घाँसेमाटे देशको नाम दशकौंदेखि घाँसैघाँसको देश भनेर चौतर्फी फैलिएको थियो । अझैपनि घाँसेमाटेको राष्ट्रिय विकासे नारा ‘हरियो घाँस, घाँसेमाटेको सास’ प्रचलित छ ।
यो नारा यहाँका जन–जनमा अनि जन–जनको मन–मनमा बस्ने नै भयो । यही नाराले घाँसेमाटेले ‘विश्व पहिचान’ निर्माण गरेकोमा यहाँका राज्य सञ्चालक टाउके, घनटाउकेदेखि कमिला–फट्याङ्ग्रादेखि सम्पूर्ण बासिन्दा हर्षविभोर छन् ।
हुन पनि घाँसेमाटेको ६० प्रतिशत भूभाग घाँसैघाँसले भरिएको छ, भनौं सजिएको छ । यहाँ अनेक खालका घाँसपातहरू पाइन्छन् । त्यसमा पनि सयौं घाँसपातहरू घाँसेसंसारमा अन्यत्र कतै पनि पाइँदैन, मात्र घाँसेमाटेमा पाइन्छ ।
त्यसैकारण पनि यहाँ हरेक हिउँदमा विभिन्न देशबाट जल्दाबल्दा जीवजन्तुहरू ‘घाँसे पर्यटन कार्यक्रम’ अन्तर्गत भिसाछाप हानेर भिजिट गर्न आउँछन् । उनीहरूको देशमा खडेरी लागेको बेला, हिउँदमा चउर खङ्ग्रङ्ग भएको बेला घाँसेमाटेका मिष्ठान्न घाँसहरूको स्वाद चाख्छन् । पात र लहराको गन्ती गर्दै ट्याक्स भर्छन् ।
- एउटै रेडियोको अलग अलग ब्याण्डहरूमा कतै चर्काचर्की, कतै चाइँचुईं पनि नबज्दा कमिला–फट्याङ्ग्राहरू ‘घाँसेमाटेको आधारः निष्पक्ष समाचार’ भन्ने रेडियोहरू देख्दा सँधैजसो ट्वाँ पर्छन् ।
यही कारण पछिल्लो समय यहाँका अजबका गजब घाँसहरू चोरीनिकासीले पनि चर्चा पाउने गर्छ । चोरीनिकासीमा घनटाउके किराहरूको नाम पनि जोडिइराख्छ । अनि कमिला र फट्याङ्ग्राको रेडियोको कुनै ब्याण्डमा चर्को समाचार ढ्यान्ट्यारानऽऽऽ गर्छ । कुनै ब्याण्डमा भने घाँसेमाटेको अजबको गजब घाँसबारे सुइँको पनि बज्दैन ।
एउटै रेडियोको अलग अलग ब्याण्डहरूमा कतै चर्काचर्की, कतै चाइँचुईं पनि नबज्दा कमिला–फट्याङ्ग्राहरू ‘घाँसेमाटेको आधारः निष्पक्ष समाचार’ भन्ने रेडियोहरू देख्दा सँधैजसो ट्वाँ पर्छन् ।
०००
घाँसेमाटेको मूल आधार घना घाँसे जंगल भएपनि यहाँ घाँस नै समस्या बन्दै आएको छ । अधिकांश भूभागहरू घाँसे जंगलले भरिएका कारण यस देशमा जुनसुकै अँध्यारा खोल्चाखोल्ची गल्छेडाहरूमा भूतको निवास रहेको यहाँका बासिन्दाहरूको पुरातन विश्वास छ ।
त्यसैले यहाँका बाटोघाटोमा घाम अस्ताएपछि कोही पनि हिँड्दैनन् । केटाकेटीहरूमा एक खालको त्रास छ, उनीहरू एक्लै–दुक्लै घरनजिकको घाँसे पखेरा, खोल्चाखोल्चीमा पुग्दैनन् ।
