संगीत साधना हो भन्दै रमाउने पुस्ताहरु अहिले निकै कम छन्, अहिले क्षणिक रमझममा नै भुल्न खोज्नेहरुको जमात छ । आज सिक्यो, गायो र युट्युबमा हालेर भियोर्स बढाउनेहरुको बीचमा पनि शास्त्रीय संगीत र गायनमा लागि रहेका युवा पुस्ताहरु नभएका भने होइन ।
नेपाली शास्त्रीय संगीतको निरन्तरता र विकासको लागि महिला संगीतज्ञहरुको पनि उलेख्खनीय योगदान रहँदै आएको छ । वि।सं २००७ सालमा रेडियो नेपालको स्थापना भएसंगै शास्त्रीय संगीत सम्बन्धि कार्यक्रमहरुमा महिलाहरुको राम्रै सहभागिता हुन्थ्यो ।
त्यतिबेला वरिष्ठ शास्त्रीय गायिका रत्नकुमारी गुरुङ, स्व.अम्विका रिमाल (कवि लक्ष्मीप्रसाद देवकोटाकी छोरी), इन्दिरा श्रेष्ठ, स्व.पद्यमा कादम्बरी, शकुन्तला प्रधान, संगीता प्रधान, कुन्ती मोक्तान, शान्ति अधिकारी (कवि माधव घिमिरेकी छोरी) आदि गायिकाहरु रेडियो नेपालमा त्यतिबेला बारम्बार सुनिने नामहरु हुन् ।
जति बेला रेडियो नेपाल शास्त्रीय संगीतको लागि राम्रो प्लेटफर्म थियो । तर अहिले रेडियो नेपाल लगायत अन्य संस्थाहरुबाट यस्ता शास्त्रीय कार्यक्रमहरु हट्दै जानु सांगितिक क्षेत्रको लागि नै दुर्भाग्यपूर्ण कुरा हो । यसैबीचमा पनि शास्त्रीय गायनलाई निरन्तरता दिईराखेको गायिकाहरु नभएका भने होइन ।
शारदा क्षत्री, सरोजनी तन्दुकार, मालती आचार्य, लाबोनी चक्रब्रती प्रसाईं आदि गायिकाहरुले शास्त्रीय संगीतको शिक्षण तथा गायनमा निरन्तरता दिदैं लागि परेका छन् । अहिले यस विधामा युवा पुस्ताको पनि उतिकै लगाव देखिन थालेको छ ।
सुजाता वर्मा, सुगमा गौतम र जोनिशा पौडेल युवापुस्ताको प्रतिनिधि पात्रहरु हुन् । उनीहरुले शास्त्रीय गायनका साथमा पाश्र्व गायन, सुगम गायनमा पनि स्वर दिएका छन् । तर मुख्य जड भने उनीहरुको शास्त्रीय गायन नै हो ।
शास्त्रीयमा पोख्त, आधुनिकमा हिट सुजाता
सुजाता बर्माले ‘हिलो लाग्ला नाइलनको सारीमा’, ‘जोनिशाले फिगर कोकाकोला’ गाएर धेरै स्रोतामाझ परिचित बने । तर दुवैलाई पाश्र्व गायनबाट छिटै चिनिए पनि शास्त्रीय गाउँदा जस्तो आनन्द पटक्कै नमिलेको बताउँछन् । सुगमा र जोनिशाले धेरैवटा स्टेजमा सँगै रागहरु गाएका छन् भने एउटै स्टेजमा तीनै जना गायिकाहरुले सँगै गाएको अनुभव छ ।
शस्त्रीय गायनमा सक्रिय युवापुस्ताकी प्रतिनिधि पात्र हुन्, सुजाता बर्मा । उनको घरमा सांगितिक माहौल थियो । बुबा विनय बर्मा तबलाका गुरु थिए, दाजु पनि तबला बजाउँथे । सुजाता बुबा र दाजुसंगै बसेर सानैदेखि नियमित संगीत अभ्यास गर्दथे । ४ वर्षको उमेरमा नै उनले सारेगम सिकेका हुन् ।
