कहिलेकाहीँ बच्चा चलेन भने अत्यास लाग्थ्यो । आफ्नाहरूले गर्ने माया पनि बेग्लै हुने रहेछ । त्यो बेला धेरैसँगको इमोसन गाँसिएर आउने रहेछ । तर, यो बीचमा कुनै पनि खालको जटिलता देखिएन । सामन्य नै रह्यो, चेकअपमा पनि सबै सामान्य देखियो । त्यसैले ‘नर्मल डेलिभरी’को तयारीमा थिएँ ।
नौ महिना सुरु भएको थियो । छिमेकमा हुनुहुन्थ्यो दुर्गानाथ शर्मा । उहाँले एक बिहान खाना खान बोलाउनुभयो । हामी गयौं । त्यहाँको वातावरण अर्कै थियो । मलाई मनपर्ने थुप्रै खानेकुरा बनाइएको थियो । मैले दुर्गानाथ अंकललाई सोधेँ, ‘यो के हो’ ? उहाँले ‘बेबी सावर’ भन्नुभयो । त्यतिबेला मलाई ‘बेबी सावर’ भनेको के हो नै थाहा थिएन । अंकलको त्यो माया देखेर म नराम्रोसँग भक्कानिएँ । त्यो भावनात्मक क्षण मेरो जिन्दगीभरि यादगार बनेर रहेको छ ।
०००
वैशाख १३ गतेको ‘डेट’ थियो । चैतको अन्तिमतिर बहिनी र उसका नानीहरू आएका थिए ।
वैशाख ४ गते मलाई बेस्मारी पेट दुख्यो । बहिनीसँग सेयर गरेँ, ‘मलाई त लेबर पेन सुरु भयो जस्तो छ कान्छी ।’ बहिनीले खिसी गरेर भनी, ‘छिसिक्क पेट दुख्नेबित्तिकै बच्चा जन्मने भए जसले जति पनि जन्माउँथे ।' बहिनीले नानी हुर्काइसकेकी थिई । अनुभवीले भनी, होला भन्ने भयो । भोलिपल्ट वैशाख ५ गते मेरो अन्तिम चेकअप थियो । पेट दुख्न छोडेको थिएन तर त्यही दिन बहिनीलाई घर नपठाई नहुने थियो ।
- राति पौने १२ देखि १२ बजे बिचमा मेरो पेटको बच्चा ढुङ्गाजस्तो बन्दियो । म आत्तिएँ । डाक्टरलाई भनेँ– मेरो बच्चा चलेन ।
म ठीकै छु, जँचाएर आएपछि बहिनीलाई पठाउँछु भन्ने भयो । हस्पिटल गयौं । चेकअपपछि डा. ज्योति अग्रवालले आफ्नै शैलीमा गाली गर्दै भन्नु भयो, ‘यस्तो केयरलेस पनि गर्ने हो ? लेबर पेन सुरु भइसकेको छ तिमीलाई । अब फटाफट तयारी गरेर हस्पिटल भर्ना हुने ।’
अहिलेसम्म नलागेको डर एक्कासि लाग्यो । ऋषिजीको अनुहारमा हेरेको, उहाँ त बरबर आँसु झारेर रुनुभयो । म पनि सँगै रोएँ । हामी दुवै केही नबोली घरमा आयौं ।
बहिनीका अगाडि ठिकठाक रहेको अभिनय गर्नु थियो । दुखाइले सहने ‘लेभल क्रस’ गरिसकेको थियो । त्योबेला अनुहार पनि फरक भएथ्यो होला, बहिनीले ‘केही भयो ?’ भनेर सोधिरहन्थी । सही कुराभन्दा ऊ घर नजाली भन्ने भयले केही होइन भनेँ । ४ बजे गाडी चढ्ने बहिनीलाई २ बज्दा–नबज्दै घरबाट बिदा गरेँ । गेटबाट उसले पुलुक्क फर्केर हेरी । उसका आँखाभरि आँसु थियो । मैले हेर्न सकिनँ, अर्कोतिर फर्किएँ ।
- नर्भिकमा परीक्षणको समय लामो चल्यो । डाक्टरहरूको चेहरा हेरेरै म ‘क्रिटिकल’ अवस्थामा छु भन्ने अनुभूति भयो ।
