काठमाडौं - देशको मूल नीति मानिने राजनीति विकृत हुँदा सबै नीति खराब हुन्छ भन्ने पनि गरिन्छ । नेपालका राजनीतिक पार्टीहरुमा पनि विचार र व्यवहारबीचको तालमेल नमिलेको आरोप बारम्बार लगाइन्छ ।
राजनीतिक दलले निवार्चनको बेला होस् वा आफ्नाे पार्टीको नीति बनाउँदा होस्, जनतासमक्ष पुग्ने स्पष्ट एजेन्डा नहुँदा नेपालका सबैजसो राजनीतिक पार्टीहरु पार्टी कम र निजी कम्पनी ज्यादा देखिने गरेका छन् । उनीहरुले आपनो राजनीतिक दस्तावेजमा लेखिएका समाज परिवर्तन गर्ने कुराहरु व्यवहारमा पूरा नभएका धेरै उदाहरण जनमानसमामा बढेको असन्तुष्टिबाट पनि स्पष्ट हुन्छ ।
- हिजो सत्तामा रहनेहरु नातावाद कृपावादबाट बाहिर आउन नसक्दा यसको विकल्पमा नयाँ राजनीति स्थापना गर्नुपर्छ भनेर आन्दोलन गर्ने कम्युनिस्ट नेताहरु हिजोको शासकभन्दा फरक देखिँदैन ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को राजनीति अभीष्ट पनि समाजवाद हुँदै साम्यवादमा पुग्ने खतरा रहेको लेखक तथा राजनीतिक विश्लेष राजेन्द्र महर्जन बताउँछ । उनी भन्छन्, 'नेकपाले राजनीतिक दस्तावेजमा समाजवादमा पुग्ने लक्ष्य राखेको छ तर वास्तवमा उसको व्यवहार कुनै निजी कम्पनीको जस्तो छ ।अधिकांश समाजवादी र साम्यवादी भन्नेहरुको चिन्तन सामन्तवादीभन्दा बाहिरको छैन । उनीहरु आफन्त,नातागोताभन्दा बाहिर जान सकेका छैनन् ।'
- कुनै समय न्याय र असमानताका लागि लडेका ओलीमा नै अहिले सबैभन्दा बढी जिल्लाबासी मोह रहेको उनको कामले प्रमाणित गर्छ ।
महर्जन भन्छन्, 'आफूलाई कम्युनिस्ट भन्नेहरुले पनि आफनो निकटमा आफू नजिककै मानिसलाई राख्ने गर्छन् । सचिवालयमा उनीहरु आफनै व्यक्तिलाई पिए, सल्लाहकारमा नियुक्त गर्छन् ।' समाजवाद उन्मुख व्यवस्थाको परिकल्पना गरेको नेकपाको व्यवहार भने समाजवादी भन्दा पनि पुँजीवादी भएको महर्जनको ठम्याइ छ । देशलाई परिवर्तनको दिशामा अगाडि बढाउन आन्दोलनमा अघि सरेका र भूमिगत जीवनदेखि जेल जीवनसम्मको अनुभव भोगेका नेताहरुको व्यवहार हेर्दा आफैं सत्तामा लिप्त भई घरपरिवार र नातावादमा जेलिएकाे देखिन्छ ।
नेताहरुमा परिवार मोह
एक समय त्याग र बलिदानीको परिभाषा दिँदै जनताहरुलाई यसको अर्थ सिकाउँदै हिँडेका नेताहरु अहिले आफैं नातावादकाे सिकार भएका छन् । हिजो सत्तामा रहनेहरु नातावाद कृपावादबाट बाहिर आउन नसक्दा यसको विकल्पमा नयाँ राजनीति स्थापना गर्नुपर्छ भनेर आन्दोलन गर्ने कम्युनिस्ट नेताहरु हिजोको शासकभन्दा फरक देखिँदैन ।
कुनै समयमा आन्दोलनकारीहरु आज सत्ताधारी हुँदा पनि हिजोको र आजको बीच केही भिन्नता नदेखिएकाे राजनीति विश्लेषक युग पाठक बताउँछन् । पछिल्लो समय सत्तारुढ दलका अध्यक्षद्वयमा नै सबैभन्दा बढी परिवारवाद र जिल्लाबासी मोहमा भएको आरोप लागेको छ । उनीहरुको क्रियाकलापले नै अझ यो कुरा पुष्टि गरेकाे छ ।
ओलीको झापा मोह
