१९औं शताब्दीतिर जब लुइ पास्चरलगायतका वैज्ञानिकले भाइरसविरुद्धको पहिलो खोप पत्ता लगाए । त्यसपछि रोगका कारण कीटाणुहरू हुन् भन्ने पत्ता लाग्याे । कीटाणु निष्क्रिय बनाउन सकिन्छ भन्ने वैज्ञानिक मान्यता स्थापित भयो । यसपछिका शताब्दीमा तीव्र रूपले विभिन्न भाइरस पत्ता लागे र त्यसविरुद्धका खोप आविष्कार भए । जसका कारण संसार मानवका लागि कैयौं प्राणघातक रोग निर्मूलको दिशातर्फ उन्मुख भयाे । अहिले कोभिड–१९ भाइरसको त्राहित्राहिका बीच संसारले त्यही मान्यतालाई पछ्याउँदै कोरोनाविरुद्धको खोपको अपेक्षा, आशा र कसरत गरिरहेको छ ।
विज्ञान र अनन्त पूर्ण
मानव मनमस्तिष्कको प्रयासस्वरूप सिर्जित विज्ञानको एउटा निश्चित दायरा नहुँदो हो त, यतिबेला कोरोनाले सिंगो पृथ्वीलाई हायलकायल बनाउने थिएन । सम्भव भएको भए विज्ञानले मानवका लागि घातक भाइरसहरू नै नलाग्ने, उत्पत्ति नहुने व्यवस्था गरिसक्थ्यो होला । मानव सभ्यताका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका थिए, ‘हिजो जे सम्भव थिएन, त्यसलाई विज्ञानले आज सम्भव बनाउनेछ । आज जे सम्भव छैन, त्यसलाई भोलि सम्भव बनाउनेछ । तर एउटा त्यस्तो क्षेत्र हुनेछ, जहाँ विज्ञानले केही पार लाउन सक्नेछैन ।’
- हेर्दा हेर्दै उराठलाग्दो गृष्मलाई शीतल दिन आउने वर्षा, वर्षाले बनाएको हिलो सुकाउँदै मखमलीको मगमग वासना लिएर आउने शरद् अनि क्रमशः हेमन्त, शिशिर र वसन्तका यामहरूले यो सबै बितेर जानेछ भन्ने संकेत गर्दैन र ?
आइन्स्टाइनको यस भनाइले विज्ञानको सीमिततालाई मात्रै संकेत गर्दैन, संसारको अनिश्चिततालाई पनि संकेत गर्दछ । अहिले प्रयोग भइरहेको शक्तिशाली हबल स्पेस टेलिस्कोप होस् या ब्रम्हान्डका विभिन्न रहस्य पत्ता लगाउने अपेक्षा गरिएको २०२१ मा लन्च गरिने भनिएको जेम्स वेब स्पेस टेलिस्कोप होस् । यी सबैले अनन्त ब्रम्हान्डका प्रत्येक पिण्ड पत्ता लगाउन सक्नेछैन । जति टाढासम्म देख्न सकिने टेलिस्कोप बनाए पनि त्योभन्दा अनन्त टाढा बाँकी नै हुन्छ । शायद यही अनन्त ब्रम्हान्ड तत्त्वलाई मनन गर्दै उपनिषद्मा लेखिएको छ–
ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।।