बहिनी घरबाट निस्किएपछि हामीले अस्पताल जाने तयारी सुरु गर्यौं । सामान प्याक गर्ने क्रममा मैले मेरो एउटा टिसर्ट र फ्रक हालेकी थिएँ । अस्पतालमै भए पनि गाजल त लाउनुपर्छ है भनेर ब्यागमा हालेँ । म कति केटाकेटी रहेछु त्यतिबेला भनेर अहिले अचम्म लाग्छ ।
हस्पिटल गयौँ, दुखाइ एकदम धेरै बढ्यो । बेथा लाग्ने औषधि चलाइयो । तर, नानी जन्मने कुनै सुर थिएन । राति पौने १२ देखि १२ बजे बिचमा मेरो पेटको बच्चा ढुङ्गाजस्तो बन्दियो । म आत्तिएँ । डाक्टरलाई भनेँ– मेरो बच्चा चलेन । मलाई एकदमै धेरै गाह्रो भयो । अब के गर्ने ? ७ घण्टा लामो व्यथापछि मेरो पेट ढुङगा जस्तो भएको थियो । डा. ज्योतिले यस्तो केस आफूले जीवनमा पहिले कहिल्यै ‘ह्यान्डल’ नगरेको बताउनुभयो । मन चिसो भयो । अब के हुन्छ होला भन्ने भयो ।
‘नर्मल डेलिभरी’को तयारीमा थिएँ । अब अप्रेसन गर्नुपर्ने भयो । त्यतिबेलाको सबै भन्दा राम्रो हस्पिटल भनेर हामी हिमाल हस्पिटल गएका थियौँ । साँझ ५ बजे गएको बत्ती राति १२ बज्न लाग्दासम्म आएको थिएन । हामी टुकीको उज्यालोमा थियौं । जेनेरेटर बिग्रिएको सूचना पाएका थियौं । डाक्टरले तुरुन्त अर्को हस्पिटल रिफर गर्ने कुरा गर्नुभयो । ऋषिजी रिसाउनुभयो । मैले त्यो खालको रिस उहाँमा आजसम्म देखेको छैन ।
उहाँले भन्नुभयो, ‘मेरी श्रीमती मरे पनि बाँचे पनि तपाईंको जिम्मा । अप्रेसन तपाईंले गर्नुपर्छ । तपाईंलाई जुन हस्पिटलमा सजिलो हुन्छ, त्यहीँ लैजानुस् ।' म भने आत्तिसकेकी थिएँ ।
अप्रेसन हिमाल हस्पिटलमै हुने भयो । ऋषिले कानमा आएर भन्नुभयो, ‘बाबा अप्रेसन गर्नुपर्ने भयो ।'
मैले भनेँ, ‘जे भए पनि फरक पर्दैन मलाई । तर, मेरो बच्चा राम्रो जन्मनुपर्छ ।’
त्यो बेला ऋषिको छटपटी हेर्दा सम्झन्छु, बाबु हुन पनि सजिलो त कहाँ छ र !
मलाई अप्रेसन थिएटरमा लगियो । झन्डै आधा घण्टा अप्रेसन चल्यो । त्यतिबेला डाक्टरले बोलेका केही वाक्य सम्झनामा छ, ‘ऊ धेरै साडी लाउने मान्छे । अप्रेसन अलि विचार गरेर गरौं ।’
‘बच्चाले भित्रै दिशा गरिसकेको रहेछ ।’ त्यसपछि मलाई केही थाहा भएन, थाहा पाउँदा नर्मल वार्डमा थिएँ ।
बच्चा भएपछि ऋषिजीले खुसी भएर सबैतिर फोन गर्नुभयो । बहिनीलाई पनि फोन गर्नुभयो । बहिनी गाडीमै थिई । हामीले ढाट्यौँ भन्ने भएपछि फोनमै डाँको छोडेर रोई ।
जीवनमा छोरी आइन्, हाम्रो चाहना पनि छोरी नै थिइन् । खुसी भयौं ।
०००
