हरेक वर्ष इन्द्रजात्राले थुप्रै उत्साहहरु, थुप्रै सम्झनाहरु छाडेर जान्थ्थो । यो पटक भने इन्द्रजात्राले छाडेर होइन थुप्रै कुराहरु छुटाएर गए ।
कोभिडको बन्दाबन्दीमा बन्दी बन्न बाध्य भएको इन्द्रजात्राले दागीं यात्रा, कुमारी, गणेश र भैरव रथ यात्रा, नानिचा रथ यात्रा, पुलकिसीलगायत थुप्रै परम्परागत जात्रा र रौनकता छुटाएर गयो । अझै सँधै मुख्य आकर्षण रुपमा छोड्ने मजिपा: लाखे पनि यसपटक इन्द्रजात्राले छुटायो । लाखेलाई जिस्काउने झ्यालिञ्चा लाखे नै नभएपछि झनै पर छुटे ।
मजिपा: लाखेसँगै यसपटक इन्द्रजात्रामा छुटे लक्ष्मण रञ्जित । उनी आफै मात्र छुटेनन्, उनका लाखे नाचको कलाकौशलबाट इन्द्रजात्राले मुख्य उत्साह र रौनकता नै छुटायो । छुटेको रौनकता नमीठो सम्झना बनेर कान्तिपुरीका नेवार समुदायभित्र सलबलाई रहने छ ।
‘मोर्डन गेटअप’मा चिकंमुगल, बसन्तपुरका वरपर देखिने लक्ष्मणको हातमा लाखे आजुको ट्याटु, छातीमा शिवजीको ट्याटु, कानमा टप, हातमा औंठीहरु लगाएको स्वरुपमा भेटिन्छन् । यिनै मोर्डन लक्ष्मण इन्द्रजात्राको आठ दिन भने भयङ्कर मजिपा: लाखे बन्थे ।
जयप्रकाश मल्लदेखिको हिसाबै गर्ने हो भने धेरै जना मजिपा: लाखेको रुपमा उत्रिए । त्यसमध्येका लक्ष्मण रञ्जित २८ वर्षदेखि इन्द्रजात्रामा मजिपा: लाखे बन्दै आएका थिए । जैसीदेवल, चिकंमुल टोल नेवार समुदायका रञ्जित जातिहरुको बाहुल्यता रहेको टोल हो । यही टोलका रञ्जित मध्यबाटै छानिएका मजिपा: लाखे हुन् लक्ष्मण ।
मजिपा: लाखेबाट लक्ष्मण सानैदेखि प्रभावित थिए । उनको बाल मानसपटलमा अरु केही रहर थिएन, तर आफू मजिपा: लाखे बन्ने सपना बुनिरहन्थे । बीचबीचमा केही वर्ष उनका व्यक्तिगत कारणले लाखे आजु: अर्थात् मजिपा: लाखे बन्न सकेनन् । उनी नभएको जात्राहरुमा धेरैले लक्ष्मणको अभाव महसुस गर्थे ।
चिकंमुगलमै जन्मेर मजिपा: लाखेकै वरिपरि उनी हुर्के । उनका जुम्ल्याहा दाजु राम र उनी स्कुलवाट भागेर लाखेको पछि लाग्थे । ‘छ सात वर्षको उमेरतिर होला दाइ र म स्कुलबाट भागेर लाखेको पछि लाग्थ्यौं । विहान दुईतीन नै बज्थ्यो । हामी लाखेसँगै लाखे ननीमा लाइन लगाएर सुत्थ्यौं’, लक्ष्मण सम्झिन्छन, ‘त्यति बेला घरमा खबर गर्नुपर्छ भन्ने सोच पनि हुँदैनथ्यो । आमा, दिदीहरु आत्तिएर खोज्दै आउनुहुन्थ्यो ।’
उनीहरु ११/१२ वर्षका भएपछि मजिपा: लाखेको चिराग, तेल समातेर पछि लाग्न थाले । लक्ष्मणको एउटै इच्छा थियो, आफू पनि एकदिन मजिपा: लाखे बन्ने । दिनरात चिराग, तेल बोकेर पछि लाग्ने यी दाजुभाइको हातवाट विशिष्ट व्यक्तिहरुले चिराग, तेल लिएर गद्दी बैठकभित्र पस्थे । उनीहरु भने बाहिर बसेर लाखेलाई कुर्नु पर्थ्यो ।
