चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेको छ । म्याग्दी जिल्लाबाट सांसद पनि रहिसकेका उनका यसअघि ‘ऐतिहासिक पर्वत राज्य’, ‘खस जाति र कूल पूजा’ र ‘मृत्यु संस्कार मन्थन’ गरी तीन ओटा कृति प्रकाशित छन् ।
उनले उपन्यास कुन पृष्ठभूमिमा कसरी लेखे ? पुरस्कार पाउँदाको अनुभूति र आगामी योजनालगायत विषयमाथि लेखकसँग नेपाली पब्लिककी शकुन्तला जोशीले गरेको कुराकानी-
लेख्न केले प्रेरित गर्यो ? राजनीतिबाट लेखनमा कसरी आउनु भयो ?
म लेखनबाट चाहिँ राजनीतिमा आएको हुँ । सुरुवाती कालमा म शिक्षक थिएँ । पत्रपत्रिकामा फुटकर लेख लेख्थें । २०४० सालतिर तत्कालिन नेकपा मालेको जिल्ला कमिटीका साथीहरुले खोजी गरेपछि पार्टीमा जोडिन पुगें । २०३५/३६ सालको शिक्षक आन्दोलनमा सहभागी भएको आरोपमा तत्कालिन सत्ताले मलाई जागिरबाट अवकास दियो प्रजातन्त्र आएपछि जागिरमा पुनः बहाली भएर स्कुल पढाउँदै थिएँ । पहिलो आम निर्वाचनमा पार्टीबाट अकस्मात् म्याग्दीका एउटा क्षेत्रबाट चुनाव लड्ने प्रस्ताव आयो । त्यतिबेला बल्ल पार्टी सदस्यता लिएँ, चुनाव लडें र जितें । मध्यावधी निर्वाचन चाहिँ लड्न मन लागेन । फेरि पार्टी कामबाट निष्क्रिय जस्तो रहें ।
म अलिक अल्छी मान्छे, साहित्य सिर्जना गर्नुपर्छ भन्ने हुटहुटी थिएन । यद्यपी केही काम त गर्नु पथ्र्यो, म्याग्दीको सदरमुकाम बेनी बसेर धौलागिरी साप्ताहिक पत्रिका निकाल्न थालियो । जनयुद्ध शुरुभइसकेको हुनाले आन्दोलनको पक्षधर भएको आरोपमा तत्कालिन प्रशासनले पत्रिका बन्द गरायो । सम्पादक शुभशंकर कँडेल काठमाडौं हिड्नु भयो । मैले अन्य साथीहरुलाई अघि लाएर म्याग्दी शन्देश साप्ताहिक निकाल्न थालें, त्यसमा मैले एक दशक नियमित स्तम्भ लेखें ।
त्यसबीच पनि जनयुद्धलाई सहयोग पुग्ने गरी लेखेको आरोपमा प्रशासनले दुई/तीन पटक पक्राउ गर्यो । प्रशासनको सकस, यता स्वास्थ्य पनि ठिक थिएन, म काठमाडौं बस्न थालें । त्यो २०६५ सालमा बेनी पुस्ताकालयबाट ऐतिहासिक पर्वत राज्य प्रकाशित भयो । त्यो आफैंमा सानो शुरुआत थियो । यहाँको इतिहासमाथि अझ धेरै काम गर्नुपर्छ भन्ने लाग्यो । तर, लिखित तथ्य, प्रमाणको अभावमा इतिहास विस्तारै किंवदन्तीमा परिणत भइसकेको थियो । विना प्रमाण इतिहास भनेर लेख्न नमिल्ने देखेपछि मैले आख्यानिकरण गर्नु ठिक ठानें । २०७१ सालमा काठमाडौंबाट पोखरा बसाई सरें । यसबीच लेखिएका पाँच ओटामध्ये तीनओटा प्रकाशित भइसके । निवन्ध संग्रह ‘भौज्या’ यसै हप्ता आउँदैछ । यिनै प्रयासबीच ५ सय वर्षको पर्वतको इतिहासलाई महारानी उपन्यासका रुपमा ल्याएको हुँ ।
सुमन्त बानियाँ उपन्यासमा एक कुटनीतिक पात्रका रुपमा उभ्याउनु भएको छ । तपाईं आफै तत्कालिन पर्वत राज्यको ‘बानियाँ’ शासक वंशीय पृष्ठभूमिबाट आउनु भएको हुनाले यो इतिहासलाई लीपिबद्ध गर्नुभएको हो ?
