अर्को सातादेखि खाडी मुलुकहरुबाट पनि नियमिति उडान सञ्चालन हुने भएको छ । खाडी मुलुकको दुईतर्फ नियमित उडान आउँदो असोज १५ देखि सञ्चालन गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार खाडी मुलुकहरुमध्ये कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन हुनेछ । भदौ १६ देखि नै सुरु भएको नियमित उडानमा खाडी मुलुकको हकमा चाटर्ड र उद्धार उडान मात्र भइरहेको थियो । पिसिआर परक्षिण सहज नभएको भन्दै उडान नियमित गर्न सकेको थिएन ।
यसअघि चार्टर्ड उडानमात्र भएका तीन गन्तव्य दोहा, रियाद र कुवेतमा अब नियमित उडान गरिने गरी तालिका बनाएको पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताएका छन् । जारी गरिएको उडान तालिकामा २५ दिनका लागि सातामा कूल औसत १०९ वटा उडान हुने गरी उल्लेख गरिएको छ । अक्टोबर महिनाका लागि दैनिक १५ वटासम्म उडान अनुमति दिइएको उनले बताए ।
दोहामा नेपाल एयरलाइन्सका न्यारोबडी र वाइडबडी जहाज र हिमालय एयरलाइन्सले, कुवेतबाट जजिरा एयरवेजले उडान गर्नेछ भने रियादबाट हिमालय एयरलाइन्सले उडान भर्ने उडान तालिकामा उल्लेख गरिएको छ ।