औपचारिक विद्यालय तथा विश्वविद्यालयका कैयौँ परीक्षामा सहभागी भएँ । सयौं परीक्षाका ती प्रश्नपत्रहरुले मेरा हजारौं घण्टाहरु चपाएका छन् । मेरो मस्तिष्क पनि सक्दो घोटिएको छ म आफैंबाट । र, मेरो मनमा एउटा प्रश्न सधैं नाचिरहन्छ, ‘एक असल सिकारुले सिक्नका लागि कहिल्यै शिक्षकको प्रतीक्षा गर्दैन । पुष्टि गर्नुहोस् ।’
धेरैजसोले आफ्नो शैक्षिक जीवनकै अन्तिम वर्ष स्नातकोत्तर तहको दोस्रो वर्षलाई मान्दछन् । यही दोस्रो वर्षको परीक्षामा यो प्रश्न किन सोधियो होला ? म हिजोआज पनि खुब गमिरहन्छु । विद्यालय शिक्षाकै औचित्यमाथि प्रश्न गर्ने यो प्रश्न किन सोधिएन होला यसअघिका परीक्षामा ? या किन सोधियो होला यही अन्तिम वर्षमा ?
- बिहान सबैभन्दा बढी खुसी भएर विद्यालय निस्केको बच्चा साँझमा घर फर्कँदा अनुहारमा मुस्कान, आत्मविश्वास र अबोध हुनुको निर्धक्कता गुमाएर घर फर्कन्छ भने हाम्रो विद्यालयले के कुरा बाँडिरहेको छ होला ?
शिक्षकको अस्तित्व र कक्षामा उसको उपस्थितिको गरिमामाथि प्रश्न गर्ने यो प्रश्न आज पनि गम्भीर छ मेरा लागि । त्यसो त स्नातकोत्तर सकाएपछि शिक्षक बन्नलाई गतिलो कागज (प्रमाणपत्र) चाहिँ बन्छ, व्यक्ति योग्य या अयोग्य जे बनोस् ।
उक्त प्रश्न सबैभन्दा बढी त त्यो क्षण मेरो दिमागमा नाच्दछ, जतिबेला म कक्षामा प्रवेश गर्न गइरहेको हुन्छु । एक शिक्षकका रुपमा कक्षामा प्रवेश गरेर निर्धारित पाठ्यक्रमको राजमार्ग पहिल्याउनु कि उक्त प्रश्नको आशयलाई बुझाउनु ? सदैव मझधारमा उभिने प्रयत्न रहिरहेको हुन्छु म ।
हिजोआज जहाँ पुग्दा पनि ‘विद्यालय बन्द हुनाले केटाकेटी बरबाद भए’ भन्ने कुरा सुनिन्छ । विद्यालय बन्द हुनुको कारण अभिभावकहरु अत्यन्तै चिन्तित छन् । ‘केटाकेटी बरबाद भए’ भन्ने पनि अभिभावकहरु नै हुन् । विद्यालय बन्द हुनुले कोही कुनै सबैभन्दा खुसी छन् भने ती विद्यार्थीहरु हुन् ।
- म सरकारी स्थायी शिक्षकहरुको खुसी र पीडाको मापन गर्न चाहन्नँ । लकडाउन अवधिमा उनीहरुले निर्वाह गरेको सामाजिक दायित्वबाट नै प्रस्ट हुन्छ । तर सबैभन्दा बढी कोही दुःखी छन् भने ती निजी शैक्षिक संस्थाका शिक्षकहरु हुन् ।
म शतप्रतिशत भन्दिनँ, नब्बे प्रतिशतको ग्यारेन्टी लिन सकिन्छ । कक्षाको शिक्षण सिकाइ क्रियाकलाप र सिकाइ उपलब्धि आफ्नो नियन्त्रणमा राख्ने दश प्रतिशत विद्यार्थीहरु मात्रै दुःखी छन् । म सरकारी स्थायी शिक्षकहरुको खुसी र पीडाको मापन गर्न चाहन्नँ । लकडाउन अवधिमा उनीहरुले निर्वाह गरेको सामाजिक दायित्वबाट नै प्रस्ट हुन्छ । तर सबैभन्दा बढी कोही दुःखी छन् भने ती निजी शैक्षिक संस्थाका शिक्षकहरु हुन् । यो दुःख पनि विद्यार्थीहरुको सिकाइलाई लिएर होइन ।
‘केटाकेटी बरबाद भए’ भन्ने कुरा नयाँ होइन । कोरानाकाल सुरु हुनुअगावै कुन विद्यालय नहोला, जहाँ मोबाइल ब्यान्ड गर्नलाई छलफल नचलेको होस् । कुन अभिभावक र कुन शिक्षक बोलेन होला कि ‘मोबाइलले केटाकेटी बरबाद भए’ भनेर ।
अचेल मलाई एक कुराले खुब हाँसो छुट्छ । उनै शिक्षकहरु आजकाल विद्यार्थीहरुलाई फेसबुक खोल्न, मेसेन्जरमा सामूहिक छलफलमा सहभागी हुन र सक्दो धेरै समय अनलाइनमा रहिरहन आग्रह गरिरहेका छन् । यति अदूरदर्शी, अज्ञानी र कुनै पनि आविष्कारको महत्त्वबोध गर्न नसक्ने शिक्षकहरुले पढाउने विद्यार्थीहरु आफ्नो अन्धकार भविष्यसँग कसरी जुध्न सक्लान् ?
