सानो भै पनि यो देश विश्वमा छ विशेषको
कहिल्यै फहराएन यहाँ झण्डा विदेशको
कवि मुकुन्दशरण उपाध्याय भैरहवामा कविता वाचन गर्दै थिए । जतिबेला तत्कालीन राजा महेन्द्रको भैरहवा सवारी भएको थियो । महेन्द्रले यस अंशलाई दोहोर्याएर वाचन गर्न लगाए । उपाध्यायले पुनः लयबद्ध वाचन गरे । उपाध्यायको कवितांशले महेन्द्रको दिल छोयो । उनले भने, ‘म पूरै कविता पढ्न चाहन्छु, पाण्डुलिपि कापी मलाई दिन मिल्छ ?’
अहिले जस्तो टाइप गर्ने र फोटोकपी गर्ने चलन त्यतिखेर थिएन । उपाध्यायले हातैले ‘प्राकृत पोखरा’ खण्डकाव्य लेखेका थिए । उनले पोखरामै रहँदा प्राकृत पोखराको लेखन सुरु गरेको त्यो पाण्डुलिपि भैरहवामा पूरा गरेका थिए, उनले त्यसताका भैरहवामा भर्खरै नेपाली पढाउन थालेका थिए एउटा हाइस्कुलमा । उनीसँग अर्को पाण्डुलिपि थिएन । सवारीको भीडभाडमा एक्लो त्यो पाण्डुलिपि हराउन पनि सक्थ्यो तर उनले राजालाई ‘हवस् सरकार’ भन्दै कापी टक्य्राए ।
महेन्द्रले उनको खण्डकाव्य पढे । देशभक्ति, राष्ट्रप्रेम र प्रकृतिसँगको तादात्म्यले पूरै ओतप्रोत थियो, प्राकृत पोखरा । तेस्रो दिन उनलाई पुनः सवारी शिविरमा बोलाइयो र महेन्द्रबाट सारै राम्रो छ, छपाउनू, चाहिए जति छपाउने खर्च दिनू भनेको छु भनेर हौसला पाए कविले ।
- महेन्द्रले यस अंशलाई दोहोर्याएर वाचन गर्न लगाए । उपाध्यायले पुनः लयबद्ध वाचन गरे । उपाध्यायको कवितांशले महेन्द्रको दिल छोयो । उनले भने, ‘म पूरै कविता पढ्न चाहन्छु, पाण्डुलिपि कापी मलाई दिन मिल्छ ?’
दर्शनभेटपछि उपाध्यायलाई लेखाफाँटमा लगियो । लेखाफाँटमा उनलाई सोधियो, ‘तपाईंलाई पुस्तक प्रकाशनका लागि कति खर्च चाहिन्छ ?’ उनले राजाकहाँ आवश्यकभन्दा बढी माग्ने चलन गाइँगुइँ सुनेका पनि थिए, तर त्यसरी बढी माग्नु उचित लागेन ।
‘एक हजार भए पुग्छ,’ उपाध्यायले भने ।
‘यतिले पुग्छ त ?’ थोरै रकम मागिएकाले प्रश्न गरियो ।
‘पुग्छ यतिले,’ उपाध्यायले भने ।
उनको किताब बनारसको आर्यभूषण प्रेसमा छापियो २०२१ सालमा । प्राध्यापक राजबहादुर सिंहले मदन पुरस्कारका लागि ‘प्राकृत पोखरा’लाई सिफारिस गरेर पठाउन सगाएका थिए । त्यतिबेला प्राध्यापकले कृति सिफारिस गर्नुपर्ने चलन रहेको उपाध्याय सम्झन्छन् । तर उनी भन्छन्, ‘त्यतिबेला मदन पुरस्कार पाउँछु भन्ने कत्ति लागेकै थिएन ।’
- उनी भन्छन्, ‘यो त अन्तर्राष्ट्रिय स्तरको पुरस्कार हो । जसको उदाहरण हुन्– दार्जीलिङका पारसमणि प्रधान र फादर विलियम वर्क आदि । उनीहरुलाई नेपाल बोलाएर मदन पुरस्कार समर्पित गरिएको थियो ।’
उनलाई ‘प्राकृत पोखरा’ खण्डकाव्यका लागि ‘मदन पुरस्कार २०२१’ बाट सम्मानित गरिएको थियो । उनी भन्छन्, ‘खुसी लाग्नु स्वाभाविकै थियो । मैले त्यतिबेला पुरस्कारबापत ४ हजार रुपियाँ पाएको थिएँ, त्यसको महत्त्व अहिलेको तुलनामा कम थिएन ।’
त्यतिबेला सर्वसाधारणलाई मदन पुरस्कारबारे खासै जानकारी नभएको उनले सुनाए । मदन पुरस्कार पाएपछि साथीभाइ तथा आफन्तले भन्थे, ‘राजाबाट ठूलो इनाम पाएका छौ रे नि ?’