भोलिपल्ट नेपाली चलचित्र क्षेत्रका प्रायः सबै जना हस्पिटलमा फूल लिएर भेट्न आउनुभयो । मनमा अर्कै किसिमको खुसी थियो । छोरी जन्मेको समाचार पत्रिकामा छापियो । ऋषिजीले त्यो बेला ‘बक्स पाइन्ट’ लगाउनुभएको थियो । दुईपट्टिको खल्तीमा पैसा बोकेर हस्पिटल आउनेलाई एक–एक बट्टा लड्डु र ५ सय रुपैयाँ बाँड्नुभएछ । हामी त्यो बेला अर्कै संसारमा पुगेका थियौं ।
३ दिनमा त म चिटिक्क भएँ, तर पेट घटेको थिएन । पेटमा अझै के चलेझैं लाग्थ्यो । डाक्टरलाई भने, ‘डाक्टर मेरो पेटमा त अझै के चल्दै छ त ! अर्को पनि बच्चा छजस्तो छ ।' डाक्टर मज्जाले हाँस्नुभयो । सम्झाउनु भयो, ‘बेबी बक्समा बच्चा थियो, निस्कियो । केही दिन त्यस्तै फिल हुन्छ’ ।
मलाई त्यति पनि थाहा थिएन । ३ दिनपछि घर जाने कुरा भयो । नानीको स्वागतमा पुरै घर ‘डिटोल’ पानीले सफा गरिएको थियो । म छोरी लिएर घर फर्किएँ । घरमा मेरी आमा पनि आउनु भएको थियो ।
बिहान ११ बजे घर पुगेँ । दिनभरि मान्छे भेट्न आए । यत्तिकै बित्यो । राती १२ बजेतिर मलाई स्वास फेर्न गाह्रो भयो । झ्याल ढोका खोल्न लगाएँ, निदाउन प्रयत्न गरेँ । झपक्क निदाएर बिउँझदा रातको २ बजेको थियो । त्यो ब्युँझाइ मेरा लागि अत्यन्त पीडादायी भयो । मेरो शरीरमा नसुनिएको कुनै ठाउँ थिएन । आफैंलाई हेरेर डराएँ । मलाई हेरेर अरू पनि आत्तिए । डाक्टरसँग कुरा भयो । राति नै हस्पिटल लगियो । हस्पिटलमा डा. जगदीशचन्द्र अग्रवाल हुनुहुन्थ्यो । त्यो बीचमा के–के टेस्ट भयो मलाई थाहा छैन । बिहान ५ बजे नर्भिक हस्पिटल रिफर गरियो ।
- डाक्टरले भन्थे– त्यो बेला मेरो हार्टबिट नै थिएन । विश्वका एक लाख सुत्केरी महिलामध्ये एक जनालाई मात्रै त्यो प्रकारको कन्डिसन आउँछ ।
नर्भिकमा परीक्षणको समय लामो चल्यो । डाक्टरहरूको चेहरा हेरेरै म ‘क्रिटिकल’ अवस्थामा छु भन्ने अनुभूति भयो । एक त छोरी पनि मसँग थिइनँ । अर्को मलाई के भएको हो नै थाहा हुँदैन । यही अन्याेलता र छटपटीबीच हस्पिटलमा ३ दिन बित्यो । मेरी छोरीको छैटी आयो । म अस्पतालमा । छोरी घरमा । मलाई त्यो दिन अर्कै खालको कहाली लाग्यो । त्यो दिन मलाई लाग्यो, ‘उसको बाबु पनि साथमा हुनुहुन्न । म पनि साथमा थिइनँ । आज मेरी छोरीको भाग्यमा के लेखियो होला !’ दिनभरि रोएँ । म धेरै रोएको देखेर भोलिपल्ट छोरीलाई अस्पताल ल्याइयो, छोरीलाई आफ्नै छेउमा सुताएँ । मलाई अर्कै लोकमा पुगेको अनुभव भयो ।
यो क्रम १० दिनसम्म चल्यो । दसौं दिनको राति मलाई एउटा सुई लगाइएको थियो । डाक्टरले भनेका थिए– अब २४ घण्टा ज्वरो आउनुहुँदैन । त्यो रात ऋषि १५–१५ मिनेटमा बाथरुम पस्नुहुन्थ्यो र मुख धोएर आउनुहुन्थ्यो । रोएर त्यसो गरेको हो भन्ने मैले थाहा पाएकी थिएँ ।