- अधिकांश बच्चाहरु, जो पहिलो दिन विद्यालयका लागि घरबाट आफ्ना पाइलाहरु चाल्दछन्, तीक्ष्ण, विवेकशील, असाध्यै उत्सुक, नजान्नुमा असाध्यै कम डर, निकै आत्मविश्वासी, आत्मनिर्भर, दृढ, साधनयुक्त हुन्छन् । कि त्यसपश्चात् विद्यालय जीवनमै उनीहरुमा यस्ता गुणहरु नहुन सक्छन् ।
वर्तमानलाई नै छोपेर भविष्यसँग जुध्ने ज्ञान कसरी दिन सक्लान् उनीहरु ? विद्यार्थी जीवनपश्चात् आधा शताब्दी बढी बाँच्ने व्यक्तिले शिक्षकबाट प्राप्त सूचनाहरुको उपयोग गर्दै यति लामो अवधिमा झेल्नुपर्ने समस्याहरुसँग कसरी जुध्लान् उनीहरु ?
विद्यार्थीहरु सबैभन्दा बढी खुसी कुन दिन हुन्छन् होलान् ? अधिकांशले उनीहरु आफ्नो पढाइमा प्रथम भएको दिन या पढाइ पूरा गरेको दिन भन्छन् । शिक्षाविद् जोन हल्ट आफ्नो लेख ‘स्कुल इज् ब्याड फः चिल्ड्रन’को सुरुआतमै यस्तो कुरा उल्लेख गर्दछन्, ‘अधिकांश बच्चाहरु, जो पहिलो दिन विद्यालयका लागि घरबाट आफ्ना पाइलाहरु चाल्दछन्, तीक्ष्ण, विवेकशील, असाध्यै उत्सुक, नजान्नुमा असाध्यै कम डर, निकै आत्मविश्वासी, आत्मनिर्भर, दृढ, साधनयुक्त हुन्छन् । कि त्यसपश्चात् विद्यालय जीवनमै उनीहरुमा यस्ता गुणहरु नहुन सक्छन् ।’
बिहान सबैभन्दा बढी खुसी भएर विद्यालय निस्केको बच्चा साँझमा घर फर्कँदा अनुहारमा मुस्कान, आत्मविश्वास र अबोध हुनुको निर्धक्कता गुमाएर घर फर्कन्छ भने हाम्रो विद्यालयले के कुरा बाँडिरहेको छ होला ? मुस्कान, आत्मविश्वास र आत्मबोध गुमाएर घर फर्कने विद्यार्थीले तनाव र दिग्दारीको झोला बोकेर घर फर्कन्छ भने हाम्रा विद्यालयहरु बन्द भएर किन बर्बाद होलान् केटाकेटीहरु ?
- जो जसले ती आविष्कारहरुलाई आफ्नो नियन्त्रणमा राख्न सक्छन्, उनीहरु अप्ठेरो–सप्ठेरो भोगेर बाँच्न सक्लान् । तर जो जतिलाई आविष्कारहरुले आफ्नो नियन्त्रणमा राख्दछन्, उनीहरु त जीवनबाट भाग्नुबाहेक अर्को के पो विकल्प देखिइरहेको छ र ?
