म तीन, चार कक्षामा हुँदा पढाईमा कम, अतिरिक्त क्रियाकलापमा बढी सक्रिय हुन्थें । घर आएर टन्नै खेल्न पाइयोस् भनेर स्कुलले दिएका गृहकार्यहरु स्कुलमै सक्याउँथे । त्यतिबेला हाम्रो स्कूलमा हाजिरीजवाफ, वक्तृत्वकला, निबन्ध लेखन, रिले दौड, भलिबल, ब्याडमिन्टनजस्ता विविध प्रतियोगिताहरुमा दाइदिदीहरुले खेलेको हेर्न औधी मज्जा लाग्थ्यो ।
हामी सानाहरुको लागि भनेर पनि ‘चम्चा गुच्चा’जस्ता खेलहरु खेलाइन्थे तर मलाई भने हाजिरीजवाफ चाहिँ गज्जबको लाग्थ्यो । समूहका साथीहरुसहित मिलीजुली उत्तर दिन पाइने ! सामान्य ज्ञानका किताब भनेपछि हुरुक्कै हुन्थें । त्यहीबेला एक हाजिरीजवाफ प्रतियोगिताका लागि तयारी गर्दा पढेको प्रश्न–उत्तरहरुमध्ये स्मृतिमा भएको एक प्रश्न थियो, ‘हिउँचितुवा’ भनेर कुन आरोहीलाई भनिन्छ ?’ उत्तर थियो, ‘आङरिता शेर्पा’ ।
यसरी कण्ठस्थ चिनेको थिएँ आरोही आङरिता शेर्पालाई । म सोचिरहन्थे, ‘कौसीबाट दिनहुँ देख्ने हिमाल साँच्चिकै कस्तो होला, ती हिमालका हिउँचितुवा आङरिता कस्तो देखिनुहुन्छ होला, मान्छेलाई किन हिउँचितुवा भनिएको होला ?’
सन् २०१७, नेपालका पाँच महिला पत्रकारहरुको टोलीको नेपाल पत्रकार महासंघको ब्यानरमा सगरमाथा आरोहण गर्ने तयारी भयो । ‘समताका लागि बुलन्द आवाज’ भन्ने नारासहितको सो आरोहण टोलीको म एक सदस्य थिएँ । आरोहण तयारीलाई मानसिक तथा संवेगात्मक, शारीरिक तथा प्राविधिक र आर्थिक गरी मुख्य तीन खण्डमा विभाजन गरेका थियौं ।
मानसिक तथा संवेगात्मक रुपमा आफूलाई तयार पार्न हामीले सगरमाथाको जन्मदेखि हालको अवस्थिति र स्वरुपसँग सम्बन्धित वैज्ञानिक, सामाजिक र पर्वतारोहण दृष्टिकोणबाट प्रकाशित विभिन्न लेखरचनाहरुको अध्ययन, सम्बन्धित वृत्तचित्र, अन्तर्वार्ता वा सिनेमा हेर्ने श्रृङ्खला आरम्भ गर्यौं । सबैभन्दा मुख्य पाटो चाहिँ अग्रज आरोहीहरुका वहाँहरुको भोगाइ सुन्ने र गुन्ने गर्यौं ।
सबैभन्दा सानो उमेरमा धेरै पटक सगरमाथा आरोहण गर्नुभएका फुर्वा तेन्जिङ शेर्पा, सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्नुभएका पेम्बा दोर्जे शेर्पा, सगरमाथा आरोहण गर्ने दक्षिण एसियाका पहिलो पत्रकार आङ छिरिङ शेर्पा, समावेशी महिला दलका सदस्यद्वय शैली बस्नेत र माया गुरुङ, विश्व साइकल यात्री पुस्कर शाह, पहिलो महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाका सहयात्री आरोही लाक्पा फुटी शेर्पा, एभरेष्ट हार्डवेयरका प्रमुख सगरमाथा आरोहण गर्ने पहिलो व्यवसायी सोनाम शेर्पा, फोटोग्राफर आरोही शेर्पा फ्रेन्च पेम्बाजस्ता व्यक्तित्वहरुको अनुभव, सिकाई, सल्लाहसुझाव हाम्रा लागि अभिप्रेरणा मात्र थिएन, ब्रेन टनिक थियो । दिग्गज आरोहीहरुको दर्शन गर्ने यो सिलसिला सगरमाथा आधार शिविर पुग्दासम्म पनि रोकिएन ।