बाध्यताले जानैपरे त्यस्ता गोरेटो, दोबाटोमा सासै रोखेर कुलेलाम ठोक्छन् । दायाँबायाँ त परै जाओस् सिधा बाटोमा पनि हेर्ने आँट गर्दैनन् । त्यस्ता गोरेटो, दोबाटो, खोल्चाखोल्ची पार गरेपछि आफू जिउँदै छ कि छैन भनेर छातीमा हात राखेर मुटुको ढुकढुक चेक गर्छन् । मुटु ढुकढुकाएको ग्यारेन्टी भएपछि एक हात माथि उफ्रन्छन् ।
तर घाँसेमाटे देशमा यी भूतसूतबारे बेग्लै बोली बोल्ने कोही थियो त, कमिला र फट्याङ्ग्रा नै हुन् । उनीहरू भन्थे, ‘भूत भनेको मनको डर मात्र हो’, अलिअलि नेतागिरी गर्दै उनीहरूले एकदिन घोषणा गरे, ‘भूत भगाऊ अभियान’ ।
- साँच्चै भेलामा घाँसेमाटेका स–साना केटाकेटीहरू कोही सिँगान पुछ्दै, कोही टाउकोमा रुमाल बाँध्दै, कोही लाठी, मुङ्ग्रो बोकेर जम्मा भएका थिए ।
अभियान लिएर उनीहरू मध्यरातमा भूतको खुङ्खार अड्डा मानिने दोबाटो, चौबाटो, खोल्चीहरूमा राँको बालेर पुगे । अहँ त्यहाँ कुनै भुत भेटेनन् नै, भूतको गन्ध पनि पाएनन् ।
कमिला र फट्याङ्ग्राको यो पहलमानी सबैतिर फैलिएको थियो । त्यसपछि केटाकेटीहरूमा भूतप्रतिको डर निकै कम भएको थियो । तर सबै जनमनमा बालकैदेखि बसेको भूतको चित्र हटेको थिएन । त्यहीभएर उनीहरू अझैपनि साँझ परेपछि हिँडडुल गर्दैनथे ।
०००
कमिला र फट्याङ्ग्रा अझै थाकेका थिएनन् । उनीहरूको भूत भगाऊ अभियानमा साना केटाकेटीहरूको पूरा साथ थियो । त्यसैले आज उनीहरूले अभियानको मुख्य काम गर्दै थिए । सबै केटाकेटीको भेला राखेका थिए ।
साँच्चै भेलामा घाँसेमाटेका स–साना केटाकेटीहरू कोही सिँगान पुछ्दै, कोही टाउकोमा रुमाल बाँध्दै, कोही लाठी, मुङ्ग्रो बोकेर जम्मा भएका थिए । कसै–कसैको आमाबाबु पनि आफ्ना छोरीछोरीको अभियानमा सघाउन आएका थिए । भेलाको नाइकेमध्ये कमिलाले सम्बोधन सुरु गरे ।
कमिलाः मेरा प्यारा भाइबहिनीहरू अलि नजिक आऊ, अब सुरु हुन्छ आजको हाम्रो भूत भगाऊ अभियान ।
त्यही बेला फट्याङ्ग्रा त्रिपल जम्प मारेर मञ्चमा पुगे । सबैलाई नमस्कार गरे ।
फट्याङ्ग्राः अँ मित्र कमिलाकुमारले भनेजस्तै अब सुरु हुन्छ, आजको अभियान, ढ्यान्ट्यारानऽऽऽ, ताली, तालीऽऽऽ ।
फट्याङ्ग्राले ‘ताली, ताली’ भनेर चिच्याएपनि भेला भएका केटाकेटीहरूको हात चलेन । आखिरमा छेउबाट कमिलाले ताली बजाउन थालेपछि भेला परररऽऽऽ तालीमय बन्यो ।
फट्याङ्ग्राः (अप्ठ्यारो मान्दै) अब जे भन्नुहुन्छ मित्र कमिलाकुमारले भन्नुहुन्छ । यो माइक उहाँलाई हस्तान्तरण गरेँ ।