उपाध्याय मदन पुरस्कारले स्रष्टाको परिचय नै बदलिदिने बताउँछन् । उनी भन्छन्, ‘नेपाली समाजमा मदन पुरस्कार पाएपछि धेरै सम्मान बढ्ने परम्परा बसेको छ । धेरैसँग जानपहिचानको अवसर दियो यसले । यो प्रतिष्ठाका हिसाबले निकै ठूलो पुरस्कार नै हो ।’
पुरस्कार राशिका हिसाबले भने मदन पुरस्कार कमजोर रहेको उपाध्यायको भनाइ छ । उनी मदन पुरस्कारलाई अन्तर्राष्ट्रिस्तरको पुरस्कार भएको समेत बताउँछन् । उनी भन्छन्, ‘यो त अन्तर्राष्ट्रिय स्तरको पुरस्कार हो । जसको उदाहरण हुन्– दार्जीलिङका पारसमणि प्रधान र फादर विलियम वर्क आदि । उनीहरुलाई नेपाल बोलाएर मदन पुरस्कार समर्पित गरिएको थियो ।’
- उनले भने, ‘मदन पुरस्कार पाएपछि साथीभाइबाट राम्रा प्रतिक्रिया आए । उनीहरूको दृष्टिकोण बदलियो । लेखकलाई ‘सिरियस्ली’ हेर्न थालियो । मदन पुरस्कार पाएपछि प्रतिष्ठा नै बढेको महसुस भयो । धेरै जनाले नोटस गरे ।’
त्यस्तै, आख्यानका हस्ती डा. ध्रुवचन्द्र गौतमलाई ‘अलिखित’ उपन्यासका लागि ‘मदन पुरस्कार २०४०’ बाट सम्मान गर्ने घोषणा भयो । त्यतिबेला गौतम साथीभाइसँग बसेर रेडियो सुन्दै थिए । खबर सुनेर निकै खुसी भएको गौतमले सुनाए । उनी भन्छन्, ‘पुरस्कार पाउँदा निकै खुसी लाग्यो । पहिलो पटक त्यति ठूलो पुरस्कार पाउँदै थिएँ ।’
उनले मदन पुरस्कारबापत ३० हजार रुपैयाँ पाएका थिए । ‘४०–५० कृतिबीच प्रतिस्पर्धा भएको थियो । अहिले कृतिको संख्या बढेको छ,’ उनले भने ।
उनी मदन पुरस्कारलाई पुरानो र प्रतिष्ठित पुरस्कार मान्छन् । उनी मदन पुरस्कारलाई सबैले मान्यता दिएकाले यसको उचाई बढ्दै गएको तर्क गर्छन् ।
उनले भने, ‘मदन पुरस्कार पाएपछि साथीभाइबाट राम्रा प्रतिक्रिया आए । उनीहरूको दृष्टिकोण बदलियो । लेखकलाई ‘सिरियस्ली’ हेर्न थालियो । मदन पुरस्कार पाएपछि प्रतिष्ठा नै बढेको महसुस भयो । धेरै जनाले नोट गरे ।’ सञ्चारमाध्यम, इष्टमित्र, समालोचक आदिको नजरमा परेपछि लेखकको प्रतिष्ठा बढ्ने गरेको उनको भनाइ छ ।
मदन पुरस्कार
२०१२ साल असोज १० मा मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट मदन पुरस्कारको स्थापना भएको थियो । मदन पुरस्कारको पहिलो घोषणा २०१३ सालमा भयो । पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’ का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापा’ का लागि चित्तरञ्जन नेपाली र ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’का लागि बलराम जोशीलाई मदन पुरस्कार दिइएको थियो । तर सम्मान कार्यक्रम २०१४ सालमा गरियो । त्यतिबेला पुरस्कारको राशि ४ हजार रहेको थियो । एक वर्षभित्रमा नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई मदन पुरस्कार दिइन्छ । २०३१ र २०३३ सालमा कसैलाई मदन पुरस्कार वितरण गरिएन ।
पुरस्कार राशि
४ हजारबाट सुरु भएको मदन पुरस्कारको राशि २०७५ सालदेखि ४ लाख बनाइएको छ । मदन पुरस्कार गुठीले २०२५ सालपछि १०–१० हजार रूपैयाँका दुई सम्मान दिने व्यवस्था भयो । २०३३ सालपछि भने एक मात्र सम्मान दिने र पुरस्कार राशि २५ हजार बनाइयो । त्यस्तै, २०४० सालमा ३० हजार, २०४२ सालमा ४० हजार, २०४३ सालमा ५० हजार, २०५१ सालमा १ लाख, २०६१ सालमा २ लाख र २०७५ सालमा चार लाख बनाइयो ।
२०७२ चैत्र १८ गते बसेको मदन पुरस्कार गुठीको बैठकले सर्वोत्कृष्ट १० कृति छनोट गर्ने निर्णय गरेको हो । जुन निर्णयअनुसार बर्सेनि सर्वोत्कृष्ट कृतिको नाम सार्वजनिक गर्ने गरिएको छ ।
मदन पुरस्कार सम्बन्धित सामाग्री पढ्नुहोस्
मदन पुरस्कार पाउनु अघि र पछि