प्रधानमन्त्री तथा नेकपाका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पञ्चायती राज्यसत्ताविरुद्ध लड्दा १४ वर्ष जेल जीवन भाेगेकाे गर्विलाे अनुभव छ । अहिले उनीे देश हाँक्ने नेतृत्व तहमा छन् । कुनै समय न्याय र असमानताका लागि लडेका ओलीमा नै अहिले सबैभन्दा बढी जिल्लाबासी मोह रहेको उनको कामले प्रमाणित गर्छ ।
प्रधानमन्त्री भएपछि राजनीतिमा त्याग–बलिदानीलाई स्थापित गर्नुको साटो ओलीले गृह जिल्ला झापाको भएको र परिवारभित्रको व्यक्ति भएको आधारमा नियुक्ति दिने गरेका छन् । ओलीका स्वकीय सचिव हुन् राजेश ब्रजाचार्य । नातामा उनी ओलीकी जेठी सासूका छोरा हुन । उनी लामो समयदेखि नै ओलीको स्वकीय सचिवका रुपमा कार्यरत छन् ।
त्यस्तै जिल्लाबासीलाई काखी च्याप्ने सवालमा पनि उनी अगाडि छन् । यसको यथेष्ट प्रमाण उनको सचिवालमा झापाका नेता कार्यकर्ता मात्र बढी हुनुले पनि गर्छ । आफ्नै निर्वाचन क्षेत्रका युवराज खतिवडालाई अर्थमन्त्री बनाउनु र उनको सांसद पदको समयसीमा सकिँदा पनि ६ महिना अर्थमन्त्री बनाउनु र अन्त्यमा केही जोड नचलेपछि अर्थमन्त्रीबाट बिदा भएका उनलाई आफ्नो आर्थिक सल्लाहकार नियुक्त गर्नुले पनि ओलीमा कति जिल्ला मोहले काम गरेको रहेछ भन्ने थाहा हुन्छ ।
आफनो निर्वाचन क्षेत्रका अग्नि खरेललाई महान्यायधिवक्ता नियुक्त गर्नु, हिक्मत कार्कीलाई प्रदेश १ को आन्तरिक मामिलामन्त्री बनाउनु तथा झापा माइत भएकी शिवमाया तुम्वाहाम्फेलाई उपसभामुखबाट सभामुख बनाउन नसके पनि कानुनमन्त्री बनाउने काम पनि ओलीबाटै भएका हुन् । त्यस्तै स्वकीय सचिव इन्द्र भण्डारी झापाका नै हुन् ।
प्रचण्डको परिवार मोह
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि परिवार मोहमा लिप्त भएका नेतामा गनिन्छन् । जनता र कार्यकताबाटै यस्तो आरोप आएपछि उनले यसको स्पष्टीकरण पटक पटक विभिन्न मिडियामार्फत दिँदै आएका छन् ।
सचिवालयमा होस् वा नेताहरुमा नियुक्ति गराउनमा पनि परिवारभित्रकै मान्छेलाई अगाडि सार्छन् । उनले छोरी गंगा दाहाललाई पुत्र प्रकाश दाहालको मृत्यु भएपछि प्रमुख स्वकीय सचिवका रुपमा राखेका छन् । माइली छोरी रेणु दाहाललाई त कांग्रेससँग चुनावमा एकता गरेर चितवन महानगरपालिकाको मेयर नै बनाए । उनका श्रीमान् अर्जुन पाठकलाई मेयर दाहालका विशेष सल्लाहाकारका रुपमा नियुक्त गरिएको छ । बुहारी बिना मगर अहिले खानेपानी मन्त्री छिन् । प्रचण्डका भाइ नारायण दाहाल पार्टीको केन्द्रीय सदस्य छन् भने पार्टीको बाग्मती प्रदेश कमिटीको अध्यक्ष पनि उनी नै हुन् ।
प्रचण्डका ज्वाइँहरुमा पनि उनको आशीर्वाद कायमै छ । उनका ज्वाइँ सागर केसी तत्कालीन सभामुख कृष्णबहादुर महराका स्वकीय सचिव थिए । अर्का ज्वाइँ जीवन आचार्य पनि मोरङ क्षेत्र नं ६ को 'क' बाट प्रदेशको निर्वाचनमा टिकट पाएका थिए । यद्दपि उनी पराजित भए । पराजित भएपछि केही समय उपराष्ट्रपतिको सचिवालयमा नियुक्त भएका थिए ।
प्रचण्डसँगै नाता जोडिएका गोरखाका चुडा खडका छोरी रेणु दाहालका नन्दका श्रीमान् हुन् । जनयुद्धमा घाइते भएका उनी हाल प्रतिनिधिसभाको समानुपातिक सांसद छन् । सांसद हुनुअघि उनी प्रचण्डको स्वकीय सचिव थिए । केही समय प्रचण्डको स्वकीय सचिवमा भतिज समीर दाहालले पनि काम गरेका थिए ।