अप्रिल २८, २०१८, नेपाल सरकार, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौं महानगरपालिका, नर्भिक हस्पिटल र आर्कटस् कम्पनीको प्रमुख संयोजनमा हामी ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८’ टोली बेसक्याम्प पुगेको दुई दिन भएको थियो । हामी फुर्वा तेन्जिङ शेर्पा सरको नेतृत्व र ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशनको व्यवस्थापनमा सगरमाथा आरोहणार्थ आधार शिविरमा थियौं । हामीले लाक्पा रिता शेर्पा, मिङ्मा ग्याल्जेन शेर्पा, निमा गुम्बु शेर्पा, पेम्बा ग्याल्जेन शेर्पाजस्ता केही नामुद अग्रज आरोहीको दर्शन गरिसकेका थियौं । अब यो सिजनमा २२ औं पटक सगरमाथा आरोहण गरी विश्वकै सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने आरोही आपा शेर्पा र फुर्वा टासी शेर्पाको रेकर्ड तोड्ने क्रममा रहेका आरोही कामी रिता शेर्पालाई भेट्न आतुर थियौं । वहाँ हाम्रो क्याम्पमा आउने खबर पाएका थियौं ।
- ‘उहाँले सगरमाथा मात्रा हो र, चोयु, के २, कन्चनजङ्घा, अन्नपूर्ण, धवलागिरी, ल्होत्से, मनासलु जस्ता अन्य आठ हजार मिटरका हिमालहरु पनि बिना अक्सिजन नै आरोहण गर्नुभएको हो ।
त्यो दिन, फुसफुस मसिनो हिउँ परिरहेको थियो । म र पत्रकार साथी रोशा बस्नेत डाइनिङ टेन्टमा पेम्बा दोर्जे शेर्पा सर, पासाङ कामी दाई र फुर्वा सरका कुरा सुनिरहेका थियौं । यत्तिकैमा पेम्बा सरले भन्नुभयो, ‘अब काठमाडौं फर्केपछि तपाईंहरुले भेट्नै पर्ने मान्छे, आङरिता शेर्पा र रेनहोल्ड मेसनर हुन् । जसरी वहाँ गुरु रिम्पोछे, रिम्पोछेप्रति हाम्रो प्रगाढ आस्था र विश्वास हुन्छ, त्यसरी नै हिमालको कुरामा आङरिता शेर्पा जिउँदो इतिहास हुनुहुन्छ । तपाईंहरुले हिमालको रिम्पोछेको दर्शन गरेजस्तै हुन्छ ।’
ओहो ! यत्तिबिघ्न सम्मान ! म मनमनै गम्दै थिएँ, फुर्वा सरले थप्नुभयो, ‘अहिलेसम्म बिना अक्सिजन दशपटक सगरमाथा आरोहण गर्ने उहाँबाहेक कोही छैनन् । तपाईंहरुलाई अहिले वसन्त ऋतुमै कत्ति जाडो भइरहेछ, कल्पना गर्नुहोस् त वहाँले सन् १९८७ मा हिउँद ऋतुमा त्यो पनि बिना अक्सिजन सगरमाथा आरोहण गर्नुभयो ।’
