काठमाडौंकी रोशी श्रेष्ठ (४६) पाउँ अर्थात् तितौराकी पारखी हुन् । उनको ब्यागमा पाउँ कहिल्यै टुट्दैन । उनीसँग सानोमा जनवहालको पाउँ, कलेज पढ्दा रत्नपार्कको पाउँ भण्डारमा पाउँ किनेर खाने गरेको मीठो सम्झना छ ।
काठमाडौंमा पाउँ पारखीहरूको लागि ‘रत्नपार्क पाउँ भण्डार’ निकै प्रचलित नाम हो । यसका सञ्चालक विजय श्रेष्ठले मामाघरबाट ५० वर्ष अघि सुरू गरेको पसललाई अहिले रत्नपार्क पाउँ भण्डार उद्योगकै रूपमा स्थापित गराइसकेका छन् ।
२०५३ सालतिर कलंकीमा सानो घरेलु उद्योगबाट सुरू भएकोे रत्नपार्क पाउँ भण्डार उद्योगमा अहिले ४५ जनाभन्दा बढीलाई रोजगार दिइरहेका छन् । किसान, बिचौलिया वितरक, उद्योगमा काम गर्ने कामदार साथै पाउँ पसलहरू यस उद्योगमा निर्भर छन् ।
यस उद्योगका लागि एक वर्षमा एक लाख के.जी. भन्दा बढी लप्सी, ५० हजार के.जी. जति निबुवा, पन्ध्र हजार के.जी. जति अमला, करिब ७ हजार के.जी आँप, करिब दश हजार के.जी कागती कच्चा पदार्थका रूपमा चाहिन्छ । कागतीबाहेक प्रायः सबै कच्चा पदार्थहरूका लागि यो उद्योग नेपाली किसानहरूमा नै निर्भर छ ।
१५ भिन्न प्रकारका लप्सीको पाउँको लागि प्रख्यात रत्नपार्क पाउँ भण्डारका सञ्चालक श्रेष्ठका अनुसार लप्सी काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर बाहेक नुवाकोट, सिन्धुपाल्चोक, दोलखाबाट ३० जना भन्दा बढी बिचौलिया अर्थात् वितरकहरूले उपलब्ध गराउँछन् । यकिन गरेर भन्न नसके पनि लप्सी किसानहरू उनी जस्तै अरू करिब ३० पाउँ उद्योगहरूमा निर्भर छन् ।
यसरी बनाइन्छ पाउँ
लप्सीको मौसममा जम्मा भएको लप्सीलाई पहिले ग्रेडिङ गरिन्छ । नराम्रो र कुहिएको छुट्याइन्छ र राम्रो जति सफा पानीमा राम्रोसँग पखालिन्छ ।
त्यसपछि लप्सीलाई उमालिन्छ । पाउँको प्रकार अनुसार उमालेको लप्सीको गेडा, बोक्रा र माडा राखिन्छ । लप्सीको गेडालाई सुधारिएको चुलोमा दाउराको सट्टा आगो बाल्न प्रयोग गरिन्छ । जसले गर्दा दाउराको प्रयोग रोकिएको छ ।
श्रेष्ठका अनुसार २०५६/५७ सालतिर तीन/चार दिनमै दश हजारको दाउरा चाहिन्थ्यो । तर अहिले लप्सी उमाल्न दाउराको सट्टामा त्यही गेडा प्रयोग हुन्छ । लप्सीको गेडा प्रयोग गर्दा धुवाँ नआउने र धेरै ताप हुन्छ ।
माडा तयार भएपछि लप्सीलाई मसलासँग मेसिनको सहायताले मिक्सिङ्ग गरिन्छ । मिक्सिङ्गपछि माडालाई सुकाउन सोलार ड्रायरको प्रयोग गरिन्छ ।
२०७१ सालमा बैकल्पिक ऊर्जा प्रवधन केन्द्रको प्राविधिक र आर्थिक सहयोगमा ५० प्रतिशत अनुदानमा सन वक्र्स नेपालद्वारा २५० के.जी. क्षमताको लप्सी क्याडी पल्प डाइन सोलार ड्रायर जडान गरिएको थियो जुन अहिले पनि प्रयोगमा आइरहेको छ । जसमा ५० प्रतिशत ऋण क्लिन इनर्जी डभलोपमेन्ट बैंक द्वारा प्रदान गरिएको थियो । यो ठूलो स्केलको पहिलो नमूना परियोजना हो ।
बजारको माग अनुसार उत्पादन धेरै गर्नुपर्ने भएकोले आधा पाउँ सोलार ड्रायरमा सुकाइन्छ भने आधा ग्रीन हाउसको अवधारणामा बनाएको इन्डोर प्लान्टभित्र । सोलार ड्रायरमा सुकाएको पाउँ १०/१२ दिनमा तयार हुन्छ र स्वास्थ्यको हिसाबमा पनि ‘हाइजेनिक’ हुन्छ ।
घाममा बाहिर सुकाउँदा धूलो, धुवाँ, कीरा आदिको समस्या हुन्छ । साथै जनशक्ति पनि बढी लाग्छ भने सोलार ड्रायरमा सुकाउँदा धेरै सजिलो छ । सुकेपछि पाउँलाई प्याकेजिङ, लेबलिङ गरिन्छ र त्यसपछि काठमाडौं तथा नेपालभरिका बजारमा पठाइन्छ । रत्नपार्क पाउँ भण्डार भारतको सिक्किम, दार्जीलिङ, बैंगलोर तथा भुटानसम्म पनि उपलब्ध छ ।
विगत बीस वर्षदेखि यसै उद्योगमा कार्यरत कलंकीकी ४३ वर्षीया गंगा महर्जनको परिवारको घर खर्चको आधा हिस्सा उनकै कमाईबाट टर्छ । दिनको ९० रुपैयाँबाट काम सुरु गरेकी गंगा अहिले दिनको सात सय ५० रुपैयाँ कमाउछिन् । उनको अनुुभवमा यो काम गर्न न त विशेष ज्ञान चाहिन्छ न शिक्षा नै । हिजो मात्रै २३ वर्षको उमेरमा काम खोज्दै कलंकीमा अवस्थित रत्नपार्क पाउँ भण्डारको कारखानामा पुगेको यति छिटै २० वर्ष बितेकोमा उनी अचम्मित छिन् ।
वार्षिक करिब ८० टन पाउँ उत्पादन हुने यो उद्योग सञ्चालन गर्न लप्सी, निबुवा, आँप, अमला, कागती खेती गर्ने किसान, उद्योगमा काम गर्ने कामदार बाहेक ऊर्जाका लागि राष्ट्रिय प्रसारणको विद्युत लाइन, सोलार सिस्टमको ड्रायर र सुधारिएको चुलोमा लप्सीका गेडाको प्रयोग हुँदै आइरहेको छ । लप्सी, निबुवा, आँप, अमला, कागती आदिको बोक्रादेखि गेडासम्म प्रयोग हुने भएकोले केही पनि नष्ट गर्नु वा फाल्नु पर्दैन ।
त्यसैले यो उद्योगलाई वातावरणमैत्री उद्योग भन्न सकिन्छ । लप्सी खेती गर्ने किसान, वितरक, कारखानामा काम गर्ने मजदुर, सञ्चालक, पाउँ बेच्ने पसले र पाउँ पारखी बीचको अन्तरसम्बन्ध र व्यापारका कारण यो उद्योग; व्यवसायमार्फत् गाउँ र सहर जोड्ने सेतु बन्न सफल भएको छ ।