६ फिट अग्ला २१ वर्षीय धीरज शाह ३३ लटको पुरानो स्कुटर चढ्छन् । सात महिनादेखि सँधै ४ बजेतिर यही स्कुटर चढेर कोटेश्वर बालकुमारी हुँदै इमाडोलमा अवस्थित ड्राइभिङ्ग सेन्टर पुग्छन् ।
अनि हेलमेट लगाउँछन्, हातखुट्टामा ‘प्रोटेक्सन प्याड’ लगाउँछन् । आफ्नो हेड लाइट, ब्याक लाइट र लुकिङ मिरर नभएको मोटरसाइकल स्टार्ट गरी ग्राउण्डमा स्टन्टहरुको अभ्यास गर्न थाल्छन् । अरु दुइ जनालाई पनि आफूले सिकेको स्टन्टहरु सिकाउँछन् । त्यहाँ उनले मासिक १० हजार भाडा बुझाउँछन्, बाइक राख्न र ग्राउण्ड भाडा बापत ।
जनकपुरमा जन्मिएका धीरज एसएलसीपछि काठमाडौं पढ्न आएका थिए । एसएलसीमा ८४ प्रतिशत अंकसहित उत्तीर्ण उनले १२ पछि भने पढाई छाडे । अहिले उनको दिमागमा वाइक र स्टन्टबाहेक अरु केही छैन ।
४ कक्षा हुँदा नै बुबाको बाइक चलाउन सिकेका धीरजलाई बाइक स्टन्ट कहिले उनको जीवन बन्यो थाहा छैन । पढाई छोडेर यता लागेपछि आमाबुबाले सम्झाए, घरबाट खर्च पठाउन छोडे, तर उनले हार मानेन । उनकै गाँउको दाइ राजा परियारले छ महिनासम्म खाना र बस्न दिए । सोसल मिडियाबाट भेट भएका उनका स्टन्ट गुरु कलंकी निवासी प्रकाश अधिकारी पनि उनलाई विना पैसा बाइक स्टन्ट सिकाउन तयार भए ।
दिनमा ५/६ घन्टा स्टन्ट सिक्ने धीरजलाई उनकै गुरुले खाजा खुवाउनेदेखि विभिन्न शोहरुमा सहभागी हुने मौका दिए । अहिले उनी व्यवसायिक रुपमा बाइक शो, म्युजिक भिडियो आदिमा आफ्नो कला देखाइरहेका छन् ।
उनी भन्छन्, ‘बाइक स्टन्ट गर्नु नेपालमा न त कानुनी छ, न त गैरकानुनी । बाइक बनाउनु पर्दा बाटोमा लैजाँदा पनि पुलिसले समाउने र बाइक नै उठाएर लाने गर्छन् । तर बाइक स्टन्ट शो गर्न भने दिन्छन् ।
दायाँ हातमा बाइकको इन्जिन, स्टन्ट लाइफ र आफैले बाइक चलाइरहेको टाटु खोपेका धीरजलाई अहिले भन्ने परिवारको पूरा सहयोग छ । अहिले उनी बाइक स्टन्टको लागि चाहिने खर्च आफै जुटाउँछन् ।
बर्दिबासमा आफैले नै चलाएको मोटरसाइकल ठूलो दुर्घटना भएपनि त्यसको १ वर्षपछि बाइक स्टन्ट सुरु गरेका धीरजको लागि बाइक स्टन्ट रोमाञ्चक खेल हो र यसैबाट जिन्दगी चल्नेमा विश्वस्त छन् ।