एक राष्ट्रिय पत्रिकाका सम्पादक कहाँ महिला कर्मचारीको सेवा, सुविधा र अधिकारका विषयमा डेलिकेसन लिएर पुगेका कर्मचारी सम्पादकको जवाफ सुनेर नाजावाफ भए । सम्पादकले भनेछन्, ‘जागिरे लोग्नेका स्वास्नीहरु यहाँ टाइम पास गर्न आएका हुन् । किन चाहियो उनीहरुलाई धेरै सुविधा ?’ त्यसपछि ७ वर्ष भन्दा बढी महिला कर्मचारीहरु उही सेवा, सुविधामा काम गरिरहे । कोरोना कहरका कारण अहिले संस्थाकै अस्तित्व धरापमा छ ।
सुन्दा सामान्य लाग्न सक्छ, तर समानताका मुद्धा उठाउने सञ्चार गृहभित्रको यो विभेदले कलमजीवि तथा महिला विभेदको अन्त्यका लागि आवाज उठाउने सञ्चारकर्मीको धज्जी उडाइरहेछ । अझ सञ्चार गृहभित्रका यस्ता विभेदले धेरै महिलाहरुले पेशा नै परिवर्तन गरेका थुप्रै उदाहरण छन् ।
गत वर्ष सञ्चारकर्मी बिनु सुवेदीले आफ्नो फेसबुक अकाउन्टमा एउटा स्टाटस लेखिन्, ‘छोरी पाँच वर्षकी भई, उसको बा (जन्माउन सहभागी भएको आधारमा) सहित परिवारले हेर्न छोडेको तीन वर्ष भयो । हामीले (छोरीले र मैले) अधिकारको दावी गर्दै हालेको मुद्धा जिल्ला अदालत नेपालगञ्जमा डेढ वर्षदेखि अलपत्र छ । जिन्दगी मेरै हैसियत अनुसार चलेकै छ, संभवतः चल्छ । छोरीको एक कक्षा भर्नाका लागि धेरै स्कुल बुझेँ, बाको नाम, पेशा र कमाइ भर्नाका अनिवार्य शर्त रहेछन्, बाको फोटो टाँस्नै पर्ने रहेछ । जसले पाउनैपर्ने माया त पाउन सकिन, उसलाई हर ठाउँमा बाको नामले यातना दिनु जायज हो र ? सम्पूर्ण जिम्मेवारीमा आमामात्रै हुन हुने तर सम्पूर्ण कागजातमा आमामात्रै हुन नहुने किन होला ?’
- पिताको नाम र काम सोधेर एकल आमाहरुलाई मर्माहत पार्ने स्कुलमा पनि आमाको खोजीनीति हुँदैन ।
उनको यो कुरासँग धेरैका भावना मिसिए, कतिले सहानुभूति दिए त कतिले हुन सुझाव दिए । तर, आफ्नै बुताले बाबुद्वारा लत्याइएकी छोरीलाई आफ्नै पहिचानले पढाउँछु भन्दा नपाउने एउटी आमाको विवशता कसैको सहानुभूतिले सकिदैन । बिनु त एक उदाहरण मात्रै हुन्, यहाँ कयौं एकल आमाहरुले आफ्ना सन्तानलाई यो देशको नागरिकको पहिचान दिन सक्ने वातावरण बनेको छैन ।
आजसम्म मैले त्यस्तो कुनै समाचार पढेको छैन, जहाँ आमाको नाम नभएर सन्तान पढ्नबाट बञ्चित भएको होस । आमा नभएकै कारण कुनै सन्तानलाई यो देशको नागरिक हुनबाट कानुनले वञ्चित गरेको होस् । तर, नेपालको संविधान २०७२ ले नै सुनिश्चित गरेको आमाको नामबाट पनि नागरिकता पाउने हक पितृसत्तात्मक सोचबाट आएका प्रशासनका कार्यालयका कर्मचारीहरुले अझै कार्यान्वयनमा ल्याउन सकेका छैनन् । आमाको नाममा नागरिकता जारी गरिदिन नसक्ने तिनै प्रशासनका कर्मचारीले सामान्य रुपमा आमाको नाम समेत सोध्दैनन् । आमाविनै पिताहरुले आफ्ना सन्तानलाई शिक्षादीक्षा सजिलै दिन सक्छन् । पिताको नाम र काम सोधेर एकल आमाहरुलाई मर्माहत पार्ने स्कुलमा पनि आमाको खोजीनीति हुँदैन ।
- आमा घरमा नभएको बेला बाबाले भाँडा माझेको देखेर सानो छोराले सोध्छ, ‘बाबा हजुर आमा हो र ?’ सानो बालकको मनोविज्ञानमा भाँडा माझ्ने काम आमाको मात्र हो भन्ने कुराको छाप पार्न सफल छ हाम्रो समाज ।
आमाभन्दा ठूलो सत्य अरु केही छैन । जति पुरुषलाई पिता हुन सजिलो छ, तर मृत्युको नजिक पुगेर आमा बन्नुको अर्थ मृत्युलाई पनि जित्नु हो । पिता त केवल आमाले ‘पिता’ भन्दिएको भरमा निर्वाह गर्ने एउटा सम्बन्ध हो । तर समाज, संस्कार र कानुनमा पनि सबैभन्दा बलियो नाता नै बाबुको किन बनाइन्छ ? कम्तिमा एकल आमाले गर्वका साथ आफ्नो नाम र फोटो टाँसेर आफ्ना सन्तानलाई पढाउन पाउने वातावरण कहिले सिर्जना हुन्छ ?