- अरु खाले गीतहरु पनि हुन्छ भन्ने पत्तो पनि थिएन, सुजातालाई । ११ कक्षामा पढ्दा रेडियो नेपालमा आधुनिक गायन प्रतियोगितामा भाग लिन जाने बेला मात्रै आधुनिक गीत सुनेकी थिइन् ।
उनलाई त्यति बेला गीत संगीत आफ्नो रुचीको विषय हो, होइन पनि थाहा थिएन । बस दैनिकी नै थियो बुबा र दाजुसँग बसेर सारेगम गाउनु । अन्तत: सुजातालाई संगीत बाहेक अरु कुनै कुरामा रुची भएन । स्कूल पढ्दा गुरुहरु तथा साथीहरुले ‘तिम्रो कस्तो मिठो स्वर छ, तिमी त गायिका नै बन्छौ होला’ भन्ने गरेको उनको स्मृतिमा छ ।
सुजाता भन्छिन्, ‘सबैले गायिका नै बन्छ भन्ने, म पनि फुरुङ्ग हुन्थें । पढ्नमा खासै ध्यानै दिन्न थिएँ । गायिका बन्ने त हो नि भन्ने सोचले होला खाली परीक्षा उतिर्ण गर्नेगरी मात्रै पढ्थें ।’
सुजाताका गुरु उनकै बुबा विनय बर्मा हुन् । उनकै प्रेरणा र शिक्षा–दिक्षाले नै उनी आजको स्थानमा आएकी हुन् । उनले ११ वर्षकै उमेरमा संस्कार नामक भिसिडी एल्बम निकालेकी थिइन् । जतिबेला उनी किराँतेश्वरमा बाल शास्त्रीय प्रतियोगितामा गायन विधावाट प्रथम भइन्् । प्रथम भएपछि तीन महिनामा किराँतेशवरमा शास्त्रीय गायन गाउन जानु पर्दथ्यो । यही क्रममा उनको अभ्यासको गति बढ्यो र गीत रकर्ड गराई शास्त्रीय गायनको एल्बम ल्याइन् । घण्टौं रागहरु गाउँदा उनलाई निकै आनन्द लाग्थ्यो र कार्यक्रम सकेर सबैले तारिफ सुन्दा उनी दंग पर्थिन् ।
- ५ वर्षको पढाइ सकेर नेपाल फर्केकी सुजाता शास्त्रीय गायनमा ब्यस्त छिन् । गायनको साथमा सिर्जना कलेज अफ फाइन आर्टमा गायन सिकाउँदै छिन् ।
सुजाताले कक्षा १० मा पढ्दासम्म शास्त्रीय गीत र भजन बाहेक अरु गीतहरु सुनेकै थिएनन् । घरमा यस्तै गीत गाइन्थ्यो र सुनिन्थ्यो त्यसैले अरु खाले गीतहरु पनि हुन्छ भन्ने पत्तो पनि थिएन, सुजातालाई । ११ कक्षामा पढ्दा रेडियो नेपालमा आधुनिक गायन प्रतियोगितामा भाग लिन जाने बेला मात्रै आधुनिक गीत सुनेकी थिइन् ।
२०६७ सालको रेडियो नेपालको आधुनिक गायन प्रतियोगितामा उनी प्रथम भइन् । त्यस लगत्तै सुजाताले भजन एल्बम निकालिन् र २०७० सालमा बुबाको नाम राखेर विनय एल्बम र भक्ति दर्शन एल्बम निकालिन् । उनले कक्षा १२ सम्म सिर्जना कलेज अफ फाइन आर्टमा शास्त्रीय संगीत पढिन् । यति बेलासम्म सुजातालाई शास्त्रीय गायनको नशा लागि सकेको थियो ।