डाक्टरले भन्थे– त्यो बेला मेरो हार्टबिट नै थिएन । विश्वका एक लाख सुत्केरी महिलामध्ये एक जनालाई मात्रै त्यो प्रकारको कन्डिसन आउँछ ।
त्यतिबेला मलाई पहिलोपटक छोरी जन्माएकोमा पश्चाताप भएको थियो । लागेको थियो– म मरे भने मेरी छोरी कसरी हुर्किन्छे होला ! छोरा भएको भए त बाटोमा बसेर मागेर पनि आफ्नो ज्यान पाल्थ्यो भन्ने भयो । एक लाखमा एक जनालाई हुने समस्यामा थिएँ म । र, पनि म बाँचेँ । खुसी थिएँ ।
११ दिनको दिन पनि म हस्पिटलमै थिएँ । अलि ‘बेटर फिल’ भएको थियो । डाक्टरलाई छोरीको न्वारनमा जान्छु भनेँ । डाक्टरले सोच्नुपर्छ भन्दै हुनुहुन्थ्यो, घरबाट फोन आयो ‘आमा त न्वारनमा चाहिँदैन अरे ।' त्यतिबेला मलाई अहिलेसम्म नभएको पीडा भयो । मैले नै जन्माएको बच्चाको न्वारानमा म चाहिँदैन । मेरो संस्कृति कस्तो हो ! म यति टुटेँ कि कल्पनै गर्न सक्दिनँ । मानसिक पीडामा परेँ ।
त्यसपछि मैले विद्रोह गरेँ । डाक्टरलाई आग्रह गरेँ, घर गएँ । मेरी छोरी समातेर न्वारानमा बसे । मैले सबै जितेँ । तर, आफ्नै शरीरलाई जित्न सकिनँ । ‘कप्लिकेसन’हरू झन् बढ्दै गए । कहिले त युरिन नै बन्द भयो ।
मलाई आफैं उठेर हिँड्न १० महिना लाग्यो । यो बीचमा मैले ऋषिको राम्रो सपोर्ट पाए । उहाँको सहाराले नै म पुनः उठेर हिँड्न सक्ने भएँ ।
छोरी बिस्तारै हुर्कंदै गईन् । छोरीको बोली फुट्यो, हरेक कुरा उल्टो बोल्थिन् । मैले सबै कुरा छोडेर, २ वर्ष मोबाइल पनि अफ गरेर छोरी हुर्काएँ । बीचमा कहिलेकाहीँ करिअर सम्झिएर पीडा हुन्थ्यो । आफ्नो लोकप्रियता, कमाइ सबै सकियो भन्ने हुन्थ्यो । आफैं ‘डिस्टर्भ’ हुन्थेँ । छोरी हेर्थेँ, मन बुझाउँथेँ । हामीले छोरीलाई सकेजति राम्रो वातावरणमा हुर्कायौँ । अहिले छोरी ठूली भइसकिन् ।
मेरो सपना छोरी कलाकारितामा लागोस्, मैले पूरा गर्न नसकेको सपना पूरा गरोस् भन्ने छ । तर, उसको व्यापारिक लाइनमा रुचि छ, ‘बैंकर’ बन्छु भन्छिन् । उनी आफ्नो इच्छाले जे बन्न चाहन्छिन्, त्यही बन्छिन् । हामी उनको सपनामा साथ दिन्छौँ ।
(कलाकार सरिता लामिछानेसँग नेपाली पब्लिकको नियमित स्तम्भ ‘प्रसव : पीडा र खुसी’ स्तम्भका लागि राधिका अधिकारीले गरेको कुराकानीमा आधारित)
प्रसवः पीडा र खुशी स्तम्भका सामाग्रीहरु पनि पढ्नुहोस्
‘डाक्टर ! पेटमा त अर्को पनि बच्चा छ कि क्या हो ?’- कलाकार सरिता लामिछाने
‘बच्चा सम्झेर कति रात झिमिक्क गरिनँ’- खेलाडी आयुशा शाक्य
चौध घण्टा बाँचेको छोरो- नेत्री हिसिला यमी
‘फिल्म खेल्न गर्भपतन गराएँ’- कलाकार करिश्मा मानन्धर
‘सबैले भन्थे तिम्रो बच्चा हुँदैन, बच्चा जन्मेपछि ७ दिन छुन पाइन’-कलाकार लुनिभा तुलाधार