१ असोज २०६९ मा फाइन प्रिन्टले प्रकाशन गरेको ‘सेतो धरती’ उपन्यासले मदन पुरस्कार पाएपछि बजारमा पुस्तकको माग बढेको लेखक अमर न्यौपाने सम्झिछन् ।
साहित्य वृतमा न्यौपानेलाई मदन पुरस्कारले लेखकमा बलियो रुपमा स्थापित गरिदियो । न्यौपाने भन्छन्, “पहिले पुस्तक प्रकाशित भएपनि म धेरै पाठककोमा पुगेको थिइन, सेतो धरतीले चिनाउने काम गर्यो ।” कुनै पनि कृतिले पुरस्कार पाउँदैमा त्यो सर्वोत्कृष्ट हो भन्ने मानक त छैन । तैपनि पुरस्कार पाएपछि सबैको आँखा त्यसमा पुग्छ अनि त्यस कृतिको ब्रान्ड बन्ने गर्छ, यस कुरामा लेखक न्यौपाने पनि सहमत छन् ।
उनको बुझाईमा मदन पुरस्कार पाएका सबै कृतिहरुले बजार लिदैनन् । त्यसका लागि पाठकले बुझ्ने किसिमको विषयबस्तु र भाषा पनि हुनुपर्छ । पुस्तकको बिक्रि बढ्दा पब्लिकेशनमा मात्रै होइन लेखकको भागमा पनि राम्रै पैसा आउँछ । नेपालको बजारमा राम्रै बिक्री भएको पुस्तक भित्र पर्छ, सेतो धरती । अनि धेरै पाठकले रुचाएको कृति पनि ।
मदन पुरस्कार पाएदेखि अहिलेसम्म पनि यो पुस्तकको व्यापार राम्रै भएको प्रकाशक बताउँछन् । तर, अहिलेसम्म कति बिक्री भयो भन्ने प्रश्नमा लेखक न्यौपानेले संख्या खुलाउन नमिल्ने बताए । “पैसा भन्दा पनि पाठक कमाए, लेखकका लागि त्यो नै ठूलो पूँजी हो”, उनले भने ।
ब्रान्डको मानक पुरस्कार
पुस्तकको व्यापार बढाउने हैसियत भएकाहरुमध्ये मुख्य पुरस्कारको रुपमा मदन पुरस्कारलाई लिइन्छ । रत्न पुस्तक भण्डारका गोविन्द श्रेष्ठको भनाइमा मदन पुरस्कारबाहेकका अन्य पुस्तकको बिक्रि खासै छैन, थानमै गन्न सकिने बिक्रीभन्दा बढी छैन । श्रेष्ठले भने, “कथा तथा कविता बाहेकका कृतिले मदन पुरस्कार पाएमा त्यसको बिक्री ५ देखि २० हजारसम्म हुन्छ । त्यसरी बिक्री हुनेमा उपन्यास रहेका छन् । र, यस्ता कृतिहरु बाह्रैमास बिक्री हुन्छन् ।”
पछिल्लो समय लेखकको ध्याउन्न कि पुरस्कारमा छ कि व्यापारमा । पत्रकार तथा समीक्षक राजकुमार बानियाँका अनुसार कतिपयले मदन पुरस्कारकै लागि चैतभित्र भ्याई–नभ्याई रातारात किताब छाप्ने गर्छन् । प्रकाशकका अनुसार, मदन पुरस्कारको उत्कृष्ट सूचीले समेत किताबको बिक्रीमा एक–डेढ हजारको फरक पर्ने गरेको छ ।
“मदन पुरस्कारको मोह कतिसम्म छ भने लेखकहरू उत्कृष्ट सूचीमा नपरे ‘मेरो किताब किन दर्ता नगरेको भनी प्रकाशकलाई समेत धम्काउन पछि पर्दैनन् ?” उनी भन्छन्, “पुरस्कार पाएपछि बिक्रि बढी हुन्छ भन्ने बुझेका केही प्रकाशकले पुस्तकको बजारीकरण गर्नका लागि लेखकको अनुमतिबिना नै दर्ता गराउने गराएका छन् ।”
लेखक तथा साहित्यकारको गुणको मानक मदन पुरस्कार भएपछि बजारमा त्यसको व्यापार बढ्नु स्वभाविक हो । पछिल्लो समय व्यापार बढाउन मदन पुरस्कारलाई ब्रान्ड बनाएर बिक्री गर्ने रणनीति नै बनाएको बुझ्न सकिने लेखक युग पाठक बताउँछन् । यस्तो ब्रान्डको प्रयोगले पुस्तक राम्रो छ भन्ने भ्रम पाठकलाई पर्ने गरेको उनको कथन छ । यस्तो भ्रमले कति पुस्तकहरु पठकबाट तिरष्कृत समेत भएका छन् भने कतिमा प्रश्न पनि उठेका छन ।