सुजातालाई भारतीय दुतावासवाट शास्त्रीय संगीतमा ब्याचलर र मास्टर डिग्रीको लागि छात्रबृत्ति मिल्यो । ५ वर्षको पढाइ सकेर नेपाल फर्केकी सुजाता शास्त्रीय गायनमा ब्यस्त छिन् । गायनको साथमा सिर्जना कलेज अफ फाइन आर्टमा गायन सिकाउँदै छिन् । साथमा बुबाले सञ्चालन गरेको श्रृतिसंगीत स्कूलमा शास्त्रीय गायन सिकाउँदै छिन् । उनको सपना शास्त्रीय संगीतमा पीएचडी गर्ने छ । जसको तयारी पनि गर्दैछिन् ।
शास्त्रीय हुँदै भ्वाइस अप नेपालदेखि नाइट ब्याण्डसम्म
सुजाता बर्मा जस्तै शास्त्रीय गायनमा लागि रहेकी अर्की पात्र हुनु, सुगमा गौतम । उनका पारिवारिक वातावरण पनि संगीतमय थियो । सुगमाका काका तबलाबादक स्व. अतुल गौतम हुन् । तर सुगमाले काकासंग तबला सिक्ने मौका पाइनन् ।
घरवाट संगीत सिकाउनु पर्छ भन्ने सोचले नै सुगमालाई तबला सिकिन् । सानी भएकोले गुरु विनय बर्मा घरमै आएर कक्षा लिन्थे । कक्षा सातपछि उनले तबला सिक्न छाडिन् । तर घरमै तबला र गायनको अभ्यास भने गर्थिन् । एसएलसीपछि उनले किराँतेश्वरमा बाल शास्त्रीय गायनमा भाग लिइन् । उनी प्रथम भइन् ।
त्यति बेलासम्म उनले गायन सिकेकै थिइनन् । प्रथम भएपछि सुगमालाई हरेक तीन, तीन महिनामा कार्यक्रम गर्ने जानु पथ्र्यो, फरक फरक रागमा गाउनु पथ्र्यो । त्यसपछि सुगमाले गुरु श्री केसीसँग गायन सिक्न पुगिन् । उनमा तबला सिकेकै कारण तालको ज्ञान थियो त्यसैले छोटो समयमै उनको गायन राम्रो हुँदै गयो ।
ए लेबल पढेर बिबिए गरेकी सुगमाको लागि गायन कक्षा साइड कक्षा मात्रै थियो । सुजाताको जस्तो गायिका नै बन्छु भन्ने सोच थिएन । शास्त्रीय संगीतलाई संगीतको व्याकरण ठान्ने सुगमाले भ्वाइस अफ नेपालमा भाग लिइन् । रियालिटी शोहरुले युवापुस्ता शास्त्रीय गीत सुन्ने र सिक्ने जमात बढेको उनको अनुमान छ ।
- सुगमा भन्छिन्, ‘जीवनमा संगीत चाहिन्छ भनेर सिकियो तर गायनमा क्यारियर खोज्दैछु । मलाई राग गाउन मन पर्छ तर ब्याण्डमा लोकगीत बढी गाउनु पर्छ ।’
यलमाया केन्द्रमा आयोजना भएको सुगमाको शास्त्रीय गायन कार्यक्रममा धेरै दर्शक युवापुस्ता थिए । प्राय यस्ता संगीत सुन्ने जमात भन्दा फरक दर्शक, स्रोता भएको सो कार्यक्रम धेरैले रुचाए । त्यतिबेला सुगमालाई शास्त्रीय संगीत सबैको पहुँचमा पुग्न नसक्नुले पनि धेरैको रोजाइको संगीत हुन नसकेको लाग्यो ।
सुगमा अंग्रेजी, पप, रक सबै खाले गीत संगीत सुन्न रुचाउँछिन् । तर पीस अफ माइन्डको लागि भने उनी राग नै खोजेर सुन्छिन् । भन्छिन्, ‘रागमा जस्तो आनन्द कुन संगीतमा पाइन्छ र ? मैले अहिलेसम्म राम्रोसंग गाउन त के सुन्न पनि जानेको छैन, राग ।’