गत वर्ष फागुनमा कैलालीको एउटा समाचार आयो, ‘१८ वर्षिया राधा चौधरीमाथि बोक्सीको आरोपमा लगातार ६ घण्टा यातना’ । उनले पाएको यो यातनामा पूरै गाउँ रमिते बन्यो । केहीले भिडियो बनाए, सार्वजनिक गरे, राधा भाइरल भईन् । राधा पहिलो महिला होइनन्, जसले बोक्सीको आरोपमा यातना सहिन् । यहाँ त कैयौं छोरीहरु हरेक दिन बोक्सी बनेर निर्घात कुटिन्छन् । सयौं घटना झुम्राको पुतली झैं जहाँको त्यही लुकाइन्छ । कैयौं राधाहरु समाजको बाधा बन्छन् र पासो लगाउँछन् आफ्नै जीन्दगी ।
यहि समाज हो जहाँ कुनै ‘कृष्ण’ बोक्सो बनेको समाचार सार्वजनिक भएको छैन । पितृसतात्मक समाजमा हामी हाम्रै सोचका कारण थिचिएका छौं । आमा घरमा नभएको बेला बाबाले भाँडा माझेको देखेर सानो छोराले सोध्छ, ‘बाबा हजुर आमा हो र ?’ सानो बालकको मनोविज्ञानमा भाँडा माझ्ने काम आमाको मात्र हो भन्ने कुराको छाप पार्न सफल छ हाम्रो समाज । हरेक दिन घर बाहिरको काम सकेर घर फर्किंदा ‘आमा हजुर बाबा हो र ? भनेर त्यही बच्चाले कहिल्यै प्रश्न गर्न नपरोस् ।
- दाजुसँगै खाना खान बसेकी छोरीले दाइकै सिको गर्दा ‘थाल टिपेर जुठेल्नामा लैजाऊ’ भन्ने आदेशमै विभेद छैन र ? यही कुरा छोरालाई पनि किन नभन्ने ?
म पुरुष विरोधी महिला पटक्कै होइन । मैले यहाँसम्म जीवन यात्रा तय गर्दा परिवारदेखि परिवार इतरका थुप्रै पुरुषहरुको साथ पाएकी छु । आफ्ना कैयौं रहर र आवश्यकतालाई निमोठेर मलाई पढाउने पिता, सँगै हात समातेर लेख्न सिकाउने दाजु, समस्यामा साथ दिने साथी, माया गर्ने प्रेमी सबैलाई भूलेर म पुरुष विरोधी कसरी बन्न सक्छु ?
यत्ति हो कि, सेतोपाटी वा कालोपाटीमा पढाउँदै गरेकी महिला शिक्षिकाको चित्र राखिने पुस्तकमा पुरुषले एप्रोन लगाएर भान्सामा जिम्मेवारी लिएको तस्वीर राख्नमा किन आपत्ति ? हाम्रा नानीहरुले आमा वा बाबा जसले पनि भान्छाको काम गर्न सक्छन् भन्ने छाप किन नपार्ने ? धारामा पानी थाप्दै गरेकी महिलाको तस्वीरको साइनबोर्ड बनाउने एनजिओहरुले बाबुले बच्चालाई खाना खुवाउँदै गरेको चित्र राख्ने हिम्मत किन नगर्ने ?
परिवर्तन औपचारिक शिक्षा वा देशको कानुनले मात्रै सम्भव छैन । लैंगिक विभेद अन्त्यका लागि महिलाहरुले पनि आफ्नो भूमिका परिवर्तन गर्नु जरुरी छ । आफ्नै सन्तानलाई आमाहरुले पुरुष भएकैले छोरालाई थालमै चुठेर हिँड्ने छुट किन दिने ? दाजुसँगै खाना खान बसेकी छोरीले दाइकै सिको गर्दा ‘थाल टिपेर जुठेल्नामा लैजाऊ’ भन्ने आदेशमै विभेद छैन र ? यही कुरा छोरालाई पनि किन नभन्ने ?