राज्यस्तरबाट शनिबार ‘धुमधाम’का साथ पाँचौं संविधान दिवस मनाइयो । तर नागरिकस्तरमा दिवसले कुनै खुसी दिएन । दिनभर श्रम गरेर साँझ पेट भर्ने श्रमिक तथा मजदुरलाई त संविधानसभाबाट संविधान बन्नु र गणतन्त्र आउनुले कुनै फरक पारेन । उनीहरूको दुःख, अभाव र पीडा उस्तै छ । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएका केही प्रतिनिधिमूलक नागरिकको कथा यस्तो छ :
असीमको असीमित दुःख
असीम सागरले बाक्लो फित्तावाल चप्पल पड्काउँदै काठमाडौंमा तरकारीले भरिएको ठेला गाडा गुडाउन थालेको २०६० सालबाटै हो । काठमाडौं आउँदा उनका सपना फरक थिए । असीम देशको असहज अवस्थाका कारण २०६१ सालमा देश नै छोडेर हिँडे । देशसँगै उनले यतै छोडेका थिए ठेलाभरिका सपना, श्रीमती र छोरा ।
त्यसपछि त्यही ठेलागाडामा उनकी श्रीमतीले तरकारीसँगै तरकारीभन्दा गह्राैँ सपना गुडाएर हिँडिन् । ठीक त्यही बेला देशमा जनआन्दोलन भयो । ऋण गरेर आफ्ना श्रीमानले किनेको ठेलागाडा थन्काएर उनी पनि जनआन्दोलनमा सहभागी भइन् । देशमा गणतन्त्र आयो । असीम पनि देश फर्किए । तर, फिरेनन् उनीहरूका दैनिकी ।
- संविधान दिवसले मेरो चुलो बाल्दैन । चुलो बल्न भारी बोक्नुपर्छ । भारी बोक्न यहाँको बजार खुल्नुपर्छ । बजार खुल्यो यहि मेरा लागि ठूलो कुरा हो ।
देशमा गणतन्त्र आएपछि कति पटक काठमाडौंका बाटोमा छरिए उनले बोकी हिँडेका तरकारी ? कति पटक नगरपालिकाले उनको ठेलागाडा लग्याे ? कति पटक फुस्कायो नगर प्रहरीको बुटले ठेलागाडाकाे चक्का ? अनि कति पटक तरकारीमा गरेको लगानी डुबाएर खुइय्य काढे, उनी आफैंलाई हेक्का छैन । १७ वर्षमा उनले आफूजस्तै फुटपाथबाट जीवन धानिरहेका ‘भुइँमान्छे’का दुःख नियाले । तिनै दुःखलाई कवितामा प्रस्तुत गरे ।
उनलाई लागेको थियो, देश चलाउनेहरूले कविताको भाषा त बुझ्लान् । न देश चलाउनेले उनको कविताको भाषा बुझे, न बुझाउन सक्ने अर्को भाषा नै थियो उनीसँग । उनले ठेलागाडा कुदाउँदै गर्दा देशमा संविधान घोषणा भयो । तर, असीमको जीवनमा कुनै परिवर्तन आएन । उनले परिवर्तनको आशासमेत राख्न सकेका छैनन् ।
सागसँग साटिएको सरलाको संघर्ष
सिन्धुपाल्चोककी सरला बजगाईंले पाटनका भित्री गल्लीमा सागको डोको बोकेर हिँड्न थालेको १७ वर्ष बित्यो । काठमाडौंकै विभिन्न स्थानमा मजदुरी गर्दा गर्दै उनका श्रीमानकाे निधन भयाे ।
छोरा सानै थिए, छोरालाई हुर्काउने र बिहान बेलुकाको छाक टार्नका लागि कमाउने जिम्मेवारी उनको एक्लो काँधमा पर्यो । कैयौं दिन छोरालाई आडमा राखेर सागका मुठा बेचिन् । ती अप्ठ्यारा दिनको कल्पना गर्दा आज पनि उनलाई दु:ख लाग्छ ।
- उनी आज पनि उस्तै समस्या बेहोरिरहेछन् । धान रोप्ने बेला मल पाउँदैनन् । उनले उब्जाएको अन्नले राम्रो मूल्य पाउँदैन । बारीमै कुहिएर जान्छन् बजार नपाएर तरकारी ।
सरलाले डोकोमा तरकारी डुलाउँदा डुलाउँदै देशमा गणतन्त्र आयो । हिजो पनि तरकारीको पैसाले छाक टारेर तरकारीमा लगानी गर्न पुग्छ पुग्दैन भन्ने चिन्ताले सताउँथ्यो । आज पनि सोही चिन्ता र पिरले पछ्याइरहन्छ सरलालाई ।
दिवसकाे मतलब छैन
