काठमाडौं– नेपाल सरकारले रेल र पानी जहाज मन्त्रालय थप्ने तयारी गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उक्त मन्त्रालय बनाउन प्रधानमन्त्रीलाई सुझाव दिएको बताइएको छ ।
पहिलोपटक प्रधानमन्त्री हुँदादेखि नै रेल र पानी जहाजका कुरा गरेर चर्चामा आएका ओलीले रेल र पानी जहाज मन्त्रालय बनाउने तयारी थालेको बताइएको छ । अहिले पनि रेल र पानीजहाज कार्यलय बनेका छन् । दुबै कार्यलय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत छन् ।
तर अब यी दुबै विभागलाई एक मन्त्रालय बनाएर काम सुरु गर्ने तयारी भएको स्रोतको दाी छ । ‘आन्तरिक सहमति र तयारी भएको छ,’ स्रोत भन्छ, ‘अब मन्त्रिपरिषदले निर्णय गरेर कार्यान्वायनमा जान मात्र बाँकि छ । अब छिटै त्यो काम पनि पूरा हुन्छ होला ।’
प्रधानमन्त्री ओलीले नेपाली ध्वजाबाहक पानीजहाज समुन्द्रमा चल्ने मिति नै संसदबाट घोषणा गरेका थिए । त्यो घोषणासंगै सरकारले ललितपुरमा पानीजहाज कार्यलय खोलेको छ । पानी जहाज र रेलको कुरा नेकपाको चुनावी घोषणापत्रमा पनि छ । रेल–पूर्वपश्चिममा मात्र होइन, उत्तर–दक्षिण पनि संचालन गर्ने भन्दै ओली रसुवा पुगेका थिए ।
लामो समयपछि बसेको स्थायी कमिटी बैठक र सचिवालयको निर्णयअनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने छ । अहिले १९ वटा मन्त्रालय छन् । संविधानमा भने २५ वटासम्म मन्त्रालय बनाउन पाउने व्यवस्था छ । अहीले तीन मन्त्रालय मन्त्रीबिहीन छन् । जसमा अर्थ, सहरी विकास र सूचना तथा सञ्चार मन्त्रालय छन् ।
भागबण्डा मिलाउन मन्त्रालय फुटाउने !
नेकपा स्रोतका अनुसार भागबण्डा मिलाउन अझै केही मन्त्रालय फुटाउने तयारी रहेको छ । जसमा उद्योग, वाणिज्य तथा आर्पूति, उर्जा तथा जलस्रोत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र कृषि तथा पशुपन्छी मन्त्रालय छन् । अहिले भएका मन्त्रालय र केही मन्त्रालय थपेपछि संविधानमा व्यवस्था भएअनुसार २५ मन्त्रालय पुग्नेछ ।
विवादित बन्दै मन्त्रिमण्डल पुनर्गठन
पहिलोपटक मन्त्रिमण्डल गठन गर्दा पनि विवादित भएको थियो । अध्यक्षद्वयका नजिकका मानिसले मात्र अवसर पाएको भन्दै विरोध भएको थियो । पछिल्लो समयमा पार्टी भित्रको विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वको कार्यदलले सुझाव दिएको छ । जसमा मापदण्ड बनाएर मन्त्रिमण्डल हेरफेर गर्नुपर्ने छ । त्यसको जिम्मा पनि अध्यक्षद्वयलाई दिइएको छ ।