फट्याङ्ग्राको कुरा सकिनेबित्तिकै स्वतःस्फूर्त ताली बज्यो, पररररऽऽऽ । कमिलाले अभियानको क्रियाकलाप बेलीबिस्तार लगाउन थाले ।
कमिलाः अँ त, मित्र फट्याङ्ग्राबहादुरलाई धन्यवाद । वास्तवमा भूत भन्ने नै हुँदैन भनेर हाम्रा भाइबहिनीहरूले अस्ति नै थाहा पाइसक्नुभो । त्यही पनि हामीभित्र अझै सानैदेखि बसेको भूतको चित्र हुनसक्छ । आज हामी सबैले आफ्नो मगजमा जबर्जस्ती बसेको भूतको चित्र बनाउँछौं ।
बोलिराख्ने बानी, फट्याङ्ग्रालाई सकसक लागिहाल्यो ।
फट्याङ्ग्राः (हल्का खोक्दै) र, अनि ती चित्रहरूलाई घाँसेमाटेका बासिन्दाहरू असाध्यै डराउने भुताहा चौबाटोमा लगेर आजै राति आगो लगाउँछौं र खरानी बनाउँछौं ।
फट्याङ्ग्राको कुरामा अहिले भने धेरैबेरसम्म गजबकै ताली बज्यो । तालीले भेला उत्सवमय बन्दै गयो । फट्याङ्ग्राले यही खुशीमा त्रिपलको डबल छप्पल जम्प मारेर केटाकेटीहरूको माझ पुगे र चित्र बनाउनलाई सेता सादा कागज बाँड्न थाले ।
कमिला पनि बिस्तारै मञ्चबाट झरेर पेन्सिल र विभिन्न रङ्गका साइनपेनहरू बाँड्न थाले । केटाकेटीहरू उत्साहित हुँदै उनीहरूको दिमागमा रहेको भूतको चित्र बनाउन थाले ।
‘मेरो दिमागमा त दुईवटा भूतको चित्र छ, मलाई दुईवटा कागज दिनुन फट्याङ्ग्रा दाइ !’
‘मेरो त भूतको कालो चित्र छ, कालो साइनपेन दिनु न, कमिला काका !’
‘हैन हैन, मेरो दिमागमा त हाम्रो घाँसेजंगलमा हरियै भएर भूत लुक्छ सँधै, मलाई त हरियो रङ्गको साइनपेन दिनु !’
केटाकेटीहरूले उत्साहित भएर भूतको चित्र बनाएर कमिला र फट्याङ्ग्रालाई बुझाए । केही आमा–बा पनि कमिला नजिक आएर लजाउँदै चित्र दिँदै भलाकुसारी गरे ।
‘कमिला–फट्याङ्ग्रा भाइ, यी नानीहरूको दिमागमा भूतको चित्र हामीले भर्दिएका हौं नि । मलाई नि मेरा आमाबाले भर्दिएका हुन् । त्यो भूतको चित्र दुरुस्तै बनाको छु, यो पनि जलाइदिनु है ।’
कमिलाले ती अभिभावकको पनि चित्र लिँदै मञ्चमा उक्लिए ।
कमिलाः सबैलाई धन्यवाद । सबैले आज आफूभित्र रहेको भूतलाई कागजमा ल्याउनुभएको छ । हामी आजै राति भूतलाई भुताहा चौबाटोमा जलाउनेछौं । सबैजना रात परेपछि यहीँ भेला हुनुहोला ।
फट्याङ्ग्राः (केटाकेटीकै माझबाट) अँ, वास्तवमा भूत भनेको अन्धकार हो, अँध्यारो हो, घर, टोल, बाटोघाटो, चोकबाट अन्धकार हटाए भूत त्यसै भाग्छ । भूत मनको अन्धकार हो । कि कसो ?
