म सुत्ने कोठाको भित्तामा लक्ष्मी र सरस्वती भगवानको फोटो छ । प्राय ती फोटा हेरिरहन्छु । सरस्वतीको ओठ र लक्ष्मीको आँखा खुब मनपर्छ ।
एकरात सुत्नेबेला ती फोटा देखेपछि मनमा धेरै कुरा खेल्यो । उनीहरुको स्वरुपको कल्पना कसले गर्यो होला ? सायद, कुनै प्रेमीले आफ्नो प्रेमिका सम्झेर बनाएको हुनुपर्छ वा धर्मकथाका आधारमा कल्पना गरेको हुनुपर्छ ।
उनीहरुको स्वरुपको कल्पना कुनै भारतीयले गरेको हुनुपर्छ । किनकि, उनीहरु भारतीय सिरियलका नायिका जस्तै देखिन्छन् । अफ्रिकीले बनाएको भएको कालो वर्ण, ठूलो ओठ र कपाल घुम्रिएको बनाउँथ्यो होला । जापनिज तथा कोरियनले बनाएको भए झन् बढी गोरी र अल्खा झारेको कपाल बनाउँथ्यो होला । अमेरिकीले बनाएको भए झन् अग्ली, झन् गोरी, खैरा आँखा र कैलो कपाल भएकी बनाउँथ्यो होला ।
यो लेख पोड कास्टमा सुन्न सक्नुहुन्छ
उक्त फोटो कहाँ प्रिन्ट भयो होला ? त्यो कागज उद्योगको मालिक कुन देशको, धर्मको वा जातको होला ? कागज उद्योगमा काम गर्ने कामदार हिन्दू धर्मावलम्बी नै थिए कि थिएनन् होला ? सायद, मुस्लिमले खुट्टाले किचेर कागज बनायो कि ! त्यो कागजमा लक्ष्मी र सरस्वतीको तस्वीर प्रिन्ट कुन जात तथा धर्मको मान्छेले गर्यो होला ? त्यहाँ प्रयोग भएको मसीमा अल्कोहल थियो कि थिएन होला ? अनि, त्यो पोस्टर या फोटो बेच्ने मान्छे कुन धर्मको थियो होला ? जे होस्, जसले बनाएको भए पनि लक्ष्मी र सरस्वतीको फोटो बनाएर बेच्ने बेलासम्म धेरैले रोगजारी पाए । कागज उद्योगी र फोटो ल्याबवालाले धेरै नाफा कमाए ।
लक्ष्मी र सरस्वतीको तस्वीर उद्योग त साधारण उदाहरण मात्रै हो । धेरै सोचेपछि यो निष्कर्षमा पुगें कि, ‘भगवान छ कि छैन थाहा छैन । तर भगवानको नाममा अनेक उद्योग चलेकै छ, चलाइएकै छ ।’
०००
मलाई थाहा छैन, म कुन धर्मको हुँ ? मेरा बा–आमा हिन्दू धर्मावलम्बी भएकैले मलाई हिन्दू भनिएको छ । बा–आमा पनि हजुरबा–हजुरआमा हिन्दू भएकैले हिन्दू भएका हुन् । म हिन्दू परिवारको भएकैले मलाई हिन्दू सँस्कारअनुसार सोच्न र व्यवहार गर्न सिकाइयो । मैले त्यसैलाई अनुसरण गरें । म जानेर, बुझेर, पढेर हिन्दू भएको होइन । यदि धर्म दर्शन हो भने मैले बुझेर मात्रै अनुसरण गर्नुपर्ने हो । तर यहाँ जबरजस्त मलाई हिन्दू करार गरिएको छ ।
- पक्कै पनि, मान्छेको उत्पति हुने बेला धर्म थिएन । त्यतिबेला पनि मान्छे जन्मन्थे, हुर्कन्थे, खान्थे, बाँच्थे, जिउँथे, मर्थे । मान्छे जातिको निर्माण प्रक्रियाबारे अहिले धेरै कुरा नगरौं ।
जनगणनामा आउँदा मलाई सोध्दै नसोधी हिन्दू धर्मावलम्बी भनेर गणना गरियो । ८ कक्षाको जिल्लास्तरीय परीक्षामा हेडसरले आफै मलाई हिन्दू भनेर फारम भरिदिएछन् । एसएलसीमा पनि त्यस्तै भयो । अरुले भनिदिएकै भरमा म हिन्दू भइसकेछु, मलाई थाहै छैन । यो हिन्दूको मामलामा मात्रै होइन, अरु धर्मका मामलामा पनि त्यस्तै हो ।
०००
तपाईंले ‘पिके’ नामको हिन्दी चलचित्र हेर्नुभएको छ ? छैन भने हेर्नुहोस् । यो चलचित्रको प्रमोशन होइन, तर उक्त चलचित्र हेर्नुभएको भए यो आलेखको अर्थ झन् मज्जाले बुझ्नुहुनेछ भन्ने स्वार्थ हो । नहेर्नुहुनेले पनि यो चाहिँ पढ्नुस् । किनकि, एउटा धारणा निर्माण गर्न सहयोग पुग्नेछ ।
हो, म धर्मबारे खासै जान्दिनँ, बुझ्दिनँ । बुझ्न परेको पनि छैन । तर यति चाहिँ थाहा छ कि, धर्म मान्छेले बनाएको हो । देउताले मान्छे होइन, मान्छेले देउता बनाएको हो । यसमा कसैलाई शंका छ र ?
