९ भदौमा बुटवल उपमाहानगरपालिका देविनगर बस्ने एक परिवारका सबैलाई एकै साथ लक्षण देखियो, ज्वरो आउने, शरीर दुख्ने । सुरुमा त उनीहरुलाई भाइरल पो हो कि भन्ने लाग्यो । ज्वरोको औषधी खाएर घरमै बसे । लक्षणहरु बढ्दै गएपछि शंका लागेर परिवारका सदस्यमध्ये एकजनाले निजी अस्पतालमा स्वाब परीक्षण गराए, नतिजा पोजेटिभ आयो ।
त्यसपछि वडालाई जनाकारी गराए । वडाले संक्रमितलाई घरमै बस्न भन्यो । बाँकी परिवारको स्वाब परीक्षणका लागि पावर नै लगाउनु प¥यो । ७ दिनपछि बाँकी ७ परिवारको रिपोर्ट पनि पोजेटिभ आयो ।
त्यसपछि नगरपालिकाले फोन गरेर घरमै ‘होम आइसुलेसनमा’ बस्न भन्यो । तर, कसैले एक कल फोन गरेर कस्तो छ भनेर सोधेनन् । संक्रमित भएको तीन दिनपछि बल्ल वडा कार्यलयबाट फोन आएको उनले सुनाए ।
उनका अनुसार लक्षण देखिएको थियो । संक्रमित भएको जानकारी दिन फोन गर्नेले पनि अस्पताल जानुपर्ने, नपर्ने केही भनेन । तर,त्यसपछि वास्ता समेत गरेन । संक्रमितको अवस्थाका बारेमा पनि समेत चासो लिइएन । संक्रमित मध्येका एकले समाजिक सञ्जाल फेसबुकमा गुनासो पोखे ।
घरबाट बाहिर ननिस्की लकडाउनको पालना गर्दा पनि सबै परिवारलाई कसरी संक्रमण भयो भन्नेमा उनीहरु अन्योलमा छन् । संक्रमित मध्येका एकले भने ‘हाम्रो परिवार कन्ट्याक ट्रेसिङमा परेको पनि छैन ।’ संक्रमित सबै परिवार होम आइसुलेसनमा बस्दा पनि स्वाथ्यकर्मीले जानकारी लिएका छैनन् ।
- कोरोनाको डर सँगसँगै समाजिक भेदभावको डरले धेरैजना आत्तिएका छन् । तर उनीहरुलाई उचित परामर्श दिन सकिएको छैन ।
उनीहरु भन्छन् ,‘नगरपालिका कर्मचारीले भिटामिन र औषाधी कहाँ बाँडेका छन्, हामीलाई थाहा छैन ।’ अहिले उनीहरुलाई लक्षण हराउँदै गएको छ । दोस्रो पटक दिएको स्वाबको नतिजा भने अहिलेसम्म आएको छैन । एक संक्रमितले भने, ‘नतिजा नआउँदा तनावमा परेका छौ, कति दिन कोठामा बस्ने ।’
त्यस्तै, नवलपरासीको सुनवल नगरपालिकाका लक्षणबिहिन संक्रमितलाई होम आइसुलेसनमा राखिएको छ । तर उनीहरुका परिवारलाई भने लक्षण नदेखिए स्वाब दिनु नपर्ने भनिएको छ । स्वाब नलिने भएपछि संक्रमितका परिवार पनि संक्रमित भए सरह नै घरमा बस्नुपर्ने अवस्था छ । जसले उनीहरुमा डर सिर्जना भएको छ । संक्रमितको पनि स्वाब परीक्षण नहुँदा मानसिक तनावमा परेको उनीहरुले बताउँछन । संक्रमितका परिवारका एक सदस्यले भने, ‘स्वाब नलिँदा डराएर बस्नु परेको छ, परिवार मानसिक तनावमा भएपनि काउन्सिलिङ पनि गरिएको छैन ।’
संक्रमित भेटिएपछि गाँउ र टोल भने सिल गरिएको छ । तर स्वाब परीक्षणमा चासो नदिँदा संक्रमितका परिवारले भने मानसिक तनाव भोग्नु परेको छ । ‘यस्तो समयमा परिवारका सदस्य कुनै कारणले अकास्मात बिरामी परेमा कसरी अस्पताल लैजाने ?’ उनले भने । कोरोनाको डर सँगसँगै समाजिक भेदभावको डरले धेरैजना आत्तिएका छन् । तर उनीहरुलाई उचित परामर्श दिन सकिएको छैन ।