अर्थात्, यो वा त्यो सबै पूर्ण छ, पूर्णमा पूर्ण राख्दा पनि पूर्ण नै हुन्छ र पूर्णबाट पूर्ण झिक्दा पनि बाँकी रहने सदैव पूर्ण नै हुन्छ ।
विज्ञानको सिद्धान्त, साधन र प्रविधिले यो अन्नत पूर्णको भेउ पाउन सक्ने कुरा भएन । अध्यात्माको क्षेत्रमा डुबुल्की मार्दै गहिरो साधनाको रापतापबाट निस्किरहेका वा ध्यानलोकमा जान लालायित चिकित्सक, वैज्ञानिक र इन्जिनियर अहिले प्रशस्तै भेटिन्छन् ।
- त्यस परमसत्य वा परम सत्ता जान्न मन्दिर, मस्जिद र चर्चका ढोका पुग्नुपूर्व आफैंभित्र जान जरुरी देख्छन् महान् योगीहरू । भारतमा प्रख्यात र अत्यन्त्यै सादा जीवन बिताएका रमन महर्षिले ‘म को हुँ’ भनेर आफैंलाई जान्न उत्प्रेरित गरेका छन् ।
उनीहरूमध्ये प्रायःजसो विज्ञान मानिसको मस्तिष्कको सानो झिल्को मात्र रहेको र त्यसभन्दा धेरै पर पुगेर मात्र प्रश्न, कौतूहलता हराउन सक्ने अवस्था आउने बताउँछन् । मानिसले प्रश्न सकिने बेला सत्यको प्रकाश ओढ्छ भन्ने गरिन्छ । राजा जनकले अष्टावक्र ऋषिबाट ज्ञान लिँदा लिँदै प्रश्नहीन बने जस्तै वा बोधिवृक्षमुनिको अनवरत ध्यान साधनाले बुद्ध बनेपछि मात्र, उसले आइन्स्टाइनले भनेको विज्ञानले पार लगाउन नसक्ने क्षेत्र जान्दछ । प्रश्नहीन अवस्थामा पुग्नु नै परम सत्यबोध हुनु हो । त्यस परमसत्य वा परम सत्ता जान्न मन्दिर, मस्जिद र चर्चका ढोका पुग्नुपूर्व आफैंभित्र जान जरुरी देख्छन् महान् योगीहरू । भारतमा प्रख्यात र अत्यन्त्यै सादा जीवन बिताएका रमन महर्षिले ‘म को हुँ’ भनेर आफैंलाई जान्न उत्प्रेरित गरेका छन् ।
म को हुँ ?
मानिसले आफूलाई जान्दछ, उसलाई यो थाहा हुन्छ कि, यो परम ब्रम्हान्डमा ऊ बालुवाको सूक्ष्म कण जतिकै छ । जब उसले आफ्नो नाशवान् शरीर जान्दछ, तब आफ्ना लोभ, मोह, क्रोध व्यर्थ हुन् भन्ने जान्दछ । उसले यो संसार अनित्य छ भन्ने बुद्ध मत बुझ्दछ । हेर्दा हेर्दै उराठलाग्दो गृष्मलाई शीतल दिन आउने वर्षा, वर्षाले बनाएको हिलो सुकाउँदै मखमलीको मगमग वासना लिएर आउने शरद् अनि क्रमशः हेमन्त, शिशिर र वसन्तका यामहरूले यो सबै बितेर जानेछ भन्ने संकेत गर्दैन र ?
