नाटिंघम युनिभर्सिटीले गरेको अनुसन्धानले हप्तामा ५ वटा स्याउ खानाले फोक्सो र श्वासप्रश्वासको जोखिमलाई कम गर्ने पत्ता लगाएको छ ।
वाशिंगटन स्टेट युनिवर्सिटीले गरेका अनुुसन्धानले पनि नियमित स्याउको सेवनले मोटोपनलाई रोक्न मदत गर्ने बताएको छ ।
हामी प्राय जसो बिरामी भएका बेला मात्र स्याउ खाने गर्छौं । विशेषगरी बिरामी भएको समयमा स्याउको सेवनले शरीरमा तागत आउँछ भनेर मात्र हामी स्याउ खाने गर्छौं । अरुबेला सक्नेले पनि स्याउलाई त्यति वास्ता गर्दैनौं । तर दिनमा एउटा डल्लो स्याउ मात्र खाए यसले शरीरलाई विभिन्न किसिमको फाइदा पुर्याउने कुरा अनुसन्धानबाट पत्ता लागेको छ ।
‘एन एप्पल अ डे किप्स द डाक्टर अवे’ अंग्रेजीको यो उखान पहिलो पटक सन् १९१३ मा प्रकाशित भएको थियो । हो यदि तपाईं प्रत्येक दिन स्याउ खानुहुन्छ भने तपाईं डाक्टरकोमा जानै पर्दैन ।
स्याउमा भिटामिन सी हुन्छ जसले रोगहरू विरूद्ध लड्न सहयोग पुर्याउँछ । यसमा भएको एन्टिआक्सीडेन्टले शरीरमा भएको हानिकारक तत्वहरूलाई नियन्त्रण गर्ने काम गर्दछ ।
स्याउ खानुका ५ फाइदाहरु
१.मुटुको लागि लाभदायक
स्याउको सेवनले मुटुको रोगहरूको जोखिमलाई कम गर्ने काम गर्छ । २० हजारभन्दा बढी मानिसमा गरिएको एउटा अनुसन्धानले यो कुरा पत्ता लागेको हो । जर्नल अफ क्लिनिकल न्युट्रिशनमा प्रकाशित अनुसन्धानका अनुसार स्याउमा फाइबर र पोलीफेनल पाइन्छ जसले कोलस्ट्रोललाई घटाएर मुटु सम्बन्धी रोगहरूको जोखिमलाई कम गर्दछ । यसको साथै स्याउले शरीरको कम्मरको आकार घटाउँछ भने रक्तचापलाई सन्तुलनमा राख्छ ।
२.क्यान्सरको जोखिम कम गर्दछ
स्याउमा एन्टिअक्सिडेन्ट र फ्लेभोनोइड्स जस्ता तत्वहरूको पाइने भएकाले यसले क्यान्सरलाई बढ्नबाट रोक्छ । ४१ वटा भन्दा बढी अनुसन्धानको समीक्षा अनुसार नियमित स्याउ खाँदा फोक्सोको क्यान्सरको खतरा कम बताइएको छ । त्यस्तै अर्को अनुसन्धानको अनुसार धेरै तरकारी र फलफूल खाँदा पेटको समस्या समाधान हुने तथा क्यान्सरविरूद्ध संरक्षण प्रदान हुने कुरा पत्ता लागेको छ ।
३. तौल घटाउन स्याउ खानुहोस्
वाशिङ्टन स्टेट युनिभर्सिटीको अनुसन्धान अनुसार स्याउले मोटोपना बढाउने रोगहरुलाई रोक्न सहयोग गर्छ । यदी तपाईं स्याउ दिनहुँ खानुहुन्छ भन यसले तपाईको पाचन क्षमता बढाउँछ र मोटोपना नियन्त्रण गर्छ । त्यस्तै यसले शरीरलाई फाइदा पुर्याउने ब्याक्टोरियालाई पनि मदत गर्छ ।
४.फोक्सोलाई स्वस्थ राख्छ
नियमित स्याउको सेवनले मानिसको फोक्सोलाई स्वस्थ राख्ने अनुसन्धानले बताएको छ । हप्तामा पाँच वटा मात्र स्याउ खाएमा पनि मानिसको फोक्सोले राम्रोसँग काम गर्दछ । नाटिंघम विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार स्याउले फोक्सो र श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम कम गर्दछ । यसमा पौष्टिक तत्वहरू हुने भएकाले शरीरलाई विभिन्न तवरले स्वस्थ राख्ने उनीहरुको दाबी छ ।
५.स्मरण शक्ति बढाउँछ
एक अनुसन्धानले स्याउले मानिसको दिमागको शक्तिलाई बढाउने काम गर्ने बताएको छ । स्याउसम्बन्धी एउटा अफवाह पनि छ, ‘एक कप कफीमा भन्दा स्याउमा धेरै क्याफिन हुन्छ’ । तर यो गलत हो, यसमा त्यस्तो केही हुँदैन । स्याउमा प्राकृतिक रुपमा नै चिनी हुने हुनाले यसले मानिसलाई ऊर्जा दिन्छ । यदी तपाईंको दिउँसोमा कफी पिउने बानी छ भने यसकोे सट्टामा स्याउ खानुहोस् । यो तपाईंको लागि बढी फाइदाजनक हुन्छ ।