काठमाडौं– चाडपर्वलाई लक्षित गरी सहुलियत मूल्य पसल सञ्चालन गरिएकाे छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नजिकिँदो दसैँ, तिहार तथा छठलाई लक्षित गरी आम उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन आजदेखि सहुलियत मूल्य पसल सञ्चालन गरेको हो ।
कम्पनीका अनुसार सहुलियत मूल्य पसल बिहान १०ः३० बजेदेखि बेलुका ४ बजेसम्म खुल्नेछन् । काठमाडौं उपत्यकामा पाँच वटा बिक्री केन्द्रहरु तोकिएको छ । जसमा थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक रहेका छन् । कम्पनीले काठमाडौं उपत्यकाबाहिर २४ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरेको छ ।
कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले भनिन्, ‘आजबाट सहुलियत मूल्य पसल सञ्चालन गरेका छौँ । पूर्वमा ताप्लेजुङदेखि पश्चिममा डँडेल्धुरासम्म यस्ता पसल सञ्चालनमा ल्याइएको छ ।’
पाइने खाद्य वस्तुहरू
कम्पनीले देशभरमा सञ्चालन गरेका २९ वटा सहुलियत मूल्य पसलमा विभिन्न खाद्य सामग्री पाइन्छन्र । सुवेदीका अनुसार सहुलियत मूल्य पसलमा चामल, कर्णालीको सिम, दाल, केराउ दाना, नुन, घिउ र इन्फ्रारेड चुल्हो उपलब्ध छ ।
५–१० रुपैयाँ छुट
कम्पनीले उपभोक्तालाई खाद्य वस्तुमा केही छुटसमेत दिने भएको छ । कम्पनीका अनुसार चामलको तोकिएको मूल्यमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिइनेछ । त्यस्तै, कर्णालीको सिमीमा १०, दालमा ५ र केराउ दानामा ५ रुपैयाँ छुट दिइने जनाइएको छ ।