प्रदेश नं.२ पर्सा जिल्लास्थित ग्राणिम भेगमा पर्ने पोखरीया नगरपालिका भौतिक पूर्वाधारदेखि सर्वाङ्गीण विकासमा समेत पछि परेको क्षेत्र थियो । नगरक्षेत्र पछि पर्नुको कारण, नगर विकासमा हाल भइरहेको पहल, काम गर्दाका अप्ठ्यारालगायत सवालमा नगरप्रमुख दिपनारायणप्रसाद रौनियारसँग नेपाली पब्लिककी शकुन्तला जोशीले गरेको कुराकानी-
पोखरीया नगरपालिकामा कोरोनाको प्रभाव कस्तो छ ?
केही समय अघिसम्म त समुदायमै गएर पिसिआर परीक्षण गराएका थियौं । तर अहिले लक्षण देखिएका मानिसलाई मात्रै परीक्षणमा ल्याइन्छ । यहाँको जनताले पनि कोभिडलाई एकदमै साधारण रुपमा लिइसके । कसैमा संक्रमण देखियो भने उसलाई र उसको परिवार वा सम्पर्कमा रहेका व्यक्तिहरुलाई मात्रै परीक्षणका लागि ल्याउने गरिएको छ ।
उनीहरुको उपचारमा भने नगरपालिकाले सहयोग गरिरहेको छ । नगरपालिकाले कोरोना संक्रमणबाट बच्न जनचेतना अभिवृद्धिमा पनि काम गरेको छ । यद्यपि पोजेटिभ रिपोर्ट आए पनि लक्षण नदेखिएकाहरु होम आइसोलेसनमा राख्न पनि निकै कसरत गर्नु पर्छ । यसअघि हाम्रो नगरपालिकाभित्र करिब ३ सय जनामा पोजेटिभ देखियो । तर उहाँहरु प्रायः निको भएर घर फर्किसक्नु भएको छ ।
विकास निर्माणका काममा कोभिडको प्रभाव कस्तो रह्यो ?
कोभिडले प्रभाव त जरुर प¥यो । यसकै कारण नगरपालिकाले लिएको लक्ष्य पूरा गर्न सकेका छैनौं । यसका दुई कारण छन् । एउटा, यस कालमा जनशक्तिको अभाव थियो । दोस्रो, कर्मचारी पनि भनेजति आउन सकेनन् ।
आर्थिक वर्ष २०७६÷७७ मा नगरपालिकाले १५ करोड रुपैयाँ बराबरको विकास निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर, कोभिडका कारण पूँजीगत खर्चअन्तर्गत करिब ५ करोड रुपैयाँ बराबरको मात्रै काम गर्न सकियो । चालु आर्थिक वर्षमा गत वर्षकै अधुरो कामलाई अगाडि बढाउने तरखरमा छौं ।
नगरपालिकाभित्र विकास निर्माणको गति कस्तो छ ?
हाम्रो नगरपालिका ग्रामिण भेगमा पर्छ । नगरपालिकाभित्र पाँच मिटर फराकिला बाटो पनि थिएन । ढलनिकासलगायत केही पनि सुविधा थिएन । त्यो अवस्थामा हामीले शून्यबाट सुरु गरेका हौं । ३० फिटको मूल सडक, मध्य सडक २० फिटको र साना बाटोलाई १३ फिटको बनाउने लक्ष्यअनुसार सडक निर्माण हुँदै छ । तर, बाटो फराकिलो बनाउँदा कहीँ कतै जनताका घर, टहरा, पसल वा बाटो जाने हुँदा जनतालाई मनाउन निकै समस्या झेल्नु परेको थियो ।
अर्को कुरा, हामीले प्रदेश सरकारबाट बजेट बाहेक अनुदानलगायत आन्तरिक सहयोग केही छैनौं । नगरको विकासका लागि लिइएको लक्ष्यमा पुग्न यही कारणले सकेका छैनौं । सघन शहरी कार्यक्रम अन्तर्गत आयोजनाहरुको पनि सर्भे डिजाइन र डिपिआर भइसक्यो । तर संघीय सरकारले वहुवर्षे स्वीकृति नदिएको कारण आयोजना अघि बढ्न सकेका छैनन् ।
स्वीकृति किन नपाएको होला ?