८ हजारभन्दा बढी होम आइसोलेसनमा, स्वास्थ्यकर्मीहरुलाई २०० भत्ता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २ असोज ०७७ सम्म ८ हजार ३३८ संक्रमित होम आइसोलेसनमा रहेको देखिन्छ । तथ्यांकलाई केलाउँदा संक्रमितको संख्या जसरी बढेको छ, त्यसरी नै होम आइसोलेसनमा बस्नेहरुको संख्या पनि बढिरहेको छ । सरकारको नीति नै लक्षण भएकाहरुलाई मात्रै अस्पताल भर्ना गर्ने छ ।
सोही कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी तथा सार्वजानिक अस्पताललाई कोभिड १९ का लागि आफ्ना कुल बेडमध्ये २० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ । लक्षण भएका संक्रमितलाई बेड जोगाउनका लागि लक्षणबिहिन संक्रमितलाई होम आइसोलेसनमा राखेको छ ।
- भदौ १५ मा होम आइसोलेसनमा बसेकी रुपन्देहीकी ६८ वर्षीया महिलाको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाने क्रममा बाटोमा नै निधन भयो । उनी उच्च रक्तचाप र सुगरकी बिरामी थिइन् ।
अस्पतालमा भर्ना नलिने भएपछि लक्षण नभएकाहरु होम वा सामुदायिक आइसोलेसनमा बस्नुबाहेक अरु विकल्प देखिदैन । तर त्यस्ता संक्रमितले आवश्यक आइसोलेसनका सुविधा नपाउँदा फैलनै खतरा त छँदैछ, स्वयम् स्वास्थ्य अवस्थाबारे अनविज्ञ हुनुपर्ने बाध्यता छ ।
होम आइसोलेसनमा बस्नका लागि पर्याप्त प्रकाश आउने र हावा खेल्ने कोठा, छुट्टै शौचालय हुनुपर्ने लगायतका १४ वटा मापदण्ड तोकिएका छन् । आइसोलेसन सेन्टरहरु अस्पतालको पहुँचबाट टाढा हुनुहुँदैन ।
स्थानीय तहका नर्स वा प्यारामेडिक्सले दैनिक कम्तिमा दुईपटक फोन वा एसएमएसबाट होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुपर्छ र अभिलेख राख्नुपर्छ । होम आइसोलेसनमा बसेका एकजना संक्रमितको अनुगमन गरेवापत स्वास्थ्यकर्मीहरुलाई २०० रुपैयाँ भत्तासमेत तोकिएको छ ।
जोखिममा वृद्धवृद्धा र दीर्घरोगी
सरकारले कोरोनाको लक्षण नभएकालाई अस्पताल भर्ना नगर्ने नीति लिएपछि लक्षण नभएका मात्र होइन, लक्षण भएका संक्रमितहरु पनि होम आइसोलेसनमै छन् । सर्वाधिक जोखिम समूहमा पर्ने वृद्धवृद्धा र दीर्घरोगीहरु पनि अस्पताल आउनुको साटो होम आइसोलेसनमै छन् । उनीहरुलाई कोरोनाले झुक्काउने गरेको छ । होम आइसोलसनमै ठिक होला भनेर राखिरहँदा उनीहरुलाई अस्पताल पु¥याउन ढिला हुने गरेको छ ।
जस्तो कि, भदौ १५ मा होम आइसोलेसनमा बसेकी रुपन्देहीकी ६८ वर्षीया महिलाको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाने क्रममा बाटोमा नै निधन भयो । उनी उच्च रक्तचाप र सुगरकी बिरामी थिइन् । कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेको तेस्रो दिनमै उनको मृत्यु भएको थियो ।