त्यो भन्दा पनि असल कुरा त के हो भने म केही लेख्न सक्छु भन्ने सबैलाई पर्न थाल्यो । सांसदबाट सेवानिवृत्त भएपछि मलाई अनेक संस्थाले स्थानीय इतिहासबारे खोजबिन गरी लेख्न आग्रह गरिरहे । तर म आफैले ती सबै विषयका जानकार थिइनँ, खोजी सुरु गरें । महारानी लेख्ने बेलामा भने मलाई पूर्खाले छाडेको जिम्मेवारी बोध थियो । पर्वत राज्यको निर्माणमा बानियाँहरुको पनि रगत पसिना बगेको थियो । त्यो मेरो पूर्खाको आर्जन थियो । त्यहाँ ‘आठ हजारका राजा १२ हजारका बानियाँ’ भन्ने लोकोक्ति अहिलेसम्म पनि छ । त्यो घरधुरी गन्तीको हिसाबले बानियाँहरुको राज्यमा बलियो उपस्थिति थियो । स्वभाविक रुपमा मैले पूर्खाहरुको गौरवप्रति केही त गर्नैपथ्र्यो ।
त्यस सन्दर्भमा ऐतिहासिक पात्रको खोजी गर्दा दुई, तीन जना भेटिए । तीमध्ये डिठ्यालीसम्म भएका सुमन्त बाँनियाको लिखित प्रमाण फेला पर्यो । मुस्ताङ राज्यको सिमा सम्झौतामा पर्वत राज्यको तर्फबाट उनी प्रतिनिधि भएको हस्ताक्षर पनि पाइयो । त्यसैले उपन्यासमा एउटा पात्र तिनै सुमन्तलाई उभ्याएर आफ्ना पूर्वजको इतिहासप्रति थोरै न्याय गर्ने प्रयास गरेको हुँ ।
ती इतिहासको खोजबिन कसरी गर्नुभयो ? के के प्रमाण र आधारहरु फेला परे ?
महारानीको कथा १५ वर्षदेखि मेरो मनमा खेल्न थालेको थियो । सबभन्दा पहिले त्यस राज्यमा प्रयोग भएको तत्कालिन भाषाको अनुसन्धान गरें । पर्वत राज्यले छाडेका ताम्रपत्र, बकस पत्र, दान पत्र, करमाथिका इस्तिहार लगायत दुई दर्जन लिपी फेला परे । त्यो ५ सय वर्षको इतिहासमा जम्मा फेला परेका त्यति प्रमाण थिए । ती प्रमाण मैले स्थानीयले व्यक्तिगत रुपमा संरक्षण गरेको अवस्थामा पनि पाएँ । बाँकी पुरातत्व विभाग, काठमाडौंमा संरक्षित रहेछन् । तिनको आधारमा मैले उपन्यासमा प्रयोग हुने भाषा बनाएँ । पाँच शताब्दी लामो इतिहासमा भाषा क्रमशः रुपान्तरण हुँदै आएको छ । उपन्यासका लागि मैले पर्वत राज्यको अन्तिम चरणतिर प्रयोगमा आएको भाषाको जोहो गरें ।
