कोभिड १९ को महामारीको यो समयमा धेरैपछि पसल व्यवसायहरु सहज रुपमा खुलेपनि सर्वसाधारणमा त्रास हटिसकेको छैन । यो शंका, त्रास कोभिड निमूल नहुन्जेलसम्म भइरहन्छ नै । व्यवसायहरु खुलेपनि सामान्य अवस्थाको बेलामा जस्तो हुन अझै केही समय पक्कै लाग्नेछ ।
काठमाडौंमा सैलुन व्यवसाय गरिरेहका नाइहरुले पनि यस्तै समसया भोगिरहेका छन् । सैलुन खोल्न थालेपनि दाह्री, कपाल काट्नेहरु पहिलेजस्तो नरहेको उनीहरु बताउँछन् । पहिले एकै सैलुन दुई तीन जना नाइसम्म व्यस्त हुन्थे, अहिले एकै जनालाई पनि खास काम छैेनन् । त्यसैले सैलुनले घर गएका सहकर्मी नाइलाई काठमाडौं बोलाउन सकेका छैनन् ।
कतिले कपाल काट्न आउँदा पिसिआर रिपोर्ट खोज्ने गरेको नाइहरु बताउँछन् । केहीले पिसिआर नेगेटिभ रिपोर्ट सिसामा टाँसेर पनि राखेका छन् । तर त्यो रिपोर्टको म्याद के कहिलेसम्म भन्ने कोभिड १९ को प्रकृति अनुसार यकिन भन्न सकिदैन ।
उनीहरु भन्छन, ‘उहाँहरु त हाम्रो पिसिआर रिपोर्ट खोज्नुहुन्छ, हामीले उहाँहरुको खोज्न मिलेन । हामी पनि जोखिममै छौं, तर सैलुन नखोली के गर्नु ? अहिले त धेरै घरै बस्छ, कपाल, दाह्री बढ्दैन कि के हो ? सैलुनमा खासै काम छैन ।’