खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले हरसाल प्रदान गर्ने पद्मश्री सम्मान तथा पुरस्कार तथा सम्मान विवादित बन्यो । प्रतिष्ठानले यस वर्ष 'हंस' उपन्यासका लागि साहित्यकार सञ्जीव उप्रेती र मोदनाथ प्रश्रितलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा भएपछि विवाद सुरु भएको हो । उप्रेतीले ‘बलात्कार’को आरोप लागेका प्रश्रितसँगै उभिएर पुरस्कार ग्रहण नगर्ने बताए । त्यसपछि प्रश्रितले पनि उक्त सम्मान नलिने बताए । विवाद उत्कर्षमा पुगेपछि प्रतिष्ठानले यस वर्षको उक्त सम्मान तथा पुरस्कार नै रद्द गर्ने निर्णय गरेको छ । यसै परिवेशबीच नेपाली पब्लिकका लागि कृष्ण गिरीले प्रश्रितसँग गरेको कुराकानी :
तपाईंलाई प्रदान गर्ने भनेर घोेषणा गरिएको पद्मश्री पुरस्कार निकै विवादित बन्यो । यसबारे तपाईंको प्रतिक्रिया के छ ?
यसबारे मलाई केही पनि भन्नु छैन । सम्मान गर्ने भनिएको संस्थाले मलाई सोधेको पनि छैन । एकचोटि मलाई पुरस्कार दिने भयौं भनेर फोनचाहिँ आएको थियो । त्यसपछि केही कुरा भएको छैन । विभिन्न संस्थाले मलाई पुरस्कार दिइरहन्छन् । त्यो पुरस्कार पनि मैले मागेको होइन । मलाई त्यसको लोभ पनि छैन । कसले किन यसलाई विवादित बनायो, राम्रोसित थाहा छैन ।
तपाईंमाथि ‘बलात्कार’ काे आरोप लागेका कारण सञ्जीव उप्रेतीले पुरस्कार नलिने भनेपछि विवाद बढेको हो । यसबारे के भन्नुहुन्छ ?
त्यसमा कुनै सत्यता छैन । मैले केही गल्ती पनि गरेको छैन । कसैले ईर्ष्या जलेर मनलाग्दी भन्छन् भने मलाई भन्नु केही छैन । आफ्नो फाइदाका लागि अरुको बदनाम गराउने प्रवृत्तिको मान्छेले विवाद निकाले होलान् ।
शारदा भुसालले त पुस्तकमै तपाईंलाई यौन हिंसा गरेको उल्लेख गर्नुभएको छ नि ! खास कुरा के हो ?
अर्घाखाँचीको तत्कालीन नेकपा एमाले पार्टीको जिल्ला सभापति गुणनिधि भुसाल थिए । हामी उनको घरमा जाने–बस्ने गर्थ्याे । उनकी छोरी शारदा ‘आवारा’ भइन् । जताततै घुम्न थालिन् । उनलाई भिरंगी भएछ । त्यसपछि गुणनिधिले छोरीलाई काठमाडौं ल्याएर उपचार गर्न भने । काठमाडौं ल्याइयो । स्वयम्भूमा कोठा खोजिदिएँ । डाक्टरकहाँ लगेर उपचार गरियो । सन्चो भयो । केही समयपछि उनको ताल उस्तै भयो । विद्यालय भर्ना गराइदिएँ, तर उनको ध्यान पढाइमा गएन । जति प्रयास गर्दा पनि सुधार नआएपछि मैले उनलाई सहयोग गर्न छाडिदिएँ । त्यसपछि उनी अर्घाखाँची नै फर्किइछन् ।
त्यसपछि मेरो बारेमा अन्टसन्ट लेख्न थालिछन् । मैले त्यसको प्रतिउत्तर पनि लेखें । यो कुरा २०२८–३० तिरको हो । जतिबेला म भर्खर जेलबाट निस्केको थिएँ । त्यतिबेला पनि उनी ‘आवारा गिरी’ नै गर्ने रहिछन् । घरका मान्छेले गाली गर्न थालेपछि बुटवल आएर सौतामाथि बिहे गरिछन् । त्यहाँ पनि विवाद भएछ । सम्बन्ध टुटेछ । अनि फेरि मेरो बारेमा नानाथरी लेख्न थालिन् । त्यो समय म काठमाडौंमा विष्णु प्रभातसित बस्थें । हामीले सल्लाह गरेर मैले एउटा खण्डन लेखें । उनको कुराको प्रतिवाद गर्दै मैले पनि पुस्तक लेखें । त्यसपछि उनी हराइन् । उनका परिवारले ‘मरे पनि हुन्थ्यो’ भन्न थाले ।
त्यो समयमा उनले फेरि अर्को बिहे गरिछन् । त्यो श्रीमानलाई पनि बलात्कारको आरोप लगाइछन् । त्यसपछि झन् समूह नै बनाएर मविरुद्ध लेख्न थालिन् । मैले फेरि पनि यथार्थ जानकारीसहित खण्डन लेखें । अनि, फेरि हराइन् । खासमा त्यो ‘अर्धबौलाहा’ नै हो । ‘बौलाहा’का बारेमा यो भन्दा बढी के भन्नु ?
तपाईंले त जीवनभर नै त्यो कुराको प्रतिवाद गर्नुपर्ने भयो है !
म आयुर्वेदको डाक्टर हुँ । त्यो भिरङ्गी लागेको मानिसलाई काठमाडौं ल्याएर उपचार गराएको हुँ । मैले त्यसका बारेमा धेरै प्रतिवाद गरेको छु । पत्रकार सम्मेलन गरेरै जवाफ दिइसकें । अब मलाई अब केही भन्नु छैन ।
सञ्जीव उप्रेतीको ‘हंस’ पढ्नुभयो ?
पढेको छैन । र, मलाई सञ्जीव भनेको को हो, थाहा पनि छैन ।
याे पनि पढ्नुहाेस् :
‘यौन हिंसाको आरोप लागेकासँगै उभिएर कसरी पुरस्कार लिऊँ !’
पद्मश्री साधना सम्मान नलिने प्रश्रितको घोषणा
विवादपछि पद्मश्री पुरस्कार र सम्मान रद्द गर्ने निर्णय