- तर व्यवहारमा हुनुपर्ने परिवर्तन भएको छैन । हाम्रो तत्कालिन व्यवस्थामा महिला राष्ट्रपतिको सम्मानित पदमा भएपनि उहाँको गलत उपयोग गरिएको छ, शिखण्डी बनाइएको भन्ने लाग्छ ।
त्यसपछि म ऐतिहासक घटना क्रमहरु खोज्न थालें । पहिलो आधार स्व. मोहनबहादुर मल्लले लेख्नु भएको सानो पुस्तक ‘पवर्तको इतिहास’ र केही फुटकर लेखबाट पाएँ । डा. टेकबहादुर श्रेष्ठको पर्वत राज्यको अनुसन्धानबाट पनि थप घटना क्रम लिएँ । ती अध्ययनबाट पर्वत राज्यसँग जोडिएकी महारानी, उनको ससुरा महाराज घनश्याम र पति भद्रिबम रहेको तथ्य पाइयो । ती भद्रिबम माहिला राजकुमार थिए र उनलाई दाजुले मारेका थिए । त्यसपछि रानी बेपत्ता भएको तथ्य आयो । राज्य संचालन व्यवस्था, सामाजिक रीतिथितीबारे तिनै इन्स्क्रीप्टको सहारा लिएँ । ती प्रमाणका आधारमा जुम्ला राज्यलाई डोटी र पर्वत मिलेर परास्त गरेपछि मुस्ताङबाट लेखेटिएको पाइयो । यसरी इतिहासको घटना खोज्दै गएँ ।
त्यसपछि सामाजिक रीतिथितिबारे त कतिपय आफैंलाई पनि थाहा भएको कुरा थियो । अहिले प्रचलनमा नभएका त्यस्ता कुरा आफैंले पनि देखें भोगेका कुरा हुन् । कतिपय कुरा मेरो अग्रज पुस्ताबाट संकलन गरें ।
उपन्यासमा भनिएजस्तो त्यस क्षेत्रमा देवताभन्दा पहिले मानिसलाई कसरी पूजिँदै आएको छ ? यसले के संकेत गर्नुभएको हो ?
त्यो प्रचलन अहिले पनि छ । प्राचीन पर्वतको राजधानी पुलास्थित ढोलाथानाको केही पश्चिम क्षेत्रमा जगन्नाथको मन्दिर छ । मन्दिरको दाहिनेतर्फ पर्वत राज्यका निर्माता मानिने डिम्बवम महाराजको समाधि छ । सानो माटोको ढिस्कोलाई लिपपोत गरिकन पूजा गरिन्छ । देब्रेतिर जगन्नाथको मूर्ति स्थापित छ । यहाँ पहिले महाराजको समाधिमा पूजा गरेपछि मात्रै देवताको पूजा गर्ने प्रचलन छ ।
उपन्यासको मुख्य पात्रमार्फत् त्यो बेला राजाहरुले राज्यको विस्तार वा बचाउमा महिलाको कसरी वस्तुकरण गर्दथे भन्ने चित्रण भएको छ । पाँच सय वर्ष पहिले र अहिलेको समाजमा महिलाको अवस्थालाई कसरी मुल्याङ्कन गर्नु हुन्छ ?
