काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बल्ल बल्ल मिलेको विवाद पुनः सुरु भएको छ ।
पार्टी नै विभाजनको संघारमा पुगेको भनी विश्लेषण हुनेगरी भएको विवाद लामो समय लगाएर मिलाएपनि पछिल्लो महिना पुनः विवाद सुरु भएको एक स्थायी कमिटी सदस्यले बताए ।
ती सदस्यले भने ‘बल्ल बल्ल मिलेको विवाद मुख्य सचिव र राजदूत नियुक्तिले पुनः सुरु होला जुस्तो छ । विवाद मिलाउन बनेको कार्यदल, स्थायी कमिटीको निर्णय र सचिवालयको निर्णय विपरित नियुक्ति भएको छ । यसले विवाद पुनः सुरु हुन्छ ।’
नेकपा विवाद मिलाउन गठन गरेको कार्यदलले भदौ पहिलो साता प्रतिवेदन बुझाएपछि पनि लामो छलफलबाट विवाद समाधान भएको थियो । तर सरकारले मुख्य सरकारी नियुक्तिमा पार्टी सचिवालयमा कुनै छलफल नगरी धमाधम नियुक्ति गरेकोमा आपत्ति जनाउँदै विवाद सुरु भएको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहिबार मन्त्रीपरिषदको बैठकबाट मुख्य सचिव लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै बेलायतको लागि राजदूतमा सिफारिस गरेको छ । उनको सट्टामा मुख्य सचिवमा शंकरदास वैरागीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
त्यस्तै अमेरिकाका लागि पूर्वअर्थमन्त्री युवराज खतिवडालाई राजदूतमा सिफारिस गर्दा पनि पार्टी सचिवालयमा कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
उनले भने ‘आज मन्त्रीपरिषदबाट भएको निर्णयहरुका बारेमा पार्टी सचिवालयमा छलफल भएको छैन । अध्यक्षद्धयबीच छलफल भए नभएको मलाई थाहा छैन ।’
नेकपामा ८ वैशाखमा सरकारले ल्याएका दुई अध्यादेशका कारण विवाद बढेपछि १२ वैशाखमा फिर्ता गरेको थियो । तर नेकपाको विवाद भने भदौ पहिलो सातासम्म जारी रह्यो । बल्लबल्ल मिलेको विवाद बिहिबारको नियुक्तिले पुनः सुरु भएको प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले बताए ।
उनले भने ‘मन्त्रीपरिषदबाट भएको निर्णय पार्टीको पछिल्ला निर्णय र समझदारी विपरित भएका छन् । यसले पुनः पार्टी संगठनलाई घाटा नै हुन्छ । सबै काम सहमतिमा गर्ने भनेर निर्णय गर्ने तर व्यवहारमा एकलौटी गर्ने भएपछि कसरी समस्या समाधान हुन्छ ?’
नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘ओली कमरेड पुनः पहिलाको ठाउँमा फर्कनुभएको छ । उहाँले पार्टीलाई बाइपास गरेर मनमर्जीले सरकार चलाउने तौरतरिका फेर्नु भएन । यसले फेरी विवाद निम्त्याउछ, त्यसकारण यस्तो निर्णय सच्याउनु पर्छ ।’
कार्यदलको प्रतिवेदन र सचिवालयको निर्णय अनुसार अब पूरा कार्यकालको लागि ओली प्रधानमन्त्री र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको अधिकार दिएको थियो । तर दुवै जनाले कुनै पनि निर्णय गर्दा सल्लाह गर्ने भनिएपनि बिहिबारको नियुक्तिमा प्रचण्डसँग कुनै पनि सल्लाह नभएको उनी निकट एक स्थायी कमिटी सदस्यले बताए ।
मन्त्रीमण्डल हेरफेरमा पनि किचलो
नेकपामा पछिल्लो समयमा मन्त्रीमण्डल हेरफेरमा पनि दुई अध्यक्षबीच कुरा मिलेको छैन । प्रचण्ड प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरु फेर्नु पर्छ भन्नेमा र प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई मात्र हेरफेर गर्न चाहेपछि अध्यक्षद्धयबीच नै मतान्तर भएको छ ।
बुधबार भेटवार्ता हुन तय भएको समयमा भेटवार्ता नभएपछि मन्त्रीमण्डल पुनः गठनको काम अगाडि बढ्न सकेको छैन । मन्त्रीमण्डल हेरफेरमा ओली प्रचण्डबीच कुरा नमिलिरहेको समयमा ओलीले एकलौटी रुपमा मुख्यसचिव र राजदूत सिफारिस गरेपछि विवाद झन् चर्कने नेकपाका नेताहरु नै बताउँछन् ।