निश्चय नै यो कुरा सत्य हो कि, विद्यार्थीहरु मात्रै बरबाद नभएर यहाँ त युवा र वयस्क अवस्थाका मान्छेहरु पनि बरबाद भइरहेका छन् । बरबाद हुनुको महत्त्वपूर्ण कारण त यी हुन् कि कोरोनाले सिर्जना गरेको मनोविज्ञान र जीवनका आधारभूत आवश्यकताहरुको परिपूर्तिमा अभाव । एउटा कुनै विद्यार्थी छैन, जसले विद्यालय बन्द हुनुकै कारण दिग्दारीपूर्ण तरिकाले समय गुजारिरहेको होस् । त्यस्तो कोही छ भने पनि त्यसका कारणहरु भिन्न छन् । ती हुन सक्छन् : सामूहिकता, मैत्रीभाव, घुमफिर र खेलकुदका गतिविधिहरुको अभाव ।
वर्तमान विश्व समाज समयको गतिलाई नाघेर प्रगति पथमा लम्किरहेछ । कहिलेकाहीँ समय आफैँलाई लाग्दो हो, मानव मस्तिष्कको गति किन यति द्रुत गतिमा अघि बढिरहेछ । तर सोचनीय विषय त यो छ कि हामीहरु कुनै सुन्दर दुनियाँ निर्माण गर्ने गन्तव्यमा पुगिसकौँला या पुग्नुअगावै दुर्घटनामा परौँला ? मानव मस्तिष्कले सिर्जना गरेकै कुराहरुको दास मानव जगत् आफैँ बन्नुले नै प्रस्ट भइसकेको छ ।
आजको वर्तमान समयमा विद्यालयका कक्षाहरुमा पुस्तकका पानाहरु पल्टाइरहेका बाल मस्तिष्कहरु के भविष्यका दिनहरुमा आइपर्ने अनपेक्षित परिवर्तनहरुसँग सहजै अंकमाल गर्न सक्लान् त ? वर्तमान समय यस्तो बनिसक्यो कि दाजु र दिदीहरुले बटुलेको अनुभवको औचित्य भाइ र बहिनीको पुस्तामा पुग्दा समाप्त हुन्छ ।
विद्यालयमा पढाइ हुने पाठ्यक्रम त एक दशकमा बदलिन्छ तर यहाँ दिनको दिन नयाँनयाँ आविष्कारहरु थपिइरहेका छन् । जो जसले ती आविष्कारहरुलाई आफ्नो नियन्त्रणमा राख्न सक्छन्, उनीहरु अप्ठेरो–सप्ठेरो भोगेर बाँच्न सक्लान् । तर जो जतिलाई आविष्कारहरुले आफ्नो नियन्त्रणमा राख्दछन्, उनीहरु त जीवनबाट भाग्नुबाहेक अर्को के पो विकल्प देखिइरहेको छ र ?
- बाहिरको दुनियाँको होस् या भित्रको, देख्न त उज्यालो चाहिन्छ, उज्यालो ।विद्यालय पुग्ने गोरेटाहरु बन्द हुँदैमा कहाँ बन्द हुन्छन् ज्ञान प्राप्तिका राजमार्गहरु !
विद्धानहरु वर्तमान समयका समस्याहरु र भविष्यमा आइपर्ने अनपेक्षित समस्याहरुसँग जुध्नलाई यी कुराहरुलाई पनि छाडेर अलिक अगाडि पुग्नुपर्ने तर्क गरिरहेका छन् । प्राविधिक सीप सिकाइमा जोड दिइरहेको वर्तमान शिक्षाले पनि मानवीय समस्याहरु समाधान नगर्ने उनीहरुको तर्क छ । वर्तमान विद्यालय शिक्षाले अनपेक्षित परिवर्तन र परिस्थितिहरुसँग जुध्न सक्ने व्यक्तिको मानसिक सन्तुलनको संरक्षणमा ध्यान दिन जरुरी छ ।
आज विद्यालय प्रवेश गरिरहेको बच्चा सन् २०५० को सेरोफेरोमा उसले विश्वविद्यालयको शिक्षा पनि पूरा गर्दछ । तर सन् १०२० को अनुभव १०५० को समयमा हुबहु उपयोगी भए जस्तै सन् २०२० को अनुभव २०५० को समयमा उपयोगी नहुने भन्दै युवल नोह हरारी यस्तो भन्छन्, ‘२०५० को दुनियासँग साक्षात्कार गर्नका लागि हामीहरुलाई नयाँ विचारहरु र नयाँ उत्पादनहरुको आविष्कारको विरलै आवश्यकता पर्नेछ तर हामी स्वयं आफूलाई भने बारम्बार आविष्कार गरिरहनुपर्नेछ ।’
