काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योशिहिदे सुगाबीच टेलिफोन वार्ता भएको छ ।
भारतीय प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो । सो विज्ञप्तिका अनुसार उहाँहरुबीच शुक्रबार फोनवार्ता भएको थियो । त्यस वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री सुगालाई बधाई दिएका थिए । सुगा जापानको प्रधानमन्त्रीमा हालैमात्र निर्वाचित भएको थिए ।
प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री सुगालाई कार्यकालको सफलताको कामना गरेर बधाई ज्ञापन गर्नुभएको सो विज्ञिप्तमा जनाइएको छ । साथै भारत र जापानबीचको विगत लामो समयदेखिको सम्बन्ध उनको कार्यकालमा थप सुदृढ हुने धारणा प्रधानमन्त्री मोदीले राख्नुभएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्री सुगाको कार्यकालमा आगामी दिनमा भारत र जापान आर्थिक तथा अरु पनि धेरै क्षेत्रमा साझेदारी गरेर अघि बढ्ने विषयमा सो फोनमा कुराकानी भएको थियो । त्यस वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री सुगालाई अहिलेको कोभिड १९ को महामारी कम भएपछि भारतको भ्रमणका लागि आमन्त्रण पनि गर्नुभएको बताइएको छ ।
त्यस फोनवार्तामा उनीहरुबीच कोभिड १९ ले पारेको असरका बारेमा छलफल गर्दै यसको नियन्त्रण र रोकथामका लागि गरिएका कार्यहरुका बारेमा पनि आपसी अनुभव आदानप्रदान गरिएको थियो । रासस