हिमाली भेगका स्थानीय शेर्पा समुदायका व्यक्तिहरुको फोक्सोमा हावा भर्ने प्वालको संख्या, ‘लो एल्टिच्युड’का तुलनात्मक रुपमा धेरै हुने भएकाले कम अक्सिजन हुने ‘हाइ एल्टिच्युड’मा पनि सजिलै ‘एडजस्ट’ गर्न सक्छन् भन्ने रिपोर्ट पढेको थिएँ । मलाई भने आधार शिविर नपुग्दै स्याँफ्याँ भएको थियो । दुईजना साथीहरु त बिरामी भएर तलै आराम गरिरहेका थिए । यस्तो बेला मैले बिना अक्सिजन सगरमाथा आरोहण गर्ने आङरिता शेर्पाको आँट, अनुशासन र अठोट कस्तो होला सोच्न पनि सकिनँ ।
पृथ्वीको वायुमण्डलमा २१ प्रतिशत अक्सिजन हुने तथ्य विज्ञान किताबमा पढेका थियौं तर, यो तथ्य समुद्र सतहमा लागू हुने कुरा हो । समुद्र सतहबाट तीन हजार मिटर उचाइमा पुग्ने बित्तिकै अक्सिजनको मात्रा ४० प्रतिशतले कम भइसकेको हुन्छ । अमेरिकी आरोही तथा चलचित्रकर्मी डेभिड ब्रियशियर भन्नुहुन्छ, ‘आठ हजार मिटरमाथि वायुमण्डलमा अक्सिजन यति न्यून हुन्छ, अक्सिजन सिलिन्डरबाट श्वासप्रश्वास गरिरहँदा पनि ट्रेडमिलमा कुद्दै स्ट्रबाट श्वास लिएजस्तो गाह्रो हुन्छ’ ।
- ‘हस्पिटलमा राख्दा धरी उपचार गर्ने पैसा नभएर मैले कहाँ कहाँ मात्र धाइन कुन कुन सरकारी संयन्त्रलाई घच्घचाइनँ । गिनिजको रेकर्डको सर्टिफिकेट त २०१७ मा बल्ल बनायौं । उहाँले सक्ने बेला देशले चिन्यो तर उहाँलाई पर्ने बेला सबै कता हरायो हरायो ।’
सामान्यतयाः आठ हजार मिटरका हिमालहरु आरोहण गर्दा कृत्रिम अक्सिजन प्रयोग गरिन्छ । सगरमाथाकै सवालमा पनि क्याम्प तीनको ठाडो उकालो चढ्ने बेलादेखि नै अक्सिजन प्रयोग गरेका थियौं ।
पेम्बा सरले फेरि थप्नुभयो, ‘उहाँले सगरमाथा मात्रा हो र, चोयु, के २, कन्चनजङ्घा, अन्नपूर्ण, धवलागिरी, ल्होत्से, मनासलु जस्ता अन्य आठ हजार मिटरका हिमालहरु पनि बिना अक्सिजन नै आरोहण गर्नुभएको हो । राजा वीरेन्द्रको पालामा राजकुमार दिपेन्द्र स्वयम्लाई पठाउनु भई राजाले अब स्वास्थ्यको ख्याल राख्नु, आरोहणबाट अवकाश लिनु भनेर सुझाउनुभएको थियो । गोरखा दक्षिणबाहु र त्रिशक्ति पट्टाले विभूषित वहाँ एक्लै हो ।’
मैले बिस्तारै उहाँको आरोहण शैली र दिइएको उपाधि ‘हिउँचितुवा’बीचको अन्तरसम्बन्ध बिस्तारै बुझ्दै थिएँ । मैले सोधिहालें, ‘अनि उहाँलाई चाहिँ डर लाग्दैन रे !’ । फुर्वा सरले सुनाउनुभयो, ‘एकचोटी मैले पनि सोधेको थिएँ । उहाँ मान्छे त साह्रै कुल हुनुहुन्छ नि । उहाँ के भन्नुहुन्छ भने, अक्सिजनको सिलिण्डरमै निर्भर हुँदा कसलाई के थाहा हिमाल चढ्दाचढ्दै अक्सिजन सकियो, कुनै प्राविधिक गडबडी भयो भने त्यहीँ ठहरै भइन्छ, त्यसैले अक्सिजन सिलिण्डरको विश्वास लाग्दैन ।’