लक्ष्मणलाई हनुमानढोकाभित्र हुने ‘च्यारीटी शो’ हेर्ने ठूलै रहर थियो तर बाहिर कुरेर रहर मेटाउनु पर्थ्यो । कतिपटक लक्ष्मण ढोकामा रोएर बस्थे, तर उनका आँशुले ढोका खुल्दैनथ्यो । अनि त्यतिबेलै मनमा इख लिए, जसरी पनि छिट्टै मजिपा: लाखे बनि छाड्ने ।
लाखे बन्नु चानचुने कुरा थिएन । यसको लागि केही पनि सिकाइदैन थियो । नाच्ने, हाउभाउ, बाजाको तालमा हिाड्नेदेखि मजिपा: लाखेको गुण आफैले सिक्नुपथ्र्यो । अन्तत: उनी पहिलोपटक १२ वर्षको उमेरमा लाखे बने । भिमशेनस्थानदेखि ठमेलसम्म ४५ केजीको लाखें ख्वापा लगाएर ७ तल्लासम्म माथि सकसले हेर्नु पथ्र्यो । सानै भए पनि लक्ष्मणको इखले लाखे नाचिछाडे ।
लक्ष्मणका बुबा पनि मजिपा: लाखे बनेका थिए । त्यतिबेला एकजना चित्रकारले मजिपा: लाखेको सय वर्ष पुराना चित्र बुबालाई उपहार दिएका रहेछन् । त्यो चित्रलाई हरेक वर्ष इन्द्रजात्राको समयमा चिकंमुगलमा प्रर्दशनमा राख्ने गरेका छन् । त्यो चित्रलाई राम्रो रकम दिएर किन्न आउनेहरु थिए, तर जति रकम दिए पनि उनले चित्रलाई बेचेनन् । सायद मजिपा: लाखेप्रतिको आस्थाले उनलाई चित्रको पैसामा मोलमोलाई गर्न दिएन ।
तान्त्रिक शक्ति राखिएको ख्वापा, लाखे पहिरन, पटुका, घँघरा लगाएपछि उनमा शक्ति थपेको भान हुन्छ । उनकै भाषामा भन्नुपर्दा अदृश्य शक्ति आएको महसुस हुन्छ । उनी भन्छन्, ‘जतिजति नाच्दै, उफ्रन्दै गयो, उति उति शक्ति बढ्दै जान्छ ।’
अहिले लाखे आजु: जात्रा व्यवस्थापन समाजको अध्यक्षमा लक्ष्मण नै छन् । उनका जुम्ल्याहा दाजु राम सचिव । राम पनि एकपटक मजिपा: लाखे बनेका थिए तर उनलाई व्यवस्थापनतिर बढी रुची छ ।
लक्ष्मण २०७२ सालपछि २ वर्ष लाखे बन्न सकेनन् । ७२ सालको महाभूकम्पले उनको जीवनको गतिलाई नै सुस्त बनाइदियो भनौ उनको गति अन्तै मोडिन बाध्य भयो । भूकम्प आएको दिन वैशाख १२ को विहानदेखि नै लक्ष्मणकी श्रीमती नीलु अफिसबाट आयोजना गरेको रक्तदान कार्यक्रममा काष्ठमण्डपमा सहभागी थिए । खाना खाएर ५ वर्षका छोरासँग लक्ष्मण काष्ठमण्डप पुगेर रगत दिदैं थिए । अनि त्यतिबेलै आएको भूकम्पको कम्पले उनको जीवनलाई पनि हल्लायो, ढाल्यो र पुर्यो । उनको जीवनसंगिनी नीलुलाई कहिल्यै नफर्कनेगरी काष्ठमण्डपले पुर्यो ।
कम्पनपछि हतार हतार छोरा बोकेर बाहिर पुग्नासाथ आँखै अगाडि उनले काष्ठमण्डप भत्किएर निस्केको कुइरीमण्डल धुलोमा नीलुलाई गुमाइन् । अनि जीवनसंगिनीलाई मात्र होइन आफ्नै जीवनलाई पर देखे । तर साथमा छोरा थिए, छोरा बोकेर मन बाँध्न उनलाई समय लाग्यो । अहिले छोरा १० वर्षमा दौडिदैं छन् । मजिपा: लाखेसँग जिस्कने झ्यालिञ्चा: उनकै छोरा हुन् ।
