म चाहन्छु– मलाई कोरोना लागोस् ।
म संक्रमित भएको कुरा भोलि निस्कने पत्रपत्रिकामा छापियोस् । रेडियो , टेलिभिजनले यो खबर प्रसारण गरून् । मलाई चिन्नेले मेरै नामले यो खबर फैलाउनेछन् । नत्र फलानोको दाइ, भतिज, नातिलाई कोरोना लागेछ भनेर यो खबर फैल्याऊन् । धेरैले भन्नेछन्– सँगै स्कुल पढेको, सँगै कलेज पढेको । कसैले भन्नेछन्, सँगै काम गरेको, सँगै खेलेको । कोही भन्लान्, हामी एउटै टेबलमा बसेर रक्सी पिउँथ्यौँ ।
- कहिल्यै प्लेन नचढेको मेरो शरीरको ब्लड, दिसा, पिसाब, र्याल, सिँगान ,खकार आदि इत्यादि सुरक्षित तवरले युरोप, अमेरिका, बेलायत, सिंगापुर , लन्डनका ठुला ठुला हस्पिटल या त प्रयोगशालामा पठाइनेछ ।
त्यति बेलासम्म त म चर्चित भसकेको हुनेछु । मलाई सबैले टाढैबाट चिनिसकेका हुनेछन् । मेरो घरमा आवश्यक सम्पूर्ण सामग्री पुर्याइनेछ । फोटो खिचेर पोस्ट गर्न आतुर हुनेछन् जनता । गाउँ, नगरका हरेकले मेरो घर राहत पुर्याउनेछन् । बा, आमा, श्रीमती र छोरा रमाई रमाई घरमै बसेर खानेछ्न् दिनभर । घर सिल गरिनेछ । कोही भित्र जान पाउँदैनन् न त बाहिर नै निस्कन । ठुला अक्षरमा लेखिएको हुनेछ कोरोना संक्रमितको घर । जनु रातो अक्षरमा परबाटै प्रस्ट देखिनेछ ।
- हिजोसम्म नजिकै बसेर तपाईं कति राम्रो भन्दै गफिने नर्स अनि एउटै चुरोट तान्ने डाक्टरहरु पनि डराउनेछन् मदेखि ।
अब मानिसहरु मलाई देख्दा डराउन थाल्नेछन् पुलिससँग अपराधी डराएझैँ । अझ भनूँ, संकटकालमा १५–१८ वर्षे युवा माओवादीसँग डराएझैँ । हिजोसम्म नजिकै बसेर तपाईं कति राम्रो भन्दै गफिने नर्स अनि एउटै चुरोट तान्ने डाक्टरहरु पनि डराउनेछन् मदेखि ।
कहिल्यै नामसम्म नसुनेको आइसोलेसन वार्डको बेडमा राखिनेछ मलाई । ठुला ठुला नर्स ,डाक्टर ,मनोविद् र चिकित्सक मेरो पछि लाग्नेछन् । उपचारमा व्यस्त रहनेछ । विशेषज्ञहरु खोज अनुस्धानमा लाग्नेछन् । देश विदेशमा भएका विशेषज्ञसँग परापर्श सुरु हुनेछ । अनेक टेस्ट गरिनेछ ।
कहिल्यै प्लेन नचढेको मेरो शरीरको ब्लड, दिसा, पिसाब, र्याल, सिँगान ,खकार आदि इत्यादि सुरक्षित तवरले युरोप, अमेरिका, बेलायत, सिंगापुर , लन्डनका ठुला ठुला हस्पिटल या त प्रयोगशालामा पठाइनेछ । खोजीको विषय बन्नेछ मेरो शरीर । रिपोर्टका लागि घन्टौंदेखि हप्तौं कुरिरहेको हुनेछु । सिंगो देश लाग्ने छ मेरो उपचारमा । राष्ट्रले मेरा लागि खर्च गर्नेछ । हेर्नुस्, त म कति भाग्यमानी । त्यसैले कोरोना लागोस् मलाई ।
२८ दिनको कुराइपछि सिंगापुरबाट आएको अर्को रिपोर्टमा 'काेभिड १९ नेगेटिभ' लेखिएको हुनेछ । चिकित्सक, नर्स र डाक्टरको टोली अचम्ममा पर्नेछ । मेरो हेरचाह, खान्की र सुरक्षामा कुनै कमी हुनेछैन । ४२ दिनपछि अर्को रिपोर्ट पनि नेगेटिभ नै आएपछि मैले कोरोना जितेको भनी पत्रकार सम्मेलन गरिनेछ । हजारौंको संख्यामा हस्पिटलबाहिर भीड लाग्नेछ, म डिस्चार्ज हुँदा । मानौं, ठुलै अपराधी जेलमुक्त भएझैँ । इस्टमित्र , साथीभाइ , आफन्तजन, केही राजनीति दलका नेता पनि समावेश हुनेछ्न् ।
सयौं किलोको माला मेरो गलामा लगाउन आतुर हुनेछन् । म चढ्नुपर्ने गाडी सिँगारिएको हुनेछ । सयौं बेलुन उडिरहेका हुनेछ्न् । आकाशमा हेलिकप्टरबाट पुष््प गुच्छासहित अबिर, केसरी खसालिनेछ। मलाई घर लगेर भित्र्याइनेछ बेहुली भित्र्याइएझैँ । त्यसैले त म भन्छु– कोरोना लागोस् मलाई !