काठमाडौं– बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नंं १० निवासी ५३ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, इको विभागमा कार्यरत ४१ वर्षीय पुरुष निमोनियाबाट ग्रसित थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत भदौ ३१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । कोरोनाको आशङ्कामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेशन वार्डमा भर्ना गरी रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दासमेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा आज बिहान ३ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए ।
शिक्षण अस्पताल कोहलपुरमै उपचाररत कोरोना सङ्क्रमित कोहलपुर– १० निवासी ५३ वर्षीय पुरुषको पनि उपचारकै क्रममा आज बिहान ४ः१५ बजे अस्पतालमै मृत्यु भएको हो । उहाँ पनि निमोनियाबाट ग्रसित रहेको र स्वास्थ्यमा समस्या देखिएपछि असोज ४ गते अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब परीक्षण गर्दा असोज ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए ।
उता, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।
उनलाई यही असोज १० गते बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको नोबल मेडिकल कलेजले प्रतिष्ठानमा रेफर गरेको प्रवक्ता सापकोटाले बताए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।