आजको दुनियाँ विज्ञान र प्रविधिको नियन्त्रणमा छ । हामीले सिर्जना गरेका कुराहरुले नै हामीलाई दास बनाइरहेका छन् । विज्ञान र प्रविधिले जुन गतिमा फड्को मारिरहेको छ, त्यसको दोब्बर गतिमा मान्छेका दुःखहरु बढ्दै गइरहेका छन् । भौतिक सुविधा बढ्दै जाँदा त मानवीय सुख र खुसी बढ्दै जानुपर्ने हो । तर यहाँ ठीक उल्टो भइरहेको छ ।
- मान्छेहरु भनिरहेछन्– विद्यालय बन्द हुनुका कारण विद्यार्थीहरुको भविष्य खतरामा छ । योभन्दा ठूलो झुट के हुन सक्छ ? मानसिक रोगीहरु जन्माउने कारखाना बनिरहेका विद्यालयहरु बन्द हुनुले खासै ठूलो दुर्घटना निम्तिन्छ भन्नु झुट हो ।
शिक्षाले मानव जीवनलाई सहज बनाउँदै लैजानुपर्नेमा झन्झन् जटिल बनाउँदै लगिरहेको छ । के हाम्रो शिक्षा प्रणाली सही दिशामा अगाडि बढिरहेछ त ? आजका बच्चाबच्चीलाई के कुरा सिकाउन अप्ठेरो भइरहेछ ? यसै सन्दर्भमा हरारी थप्छन्, ‘भौतिकशाष्त्रको समीकरण तथा पहिलो विश्वयुद्धका कारणहरु सिकाउनुभन्दा पनि अपरिचित कुराहरुसँग साक्षात्कार गर्न र उनीहरुको मानसिक सन्तुनलन स्थिर राख्नु असाध्यै जटिल छ ।’
कोरोना भाइरसका कारण लगभग दुनियाँका सबै देशहरु लकडाउनमा छन् । लकडाउनका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रहरुमध्ये एक हो शैक्षिक क्षेत्र ।मान्छेहरु भनिरहेछन्– विद्यालय बन्द हुनुका कारण विद्यार्थीहरुको भविष्य खतरामा छ । योभन्दा ठूलो झुट के हुन सक्छ ?
मानव जगत वर्तमान खतरामा आउनुकाे पछाडिकाे कारण बितेको समयमा प्रकृतिलाई चिहान बनाएर समृद्धिको महल ठड्याउनु हो भने यसको कारक हाम्रै शिक्षा होइन त ? मानसिक रोगीहरु जन्माउने कारखाना बनिरहेका विद्यालयहरु बन्द हुनुले खासै ठूलो दुर्घटना निम्तिन्छ भन्नु झुट हो ।
यदि यस्तो परिस्थिति नै निम्तिन्छ भने पनि यसको कारक स्वयं विद्यालय शिक्षा नै हो । ‘सिकाइको एक मात्रै स्रोत विद्यालय हो’ भन्ने चिन्तनको विकास पनि विद्यालयहरुले नै गरेका हुन् । वर्तमान समयमा कोही कसैले ज्ञानको बृद्धि भएको भन्ठान्छ भने त्यो भन्दा ठूलो भ्रम के हुन सक्छ ? ज्ञान प्रसारणका माध्यमहरु बढेका हुन्, चेतना बढेको होइन । मान्छेले आज आफ्नो मस्तिष्कलाई पेनड्राइभमा बोकेर हिँडिरहेको छ । बस् ! भएको परिवर्तन यही हो । हजार र हजार वर्ष पहिले जन्मिएका बुद्ध र सुकरातको चेतना र चिन्तनभन्दा पर कहाँ पुगेको छ र यो मानव जगत् ?
कोभिड १९ दुर्भाग्य, लकडाउन स्वर्णिम अवसर
यस बखत मात्रै विश्व जगतले गम्भीर भएर यो सोच्न बाध्य भयो कि विद्यालय मात्रै सिकाइको अन्तिम स्रोत होइन । विद्यालय शिक्षाले प्रदान गरिरहेको सूचनाले स्वयं मान्छेलाई बाँच्न किन सकस बनाइरहेछ ? यो सोच्न पनि त यति लामो फुर्सद कहिले पो थियो र ?
