काठमाडौं– भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा कम्तीमा १० जनाको ज्यान गएको छ । महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको तीन तल्ले उक्त भवन सोमबार बिहान भत्किएको थियो ।
भवनमा रहेका अरु पाँच जना गम्भिर घाइते भएका छन् । उनीहरुलाई बिहानै स्थानीय अस्पतालमा पु¥याइएको बताइएको छ ।
भवनमा पुरिएका व्यक्तिलाई तत्कालै उद्धार गरी निकालिएको भारतको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ले जनाएको छ । उक्त एनडिआरएफका अधिकारीहरुले सोमबार बिहान अबरेसम्म पनि उद्धारको काम जारी रहेको बताएका छन् ।
भत्किएको भवनको भग्नावशेषभित्र केही व्यक्ति पुरिएको हुनसक्ने आशंकामा उद्धारको काम तत्कालै थालिएको पनि उद्धार अधिकारीहरुले जानकारी दिएका छन् । भवनमा २० देखि २५ जनासम्म व्यक्ति च्यापिएर रहेका थिए । उनीहरुमध्ये करिब २० जनालाई उद्धार गरी निकालिएको छ ।
थप च्यापिएर रहेका व्यक्तिको उद्धारको काम जारी रहेको उद्धार अधिकारीहरुले जानकारी दिएका छन् ।