त्यो बेला सामान्तवाद भर्खर शुरु भएको समयसँग अहिलेको समयलाई तुलना त गर्नै मिल्दैन । अहिले महिला समानताको मुद्धामा विभिन्न आन्दोलनहरुका कारण धेरै परिवर्तन आइसकेको थियो । कानुनी रुपमा पनि अधिकार स्थापित हुने क्रममा छ । तर व्यवहारमा हुनुपर्ने परिवर्तन भएको छैन । हाम्रो तत्कालिन व्यवस्थामा महिला राष्ट्रपतिको सम्मानित पदमा भएपनि उहाँको गलत उपयोग गरिएको छ, शिखण्डी बनाइएको भन्ने लाग्छ ।
रह्यो कुरा उपन्यासको । उपन्यासमा महारानीको गौरव, गरिमा बढाउन मैले महारानी आफैं पनि उद्दात्त भावनाकी पात्रको रुपमा चित्रण गरें । उनले यसरी त्याग गरिन् भनेर लेखेको हुँ । तर वास्तविक इतिहासमा उनलाई जबरजस्ती पनि गरिएको हुन सक्छ । देउपुर राज्यले पवर्तका युवराज मलेवमसँग विवाह गर्न भनी छोरी विश्वप्रभाको डोला उठाएर पठाइदिएका थिए । तर गद्दी जोगाउन राजकुमारीको विवाह मलेवमले आफ्नो भाइ राजकुमार भद्रिवमलाई विवाह गरिदिए । त्यो बेलाको राजसी संस्कारमा ती राजकुमारीमाथि जबरजस्ती त भयो होला नि । यसरी अहिलेसम्म पूजिआएकी महारानीमाथि जबरजस्ती भएको थियो भनिदिदाँ उनको गरिमा कम हुन सक्छ भन्ने बोधले मैले उनको उदारता लेखेको हुँ ।
- लेख्न त अरु पनि मन छ, दर्शनका विषयमा पनि केही लेखौं जस्तो छ । पर्वतको एउटा पाटो त लेख्नै छ । त्यो बाहेक म्याग्दीको एउटा असाध्यै महत्वपूर्ण घटना छ ।
सानो छँदा मैले पिताजीको मुखबाट ती महारानीबारे निकै विरुप कथा सुनेको थिएँ । महारानी बेपत्ता भइन् लोकोक्ति भन्ने अहिले पनि समाजमा छ । पिताजीका अनुसार मलेवमले भाइलाई मारे र महारानी विश्वप्रभालाई जबरजस्ती रानीबासमा राखियो भन्ने किवंदन्ती सुनाउनु हुन्थ्यो । रानीबास भनेको तत्कालिन समयमा राजाका रखौटीहरुलाई राख्ने ठाउँ बुझिन्थ्यो । समाजको नजरमा बेपत्ता भइन् तर राजाले उनलाई कतै निस्कन नदिएर उपयोग गरे भन्ने अर्थ देखिन्छ । तर जनसाधारणबाट पूज्य देविको स्थानमा बसिसकेकी हुनाले यो पक्षको नजिकबाट लेखिनु सामाजिक रुपमा उनको गरिमा घटाएको अर्थ लाग्ने भएपछि मैले अर्को बाटो समाएँ ।
त्यस क्षेत्रमा महारानीलाई देवीको रुपमा पूजिने प्रचलन अहिले पनि छ ?
म्याग्दीमा गलेश्वर शिवालयपछि दोस्रो चर्चित तिर्थको रुपमा महारानी देवीलाई मानिन्छ । बेनी बजारको पश्चिमपट्टि कुरिलाखर्कमा देवीको स्थापना मात्रै छ, मन्दिर छैन । उपन्यासमा आएका पात्र तुले बाँडाका अनुसार महारानीको पूजा उनले शुरु गरे । उनले मन्दिर बनाउने सोच बनाउँदै गर्दा एक रात सपनामा आएर देवीले मन्दिरभित्र बस्दिनँ भनेकाले मन्दिर नबनाउने उनले घोषणा गरेका थिए ।
तत्कालिन समयको भाष्य प्रयोग गर्दागर्दै एकाध ठाउँमा उपन्यासमा ‘ज्यामरुक मिसन’ जस्ता आधुनिक शैलीका भाषाको प्रयोग कुन अर्थमा गर्नु भयो ?
कथावाचक लेखक स्वयम् अहिलेको समयको भएको हुँदा एकाध ठाउँमा यस्तो गरिएको हो । पाठकबाट कथावाचक पनि सोही समयको पात्र राखेको भए हुने भन्ने सुझाव पनि नआएका होइनन् । तर अहिलेको समयमा कथा सुनाउनु पर्ने हुँदा यही समयको वाचकको भाषा जाति होला भन्ने लागेको हो ।
इतिहासको पुर्नलेखन भन्नु भएको छ, तपाईंको किताबले त्यो ठाउँको इतिहासप्रति कतिको न्याय गर्न सक्यो त ?
