सुरुमैः ‘कमिला–फट्याङ्ग्रा टकेटिभ’ एक हास्यव्यंग्य आलेख हो । यी दुईको कुराकानी कोही-कसैलाई हजम नभएमा कमिला र फट्याङ्ग्राबाहेक अरू कोही जिम्मेवार हुने छैनन् ।
‘स्टेट मिनिस्टरको भोक चेट पार्ने थ्री इन वान प्याकेट’ले घाँसेमाटे देशका बासिन्दाको भोक त मेटाएन नै । उल्टै प्योकटभित्र सुनौलो अक्षरमा लेखिएको मिनिस्टरको कविताले डङ्रङ्गै ढलायो ।
तर उता रेडियोले फुकिसकेको थियो, ‘स्टेट मिनिस्टरको सुनौलो कवितालाई राष्ट्रगान घोषणा ।’
घाँसेमाटेका बासिन्दाले नयाँ काम पाए, नयाँ राष्ट्रगान कण्ठ पार्ने, तर छाक टार्ने र भोक मार्ने उपाय भने पाएनन् । भोकाकुल घाँसेमाटेमा कमिला फट्याङ्ग्राको पनि बाँकी अन्नपात सकियो ।
फट्याङ्ग्रा रेडियो सिरानी हालेर ढिस्कोको घाँसमा उत्तानो परेर आकाशमा डुलिरहेको कालो बादल चित्र हेरिरहेका थिए । कमिलाले भुईं कोट्याउन छाडेका थिएनन् ।
‘हिजो साँझ पनि जसोतसो टारियो, आजदेखि त अब टार्ने टराउने केही बाँकी भएन’, कमिला बोले ।
फट्याङ्ग्रा कमिलातिर फर्के । कमिला फट्याङ्ग्रातिरै मौन आँखाले हेरिरहेका थिए ।
फट्याङ्ग्राः तिमीले केही आइडिया लाइरा’को होला भन्ठानेको त । (फिस्स हाँस्छन्) ल मसँग एउटा आइडिया छ ।
कमिलाः कस्तो आइडिया ? छेपारोसँग पैंचो फिर्ता लिन जाम् चाहिँ नभन नि ।
फट्याङ्ग्राः भन्दिनँ हो, भन्दिनँ । (उठेर टुक्रुक्क बस्दै) उता भुईंखेलमा केही मनकारीले प्याकेटमा खाना बाँड्छ रे । रेडियोले भनेको । त्यतै जाने पो हो कि ?
कमिलाः प्याकेट ? (झस्किँदै) स्टेट मिनिस्टरको प्याकेट जस्तो त होइन नि ?
फट्याङ्ग्राः होइन रे, साँच्चिकै खाना नै हुन्छ रे प्याकेटमा । हामी नि उतै खाएर आम् । घरतिर पनि एक–दुई प्याकेट ल्यादिन पाए त... ।
कमिलाः भुईंखेल टाढा छ त !
फट्याङ्ग्रा जुरुक्क उठे र फूर्तीसाथ भने, ‘त्यही भएर त हिँडिहालौं भनेको । बरु बीच–बीचमा तिमी मेरो बुई चढौला नि ।’ फट्याङ्ग्राले जम्प मारिहाले । कमिला पनि ढिस्कोबाट झरेर भुईंखेलको बाटो लागे ।
कतै कुदेर, कतै सुस्तरी, उकालो, ओरालो हुँदै भुईंखेलतिर जाँदैथिए । घाम चर्किंदै थियो । कमिला त असिनपसिन भइसकेका थिए । अझै पनि उनलाई प्याकेटमा खाना हुन्छ भनेर चाहिँ विश्वास लागेको थिएन, तर फट्याङ्ग्रामाथि उनको विश्वास थियो । भुइँखेल आइपुग्न अब केही मात्र बाँकी थियो ।
‘तिमी बिस्तारै आउँदै गर, म अलि छिटो पुगेर लाइन लाग्दै गर्छु है’, फट्याङ्ग्राले सकेको बल लगाएर जम्प मारे ।
कमिला आफ्नै गतिमा अघि बढे । फट्याङ्ग्रा पुगेको केहीबेरपछि कमिला भुईंखेल पुगे । तर त्यहाँ न कुनै लाइन थियो, न खानाको प्याकेट ! भुईंखेलको बीचमा फट्याङ्ग्रा टाउकोमा हात लाएर टुसुक्क बसेका थिए । कमिला पनि सँगै गएर थचक्क बसे ।