पक्कै पनि, मान्छेको उत्पति हुने बेला धर्म थिएन । त्यतिबेला पनि मान्छे जन्मन्थे, हुर्कन्थे, खान्थे, बाँच्थे, जिउँथे, मर्थे । मान्छे जातिको निर्माण प्रक्रियाबारे अहिले धेरै कुरा नगरौं । तर, विभिन्न जैविक प्रक्रियापछि मान्छे बनेको हो । क्रमशः चेतना निर्माण भयो । चेतनाकै जगमा विवेक र भावनाको निर्माण भयो । त्यसैलाई साधन बनाएर धर्मको निर्माण गरियो ।
मूलतः एउटा सीमित वर्गले ठूलो वर्ग या समुदायमाथि निरन्तर शासन गर्न बनाइएको हतियार हो, धर्म । सामाजिक नियमका नाममा कालान्तरसम्म एउटा अदृश्य वा रहस्यमयी शक्तिको आडमा विभेद गरिरहने, आफूलाई उच्च बनाइरहने, भक्तहरु निर्माण गर्ने र आफूले हालिमुहाली गरिरहने नियतका साथ धर्मको निर्माण भएको हो ।
सुरुदेखि नै धर्मले काम गर्न, खोज गर्न वा संघर्ष गर्न सिकाएन । सधैंभरी सबैकुरालाई रहस्यमयी मान्दै देउताको स्तुतिगान गाउँन प्रेरित गर्यो । ‘काम गर्नु भनेको दुःख पाउनु हो, सांसारिक मायामोहमा फस्नु हो’ भनेर मान्छेलाई नयाँ कुरा बुझ्ने मौका नै दिन चाहँदैन, धर्मले । मान्छेले खास कुरा बुझ्यो भने कसले, किन भक्तिगान गाउँने ?
- धर्मकथा मान्छेले लेखेको कुरामा कुनै शंका छैन । किनकि, देउताले आफ्नो इतिहास लेखेनन् होला । लेखेकै भए पनि देउताको भाषा मान्छेले कसरी बुझ्न सक्छ ? एउटा जातको भाषा त अर्को जात बुझ्दैन । तर, धर्मकथाले एउटा सन्देश चाहिँ दिएकै छ ।
अनेक आख्यानको निर्माण गरेर तत्कालीन टाठाबाठाहरुले धर्मग्रन्थ बनाए । जसका आधारमा अनेक नियम बनाए । ती आख्यान पनि सबैले पढ्ने मौका पाएनन् । ‘पुरोहित वर्ग’ले जे भन्यो, त्यहीं सत्य हुनेजसरी धर्मको व्यख्या गरियो । महाभारत, रामायण, देवीभागवत्, बाइबल, कुरान, गीता जस्ता अनेक कथा लेखियो । तीकथालाई लिपिबद्ध गरियो । टाठाबाठालाई पढ्न दिइयो । अनि कथालाई उनीहरुले आफूलाई फाइदा हुनेगरी व्याख्या गरे । नियम बनाए । नियम मान्न वाध्य बनाए । नमाने अधर्मी हुने, मरेपछि नर्कमा पुगिने जस्ता त्रास निर्माण गरिदिए ।
पछि पुरोहितहरुले भगवानको होइन, आफ्नै भक्तिगान गाउँन सिकाए । आफ्नो रोजिरोटीको माध्यम बनाए । सँस्कार या परम्पराका नाममा आफ्नो वर्गलाई सधैं नाफा हुने उद्योग बनाए । ठूलो समुदायको दिमागमा ‘धर्मको स्लोपोइजन’ घुसारेर उनीहरुले मोज गरिरहेका छन् । अझैं सयौं वर्षसम्म गर्नेछन् । यो कुरालाई पुष्टि गर्न थुप्रै उदाहरण पेस गर्न सकिन्छ । तर त्यसो गर्दा यो आलेख निकै लामो हुने खतरा भयो । विषयलाई आफैंले व्यवहारसँग तुलना गरेर हेर्न, बुझ्न अनुरोध गर्दछु ।
धर्मकथा मान्छेले लेखेको कुरामा कुनै शंका छैन । किनकि, देउताले आफ्नो इतिहास लेखेनन् होला । लेखेकै भए पनि देउताको भाषा मान्छेले कसरी बुझ्न सक्छ ? एउटा जातको भाषा त अर्को जात बुझ्दैन । तर, धर्मकथाले एउटा सन्देश चाहिँ दिएकै छ । त्यो पनि खासगरी शासनसत्ता आफ्नो बनाउन लडाईं लड्ने तरिका, अरुमाथि शासन गर्न बनाइने नियममाथि नै विभिन्न कथा कुथिएको छ । त्यो गीता होस्, कुरान, बाइबल या महाभारत !