यसै भन्न त सक्दिनँ । तर कुनै पार्टीको नभई स्वतन्त्र प्रतिनिधिका रुपमा निर्वाचन जितेर आएको हुँ । मेरो साथमा कुनै पार्टी, नेता छैन तर जनताको मत, अभिमत लिएर आएको हुँ । यहाँ नेपाली कांग्रेस, नेकपा र समाजवादी पार्टीको बर्चस्व छ । नगरपालिकामा एउटा वडामा मात्रै मेरो प्यानलको वडाध्यक्ष हुनुहुन्छ । ९ ओटा वडामा अन्य पार्टीका वडाध्यक्ष हुनुुहुन्छ । यद्यपी सबै वडाध्यक्षसँग मैले राम्रो समन्वयमा काम गरेको छु । उपलब्ध बजेटको समानुपातिक बाँडफाँड गरेको छु । जति काम भएको छ, उहाँहरुसँग हातेमालो गरेरै अघि बढेको छु । तर, प्रदेश सरकारको यथोचित सहयोग भयो भने ठूला आयोजना अघि बढाउने योजनामा छौं ।
नगरपालिकाभित्र शैक्षिक संस्थाहरुको अवस्था कस्तो छ ?
पोखरीया नगरपालिकामा पहिलादेखि नै उच्च मावि थियो । म आएपछि त्यसलाई प्राविधिक शिक्षा पढाई थालियो । जिल्लाको पुरानो निम्न माध्यमिक विद्यालयलाई माध्यमिक बनाइयो । यसपाली एसईईको पहिलो व्याच निस्कियो । यी लगायत अन्य विद्यालयको पनि भौतिक संरचना निर्माण गर्न नगरपालिकाले सहयोग गरेका छौं । बाल विकास शिक्षा अन्तर्गतका शिक्षिकाहरुलाई पाइआएको तलबमा थप २ हजार रुपैयाँ प्रोत्साहन भत्ता पनि हामीले दिएका छौं ।
नयाँ पुस्ता लक्षित बालबालिकाको विकासमा के के पहल भएको छ ?
भोलिको समाज हाँक्ने पुस्ता तयार गर्न बालबालिकामा लगानी गर्नुपर्छ भन्ने हाम्रो लक्ष्य रहेको छ । प्राथमिक तहका बालबालिकालाई स्कूल ब्याग र पोशाक वितरण गर्ने गरेका छौं । विद्यालय छुटेका वा गएर पनि १२ बजेसम्म निस्किसकेको छात्रालाई टोलटोलमा अनौपचारिक कक्षा सञ्चालन गर्दै आएका छौं । ६ महिनादेखि ९ महिनासम्म यस्ता कक्षामा बसेका ती छात्रालाई पुनः विद्यालय भर्ना गराएका छौं । तीन वर्षदेखि निरन्तर यो कार्यक्रम नगरपालिकाकै पहलमा चलेको छ । आर्थिक वर्ष २०७५÷७६ मा २ सय ४७ जना थिए भने यस आबमा २ सय ४० जनाले यस कक्षा लिदैं आएका छन् । यस कोरोना संक्रमणकाल सकिएपछि उनीहरुलाई हामी विद्यालय भर्ना गराउँछौं ।
हामीले समाजमा हुँदै आएको महिला हिंसाको जरा उखेल्ने अभियान छोरीको जन्मदेखि सुरु गरेका छौं । यसका लागि हामीले छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरी नगरपालिकामा प्रमाणपत्र पेश गरेपछि बालिकाको एक लाख रुपैयाँसम्मको शैक्षिक बीमा गराइदिने प्रावधान ल्याएका छौं । २०७४ पुस १३ देखि लागू गरिएको यस कार्यक्रमअन्तर्गत हालसम्म ४ सय ५० बालिकाको बीमा गराइएको छ । २० वर्ष उमेर नपुगन्जेल अविवाहित हुनु पर्ने र प्लस टु पूरा गरिसकेपछि मात्र उक्त बीमा रकम निकाल्न पाइने प्रावधान राखिएको छ । उक्त रकम थप अध्ययनमा लगानी होस् भन्ने हाम्रो लक्ष्य हो ।
स्वास्थ्य सेवाको अवस्था कस्तो छ ?
१५ बेडको पोखरीया अस्पताल ५० बेडमा स्तरोन्नति हुँदै छ । निकै लामो प्रयासपछि यसका लागि प्रदेश सरकारले निर्णय गरिसकेको छ । कोभिडकालपछि यसले निरन्तता पाउनेमा म विश्वस्त छु । ५० बेडको प्रदेशभरीकै चार ओटा अस्पतालमध्ये यो एउटा हुने छ । यसका लागि एक्स–रे र भिडियो एक्स–रे मेशिन नगरपालिकाकै खर्चमा जडान भएको छ । नगरपालिकाकै अनुदानमा औषधि पनि उपलब्ध गराउँदै आएको छ । दलित र जेष्ठ नागरिकलाई अस्पताल भर्ना शुल्क पालिकाले बेहोर्ने गरी निःशुल्क सेवा उपलब्ध गराइएको छ । जिल्ला अस्पतालको स्तरोन्नतिले सदरमुकामभन्दा १५ किलोमिटर टाढा पर्ने नगरबासीले स्वास्थ्योपचारमा ठूलो सुविधा मिल्ने छ ।