काभ्रेका रामप्रसाद थापालाई संविधान दिवस किन मनाइन्छ, थाहा छैन । अघिल्लो वर्ष दिनभर भारी बोकेर साँझ घर फर्किएपछि थाहा पाएका थिए ‘संविधान दिवस’ रहेछ भन्ने । यो साल पनि त आयो संविधान दिवस भन्दा उनी विरही स्वरमा भन्छन्, ‘संविधान दिवस आयो, त्यसको न चिन्ता न चासो छ मलाई । मेरो चिन्ता देशमा संविधान दिवस आउँदा मेरा लागि यही देशको कुनै बाटोमा भारी बोकाउने मान्छे आउँछन् आउँदैनन् भन्ने हो ।’
- व्यवस्था फेरियो । संविधानसभाबाट संविधान बन्यो । आफ्ना नेताहरू सरकारमा पुगे । तर आन्दोलनमा होमिएका र व्यवस्थासँगै आफ्नो अवस्था पनि परिवर्तन हुने सपना साँचेका नागरिकको चित्त नराम्ररी कुँडिएको छ ।
उनलाई थाहा छ– दसैंको मिति । दसैंसँगै उनीसँग उनका परिवारले गर्ने आशा । अनि महिनौंदेखि थाप्लोमा नाम्लो नपर्दाको आफ्नो नियति । उनलाई संविधान दिवस आएकामा भन्दा ६ महिनादेखि जारी लकडाउन खुलेकामा खुसी लागेको छ । भन्छन्, ‘संविधान दिवसले मेरो चुलो बाल्दैन । चुलो बल्न भारी बोक्नुपर्छ । भारी बोक्न यहाँको बजार खुल्नुपर्छ । बजार खुल्यो यही मेरा लागि ठूलो कुरा हो ।’
‘व्यर्थै आन्दोलनमा लागिएछ’
मकवानपुर हटियाका अर्जुन तिमिल्सिना २०६२/६३ को जनआन्दोलनमा हलो र कोदालो गोठमा थन्काएर सहभागी भएका थिए । प्रहरीको लाठी खाए । अश्रृग्यासको फोहरा पचाए । देशमा गणतन्त्र आयो । उनलाई खुसी लाग्यो । सोचे– अब हाम्रा बोली सुन्ने मान्छेको सरकार बन्यो ।
त्यसको लगभग ९ वर्षपछि उनले खेतमा धान गोड्दै गर्दा देशले संविधान पायो । नेताको जीवनशैली फेरियो । तर, फेरिएन उनको दैनिकी ।
उनी आज पनि उस्तै समस्या बेहोरिरहेछन् । धान रोप्ने बेला मल पाउँदैनन् । उनले उब्जाएको अन्नले राम्रो मूल्य पाउँदैन । बारीमै कुहिएर जान्छन् बजार नपाएर तरकारी ।
डोमालाई कहिले बुझ्छ यो व्यवस्थाले ?
महोत्तरीकी डोमा मल्लिक डोमले प्लास्टिकले छाएको सानो छाप्रोबाटै नियालेकी हुन् देशले संविधान पाउँदाको दीपावलीको उज्यालो । उनी त्यही छाप्रोमा बस्दा बस्दै आएको हो गणतन्त्र । डोमा हिजो पनि बाँसको चोयाको डाला, सुपली र पनपथिया बुनेर बेच्थिन् । आज पनि बेचिरहेकै छिन् । उनले बनाएका बासका सामग्रीले देवता पुजिन्छ ।
भन्छिन्, ‘जुन देशमा हाम्रो श्रम, सीप, मेहनत र आगो चल्छ । तर, चल्दैन हामीले छोएको पानी । हामीले दिएको आगोले जलेका मान्छेले मुक्ति पाउँछन् । तर, हामीलाई छुँदैनन् यहाँका मानिस । अनि कसरी पत्याउनु हाम्रो नाममा संविधान लेखिएको छ भन्ने कुरा ?’
शिक्षण छाडेर आन्दोलनमा लागेका कृष्ण
झापाका कृष्णप्रसाद न्यौपानेले देशले कोल्टे फेर्छ भन्ने सपना बोकेर परिवारसँग विद्रोह गरे । सरकारी जागिर नै छोडेर आन्दोलनमा हिँडे । शिक्षक संगठन बनाए । विद्यार्थीलाई समाजका लागि विद्रोह गर्न भने । त्यही निहुँमा कैयौं पटक समातिए । पटक–पटक निलम्बनमा परे । तर, उनले दुःखी नेपालीको सपना देख्न छाडेनन् ।
उनका बुवा पुर्ख्याैली पेसा अपनाउन आग्रह गर्थे । तर, परिवर्तनको पक्षमा कृष्णप्रसाद निरन्तर वकालत गरी हिँड्थे । देशमा परिवर्तन पनि आयो । तर फेरिएन कृष्णप्रसादको जिन्दगी । न उनले परिवर्तन गर्न चाहेको वर्गले नै परिवर्तनको आभास गर्न पाए ।
हिजोआज कृष्णप्रसाद जीविकोपार्जनका लागि पुर्ख्याैली पेसामा फर्किएका छन् । हातमा किताब बोकेर जजमानी गर्दै हिँड्छन् ।