नेपाली कम्युनिस्ट आन्दोलनका एक सशक्त नेता हुन्, नारायणमान बिजुक्छे (रोहित) । ‘क्लिन कम्युनिस्ट’ नेताका छवि बनाएका उनी ४६ वर्षदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष छन् । १९९६ सालमा भक्तपुरमा जन्मिएका रोहितले पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा करिब १० वर्ष भूमिगत जीवन बिताए । देशका प्रायः सबै अग्रगामी आन्दोलनमा सक्रिय निष्ठावान कम्युनिस्ट नेता बिजुक्छेसित समसामयिक राजनीतिक सन्दर्भमा नेपाली पब्लिकका लागि सिर्जना दुवाल श्रेष्ठले गरेको कुराकानीः
अचेल कता व्यस्त हुनुहुन्छ ? सञ्चारमाध्यममा पनि खासै देखिनुहुन्न ?
कोभिड –१९ को संक्रमण नेपालमा फैलिएदेखि म घरैमा छु । टेलिभिजन, रेडियो कार्यक्रम वा सभा–सम्मेलनमा नजान चिकित्सकको सल्लाहअनुसार घरैमा बसेको छु । साउनको पहिला हप्तासम्म म विभिन्न कार्यक्रमा सहभागी हुँदै थिएँ र पत्रपत्रिका, रेडियो र टेलिभिजनमा पनि अन्तरवार्ता चल्दै थियो । साउनको दोस्रो हप्तामा तिलगंगा अस्पतालमा डा. रुइतबाट आँखाको सामान्य शल्यक्रिया भयो । एक महिनासम्म आराम र पढ्ने–लेख्ने काममा कमी आयो ।
काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढेसंगै भेटघाट सबै बन्द भयो । तर भदौको दोस्रो हप्तादेखि इन्टरनेट वा जूम कार्यक्रममार्फत चिलीको ‘फाँसीवादको प्रतिरोध’ पुस्तकको अन्तरक्रिया, २०४५ साल भदौ ९ गतेको ‘कालो दिवस–भक्तपुर काण्ड’को भत्र्सनालगायत कार्यक्रमहरुमा घरैबाट सहभागी भएँ । भदौ ९ पछि महिला, विद्यार्थी, शिक्षक वा कलेजहरुको जूम कार्यक्रमहरुमा घरैबाट भाग लिएँ ।
तपाईंले आफ्नो पार्टीलाई भक्तपुरबाट देशका अन्य भूगोलमा विस्तार गर्न सक्नु भएन है, किन होला ?
भूमिगतकालमा केही जिल्लामा हामीले निर्माण गरेको पार्टी संगठन २०४५ सालको भक्तपुर काण्डको समयमा नेमकिपामाथि सरकारको दमनको कारण कमजोर भयो । कम्युनिष्टको नामका मित्र दल अर्थात वाम पार्टीहरुकै कारण नेमकिपाले केही जिल्लाका पार्टी समिति विघटन गर्यो ।
तत्कालीन नारायणी तथा कर्णाली अञ्चलमा वर्गसत्रुबाट भन्दा कम्युनिस्ट भन्ने दलहरुबाटै नेमकिपाको संगठन भत्काउने काम भयो । पञ्चायतकालमा वर्गसत्रुको दमनवाट बाँकी भएको संगठनले एमाले, एमाओवादी र पूर्वजनमोर्चाको पद, पैसा, लोभ–लालच, जात–जाति, भाषिक र क्षेत्रीय साम्प्रदायिक आक्रमणविरुद्व अहिले पनि संघर्ष गरिरहेको छ ।
हाम्रो पार्टी र वर्गीय संगठनहरुको जूम कार्यक्रमहरुमा कर्णली, भेरी, लुम्बिनी, नारायणी, काभ्रे, सिन्धुपाल्चोक र तराईको साथीहरुको पनि सहभागिता थियो । यस अर्थमा नेमकिपाको संगठन भक्तपुरमा मात्रै केन्द्रित छ भन्ने होइन ।
अहिले पनि कर्णाली र दुर्गम क्षेत्रमा नेकपा र नेपाली कांग्रेसले आ– आफ्नो पार्टीको महाधिवेशनको निम्ति नयाँ–नयाँ सदस्यता प्रदान गर्दैछन् । रक्सी खुवाउँदै, पैसा दिंदै, टीका लगाउँदै र अबीर दल्दै सदस्य बनाउँदै छन् । कोभिड –१९को महामारीबीच पूँजीवादी दलले चर्तिकला गरिरहेका छन् । हामीलाई त्यस्तो गर्नु छैन ।
भक्तपुरको साँस्कृतिक एकता जोगाउन तपाईंले खेलेको भूमिकाको प्रशंसा हुने गर्छ । के गर्नु भएको छ त्यस्तो ? कसरी गर्नुभयो ?
शिक्षा, स्वास्थ्य, साहित्य, नाचगान, पत्रकारिता आदि सांस्कृतिक फाँटमै आउँछन् । प्राचीन कला–संस्कृति एवं सम्पदा ( मूर्त एवं अमूर्त) र नाचगानको संरक्षणको काम , कामदार, जनतासंगै मिलेर जनप्रतिनिधीहरु मार्फत हुँदैछ । त्यस्तै प्रगतिशील साहित्य, कला तथा पत्रकारिताको विकासको निम्ति पार्टी कार्यकर्ता साथीहरु नै क्रियाशील छन् ।
अहिले सरकारको कामलाई कसरी विश्लेषण गर्नु हुन्छ ?