उनीहरु एउटै टोलका, सँगसंगै खेल्दाखेल्दै कतिखेर माया बस्यो थाहा पाएनन् । बिहे गरेर मायालाई दुगुणा बनाए । लक्ष्मण सम्झन्छन्, ‘जिस्केर जो मरे पनि चन्द्रमा हेर्नु त्यहीँ हुन्छु भन्थ्यौं ।’
काठमाडौंको यङ्गालको एउटा घरको भित्तामा लक्ष्मणको मजिपा: लाखेको स्वरुप बडेमानको चित्रका रुपमा देख्न सकिन्छ । साथै उनका जीवनी नै चित्रहरुमार्फत् दृश्यमा हेर्न पाइन्छ । भूकम्पपछि विदेशी कलाकारहरुले बनाएको सो चित्रमा उनको १२ वर्ष उमेरदेखि अहिलेसम्मको कथा कोरेका छन् । चित्रको माथि रहेको चन्द्रमामा उनकी श्रमितीको तस्वीर टल्किएको छ ।
काष्ठमण्डपले भूकम्पको याद दिन्छ भने लाखे र झ्यालिञ्चा दगुरेको उनकै छोराको चित्र हो । जुनसँगै जिउँदो देवी कुमारीको चित्र छ । चित्रको व्याख्या गर्दै लक्ष्मणले सुनाएर, ‘कुमारीले बा–छोरालाई भने बचायो भन्ने आशय हो ।’
अहिले मजिपा: लाखेबारे भ्रामक र कपोकल्पित कथाहरु लेखिएको पाएकोमा लक्ष्मण दु:खेसो पोख्छन् । लाखेको कुमारीसँगको मायाप्रेमका कुराहरु सबै कपोकल्पित भएको उनी बताउँछन् । मथुरा दास नेवा:ले प्रकाशित गरेको पुस्तक मजिपा: लाखेमा कुमारीसँगको अनैतिक चर्चा छैन ।
उनीहरुका अनुसार लाखे राक्षस वर्ग र तलेजु भवानी पार्वतीको रुप हो । खडेरीले हाहाकार भएर मान्छेहरु भोकमरीले मर्न थाले । किसानहरुले राजा जयप्रकाश मल्ललाई गुनासो पोख्न जाँदा तान्त्रिकसँग सल्लाह गरेर भवानीलाई स्थापना गरे । भवानीको सुरक्षाका लागि मजिपा: लाखे पनि सँगै आए । आँखा रातो ठूलो, कम्मरमा घँघरा बाँधेको, कपाल पनि रातो भयंकरको आकृति थियो ।
बाटोमा भूत, प्रेत, जनावर कसैले नछोओस् भनेर लाखेलाई पनि ल्याएका थिए । पचली भैरव पुलवाट कान्तिपुर नगरी ल्याए । तलेजु भवानीले खड्ग दिएर भोलिपल्ट विहान सबेरै खोलामा जो भेटिन्छ बली दिएर आउ भने । त्यहाँ राँगो भेट्छ र राँगो काटेपछि पानी पर्छ । खड्ग छोडेर तलेजु भवानी जान्छ । तर लाखेचाहिँ पुल पारी बसिरहन्छ । मान्छे मार्ने, बच्चा खाने उनको लोभ थियो । जान नमानेपछि जनताहरुले बच्चाहरु नखाने, रक्षा गर्छु भन्ने विश्वास कसरी लिने सोचमा थिए ।
खादिँन त भन्यो तर कसरी विश्वास गर्ने ? एकरात लाखे सुतिरहेको बेला एकदमै चकचके बच्चालाई परीक्षणको लागि पठाए । लाखेको कपाल तान्ने, चलाउने, पिट्ने गर्न थाले । रिसले चुर भएका लाखे उठेर शान्त भएर लखेट्छ तर केही गर्दैन । त्यसपछि मजिपा: लाखेलाई शान्त भैरवको रुपमा पनि पुज्न थालेको हो । अहिले मजिपा: लाखेसँग झ्यालिञ्चा नचाउने चलन सोही कथन बमोजिम हो । नेपाल अधिराज्यभर दर्जनौं लाखेहरु छन्, तर मजिपा: लाखेको इतिहास अरुको भन्दा फरक भएको उनको कथन छ ।