काठमाडौं - कोटेश्वर पेरिस डाँडास्थित तत्कालीन माओवादीको पार्टी कार्यालयलाई नै अहिले नेकपाको मुख्यालय बनाइएको छ । तर, पेरिस डाँडाप्रति पूर्वएमालेका नेताले अपनत्व अनुभूत गर्न सकेका छैनन् ।
पूर्वमाओवादीकै नेता तथा कार्यकर्ताको पनि पेरिस डाँडाप्रति खासै आकर्षण देखिँदैन । पूर्व माओवादीको मात्रै मुख्यालय हुँदा पेरिस डाँडाको जुन ‘चार्म’ थियो, अहिले छैन ।
पेरिस डाँडाको आफ्नै बेग्लै कथा छ । माओवादीको मात्रै पार्टी कार्यालय हुँदा पेरिस डाँडाको महत्व बेग्लै थियो । अहिले देशकै सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी एवम् सत्ताको नेतृत्व गरिरहेको दलको मुख्यालय भएपछि पेरिसडाँडा झन् आकर्षणहिन र निरस देखिएको छ ।
२०७५ साल ३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भयो । ४ जेठमा दुवै अध्यक्ष तत्कालिन एमालेको पार्टी कार्यालय धुम्बाराही र पेरिस डाँडा पुगे ।
एकताका चर्चाको शिखरमा
देशमा गणतन्त्र आएसँगै चर्चाको शिखरमा थियो, पेरिसडाँडा । दस वर्षे सशस्त्र विद्रोहको नेतृत्व गरेको पार्टीको मुख्यालय हुनुको नाताले पनि पेरिस डाँडाप्रति धेरैको ध्यान तानिएको थियो । तत्कालिन विद्रोही माओवादी पार्टी बुझ्न र हेर्न पनि मानिसहरु पेरिसडाँडा पुग्ने गर्थे ।
एक समयमा पार्टी प्रवेश गर्नेको पनि केन्द्र थियो यो । अन्य राजनीति दल त्यागेर माओवादी प्रवेश गर्नेहरुको लर्को लाग्थ्यो । पहिलो संविधानसभा निर्वाचनपछि सत्ताको नेतृत्व गरेको माओवादीको पार्टी कार्यालय कस्तो होला ? भन्ने पनि आमजिज्ञासा थियो ।
सुरुमा माओवादीको पार्टी कार्यलय बुद्धनगरमा थियो । बुद्धनगरको पार्टी कार्यलय साँघुरो भएपछि माओवादीले पेरिस डाँडामा पार्टी कार्यालय सारेको थियो । पेरिसडाँडामा पार्टीको मात्रै नभएर जनवर्गीय संगठनको पनि मुख्यालय थियो, माओवादीको ।
विद्रोहीको मुख्यालयदेखि पार्टी विभाजनको साक्षीसम्म
‘घुमन्ते विद्रोही माओवादी’ले सत्ताको बागडोर सम्हाल्ने बेला पेरिस डाँडा नै मुख्यालय थियो । तर त्यतिबेला माओवादीले नौ महिना भन्दा बढी सरकार चलाउन पाएन, सकेन ।
भक्तपुरको खरिपाटीदेखि गोरखाको पालुङटारसम्मका पार्टीका विस्तारित बैठकका निर्णयलाई पेरिस डाँडाले उल्ट्याइदियो ।
पहिलो संविधानसभाबाट ठूलो राजनीतिक दल बनेको माओवादी २०६९ को सुरुमा नै विभाजित भयो । काठमाडौंको बौद्धमा भएको एक भेलापछि मोहन वैद्य किरणको नेतृत्वमा नयाँ पार्टी बन्यो । त्यहाँबाट रोपिएको फुटको बिऊ निकै झांगियो ।
२०७५ साल ३ जेठमा तत्कािलिन माओवादी केन्द्र एमालेबीच पार्टी एकता भयो । माओवादी विभाजन भएको ६ वर्षपछि एमाले र माओवादीबीच एकता भयो । एकतापछि पनि पेरिसडाँडामा त्यति चहलपहल भएन । नेकपाका अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो । पछिल्लो समय अघिल्लो आइतबार भने एकतापछि पहिलोपटक पेरिसडाँडामा पार्टी सचिवालयको बैठक बस्यो ।
एकतापछि एक दिनमात्र पेरिसडाँडा पुगेका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पनि २८ महिनापछि बैठकमा सहभागी हुन पुगे । पेरिसडाँडामा बसेको सचिवालय बैठकले भावनात्मक सम्बन्ध बलियो बनाएको नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेल बताउँछन् ।
उनले भने, ‘भावनात्मक सम्बन्धको सुरुवात भएको छ । पेरिस डाँडामा पार्टी सचिवालयको बैठक बसेपछि आमकार्यकर्तामा सकारात्मक सन्देश सञ्चार भएको छ ।’