अलिपर कुनामा छेपारो देखिए । छेपारो प्याकेटको खाना पकापक सकाउँदै थिए । ‘हिजोअस्ति खाना खुवाउनेहरू आज आएनन् । अनि सबै फर्किए, म नि फर्कन लाग्या मात्र थिएँ’, छेपारोले चाटचुट पार्दै सुनाए, ‘एकदुई जना आएर मलाई यो भात नि खानु, के–के बोल्नु भनेर क्यामेरा तेर्साए । मैले पनि अन्टसन्ट बोलेपछि चारैतिरबाट टेक, रिटेक लिए अनि पो बल्ल प्याकेट खोल्न पाएँ ।’
कुरा सक्याउँदै छेपारोले ‘ढ्याउ’ डकारे । छेपारोको धोद्रो ढ्याउ कमिला–फट्याङ्ग्राका कानमा भने टिनिनीऽऽऽ बज्यो । कमिला र फट्याङ्ग्राले एकअर्कालाई पुलुक्क हेरे । छेपारोले जिब्रो निकाली–निकाली चाटचुट पारेको देखेर उनीहरूको मुखभरि भोकको पानी रसायो ।
त्यहीबेला घाँसेमाटेको स्टेट मिनिस्टरको कवितावाला नयाँ राष्ट्रगान बजाउँदै सरकारी हेलिघोप्टे भुईंखेलमाथिबाट गुडुडु गयो । हेलिघोप्टेको छाया ठ्याक्कै कमिला र फट्याङ्ग्राको तालुमा पर्यो ।
छेपारोको ढ्याउले टिनिनीऽऽऽ भएको कान ठप्प भयो, तर नयाँ राष्ट्रगानको गुडुडुले कमिला र फट्याङ्ग्राको गिदी रिनिनीऽऽऽ भयो ।
अरू विकल्प नभएसी सुस्तरी घरतिर फर्के । आउँदा दुईजना थिए, फर्कंदा छेपारो पनि मिसिए । छेपारो फटाफट हिँडिहाले, कमिला र फट्याङ्ग्रा भने ढिस्को पुग्दा साँझै पर्यो । बिहानदेखि भोको ज्यानलाई ढिस्कोमा थचक्क बिसाए । तर भोक भने बिसाउन सकेका थिएनन् ।
भोक भुल्याउन ढिस्कोको बुटामा झुण्ड्याएर राखेको रेडियोको कान कमिलाले सुस्तरी बटार्यो । रेडियो ढ्यान्ट्यारानऽऽऽ पाराले बोल्न थाल्यो । रेडियोको ढ्यान्ट्यारानऽऽऽले उनीहरूमा कुनै तरङ्ग भरेन ।
रेडियो फटाफट बोल्न थाल्यो, ‘नमस्कार, तपाईंको आजको दिन कस्तो रह्यो ? तपाईंको बितिसकेको आजको दिनको राशिफल लिएर आएका छौं । फटाफट सुरु गरौं– मेष राशिबाट ढ्यान्ट्यारानऽऽऽ । भोक बिर्साउन कमिला र फट्याङ्ग्राले जबर्जस्ती आफ्नो ध्यान रेडियोतिर लगाए ।
कमिलाः तिम्रो राशि कुन हो रे ?
फट्याङ्ग्राः (बिस्तारै) अब यसपछि आउँछ, त्यही हो ।
भन्नेबित्तिकै रेडियोले फट्याङ्ग्राको राशिफल भनिहाल्यो, ‘मिथुन राशिः ढ्यान्ट्यारानऽऽऽ भोजभतेरको सुवर्ण अवसर ।’ राशिफल सुनेर फट्याङ्ग्रा ट्वाँ परे, उनको भोको पेट त्योभन्दा बढी ट्वाँ पर्यो । उनले फरक्क फर्केर सोधे– तिम्रोचाहिँ कुन राशि हो रे ?
कमिलाः मेरो पनि यसपछि आउँछ । सुन न ।
रेडियोले कमिलाको राशिफल पनि फलाक्यो, ‘ढ्यान्ट्यारान ऽऽऽ । सिंह राशि: मिष्ठान्न भोजन ।’
राशिफल सुनेर कमिला र फट्याङ्ग्रा अक्क न बक्क भइ पक्क परे । दुवैको खालि पेट झन् कक्रक्क पर्यो ।
– – – – – – – – – – – – –
कमिला–फट्याङ्ग्रा टकेटिभको अरु श्रृंखला पनि पढ्नुहोस्
विनोद चौधरीलाई कोरोना लागेपछि कमिला र फट्याङ्ग्राको गलफती- टकेटिभ १
कमिला र फट्याङ्ग्राले पाए ‘थ्री इन वान’ राहत प्याकेट- टकेटिभ २