- यसले के बताउँछ भने मान्छेलाई सबैभन्दा ठूलो खतरा केहीकोहीबाट छ भने स्वयं आफैँबाट छ । व्यक्ति स्वयंले प्राप्त गरेको सूचना, सीप र महत्त्वकांक्षा नै उसलाई सिध्याउने सबैभन्दा खतरनाक हतियारहरु बनिरहेका छन् ।
नेपालको सन्दर्भमा त कोरोनाको कारण लकडाउन सुरु भएपछि कोरोनाले भन्दा पनि आत्महत्याको कारण धेरै मान्छेहरुको ज्यान गइरहेछ । आत्महत्याका कारण ज्यान गुमाउनेहरु अधिकांश युवावर्ग र शिक्षित भनिएका मान्छेहरु छन् । त्यसो त तथ्यांकले यस्तो भन्छ, हत्याहिंसा र दुर्घटनाका कारणभन्दा आत्महत्याका कारण ज्यान गुमाउनेहरुको सूची लामो छ, संख्या धेरै छ ।
यसले के बताउँछ भने मान्छेलाई सबैभन्दा ठूलो खतरा केहीकोहीबाट छ भने स्वयं आफैँबाट छ । व्यक्ति स्वयंले प्राप्त गरेको सूचना, सीप र महत्त्वकांक्षा नै उसलाई सिध्याउने सबैभन्दा खतरनाक हतियारहरु बनिरहेका छन् ।
सुकरातले हजार वर्षअघि ‘स्वयं आफैँलाई चिन’ भनेको कुरा सबैभन्दा सान्दर्भिक छ भने यही समयमा छैन त ? के हाम्रो शिक्षाले यसतर्फ ध्यान दिन जरुरी छैन ? अन्तर्हृदयतर्फको यात्रा गर्ने यो भन्दा ठूलो अवसर के हुन सक्छ ? भौतिकवादी दुनियाँमा नजर डुलाउँदा डुलाउँदै आफैँलाई बिर्सेको मान्छेले आफूसँग आत्मालाप गर्ने योभन्दा ठूलो अवसर कहिले पाउन सक्छ ?
म को हुँ ? मेरो अस्तित्व के हो ? हामीहरु कहाँबाट आयौँ ? यो ब्रह्मान्ड के हो ? मान्छे किन मर्छ ? मृत्युपश्चात् पुनः जीवन छ कि छैन ? हरेक विद्यार्थीले एक न एकपटक यस्ता प्रश्न गर्दछन् । देख्ने हरेक वस्तुलाई उनीहरु प्रश्न देख्छन् । उनीहरु आफैँमा दार्शनिक हुन्छन् । यस्ता प्रश्नहरुको चिन्तन गर्ने यो भन्दा लामो फुर्सद आजका विद्यार्थीहरुले अरु कुन समयमा पाउँछन् ? प्रश्नहरु नै त ज्ञान प्राप्त गर्ने राजमार्गहरु हुन् ।
सहरमा भर्चुअल, गाउँमा प्राकृत ज्ञानशाला
चित्र कोर्ने अभ्यास गरिरहेको बच्चालाई क्यानभाससँग संवाद गर्ने यो भन्दा ठूलो अवसर के हुन सक्छ ? कविता या गीत गुनगुनाउने बच्चालाई आफ्नो स्वर तिखार्ने यो भन्दा ठूलो अवसर के हुन सक्छ ? नृत्यकला सिकिरहेको बच्चालाई आफ्नो शारीरिक गति नियाल्ने यो भन्दा राम्रो फुर्सद कहिले मिल्न सक्ला ? हार्मोनियम, गितार र पियानोमा औँला नचाउने यो भन्दा सुन्दर समय अरु कहिले होला ? चराहरुको आवाज सुन्ने, रुखको छायामा बस्ने, नदीको गतिलाई नियाल्ने, ध्यानमग्न पहाडको गहिराइमा डुबुल्की मार्ने, यो भन्दा ठूलो अवसर के हुन सक्ला ? हजुरबुवा–हजुरआमाले पुरानो दराजमा सजाएका महाभारत, चारवेद, रामायण, बाइबल, बुद्धजीवन, कुरानका पुस्तकमा लागेका धुलो टकटकाउने यो भन्दा स्वर्णिम अवसर कहिले प्राप्त हुन सक्छ ?
जिजीविषाका निम्ति सिर्जित अघिल्लो पुस्ताको कथा सुन्ने, वर्तमानका कथाहरुसँग तुलना गर्ने र मान्छेहरुले सिर्जना गर्दै गरेका नयाँ नयाँ कथाहरुमा आफ्नो उपस्थिति खोज्ने मीठो अवसर बनेको छ यो समय ।
चारैतिर अँध्यारो देख्ने र अँध्यारो फैलाउनेहरुले नै छोपेका छन् हाम्रा आँखाहरु । अनेकों भ्रमहरुका हुरी चलाएर निभाउँदै छन् हामी आफैँभित्रको दियो । हरेक मान्छेभित्र छन् : एक ब्रह्माण्ड, एक पृथ्वी, एक जून, एक सूर्य र नौलाख ताराहरु । बाहिरको दुनियाँको होस् या भित्रको, देख्न त उज्यालो चाहिन्छ, उज्यालो ।विद्यालय पुग्ने गोरेटाहरु बन्द हुँदैमा कहाँ बन्द हुन्छन् ज्ञान प्राप्तिका राजमार्गहरु !