न त पुरस्कार पाउने लेखकलाई योग्य र नपाउनेलाई अयोग्य भन्न मिल्छ । न त पुरस्कार पाउने कृति असल, नपाउने कमसल । तर, बर्षेनि मदन पुरस्कारमा लेखकहरूको उछिनपाछिन हेर्न लायककै हुन्छ ।
पुरस्कार सँगसँगै विज्ञापन
पुस्तकको बिक्री बढाउनका लागि पुरस्कार पाएर मात्रै पनि पुग्दैन । सँगसँगै त्यसको विज्ञापन पनि रामै्रसँग गर्न जान्नु पर्दछ । यसले व्यपारमा धेरै सहयोग पुर्याउँछ ,त्यसको एउटा उदाहारण हो ‘पल्पसा क्याफे’ ।
लेखक नारायण वाग्लेको पुस्तकले २०६१ मा मदन पुरस्कार पाउँदा प्रकाशकले रणनीतिक योजनासहित विज्ञापनको योजना बनाएको थियो । तत्कालिन नेपाली द्वन्द्व चित्रण गरिएको यस उपन्यास नेपालमा सर्वाधिक बिक्रि हुने पुस्तक मध्येमा पर्ने गरेको प्रकाशक नेपालयको दावी छ ।
प्रकाशनमा आएको एक वर्षमै २५ हजार प्रति बिक्री भएको यो पुस्तक अहिलेसम्म ६० हजार भन्दा बिक्री भइसकेको छ । यो पुस्तकले लेखकलाई मात्रै स्थापित गरेन यस पुस्तकको प्रकाशनको जिम्मा लिएको नेपालय प्रकाशनलाई पनि स्थापित ग¥यो । तर, उनको पछिल्लो पुस्तक ‘मयुर टाइम्स’ भने त्यति धेरै बिकेन । उसले के देखाउँछ भने पुरस्कार नै पुस्तकलाई असल÷खराब छुट्टाउने एउटा माध्यम हो ।
बजारमा बिक्री बढाउनका पुरस्कार मात्रै पाएर पुग्दैन । त्यसको साथसाथै पब्लिसिटी पनि आवश्यक भएको शिखा बुक्सका पुष्पराज पौडैल बताउँछन् । उनी भन्छन्, “बजारमा पुस्तक निस्कियो भनेर हल्ला त हुनु पर्यो नि” । उनको प्रकाशनले प्रकाशन गरेको ‘महारानी’ उपन्यासले गत वर्षको मदन पुरस्कारका लागि यसवर्ष छनोट भएको थियो । लेखक चन्द्रप्रकाश बानियाँले लेखेको उक्त पुस्तक पुरस्कारका लागि छनोट भएपछि पहिले भन्दा धेरै माग आएको पौडेल बताउँछन् । अन्ततः यसै पुस्तकले यो वर्ष मदन पुरस्कार पाएको छ ।
मदन पुरस्कार गुठीलाई प्राप्त १५१ कृति मध्ये छनोटमा परेका सात कृतिमा विमल निभाको ‘जोकरको बन्दुक’, ललित विष्टको ‘मोहपथ’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्सा’को ‘चक्रव्यूह’, भुवन ढुंगानाको ‘परित्यक्ता’, योगी धर्ममहारसको ‘महारसनीघण्टु’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’ र शारदा शर्माको ‘यात्रामा’ थिए ।
त्यसो त पाठकका बुझाईमा पुरस्कार पाएका सबै कृति उत्कृष्ट छैनन् । पुस्तकको समीक्षा लेखेका राम लोहनी कुनै पनि कृति राम्रो हुनका लागि विभिन्न कोणबाट अब्बल र भाव मिल्नुपर्ने बताउँछन । “तर, पुरस्कार पाएका सबै कृति त्यस्ता हुदैनन्, उनले भने” ।
पुरस्कार पाएपछि पाठकलाई पुस्तक छनोट गर्न भने सजिलो हुन्छ । “मदन पुरस्कार वा अन्य कुनै पनि पुरस्कार पाउने सबै कृति उत्कृष्ट छन् भन्ने भ्रममा पर्दा पाठक ठगिने गरेका छन्”,उनले भने ।
मदन पुरस्कार सम्बन्धित सामाग्री पढ्नुहोस्
मदन पुरस्कार पाएपछि भन्थे, ‘राजाबाट ठूलो इनाम पाएका छौ रे नि ?’
‘महारानी’ २०० वर्षअघिको इतिहासको पुनर्लेखनः अन्तर्वार्ता
मदन पुरस्कार पाउनु अघि र पछि