इतिहास भनेको लिखतमा मात्रै हुँदैन । लोककथनमा पनि इतिहास हुन्छ । तर त्यसमा अतिरञ्जनाहरु थपिदैं जान्छन् । त्यसभित्र इतिहास भने रहिरहेको हुन्छ । उनी मरेको दुई शताब्दीपछि अहिले पनि महारानीको कथा जीवित छ । तर त्यो सत्यलाई प्रमाणित गर्ने बलिया तथ्य हराइसके । किताबमा सुमन्त बानियाँमार्फत् अन्य चार, पाँच ओटा इतिहासलाई भनेको छु । समाजमा इतिहासका धेरै कुरा अतिरञ्जित भइसकेका छन् । मैले तिनलाई तथ्यका आधारमा लेखेको हुँ, त्यसर्थमा पनि यो एउटा इतिहासको पुनर्लेखन हो भनेर भन्न सक्छु ।
तपाईंलाई राजनीतिभन्दा किन लेखन बलियो लाग्यो ?
म राजनीतिमा रम्ने मान्छे होइन रहेछु । राजनीति गर्न सिधा आदर्शको बाटो हिडेर नहुने रहेछ । बांगोटिंगो गरेर कमाउन पर्ने, कि बाउबाजेको सम्पत्ति चाहिने, मेरो लागि यी दुवै बाटा ठिक थिएनन् । सांसद भएर गएपछि प्रणालीको मूल जरो देखें, नेताहरुको सोँच, प्रवृत्ति सबै देखियो । जुन परिवर्तनको आशा जनतामा थियो, त्यो माथि देखिएन । मैले कल्पना गरेजस्तो नदेखेपछि लेखनबाटै समाजलाई थोरै भएपनि बाटो देखाउन सकिएला भन्ने लागेर यता लागिरहें ।
आफ्नो लेखनप्रति कतिको विश्वास छ ? म लेखक होइन भनिरहनु भएको छ नि, यसले पाठकप्रति अन्याय हुँदैन र ?
यथार्थ पनि हो । म करले लेख्छु, रहर होइन, लेख्नै पर्यो भनेपछि लेख्छु । रहरले लेखे पो अलिधेरै सिर्जना हुँदो हो, त्यो हुटहुटी हुँदो हो । अर्को कुरा, लेख्न कोशिस गर्ने कुरा एउटा हो, त्यसले लेखनदास बनाउँछ । लेखनदास लेखक हुँदैन । सबै लेखक साहित्यकार पनि हुँदैनन् । म वास्तावमा मदन पुरस्कार पाएर जति खुसी छु, त्यो गरिमा कायम गर्नु सक्छु सक्दिनँ होला भन्ने भारी अनुभूति भएको छ । दुई, तीन दिनदेखि मलाई यसले सुत्न पनि दिएको छैन ।
लेख्न त अरु पनि मन छ, दर्शनका विषयमा पनि केही लेखौं जस्तो छ । पर्वतको एउटा पाटो त लेख्नै छ । त्यो बाहेक म्याग्दीको एउटा असाध्यै महत्वपूर्ण घटना छ । को प्रथम सहिद भन्ने विभिन्न वहसपछि लखन थापालाई मानिएको छ । तर, उनी भन्दा पनि पहिले म्याग्दीमा सहिद भएका छन्, उनको हराएको इतिहास पनि उपन्यासकै रुपमा पनि लेख्न सक्छु । माओवादी आन्दोलनमाथि पनि यथार्थ कलम चलेको छैन । जति लेखिए, युद्ध र इतर पक्षबाट अतिरञ्जित रुपमा लेखिए । मैले बीचमा बसेर लेख्न सक्छु कि भन्ने लागेको छ । यो दिनसकें भने समाजका लागि उपयोगी हुन्छ भन्ठान्छु ।