संसारलाई साढे पाँच फन्को लगाउने विश्व साइकल यात्री पुष्कर शाह शनिबार काठमाडौंलाई एक फन्को लगाउन तम्तयार थिए । उनीसँगै थिए करिब ३५ अरु साइकल प्रेमीहरु ।
हिजोआज शनिबार बिहान काठमाडौंको सडकमा धेरै साइकल यात्रीहरु देखिन्छन् नै । साइकल कुदाउनकै लागि र साइकल चढेर काठमाडौं आसपास डाँडापाखा डुल्न, घुम्न अवलोकन गर्न विभिन्न पेशामा आवद्ध साइकल यात्रीहरुको लहर लाग्ने गरेको छ । कति नियमित साइकल यात्री छन् भने कति साइकल प्रेमी ।
यो शनिबार पनि थुप्रै साइकल यात्रीहरु विभिन्न गन्तव्यम गइरहेका थिए । उता झम्सिखेलमा पुष्कर शाहका साथमा रहेका साइकल यात्रीहरु भने काठमाडौंको २७ किलोमिटर चक्रपथ परिक्रमा गर्न तयार थिए ।
तर यो यात्रा अरु शनिबारको जस्तो सामान्य र नियमित यात्रा भने थिएन । सबैले एकैखालको नयाँ टिसर्ट लगाएका थिए, पाखुरा वा छातीमा एकैखाले ब्याच लगाएका थिए । ती टिसर्टमा काठमाडौं झल्काउने चित्रसहित लेखिएको थियो, ‘विश्व साइकल सम्मेलन, काठमाडौं’ । त्यस्तै ब्याचमा ‘वल्र्ड बाईसाइकल फोरम २०२०, नेपाल’ ।
विश्व साइकल सम्मेलन २०२० काठमाडौंमा
यसपटक काठमाडौंमा हुने ‘विश्व साइकल सम्मेलन’को पहिलो दिनको उत्साहमय बिहान थियो । कोभिड १९ का कारण ‘मास र्याली’ नगरी थोरै साइकल यात्रीहरु बेलुकी सुरु हुने सम्मेलनको ‘वार्म अप’का लागि चक्रपथमा पेडल घुमाउन आतुर देखिन्थे । जसमा ७ वर्षे बालक राहुल चौधरीदेखि एक हात मात्र भएका साइकल यात्री रामबहादुर अधिकारी समेत सहभागी थिए ।
उनीहरुले बिहान साढे ७ बजे चक्रपथको महालक्ष्मीस्थानबाट सुरु गरेर १० बजे चक्रपथ परिक्रमा पूरा गरेर विश्व साइकल सम्मेलनको वार्म अप सम्पन्न गरेका थिए ।
विश्व साइकल सम्मेलन सन् २०१८ मा बहुमत भोट पाएर नवौं सम्मेलन नेपालमा हुन लागेको हो । २०१० देखि काठमाडौंलाई साइकल सिटी बनाउने अभियानको निरन्तर प्रयासबाट यो सम्भव रहेको नवौं सम्मेलनको संयोजक विश्व साइकल यात्री पुष्कर शाहले बताए ।
तर यो पटक कोभिड १९ का कारण भौतिक रुपमा सम्मेलन गर्न नगरी भर्चुअल सम्मेलन हुँदैछ । शाहले भने, ‘पाएको अवसर गुम्न नदिनका लागि भर्चुअल नै भएपनि सम्मेलन गर्न लागेका हौं । भौतिक रुपमा गर्न पाएको भए आज काठमाडौंको सहर र सडकको माहौल नै अर्कै हुनसक्थ्यो । विभिन्न देशबाट साइकल यात्रीहरुले प्रत्यक्ष यहाँ साइकल चलाइरहेका हुने थियो ।’
सेप्टेम्बर १९ देदि २२ सम्म हुने यस चार दिने सम्मेलनमा विभिन्न कार्यक्रम तथा गतिविधि गरिने छन् । साइकल सम्बन्धी फिल्म, भिडियो, डकुमेन्ट्री, चित्रकला, फोटो प्रदर्शनी तथा साइकल सम्बन्धी मुद्धामा वहस र अन्तक्रिया गर्ने कार्यक्रम यस अन्तर्गत छन् ।
काठमाडौंलाई २०२० सम्म साइकल सिटी बनाउने अभियान स्वरुप सम्मेलन नेपालमा गर्न जोड गरेको शाहले भने, ‘अहिले साइकल सिटी नै बनिसकेको अवस्था चाहीँ होइन । तर साय्इकल प्रेमी बढेको छ, सरोकारवाला निकायको ध्यान खिच्न सफल भएका छौं, राज्यस्तरबाट अझै खास काम भएको छैन । अभियान जारी छ ।’
उनले यो सम्मेलनबाट राज्यलाई घचघचाउनेमा विश्वास व्यक्त गरे । ‘एडभेन्चर साइक्लिङ’ र ‘टुरिङ’मा नेपालप्रति विदेशीहरुको पनि चासो रहेको उनले सुनाए ।
यसअघि ब्राजिल, कोलम्बिया, चिली, मेक्सिको, पेरु, इक्वेडरमा यो सम्मेलन भइसकेको छ । आगामी सम्मेलन अर्जेन्टिनामा हुने तय भएको छ ।
(सम्मेलन २०२० को कार्यक्रम तालिका हेर्न यहाँ छ ।)
आउनुहोस् हामी पनि आफ्नै सहरमा हुँदै गरेको विश्व साइकल सम्मेलनको सुरुवाती विहानको 'वार्म अप' साइकल यात्राका फोटोहरुसँगै चक्रपथलाई एक फन्को लगाऔं । (*फोटोहरु मोबाइलले खिचिएका हुन्)