सुगमाको सांगितिक कथा अलि फरक छ । गायिका बन्ने सपना थिएन त्यसैले पढाईलाई नै बढी ध्यान दिइन् । तबला सिकिन्, गायन प्रतियोगितामा भाग लिएर प्रथम भइन्, भ्वाइस अफ नेपालमा भाग लिएर बाहिरिना साथ नाइट ब्याण्डवाट गायिकाको लागि प्रस्ताव आयो र अनुवन्धित भइन् ।
सुगमा भन्छिन्, ‘जीवनमा संगीत चाहिन्छ भनेर सिकियो तर गायनमा क्यारियर खोज्दैछु । मलाई राग गाउन मन पर्छ तर ब्याण्डमा लोकगीत बढी गाउनु पर्छ ।’
नाइट ब्याण्डमा लोप हुँदैं गएको बाजा र ट्युनलाई खोज्दै त्यसलाई आधार बनाई गाउनु पर्छ । सुगमा अहिले पशुपतिस्थित नाद संगीत पाठशालामा गायन सिकाई रहेकी छिन् । उनी गत वर्ष ब्याण्डवाट यूरोप टुरमा थिइन् । उनी जस्तो गीतहरु गाए पनि शास्त्रीय गाउन पछि पर्दिनन् । कतै शास्त्रीय गायनको लागि अफर आयो कि गईहाल्छिन् ।
कन्टेम्पोररीमा शास्त्रीय मिसाउँदै जोनिशा
क्लासिकल गायनमा लागि परेकी अर्की गायिका हुन्, जोनिशा पौडेल । जोनिशाको पारिवारिक वातावरण सांगितिक थिएन तर संगीत अनुरागी थिए । आमासँग उनी साईभजन पुगि रहन्थिन्, त्यहाँ उनले बाल्यकालदेखि साईभजन गाउँदैं आएकी हुन् ।
पोखरामा बस्ने जोनिशालाई परिवारवाट सक्रिय बनाउनु पर्छ भन्ने सोचले नै कार्यक्रमहरु लगिरहन्थे । उनले २०६५ सालमा लिटिल किड्स मेघा ट्यालेन्टमा भाग लिएर प्रथम भएकी थिइन् ।
गीत गाउन सारै रुचाउने जोनिशा रातभरि गीत गाएर बस्न पाए हुन्थ्यो भन्ने सोच राख्थे । कसैले नानी गीत गाउ भन्यो कि फुरुंग हुन्थिन् । २०६७ सालमा पञ्चिमाञ्चल तारामा भाग लिएर प्रथम बनिन् । त्यति बेलासम्म संगीत पनि पढ्ने विषय हो भन्ने पत्तो थिएन ।
पोखरामै उनले प्लस टुसम्मको अध्ययन गरिन् । प्लस टुको ग्यापमा काठमाडौं आउँदा मात्रै उनले संगीतको बारे धेरै बुझ्ने मौका पायो । त्यही दौरानमा उनले किराँतेश्वर, यल माया, राम मन्दिरमा पुगेर क्लासिकल गीतहरु सुने । त्यहाँ गाएका र बजाएका शास्त्रीय संगीतले उनलाई तान्यो ।
- जोनिशा र सुगमा शास्त्रीय गायनको साथमा ब्याण्डमा आवद्ध हुनु रहर मात्र होइन बाध्यता पनि हो । जोनिशा भन्छिन्, ‘क्लासिकल गायनमा रुची हुँदाहुँदै फ्युजन संगीततिर पनि लाग्नु हाम्रो बाध्यता हो । क्लासिकल गायन मात्र गर्छु भनेर पनि हुदैंन ।
उनी गुरु श्री केसीसँग सिक्न थालिन् । जोनिशाको काठमाडौंमा संगीत पढ्ने कुरा बुबालाई सुरुमा मन परेको थिएन तर गुरुले बुझाएपछि स्विकृती दिए । उनले ललितकला क्याम्पसमा ब्याचलर र मास्टर्स पनि गरिन् ।