एकदमै सानो समयावधिको ऋतु होस् या लामो समयावधिको पृथ्वीको जीवनरेखाको मौसम सबै बदलिनेछ । हाम्रा पीर, चिन्ता, नैराश्यता पनि बितेर जानेछ जसरी खुसी, उत्साह, उमंग बितेर गएको छ । यसर्थ न भूतलाई सम्झेर नोस्टाल्जिक हुनुको अर्थ छ न त भविष्यलाई सम्झेर कहालिनु छ । वर्तमानलाई मात्रै हामीले यो पनि बितेर जानेछ भन्ने अनित्य यथार्थको बुद्धमत महसुस गर्न सक्यौं भने हामी आनन्दभावको यात्रामा जीवन सुखमय तवरले बिताउन सक्छौं ।
महामारी र मानिस
बेलाबखतमा यस संसारमा प्राकृतिक रूपमा आउने प्लेग, सार्स, हैजा र अहिलेको कोरोना जस्ता महामारीरूपी सन्ताप मात्रै होइन । मानवीय कारण उत्पन्न भएका महाभारत र रामायणकालीन भीषण युद्धदेखि पहिलो र दोस्रो विश्व युद्धले समेत अत्यधिक मानवीय क्षति भएकाे छ । यस्तो बेलामा प्रत्यक्ष रूपमा हुने क्षतिभन्दा पनि अप्रत्यक्ष क्षतिको लेखाजोखा कम भएका हुन्छन् । मानिसले जीवनलाई नित्य ठानिरहेका हुन्छन् । निश्चित दिशामा जीवन जान्छ भन्ने अपेक्षा बोकेका हुन्छन् । जब महामारीका कारण चल्दै गरेको नित्य जीवन चक्रमा असामयिक ढंगले अनपेक्षित ओरालो गति सुरु हुन्छ, तब मानिस अत्तालिन थाल्छ ।
- हरेक मानव मानसिक रूपमा स्वस्थ्य हुने हो भने सिंगो मानवसँग कोरोना भाइरसले गरिरहेको यो विश्व युद्ध उसका लागि पक्कै हार हुनेछ ।
कोरोनाका कारण यसबेला विश्वमा करोडौं मानिस बेरोजगार हुनुपरेको छ, चलिरहेको पढाइ बन्द गरिएका छन्, संसारमा के के न गरौंला भनेर तय गरिएका अन्तर्राष्टिय सभा, सम्मेलनहरू स्थगन गरिएका छन् । मानिस घरमा बन्द भएर बसेको महिनौं नाघेको छ । यस्तो बेलामा मानसिक स्थिति ठीकठाक नहुँदा र अत्तालिँदा धेरैजसो डिप्रेसनको सिकार भएका छन् । आत्महत्याको तथ्यांक उकालोलाग्दो छ । अझ अविकसित मुलुकका समाजमा घरभित्र हुने हिंसा र अपराधहरू सहजै अनुमान गर्न सकिन्छ ।
भाइरस आफैंमा एक जीवन भएको सूक्ष्म अणु हो । सिंगो पृथ्वीका मानव समुदायसँग उसले छेडिरहेको युद्धमा एक न एक पक्षको विजय हुन्छ नै । आधुनिक भौतिक विज्ञानको क्वान्टम फिजिक्स वा अध्यात्मको सूक्ष्म विचारको विराट् शक्तिको अवधारणा आत्मसात् गर्ने हो भने भने यतिबेला सिंगो मानव समुदाय मानसिक रूपमा स्वस्थ्य हुन जरुरी छ । यदि हरेक मानव मानसिक रूपमा स्वस्थ्य हुने हो भने सिंगो मानवसँग कोरोना भाइरसले गरिरहेको यो विश्व युद्ध उसका लागि पक्कै हार हुनेछ । मानसिक स्वस्थ्यको मतलब आफ्नो शुद्ध चित्त हो, तटस्थ भाव हो । जब हामीमा यो पनि बितेर जानेछ भन्ने भावको सिर्जना हुन्छ, तब हामीमा एक खालको असीम ऊर्जा उत्पन्न हुनेछ ।
त्यस ऊर्जाभित्र प्रेम, करुणा, सहिष्णुता र सकारात्मकताको रापताप हुनेछ । यदि संसारमा यसको खोप बने पनि नबने पनि यसलाई हामीले जित्न सक्ने तागत उत्पन्न गराउनुपर्नेछ । यदि त्यस्तो तागत र ऊर्जा हामीमा बन्यो भने त्यो कोरोनाविरुद्ध बनाइएको खोपभन्दा शक्तिशाली पक्कै हुनेछ । के थाहा आइन्स्टाइनले भन्न खोजेको विज्ञानले पत्ता लगाउन नसक्ने कुनै एक ठाउँ तपाईं, हामीभित्रै पो छ कि ?
खैर, यो समय पनि बितेर जानेछ !