सबैले मन्टो हल्लाउँदै ताली पिट्दै घर फर्के । केटाकेटीहरू ‘अब साँझ पर्ने बित्तिकै आउनुपर्छ है’ भन्दै कोही उफ्रिँदै, कोही जम्प मार्दै रमाउँदै गए ।
०००
भूतको चित्र जलाएर भूतलाई मनैबाट हटाउने भनेको सो भेलाको दिन झन् उल्कै भयो । घाम अस्ताएर साँझ पर्नेबित्तिकै भुताहा चौबाटोबाट गाउँसम्म आइपुग्ने गरि ज्योति आयो । घाँसेमाटेको बस्तीमा हाहाकार मच्चियो ।
- ए आम्मा हो, त्यहाँ त उनीहरूभन्दा बडेमान जीव उभिएको थियो । त्यो जीवबाट झनै उज्यालो ज्योति आइरहेको थियो ।
‘लौ भनेकै थिएँ नि, भुताहा चौबाटोको भूतलाई नजिस्काओ, अब अन्धकारमा पनि घामै लागेजस्तो ज्योति पक्कै भूतले निकालेको हो ।’ अघि चित्र बनाएर गएको छेपारोले प्याच्च बोले ।
छेपारोलाई साथ दिँदै केहीले भने, ‘अब झन् अनिष्ट हुने भयो । यो सबैको जिम्मा कमिला र फट्याङ्ग्राले लिनुपर्छ ।’
यस्तो कुरा सुनेर केटाकेटीहरू शान्त भए, उनीहरूले फट्याङ्ग्रा र कमिलातिर पुलुक्क हेरे । कमिला ढिस्कोमा चढेर सबैलाई शान्त हुन आग्रह गरे ।
कमिलाः यो हामीलाई पनि अचम्मै लागेको छ । भुताहा चौबाटोबाट यति ठूलो ज्योति के कसरी आयो ? हामी झन् आज रातमै भुताहा चौबाटो नगइ नहुने भयो । भूत छ कि छैन भनेर पत्ता लगाउने यो सुवर्ण अवसर हो ।
केटाकेटीहरू झन् अलमल परेको देखेर फट्याङ्ग्रा उफ्रेर ढिस्कोमा पुगे ।
फट्याङ्ग्राः हो हामीले यो पत्ता लाउनैपर्छ, जानै पर्छ र सबै भूतको चित्र जलाउनैपर्छ ।
केटाकेटीहरूले परर ताली पिटे र सबै भुताहा चौबाटो जान तयार भए । केही आमा–बाले केटोकटीलाई साथ दिने भए । केही भने ‘रिस्क’ नलिने भन्दै पन्छिए ।
कमिला र फट्याङ्ग्राले केटाकेटीले बनाएका सबै चित्र बोकेर अघि लागे । केटाकेटीहरू उनीहरूको पछि लागे । उनीहरू जति अघि बढ्दै गए, उतिनै ज्योति बढ्दै थियो । फट्याङ्ग्रालाई अलि चिसो पस्यो ।
फट्याङ्ग्राः (कमिलालाई खुसुक्क) मित्र, हामीले मुख्र्याईं त गरिरा’को छैन ? साँच्चिकै भूत रैछ भने त सक्किगो नि !
