मातृभाषाका शिक्षकको दरबन्दी नहुँदा ‘मातृभाषामा शिक्षा’ नीति कार्यान्वयनको पाटो निकै फितलो भएको पाइएको छ । केन्द्रीय सरकारले मातृभाषा शिक्षकको दरबन्दी खडा नगरेको र मातृभाषाको लिपि, भाषिक संरचना र विषयवस्तुबारे स्पष्ट जानकारी भएका शिक्षकको अभावमा मातृभाषामा शिक्षा कार्यक्रम निकै फितलो भएको हो ।
देशका अधिकांश ठाउँमा आधारभूत तह (१–५) मा विषयका रूपमा मातृभाषाको शिक्षण भएको पाइएको छ । मातृभाषाको शिक्षा दिने विद्यालयमा माथिल्लो कक्षामा पनि आंशिक रूपमा विषयवस्तुलाई बोधगम्य बनाउन मातृभाषा प्रयोग गर्ने गरिएको छ । तर, मातृभाषाका शिक्षकको छुट्टै दरबन्दी नहुँदा समस्या भएको सरोकारवालाको भनाइ छ ।
पाठ्यक्रमविद् हरिचन्द्र लावती मातृभाषाको शिक्षण तथा मातृभाषामा शिक्षा कार्यान्वयन गर्न शिक्षकको अभाव भएको बताउँछन् । उनी भन्छन्, ‘केन्द्रले मातृभाषा शिक्षक बनेर दरबन्दी खडा गरेको छैन । स्थानीय तहले दिने आर्थिक सहयोगमा मातृभाषा शिक्षकको व्यवस्थापन गर्नुपरेको अवस्था छ । सरकारले दरबन्दी नै खडा गर्न सके मातृभाषामा शिक्षा कार्यान्वयन गर्न झनै सजिलो हुन्छ ।’
मगर भाषाका पाठ्यपुस्तक लेखक मानबहादुर बगाले मातृभाषाका शिक्षक अभाव हुँदा कार्यान्वयन पक्ष केही कमजोर भएको बताउँछन् । बगाले मातृभाषाका पाठ्युपुस्तक निर्माण गर्न र शिक्षण गर्न सक्ने जनशक्ति निर्माणका लागि बजेट अभाव भएको बताउँछन् ।
उनी भन्छन्, ‘सुर्खेतमा धेरै विद्यालयमा मगर भाषा विषयका रूपमा पढाइन्छ । स्थानीय स्तरमै उपलब्ध जनशक्तिबाट शिक्षण गर्नुपर्ने अवस्था छ ।’
मातृभाषाका शिक्षक व्यवस्थापन
स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वय मार्गदर्शन (मातृभाषासहित) २०७६ मा मातृभाषाका शिक्षकको व्यवस्था गर्न पाँच विकल्प सुझाइएको छ । मार्गदर्शनले ‘विद्यालयमा कार्यरत शिक्षकहरूमध्ये सम्बन्धित भाषिक समुदायका इच्छुक शिक्षकलाई मातृभाषा शिक्षणको जिम्मेवारी प्रदान गर्ने’ सुझाव दिएको छ, जुन मातृभाषा पठनपाठन गरिने विद्यालयमा कार्यान्वयन गरिएको छ ।
त्यस्तै, मार्गदर्शनमा ‘स्थानीय तह वा विद्यालयको आर्थिक सहयोगमा मातृभाषिक समुदायका व्यक्तिहरूबाट योग्य व्यक्तिलाई मातृभाषिक शिक्षण सिकाइको जिम्मेवारी प्रदान गर्ने’ भनिएको छ । हाल धेरै स्थानीय तहले विद्यालयलाई आर्थिक सहयोग गरेका छन्, जसबाट विद्यालय व्यवस्थापन समितिले मातृभाषाका शिक्षक व्यवस्थापन गरेका छन् ।
लावती भन्छन्, ‘मातृभाषाका शिक्षक व्यवस्थापनका लागि शिक्षक (मातृभाषा शिक्षण गर्न योग्य)लाई सरुवा गरेर सम्बन्धित विद्यालयमा खटाउन पहल गरेका छौं, जसबाट केही हदसम्म मातृभाषा शिक्षकको व्यवस्थापन हुन्छ ।’
सुर्खेतका चौकुने गाउँपालिकाका शिक्षा अधिकृत टेकेन्द्र बुढा भन्छन्, ‘यहाँ मगर बस्ती बाहुल्य भएको ठाउँमा विषयका रूपमा मगर भाषा पढाइएको छ । मातृभाषा शिक्षकको दरबन्दी छैन । गाउँपालिकाले शिक्षकका लागि बजेट विनियोजन गरेको छ ।’
मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक
नेपाल सरकारले वि. सं. २०४९ सालमा नीति बनाएर २०५४ सालदेखि मातृभाषाको शिक्षासम्बन्धी काम सुरु गरेको पाइएको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा मातृभाषामा शिक्षा हुने भनिएको छ । सोही कानुनी व्यवस्थाअनुसार निर्माण गरिएको आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रम, २०७६ अनुसार कक्षा १–३ मा मातृभाषिक सिप/स्थानीय विषयवस्तुसम्बन्धी क्रियाकलाप शिक्षण गर्नुपर्ने व्यवस्था छ । जुन विषयको पाठ्यघन्टा ५ र वार्षिक कार्यघन्टा १६० तोकिएको छ ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराई २६ भाषामा पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण भएको बताउँछन् । उनी भन्छन्, ‘कक्षा १–५ का लागि २६ ओटा भाषामा पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण भएका छन् । माथिल्लो कक्षामा अलि कम छ ।’
केन्द्रले मैथिली, अवधी र रानाथारू कोनो भाषामा पाठ्यक्रम, पाठ्यपुस्तक र सन्दर्भ सामग्री समेत निर्माण गरेको छ, जुन सामग्री मागका आधारमा स्थानीय तहलाई उपलब्ध गराइएको भट्टराईको भनाइ छ ।
भट्टराईका अनुसार मैथिली, भोजपुरी, अवधी, लिम्बू, वान्तवा राई, चाम्लिङ राई, शेर्पा, गुरुङ, तामाङ, मगर नेपाल भाषा, थारू, सुनुवार, राजवंशी, याख्खा, मुगाली थारू (मध्यक्षेत्र), तामाङ (सम्भोटा), धिमाल, मगर (अचार मगरात), बज्जिका, कुलुङ, चेपाङ, खालिङ राई, माझी र राना थारू भाषामा पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिएको छ ।
उनका अनुसार नेपाली, अवधी, मैथिली र रानाथारू कोनो भाषा २०–२० बढी सन्दर्भ सामग्रीसमेत निर्माण भएको छ ।
त्यस्तै १५ भाषामा बाल सिकाइ सामग्री निर्माण गरिएको छ । यी सामग्री कथा, जीवनी र संस्कृतिसँग सम्बन्धित रहेका छन् । भट्टराईका अनुसार मैथिली, भोजपुरी, लिम्बू, थारू, अवधी, मगर, नेपाल भाषा, डोटेली, थकाली, चाम्लिङ, गुरुङ, शेर्पा, वान्तवा राई, उर्दू र संस्कृत भाषामा बाल सिकाइ सामग्री निर्माण गरिएको छ ।