काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथली बिक्रीकक्षबाट प्रतिकेजी ६० रुपैयाँमा प्याज बिक्री गर्न थालेको छ । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई बिक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको हो ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट सर्वसाधारणलाई प्रतिकेजी ६० मा प्याज उपलब्ध गराउँदै आएको बताए ।
उनका अनुसार बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको छ । ‘हामीले प्याजको चर्को मूल्यमा बेच्ने व्यापारीबाट प्याज नियन्त्रणमा लिए आफैँ बेच्न थालेको हौं,’ उनले भने, ‘एक जनालाई तीन किलोसम्म दिन थालेको छौं ।’
उनका अनुसार ५२ रुपैयाँ राजस्व र ८ रुपैयाँ खाद्य कम्पनीको खातामा जिम्मा गरिनेछ । केही दिनअघि उपत्यकामा प्याजको मूल्य १२० सम्म पुगेको बताइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमन समेत गरेका थिए । प्रजिअ दाहालले प्याजजस्तै चिनी लगायत अन्य खाद्यान्नमा कृत्रिम अभाव सिर्जना गरेर बजार मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएमा हस्तक्षेप गरी आफैं बिक्री गर्ने बताए ।