देउताको राजीनामा !
यो सहरमा मानिसभन्दा देउता धेरै छन् । घरमा देउता, कोठामा देउता, चोकमा देउता, रुखमा देउता, बगरमा देउता । देउतै देउताको सहर । यहाँ एउटा देउताले एउटा मान्छेलाई मात्रै हेर्ने हो भने देउतालाई भाग नै पुग्दैन । तर पनि मान्छेहरू देउतासँग निरन्तर रोनाधोना गरिरहन्छन् । प्रसाद चढाइरहन्छन् । मागिरहन्छन् । तर पनि मान्छेलाई देउता पुगेको छैन ।
मान्छेले जति चाह्यो, त्यति देउता बनाउन सक्छ । मान्छे आफैं देउता बनाउँछ । उसैसित आश गर्छ । अनि आफ्नो आस्था भन्ठानेर आनन्द अनुभूत गर्ने दुष्प्रयास गर्छ ।
- धर्मकै आडमा विवाह, किरिया जस्ता कुप्रथा चलाएर संस्थागत गरिएको छ । नारीमाथि जहिल्यै विभेद गर्ने नीति बनाएर नियति जस्तो बनाइएको छ । पछि, धर्मलाई जातसँग जोडियो ।
अब भक्तहरुले देउताको राजीनामा माग्ने खतरा बढ्दो छ । किनकी, हिन्दू धर्मशास्त्रानुसार ३३ करोड देवदेउता छन् । तथ्यांकअनुसार विश्वमा एक खर्ब पाँच अर्ब मानिसले उक्त धर्म मान्छन् । यो हिसाबमा एउटा देउताको भागमा चार सय ५० हिन्दूधर्वलम्बी पर्छन् । यसअर्थमा देउताले आफ्ना भक्तको खासै सुरक्षा गर्न सकेको देखिएन ! भक्तले देउताको राजीनामा माग्ने स्थिति आउँदैछ ।
०००
हामी गरिब देशका नागरिक हौं । यहाँ पेटभरी खान नपाएर मर्नेहरु धेरै छन् । सामान्यभन्दा सामान्य उपचार नपाएर मर्नेहरु छन् । तर, यहाँ मन्दिर, गुम्बा र चर्चहरु बनाउन राज्यकोषबाट वर्सेनि अर्बौ रुपैयाँ खर्च हुन्छ । मान्छेलाई भगवानको भक्तिगान गायो भने मात्रै मुक्ति मिल्छ भनेर दिमाग भुटिएको छ । मानौं, पशुपतिनाथ भएरै हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेको हो भनेजसरी भ्रम फैलाइएको छ ।
धर्मकै आडमा विवाह, किरिया जस्ता कुप्रथा चलाएर संस्थागत गरिएको छ । नारीमाथि जहिल्यै विभेद गर्ने नीति बनाएर नियति जस्तो बनाइएको छ । पछि, धर्मलाई जातसँग जोडियो । अनि विभेद गर्न थालियो । बाहुनसत्तालाई टिकाइरहन धर्मसत्तालाई झन् शक्तिशाली बनानइयो । कति बिडम्बनापूर्ण छ यथार्थ । तै पनि हामी यसैलाई सत्य मानेर दुःख सहिरहन अभ्यस्त छौं ।
अन्नतः हामी यसरी विभक्त भयौं कि– हामी धर्मका भयौं । धर्मका लागि भयौं । जातका भयौं । तर, मान्छे भएनौं । हामीलाई पूर्ण मान्छे हुन रोक्ने कुनै पनि व्यवस्था किन स्वीकार्ने ?
अन्तिममा भगवानसँग यो सोध्न मन छ कि, ‘आफैंविरुद्ध यसरी आवाज उठाउने मलाई किन निर्माण गरेका होला ?
नोटः यो बहसका लागि सुरुवात मात्रै हो । धन्यवाद !
एन्टी करेन्टको अरु लेखहरु पढ्नुहोस्
को कति पागल ?
म, किन मरिनँ !
विवाह परम्परा– मुर्दावाद !
करोड पाएपछि लाग्यो, पैसा खारेज गर्नुपर्छ !