पञ्चायतकालदेखि सुरु भएका अनियमितता, पक्षपात, नातावाद र कृपावाद चालु छ । सार्वजनिक सम्पत्ति एवं सेवा निजीकरण गर्ने काम पञ्चायतले भन्दा बढी नेपाली कांग्रेसका सरकारहरुले गरे । त्यसैको पदचिन्हमा एमालेका सरकारहरु लागे ।
- प्रमुख प्रतिपक्षी दल भनिएको नेपाली कांग्रेसले पनि पदीय र योजनाहरु अथवा ठेक्काको भागबन्डामा भाग लिएपछि सरकारको विरोध गर्ने साहस कहाँबाट आउँछ ?
एमाले र एमाओवादी ( नेकपा)को सरकार त्यही काम गर्दैछ । पञ्चायतका तीस र प्रजातान्त्रिक एवं गणतन्त्रका सरकारले तीस वर्षमा जति देशको अर्थतन्त्र र विकास निर्माणमा अनियमितता र अन्यौल कायम भयो, उति नै वर्तमान सरकारले विगत दुई वर्षमा गरेको देखिन्छ । यो अवधि देशका निम्ति दुर्भागयपूर्ण रह्यो । यो कम्युनिष्ट व्यवस्थालाई बदनाम र निन्दा गराउने अवधि सावित भयो ।
दुई ठूला कम्युनिष्ट पार्टी मिलेर नेकपा बनेको छ । अग्रज कम्युनिस्ट नेताको हिसाबमा यसलाई कसरी लिनुभएको छ ?
नेकपा नामले कम्युनिष्ट तर कामले पुँजीवादी पार्टी नै हो । नेकपाको विचार र व्यवहार बुझ्ने मानिसले नेकपालाई घृणाको दृष्टिले हेर्दै छन् । संवेदनशील समुदाय उनीहरुको कम्युनिष्ट र प्रगतिशील विचारबाट निराश छन् ।
पछिल्लो समय कम्युनिष्ट पार्टीप्रति नै नागरिकको निराशा बढेको बुझिन्छ । किन यस्तो भयो होला ?
वचनको उल्टो कामहरु गर्न थालेपछि जनतामा विस्तारै विश्वास घट्दै जानु स्वभाविक हो । देशको विकासलाई पछि पार्ने विश्वासघाती ठेकेदारहरु, विचौलिया, विदेशी एजेन्टहरु र काला बजारियाहरुको मात्रै हीत हेरेपछि जनताले सरकारलाई कसरी विश्वास गर्छन् ?
नेकपाको केन्द्रीय समिति र मुख्य–मुख्य समितिका बैठकहरु महिनौं बस्दा बिनानिर्णय स्थगित हुन्छन् । समाचारमा कार्यशैली, पद र सरकारको जिम्मेवारीमा हेरफेरबारे छलफल भएको भनेर प्रचार हुन्छ । तर व्यवहारमा विश्वविद्यालय, ठेकेदारी र सरकारको विभिन्न संवैधानिक अंग र प्राधिकरणका पदहरुमा कुन गुटको के कति राख्ने ? जस्ता विषयमा सारा समय खर्च हुन्छ । झुट बोल्नुको पनि एउटा सीमा हुन्छ । त्यसले जनतामा सरकार र शासक दलहरुमाथि विश्वास घट्दै जान्छ र निराशा बढ्छ ।
- नेमकिपा– पद र पैसाको भागबन्डाको भाँडभैलोमा भाग लिँदैन । आलोचनालाई विरोध सम्झने बिडम्बना पनि छ ।
प्रमुख प्रतिपक्षी दल भनिएको नेपाली कांग्रेसले पनि पदीय र योजनाहरु अथवा ठेक्काको भागबन्डामा भाग लिएपछि सरकारको विरोध गर्ने साहस कहाँबाट आउँछ ?
नेपाली कम्युनिष्ट आन्दोलनलाई थप उचाईमा लैजान के गर्नुपर्ला ?
नेकपाद्वारा जिल्ला–जिल्लामा भत्काइएका नेमकिपाका जगहरु बनाउन समय लाग्नेछ । शासक पार्टीहरु महाधिवेशनको तयारीको नाममा पश्चिम नेपालका केही जिल्लामा टीका लगाई, रक्सी खुवाउँदै, भोजभतेर गरेर र पैसा बाँडेर जसलाई पनि पार्टी सदस्य बनाउने नाच देखाउँदैछन् । यसरी त कसरी उचाइमा पुग्न सकिन्छ । कम्युनिष्टको विचारलाई मनन नगरी उचाइमा पुग्न सम्भव छैन ।
नेककिपा सरकारमा गएर काम गर्दैन, तर विरोध मात्रै गर्छ भन्ने आरोप छ नि ?
नेमकिपाले प्रखर प्रतिपक्षको भूमिका इमान्दारपूर्वक निर्वाह गर्दै आएको छ । नेमकिपा– पद र पैसाको भागबन्डाको भाँडभैलोमा भाग लिँदैन । आलोचनालाई विरोध सम्झने बिडम्बना पनि छ ।
कोरोना महामारी नियन्त्रणमा सरकारले खेलेको भूमिकालाई कसरी टिप्पणी गर्नुहुन्छ ?
२० प्रतिशत सफल र ८० प्रतिशत असफल, गाईजात्रा छ ।
अहिले एमसिसीको विषय विवादित छ । यसमा नेककिपाको धारणा के हो ?
एमसिसी त संयुक्त राज्य अमेरिकी साम्राज्यवाद र फाँसीवादी भाजपा सरकार मिलेर दक्षिण एसिया अर्थात हिन्द–महासागर किनारका देशहरु र प्रशान्त महासागर वरिपरिका देशहरुलाई आर्थिक र सैन्य गठबन्धनमा बाँधी समाजवादी चीनविरोधी आक्रमण गर्ने योजनामा नेपाललाई फसाउन ल्याइएको हो । नेमकिपा त्यसको विरोधमा छ ।