काठमाडौं– नेपाली गीत संगीतमा लोकप्रिय नाम हो– प्रकाश सपुत । प्रकाश सपुतको खास नाम प्रकाश विक । प्रकाशलाई जातकै कारण नाम लुकाएको आरोप धेरैपल्ट लगाइएकाे छ । तर, उनी नियतवश आफ्नो नाममा जात नलुकाएको बताउँछन् । उनी भन्छन्, 'जात लुकाउन सपूत लेखेकाे हाेइन ।' उनको नामका पछाडि केवल बैंसको कथा छ ।
बैँसालु उमेरको एक समय, त्यही समयको एक बिन्दुमा लेखिएको नाम हो ‘सपुत’ । प्रकाश उमेरले तन्नेरी हुँदै गर्दा गाउँमा गीत, गजल लेख्ने माहोल थियो । स्कुलमा भित्तेपत्रिका निस्कन्थे । सबैले ‘निकनेम’ राख्थे । त्यसताका उनका उमेरका प्राय: सबैका ‘निकनेम’ हुन्थे । प्रकाशले पनि त्यसताका आफूलाई थुप्रै उपनामले चिनाउने जमर्को गरे ।
नाम राख्ने सिलसिलामा प्रकाशले आफूलाई कहिले ‘वसन्त प्रकाश हरियाली’, कहिले ‘प्रकाश दुःखी’ त कहिले ‘प्रकाश विरही’ नाम दिए । विभिन्न समयमा फरक फरक नामबाट पत्र मित्रता गरे । उनले एउटा गजल प्रतियोगिताका लागि गजल लेख्ने क्रममा ‘सपुत’ शब्द पैयोग गरे । उनले सोचे– ‘मेरो नाम प्रकाश सपुत राख्यो भने कस्तो सुनिएला ?’ लेखिहेरे– आफैंलाई मन पर्यो । प्रकाश सपुत विक लेख्दा उनी आफैंलाई लामो जस्तो लाग्यो । त्यसपछि प्रकाश सपुत मात्रै लेखिदिए । कालान्तरमा उनको यही नाम लोकप्रिय भयो ।
जात लुकाउन नामका पछाडि सपुत लेख्यो भन्ने तर्क सुन्दा पुराना दिन सम्झन्छन् । बैंस सम्झन्छन् । आफूले राखेका थरीथरीका आफ्नै नाम सम्झन्छन् । अनि मुसुक्क मुस्कुराउँछन् । उनीसँग अहिले पनि पुराना पत्रिकाहरु सुरक्षित छन् । जहाँ उनका पुराना नाम भेटिन्छन् । अहिले हेर्दा उनी आफैंलाई हाँसो लाग्दो रहेछ ।
तथापि यो समाजमा प्रकाशले जातकै कारण भोगेका थुप्रै कथा छन् । उनलाई गरिबीका कारण खान नपाएको भातको सम्झनाले भन्दा पाएको भात पनि अरुभन्दा अलग्गै बसेर खानु पर्दाको घाउले आज पनि दुखाइरहन्छ । जात पछाडिको जातको कुप्रथाले प्रकाशलाई सानैबाट लखेटेको हो । औसतभन्दा गरिब परिवारमा जन्मिएका प्रकाश टिभी हेर्नका लागि गाउँलेको दैलो बाहिर घण्टौं उभिन्थे । ढोकाबाट ज्यान बाहिर, टाउको भित्र गरेर उभिएर टिभी हेर्दा कति पटक निदाए उनका खुट्टा । कति असजिलो भयो शरीरमा त्यसको कुनै गिन्ती नै छैन उनीसँग ।
काठमाडौं आएपछि पनि उनलाई जातले पटक–पटक दुखाइरह्यो । जतकै कारण तीन ठाउँ डेरा सरेको नमिठो अनुभूति छ प्रकाशसँग । उनलाई यो निकै संवेदनशील विषय लाग्छ । नेपालमा जातीय विभेदको कुरा यति धेरै आउनुकाे पछाडि जातलाई महत्त्व दिने सामाजिक संस्कार मुख्य ठान्छन् उनी । भन्छन्, ‘जात व्यवस्थालाई नै निरुत्साहित गर्नुपर्छ ।’