त्यस्तै, घटना आर्को पनि छ । भदौ १४ मा भक्तपुर नगरपालिका–१ दुधपाटीमा कोरोना संक्रमित ६५ वर्षीय पुरुषको पनि होम आइसोलेसनमै मृत्यु भयो । उच्च रक्तचाप, महुमेह, मुटुका र दमका बिरामी उनको पीसीआर परिक्षण गर्दा संक्रमण पुष्टी भएपछि होम आइसोलेसन बसेका थिए । संक्रमण पुष्टि भएको दुई दिनमै स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको थियो । दीर्घरोगी उनलाई कोरोनाको लक्षण देखिएपछि घरमै राखिएको थियो । उनको परिवारको सबैलाई कोरोना संक्रमण देखिएको छ ।
यी दुई घटनाले होम आइसोलेसनमा वृद्धवृद्धा र दीर्घरोगीका लागि भने जोखिम रहेको पृष्टि हुन्छ । होम आइसोलेसनमा बसेकाहरुले अरुलाई भाइरस सार्ने मात्र होइन, ज्यानै गुमाउने खतरा पनि छ । यो कुरामा सहमत छन्, कोरोना अस्थाई अस्पताल बुटवलका कोरोना फोकल पर्सन सुर्दशन थापा पनि । उनी भन्छन्, ‘संक्रमितको स्वाथ्य अवस्था जटिल हुँदा पनि घरेलु औषधी खुवाएर घरमै राखिन्छ, अन्तिम अवस्थामा अस्पताल ल्याउदा बचाउन सकिदैन ।’
जनस्वाथ्य विज्ञहरुका अनुसार केही दीर्घरोगी र वृद्धवृद्धामा सुरुमा लक्षण नदेखिए पनि केही दिनपछि लक्षण देखिन्छ । त्यो बेला उनीहरुलाई जतिसक्दो चाँडो अस्पताल पु¥याउनुपर्छ । अस्पताल पुर्याउन सकिएन भने ज्यान जान सक्छ ।
- होम आइसोलेसनमा बसेका संक्रमितहरुको अवस्थाबारे दिनमा दुईपटक जानकारी लिनुपर्ने निर्णय भएपनि स्थानिय तहले चासो नदिनु र सरकारले आफूले बनाएको मापदण्ड आफै लागु गर्न नसक्नु हो ।
होम आइसोलेसनमा बसेकाहरुलाई कुनैबेला स्वास्थ्यमा समस्या आइहाल्यो भने अस्पतालसम्म पुर्याउन सहज संयन्त्रको अभाव छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितको उपचार गरिहेका डा.अनुप बास्तोलाले दीर्घरोगी र ६० वर्ष कटेकाहरुलाई लक्षण नभए पनि होम आइसोलेसनमा राख्नु घातक हुन सक्ने बताउँछन् । उनी भन्छन्, ‘उहाँहरुलाई होम आइसोलेसनमा राख्ने हो भने चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्छ ।'
कति संक्रमितको परिवारलाई कस्तो बेलामा अस्पताल लैजाने भन्ने समेत थाहा हुँदैन । थाहा भएकालाई पनि एम्बुलेन्स पाउनै गाह्रो छ । कुर्दाकुर्दै बिरामीको मृत्यु भएको छ । संक्रमितलाई अकास्मात समस्या आएमा अस्पतालमा पर्याप्त मात्रामा बेड नहुँदा अस्पताल चाहार्दा चाहार्दै मृत्यु भएका घटना पनि थुप्रै छन् ।
यसो हुनुको आर्को कारण होम आइसोलेसनमा बसेका संक्रमितहरुको अवस्थाबारे दिनमा दुईपटक जानकारी लिनुपर्ने निर्णय भएपनि स्थानिय तहले चासो नदिनु र सरकारले आफूले बनाएको मापदण्ड आफै लागु गर्न नसक्नु हो ।
निगरानी गर्न समस्या
होम आइसोलेसनमा बसेकाहरुको निगरानी गर्ने काम स्थानीय तहको भनिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा प्रत्येक स्थानीय तहमा कन्ट्याक ट्रेसिङ र होम आइसोलेसनमा बसेकाहरुको निगरानी गर्ने टिम गठन भएको छ । संक्रमित बढैसँगै काम गर्न अलिकति गाह्रो त भएको भएको माहाशाखाका अधिकारी बताउँछन् ।
