प्रिय भाइ !
म यतिबेला बिनायो र मुचुङ्गाको मीठो धुन बजाउन छाडेकी छु
न त लेख्न सक्छु कविताका हरफहरु नै
न सुसेल्न सक्छु जीवनको लय
न त सुनिन्छ– गाउँमानै कुनै मङल धुन ।
खै ! कसरी एक्कासी उडाइ लग्यो ?
यो महामारीले यो दुनियाँको रङ
हिजो मात्र मुलघरे साइला रुदै आएको थियो उतै कतारमा छोरो यहि महामारीले बित्यो रे
माथ्लो घर जेठी आमाको बेथा उस्तै छ
छोरो मलेसियामा भेन्टिलेटरमा छ रे !
यता हाम्रो त कुरै नगरौ !
एउटा माक्स समेत किन्न सक्ने स्थिति छैन
सेनिटाइजर त हाम्रो हैसियत बाहिरको कुरो हो
कठै ! हामी भुइँमान्छे !
राजधानीको सडक पेटिमा हिड्दा हिडदै धनबहादुर
कहिले नउठ्ने गरि ढले !
एउटा सिटामोल समेत खान नपाई
महिनौंको लकडाउनले मजदुरी गर्न नपाउदा
सिरानघरे काकाको छोराछोरीमा कुपोषन भएको छ ।
तै पनि हाम्रा सासकहरु मौन छन्
सत्ताको खेल र भ्रष्टचारमा लिप्त छन्
यी सब देख्दा दिक्क लाग्छ भाइ !
उबेला हामीले क्रान्ति किन गर्यौ ?
आखिर जनताको तक्दिर बद्लिदैन थियो भने
किन लडियौ रणमैदानमा र बगायौ रगत
हाम्रा साथीसङ्गिले किन दियो जीवन ?
सङ्कटको बेला टाउकोमा हात राख्दैन भने
किन चाहियो देश ?
आज लाग्दै छ मलाई
सासकका अनुहार मात्र फेरियो
शासन फेरिएन
नत्र ! लाखौं पाखुरी बेचिन बिदेसी मरुभुमि किन पुग्नु पथ्र्यो ?
कति भो ! कति राम्ररी निदाएको रात छैन
हरेक साझ आपा तिम्रो खबर सोध्नु हुन्छ
मन बुझाउनै सहि म ठिकै छ भनेर उत्तर दिन्छु
तर चुपचाप सिरानी भिजेको हुन्छ
कस्लाई इच्छा हुँदैन होला र ?
जताततै मृत्युको साइरन बजेको बेला
आफ्ना सन्तानलाई आँखैनिर हेर्ने
तर यति हो
यो आक्रान्त समयमा पनि एउटा दियो निभेको छैन
तिमीले जादा एक मुठ्ठी माटो आफूसङ्गै लादै भनेको थियौ
म यो दुनियाँको जुनै भुगोलमा पुगे पनि
यो माटोको जस्तो मीठो सुगन्ध कतै भेटिने छैन
त्यसैले यो मधौरो समयलाई जितेर एक दिन तिमी आउने छौ
अनि यहि आगनीमा हामी सगरमाथा मुस्कुराउने छौ ।
-खोटाङ