२०६७ सालमा कलानिधी संगीत महाविद्यालयले आयोजना गरेको शास्त्रीय संगीत प्रतियोगितामा गायन विधावाट उनी दोस्रो भइन् । त्यस प्रतियोगितामा सुजाता पनि दोस्रो भएकी थिइन् । त्यसपछि जोनिशालाई शास्त्रीय गायनमा रुची बढ्न थाल्यो ।
पोखराबाट उनले शास्त्रीय संगीतमा मास्टर्स पूरा गर्ने पहिलो गायिकाको रुपमा सम्मान समेत पाएकी थिइन् । थुप्रै शास्त्रीय संगीतका कार्यक्रममा गायिकाको रुपमा स्टेज जमाईसकेकी जोनिशा अहिले ब्याण्डमा संलग्न छिन् । उनको ब्याण्डको नाम हो, वास्तु ।
ब्याण्डका लागि उनले कन्टेम्पोररी गीतहरु गाउँछिन् । साथै रागलाई लिएर कम्पोजिशन गरेर गाउने छुट पनि छ । जोनिशा अहिले कन्टेम्पोररी गीतमा रागलाई मिसाएर अझैं मिठो बनाउने कोशिशमा छिन् ।
जोनिशा र सुगमा शास्त्रीय गायनको साथमा ब्याण्डमा आवद्ध हुनु रहर मात्र होइन बाध्यता पनि हो । जोनिशा भन्छिन्, ‘क्लासिकल गायनमा रुची हुँदाहुँदै फ्युजन संगीततिर पनि लाग्नु हाम्रो बाध्यता हो । क्लासिकल गायन मात्र गर्छु भनेर पनि हुदैंन । न कार्यक्रम धेरै हुन्छ, न त पारिश्रमिक नै । हामीले क्लासिकल गायन त रुची र लगावले नै निरन्तरता दिईराखेका छौं ।’
उनी थप भन्छिन्, ‘यस विधाका लागि सरकारी तवरले नै संरक्षणको जरुरी छ, नगर, वडाहरुमा क्लासिकल संगीतको कार्यक्रमहरु आयोजना गर्दै लानुपर्छ ।’
सुगमाको बुझाइ पनि त्यस्तै छ, ‘म यसै संगीतमा लागेर बाँच्छु भन्नेलाई नेपालमा धेरै नै गाह्रो छ । युवापुस्तामाझ यस संगीतप्रति मोह छैन भन्ने तर्कमा जोनिशा सहमत हुँदिनन् । उनी भन्छिन्, ‘मैले तरानामा गाएको राग युट्युबमा राखेको केही दिनमै १ लाख २० हजार भन्दा भियोर्स नाघेको छ । हाम्रो सिर्जनाहरु देखिनु पऱ्यो र सम्बन्धित निकायले ध्यान पुऱ्यानु पऱ्यो ।’
शास्त्रीय संगीतप्रति धेरैको चासो नहुँदा उनलाई सारै चित्त दुख्छ । एकजना कलाकारको मेहनतलाई बुझ्ने माहौल नै बनेको छैन भन्दै सुजाता भन्छिन्, ‘शास्त्रीय संगीतलाई सबैले सुन्न सक्ने माहौल नै पहिला बनाउनु पर्छ । सरकारले नै क्लासिकल संगीतलाई जगेर्ना गरि विभिन्न कार्यक्रमहरु आयोजना गर्नु पर्छ । यदि क्लासिकल संगीतहरु सुनेकै छैन भने त्यसप्रति कसरी आकर्षित हुन्छ ? यस्ता गीत संगीतको लागि माहौल बनाईदिने हो भने युवापुस्ता स्वत: आकर्षित हुन्छ र नेपाली गीतसंगीत पनि विशिष्ट हुन्छ । सुन्ने गीतहरु बन्छ । अहिले खोई सुन्ने गीतहरु ?’