उता जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुरका प्रमुख कृष्णबहादुर मिजार भने जनशक्ति अभावले होम आइसोलेसनमा बसेकाहरुको नियमिक निगरानी असम्भव बन्दै गएको बताउँछन् । उनका अनुसार एउटै वडामा धेरै संक्रमित भेटिँदा कन्ट्याक ट्रेसिङको चाप बढ्दो छ । यस्तोबेला होम आइसोलेसनमा बसेकाहरुको निगरानी गर्न गाह्रो हुने बताउँदै मिजार भन्छन्, ‘संक्रमित बढ्दा समस्या झन बढ्छ ।’
काठमाडौं महानगरपालिकाका एक स्वास्थ्य अधिकारीले संक्रमितको कट्याक ट्रेसिङदेखि होम आइसोलेसनसम्म सबै काम आफूहरुको जिम्मामा छोडिएको बताउँछन् । ‘त्यसैले सकेसम्म होम आइसोलेसनमा बसेकालाई एकपटक फोन गरेर परामर्श दिने र स्वास्थ्यमा समस्या भयो भने सम्पर्क गर्नुस् है भनेर छोड्ने गरेका छौं’, उनले भने ।
- डा. शेरबहादुर पुनका अनुसार सुरुमा लक्षण देखिएको छैन भने पनि राति सुत्नेबेलामा सास फेर्न गाह्रो हुने, लगातार खोकी लाग्ने र उच्च ज्वरो आउने समस्या देखिन्छ ।
तर, कुनै संक्रमितलाई होम आइसोलेसनमा बस्दा गाह्रो भयो भने अस्पताल पुर्याउन सहज नभएको उनले बताए । उनका अनुसार जब संक्रमित वा परिवारका सदस्यले अस्पताल लैजान खबर गर्छन्, त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खबर गर्नुपर्छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाईले कुन अस्पतालमा बेड खाली छ भनेर सोधीखोजी गर्छ ।
धेरै अस्पतालमा बेड पाउन मुस्किल छ । यदि भेटियो भने बल्ल बिरामीको परिवारलाई खबर गर्छ । तर संक्रमितलाई परिवारका सदस्य आफैंले अस्पताल लैजान मिल्दैन, मन्त्रालयले पठाएको एम्बुलेन्स आउनुपर्छ । यो सबै प्रक्रिया द्रुत गतिमा पूरा गर्दा पनि डेढ÷दुई घण्टा बितिसक्छ । यो अवधिमा केहीको मृत्यु पनि हुन सक्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको रिसर्च युनिटका संयोजक तथा सरुवा रोज बिशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कुनै पनि संक्रमितको अकस्मात मृत्यु हुँदैन । सुरुमा लक्षण देखिएको छैन भने पनि राति सुत्नेबेलामा सास फेर्न गाह्रो हुने, लगातार खोकी लाग्ने र उच्च ज्वरो आउने समस्या देखिन्छ । यस्ता लक्षण देखिनासाथ अस्पताल पुगे अधिकांश संक्रमितलाई बचाउन सकिन्छ ।
अस्पतालहरुमा बेड अभाव भएका कारण होम आइसोलेसनको विकल्प छैन । तर होम आइसोलेसनमा बस्दा घरपरिवारले राम्रो निगरानी गर्नुपर्छ । डा. पुन भन्छन्, ‘उनीहरुलाई समयमै अस्पताल ल्याउन सकियो भने बचाउन सकिन्छ ।’ वृद्धवृद्धाको र दीर्घरोगीका लागि होम आइसोलेसन जोखिम भएपनि अन्यका लागि भने उपयुक्त छ । घरमा आफ्नो तरिकाले खान र बस्न सकिन्छ । तनाव पनि नहुने उनको बुझाइ छ । तर ‘यसलाई राम्रोसँग प्रयोग गर्न नसकेको खण्डमा कोरोना फैलाउने स्रोत पनि बन्न सक्छ’ डा.पुनले भने ।