श्रीमान् श्रीमतीदेखि भाइबहिनीसम्म
जलस्रोत तथा ऊर्जामन्त्री वर्षमान पुन पनि नातावादबाट अलग हुन सकेका छैनन् । उनी आफूसँगै श्रीमती र अरु नातेदारलाई राजनीतिक लाभ दिलाउन खप्पिस मानिन्छन् ।
उनकी श्रीमती ओनसरी घर्ती मगर पूर्वसभामुख थिइन् भने अहिले प्रदेश ५ को नेकपाको पार्टी अध्यक्ष छिन् । यीबाहेक पुनले आफ्नी बहिनीलाई ललितपुरबाट प्रदेश सांसद र भाइ सन्तोष पुनलाई स्वकीय सचिवमा राखेका छन् ।
श्रीमान् श्रीमती प्रदेशदेखि संघीय सांसदसम्म
सत्तारुढ दल नेकपा उपाध्यक्ष वामदेव गौतम धेरै ठूलो मेहनतपछि अहिले राष्ट्रिय सभाका सांसद पदमा मनोनीत भएका छन् । गएको निर्वाचनमा उनी बर्दियाबाट पराजित भएका छन् । त्यस्तै उनकी श्रीमती तुलसा थापा पनि संघीय सांसद छिन् । उनी जनजाति कोटाबाट समानुपातिक सांसद बनेकी थिइन् ।
गौतम दम्पतीबाहेक पूर्वभौतिक तथा यातायातमन्त्री रघुवीर महासेठ र उनकी श्रीमती जुली महतो पनि प्रतिनिधिसभाका सांसद हुन्र । महासेठ प्रत्यक्षबाट र महतो समानुपातिकबाट सांसद भएका हुन् ।
- नेताहरु स्वयं सामाजिक जीवन बाँच्न नचाहेका कारण उनीहरुलाई समाजको असमानताले भन्दा पनि परिवारवादले धेरै टाउको दुखाउने गरेको छ । त्यसकारण उनीहरु नातावादमा कुलतसरि फस्दै गइरहेका छन् ।
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल दम्पती पनि प्रदेश र प्रतिनिधिसभामा छन् । शंकर दाङबाट प्रदेशसभाको निर्वाचनमा निर्वाचित भएका हुन् भने श्रीमती सुजिता शाक्य समानुपातिकबाट प्रतिनिधिसभाको सांसद बनेकी हुन् ।
त्यस्तै सांसद कृष्ण गोपाल श्रेष्ठ र उनकी श्रीमती बिना श्रेष्ठ पनि प्रतिनिधिसभा सांसद छन् । कृष्ण गोपालले काठमााडौं क्षेत्र नं ९ बाट जितेका थिए भने उनकी श्रीमती समानुपातिक कोटामा परेकी हुन् ।
नेकपाका सांसद देव गुरुङकाे जोडी पनि नातावादबाट मुक्त छैनन् । देवले आफ्नी श्रीमतीलाई जनजातिको कोटाबाट समानुपातिकबाट प्रतिनिधिसभाको सांसद बनाएका छन् ।
टिकट पाएर पनि काठामाडौं क्षेत्र नं १० बाट पराजित भएका हितमान शाक्यले आफ्नी श्रीमती अमृता थापा मगरलाई समानुपातिकबाट प्रतिनिधिसभाको सांसद बनाएका छन् । थापा महिला संगठनको अध्यक्ष पनि हुन् ।
वनमन्त्री शक्ति बस्नेत जाजरकोटबाट निर्वाचित भएका हुन् । उनकी श्रीमती तथा पूर्वशान्तिमन्त्री सत्या पहाडी पनि समानुपातिक सांसद छिन् ।
पूर्वसंघीय मामिला मन्त्री रेखा शर्मा प्रतिनिधिसभाको सांसद छिन् । उनका श्रीमान् कृष्णध्वज खड्का प्युठानबाट प्रदेश सांसद भएका छन् ।
पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रतिनिधिसभाका सांसद छन् । उनका भाइ राष्ट्रिय सभाका सांसद छन् ।
नेताहरुमा नतावादको मोह नहट्नुको कारण नै नातावाद संस्कृतिका रुपमा विकास हुनु हाे । नेताहरु स्वयं सामाजिक जीवन बाँच्न नचाहेका कारण उनीहरुलाई समाजको असमानताले भन्दा पनि परिवारवादले धेरै टाउको दुखाउने गरेको छ । त्यसकारण उनीहरु नातावादमा कुलतसरि फस्दै गइरहेका छन् ।