एकोहोरो टोलाइरहन्छन्, रुन्छन्, चिच्चाउछन् उनी । एक कोठको झ्यालमा बसेर यसरी टोलाएको दुई वर्ष बित्यो । उनले सम्झिएका आफन्त र परिवार न उनको कोठासम्म पुग्न सके, न त उनी त्यहाँबाट निस्किएर घर नै जान सकेका छन् ।
किनभने, उनलाई आफ्नो घरको यकिन ठेगाना थाहा छैन । भारतको दिल्लीस्थित सपना नामक गैरसरकारी संस्थामा आश्रय लिएर बसेका उनको दैनिक यसरी नै बितेको छ । दुई वर्षदेखि घर फर्किने प्रतिरक्षामा छन् उनी ।
०७५ सालमा दिल्लीको ओख्ला रोडमा प्रहरीले अचेत अवस्थामा भेटेको थियो । दुर्घटनाले उनको टाउको गम्भिर चोट लागेकाले केही समय कोममा गए । अस्पतालबाट निको भएपछि उनले पुरानो कुरा राम्रोसँग सम्झिन सकेका छैनन् । तर पनि आफू रामचन्द्र थापा भएको बताउँदै आएका छन् । उमेर ५० वर्ष । थापाले पहिलेको घटनाको बारेमा राम्रोसँग बताउन सकेका छैनन् ।
उनी बसेको गैरसरकारी संस्थाले उनलाई नेपालमा भएको परिवारको सम्पर्कमा ल्याउनका लागि प्रयास गरिरहेको छ । यसै क्रममा भारतबाट नेपाली पब्लिकमा सम्पर्क गरेका गैरसरकारी संस्था आफन्त नेपालका उद्धार अधिकृत नविन जोशीले घर ठेगाना यकिन गर्ने प्रयास गरिरहेको बताए ।
थापाले घरको ठेगाना राम्रोसँग बताउन नसक्दा सम्पर्क गर्न नसकिएको भारतीय गैरसरकारी संस्थाका परामर्शकर्ता राशिफ हक बताउँछन् । उक्त भारतीय गैरसरकारी संस्थाले अस्पतालमा बेवारिसे अवस्थामा रहेको बिरामीको उद्धार तथा पुनस्र्थापना गर्दै आएको छ ।
संस्थाले थापाको घर पत्ता लगाउन नसकेपछि दिल्लीस्थित नेपाली संस्था आफन्त नेपाललाई उनको ठेगाना खोजिदिन आग्रह गरेको थियो । दुर्घटनाका असरका कारण आफ्नो घरको पूरा ठेगाना बताउन नसकेपनि नवलपरासी धर्मपुर घर भएको जिकिर गरेको आफन्त नेपालका उद्धार अधिकृत जोशीले बताए ।
भन्छन्, ‘राम्रोसँग ठेगाना भन्न नसक्दा परिवारलाई सम्र्पकमा ल्याउन सकिएको छैन । संस्थाले दिल्लीस्थित नेपाली दुतावासलाई पनि अनुरोध गरेको छ । तर अहिलेसम्म कसैले पनि उनलाई परिवारसँग सम्पर्क गराउन सकेका छैनन् ।
घरमा श्रीमती, दुई छोरा र छोरी
कुराकानीको क्रममा रामचन्द्रले ३० वर्षदेखि दिल्लीका विभिन्न ठाँउमा काम गरेको बताउँछन् । तर कँहा, कहिले र कसरी भन्न सकेनन् । उनलाई अरु कुरा थाहा नभएपनि घरमा एक श्रीमती, दुई छोरा र छोरी छन् भन्ने थाहा छ ।
उनले परिवारका सदस्यको नाम भन्न नसकेपनि कापीमा लेखेर दिएका छन् । त्यो नाम कति सत्य हो भन्न सकिदैन । किनकि उनले हरेक पटक घर–ठेगाना फरक फरक भन्दै आएका छन् ।
उनले आफूसँग सम्पर्कमा आएका सबै संस्थालाई उनले घर फर्काइदिनका लागि अनुरोध गरेका छन् । घर कँहा हो ? राम्रोसँग थाहा छैन । तैपनि घरको मायाले एकोहोरो तानिरहेको छ उनलाई । भन्छन्, ‘घरको सम्झना आयो कि मुर्छा पर्छु ।’
वडा अध्यक्ष घर–घर पुग्दै
दिल्लीबाट आफन्त नेपालको सहयोगमा नेपाली पब्लिकको सम्पर्कमा आएका रामचन्द्र थापाको फोटो र भिडियोमा भनिए अनुसारको ठेगाना नवलपरासीको रामग्राम नगरपालिका वडा नं १८ धर्मपुर रहेको वडा अध्यक्ष गोपाल विसुवा मगर बताउँछन् ।
उनले उक्त वडाको प्रत्येक घर–घरमा गएर उनको परिवार खोज्ने काम गरेको बताएका छन् । तर उनको घर भने अहिलेसम्म पत्ता लगाउन नसकिएको वडाध्यक्ष मगरले जानकारी दिए ।