रोशा दिदी र मैले एकअर्कालाई पल्याकपुलुक हेर्यौं, आँखाबाटै काठमाडौं पुगेपछि चाहिँ उहाँलाई जसरी नि भेट्नुपर्छ भन्ने ईशारा गर्यौं । यत्तिकै कामी रिता शेर्पा सर आइपुग्नुभयो । छोटो फोटोसेसन, थोरै औपचारिक अन्तर्वातापछि बडो मन गह्रुंगो बनाउँदै भन्नुभएको थियो, ‘मलाई विदेश आऊ, विदेशमा बस, धेरै कमाउँछ, भविष्य राम्रो हुन्छ भन्ने धेरै छन् तर मलाई मेरो आफ्नो देशमै, आफ्नै परिवारसँग मिलेर कर्म गर्न मन छ । मेरो ज्यान भएसम्म त मैले हिमालबाट राम्रो कमाइ गर्छु, छोराछोरी पाल्छु । मलाई तलमाथि केही भइहाल्यो भने त सरकारले जिम्मा लिदैन । अहिले आरोहीहरुको मुख्य गुनासो नै यही छ ।’
‘हामीले आफ्नो ज्यानको बाजी थापेर विदेशीलाई नेपाल डाक्छौं, आरोहण गराउँछौं, देशको नाम अन्तर्राष्ट्रिय जगतमा चिनाउँछौं । हामी त बिना पारिश्रमिकको राजदूत पो भएका छौं । हाम्रो श्रम, योगदान र साहसको सरकारले कहिले पहिचान गर्ने ? आङरिता शेर्पाले हिमाल चढ्न सक्ने बेला त सबै ठीक थियो । जब शरीरले साथ दिएन, बिरामी भयो, आम्दानीको श्रोत भएन कस्तो बिजोग भयो ! उपचार त परको कुरा, खानलाउन समेत गाह्रो भयो । देशको गरिमालाई गर्ने व्यवहार त्यही हो ।’ पेम्बा सर थोरै आक्रोशित देखिनुहुन्थ्यो ।
‘हस्पिटलमा राख्दा धरी उपचार गर्ने पैसा नभएर मैले कहाँ कहाँ मात्र धाइन कुन कुन सरकारी संयन्त्रलाई घच्घचाइनँ । गिनिजको रेकर्डको सर्टिफिकेट त २०१७ मा बल्ल बनायौं । उहाँले सक्ने बेला देशले चिन्यो तर उहाँलाई पर्ने बेला सबै कता हरायो हरायो ।’
आरोहणसम्बन्धी बेजोड कलाकौशल र बालसुलभ व्यवहारले सुसज्जित यिलजुङ, सोलुखुम्बुमा जन्मिनुभएका आङरिता शेर्पाको ७२ वर्षको उमेरमा देहावसान भयो । विश्व इतिहासमा नेपालको नाम स्वर्ण अक्षरले कोरेर जानुभयो । के अब वहाँका ती कर्म–सिर्जनालाई, विरासतलाई अमर बनाउने जिम्मेवारी नेपाल सरकार र पर्यटन क्षेत्रसँग सम्बन्धित हामी सबैको होइन र ! सोमबार बौद्धस्थित शेर्पा गुम्बामा उहाँको मृतदेह तर जीवित आत्मालाई खादा ओढाइरहँदा मेरो मस्तिष्कमा यही चलिरह्यो, ‘उहाँको सितको मेरो पहिलो र अन्तिम भेट !’
(लेखक रङ्गकर्मी, सञ्चारकर्मी तथा सगरमाथा आरोही हुन् । )