कमिलाः (झपारेर) नचाहिने कुरा, यति धेरै बालखाहरू हामीलाई विश्वास गरेर आएका छन् । के हो पत्ता लगाउन पनि त्यहाँ पुग्नैपर्छ ।
कमिलाको कुराले फट्याङ्ग्रालाई अलि सास आयो । घाँसे जंगल पन्छाउँदै चौबाटोनिर पुग्नै लाग्दा ज्योतिले आँखा तिरमिरायो । सबैको हल्लाखल्ला बढ्यो । कोलाहल भयो । कोही डरले पछाडि फर्केर कुलेलाम ठोके । कोही घाँसेझाडीतिर हाम्फाले । कमिलाले ठूलो स्वरमा पछाडि फर्केर करायो, ‘भूतको चित्र जलाउँछौं, आजै भूत भगाउँछौं ।’
कमिलाको आवाज सुनेर फट्याङ्ग्राको ज्यानमा उत्साहको जिरिङ्ग काँडा उम्रियो । केटाकेटीहरू हौसिए, एक साथ कराए, ‘भूतको चित्र जलाउँछौं, आजै भूत भगाउँछौं ।’
०००
सबैले आँखामाथि हत्केला राखेर भुताहा चौबाटोबाट आएको ज्योतिलाई ओझेल पार्दै चोकतिर हेरे ।
ए आम्मा हो, त्यहाँ त उनीहरूभन्दा बडेमान जीव उभिएको थियो । त्यो जीवबाट झनै उज्यालो ज्योति आइरहेको थियो । उनलाई देख्नेबित्तिकै ‘लौ भूतै रहेछ’ भन्दै बाँकीमध्ये केही केटाकेटी र आमा–बा कुलेलाम ठोके ।
कमिला र फट्याङ्ग्रा अलमलमा परे । के गर्ने, गर्ने भए । त्यहीबेला त्यो अग्लो जीव बोले, ‘नडराउनुस्, म घाँसेमाटेको उज्यालो अड्डाको बिजुलीमान हुँ, यो चौबाटो साह्रै अँध्यारो भएकोले तपाईंहरूलाई सास्ती भएको थाहा पायौं । त्यसैले यहाँ रातमा पनि अँध्यारो नहुनेगरी हेभी पावरको बत्ती जडान गरेका छौं ।’
बिजुलीमानको कुरा सुनेर कमिला, फट्याङ्ग्रा र भूत भगाउने टोलीका केटाकेटी सबैले ताली बजाए । खुसीले ‘हेभी मेटल म्यूजिक’ जस्तो स्वरूप लियो ।
कमिला र फट्याङ्ग्राले मनका भूतको चित्रहरू चौबाटोमा चाङ लगाए । कमिलाले बिजुलीमानलाई सलाईको बट्टा थमाए । बिजुलीमानले सलाई कोरे, छुस्स । सलाईकाँटी फुरफुर बले । बिजुलीमानले चित्रको चाङमा फुत्त फाले ।चित्रहरू सल्किँदै हुरहुर्ती बल्न थाले ।
भूतका चित्रहरू जल्दै जाँदा भुताहा चौबाटोमा झनै ज्योति थपियो, ज्योतिको उज्यालोले बस्तीलाई ढपक्क ढाक्यो । त्योभन्दा बढी केटाकेटीहरूको मुहारमा धपक्क उज्यालो बलेको थियो । ०००
नोटः घाँसेमाटेमा बिजुलीमानको यो कथा अलि अघिको हो । अहिले बिजुलीमान उज्यालो अड्डामा छैनन् तर केटाकेटीहरू अझै पनि बिजुलीमानको कथा सुनाउँछन् र खुशी हुन्छन् ।
अन्त्यमा ‘कमिला–फट्याङ्ग्रा टकेटिभ’ एक हास्यव्यंग्य आलेख हो । यी दुईको कुराकानी कोही-कसैलाई हजम नभएमा कमिला र फट्याङ्ग्राबाहेक अरू कोही जिम्मेवार हुने छैनन् ।
कमिला–फट्याङ्ग्रा टकेटिभको अरु श्रृंखला पनि पढ्नुहोस्
कमिला र फट्याङ्ग्राको भोकको राशिछल* !- टकेटिभ ३
कमिला र फट्याङ्ग्राले पाए ‘थ्री इन वान’ राहत प्याकेट- टकेटिभ २
विनोद चौधरीलाई कोरोना लागेपछि कमिला र फट्याङ्ग्राको गलफती- टकेटिभ १