कोपेनहेगन– सन् २०२० को नोबेल शान्ति पुरस्कार वितरण समारोह यस वर्ष डिसेम्बर १० का दिन नर्वेको ओस्लो सभागृहमै गर्ने तयारी आयोजकले गरेका छन् । तर कोरोनाभाइरस महामारीका कारण उक्त समारोहमा सीमित व्यक्तिहरुलाई मात्र आमन्त्रण गरिने भएको छ ।
नर्वेजियन नोबेल इन्स्टिच्युटका निर्देशक ओलाभ नोल्स्टाडले धेरै कारणले यो वर्ष निकै अनौठो र चुनौतीपूर्ण रहेको जनाउँदै यस वर्षको पुरस्कार वितरणलाई पनि नयाँ ढंगबाट वितरण गर्नुको विकल्प नरहेको बताए । नर्वेको यस इन्स्टिच्युटले नोबेल शान्ति पुरस्कारको घोषणा र वितरणको प्रबन्ध मिलाउने गर्दछ ।
भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्सा विज्ञान र साहित्य तथा अर्थशास्त्रतर्फका पुरस्कारको वितरण भने त्यही दिन अर्थात् डिसेम्बर १० मै स्विडेनको स्टकहोममा गरिनेछ । यी समारोहमा पनि सहभागी अतिथिहरुको संख्या ज्यादै न्यून हुनेछ ।
सन् १९०१ देखि नै यी पुरस्कारहरु अल्फ्रेड नोबेलको मृत्यु भएको दिनका दिन प्रदान गर्ने गरिएको छ । नोबेलको इच्छाबमोजिम नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लोमा वितरण हुने गरेको छ ।
सन् १९४७ देखि १९९० सम्म नोबेल शान्ति पुरस्कार ओस्लो विश्वविद्यालयको प्रेक्षागृहमा आयोजना हुँदै आएको थियो । तर ३० वर्षअघिदेखि यो समारोह नगर प्रेक्षागृहमा आयोजना हुन थालेको छ । जहाँ एक हजार अतिथिहरु सहभागी हुन सक्छन् । यस वर्ष यहाँ १०० जना मात्र सहभागी बोलाइँदै छ ।
यस वर्ष सन् २०२० को नोबेल शान्ति पुरस्कारको घोषणा आगामी अक्टोबर ९ मा गरिँदै छ । अन्य पुरस्कारहरु भने अक्टोबर ५ देखि १२ बीचमा हुनेछन् । शान्तितर्फ हालसम्म ३, १८ जनाको नाम प्रस्ताव भएको छ, जसमा २११ जना व्यक्ति र १०७ वटा संस्था रहेका छन् । नोबेल संस्थाले विगत ५० वर्षदेखि पुरस्कारका लागि प्रस्तावित व्यक्तिको नाम सार्वजनिक गरेको छैन । विभिन्न व्यक्ति एवं संस्थाले आफूखुसी नाम सार्वजनिक गर्ने प्रचलन बढ्दो छ । यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि स्वेडिस जलवायु कार्यकर्ता किशोरी ग्रेटा थन्बर्गको नाम चर्चामा छ ।