कल्पना चिलुवाल समकालिन कविता लेखनमा हस्तक्षेपकारी ढंगले आएकी कवि हुन् । पोखरामा रहने उनी डेढ दशकदेखि कविता लेखिरहेकी छिन् । उनी कविता संग्रह प्रकाशनको तयारीमा छिन् ।
छैन हामीसँग एकादेशको
कुनै जादुमय खिरपाक ताउली
जसमा हाम्रा हरेक पटकको भोकमा
पाकिदिओस् खिर
र सुत्त पाइओस् अघाएको एकझपक निद्रा
छैन हामीसँग एकादेशको
कुनै जादुमय डाङडुङ लौरी पनि
जसले चुटोस् लुटेराहरुलाई बेसरी
र गरोस् हामीलाई लुटिनबाट मुक्त
छ न त छ यहाँ
यो समयको लोकतन्त्रले
सत्ताको पोल्टामा हालिदिएको
जादुमय खिरपाक ताउली, डाङडुङ लौरी
र लुटेराहरुको एउटा बलियो डप्फा
सत्ता जब इसारा गर्छ
उसको भान्छामा चौरासी व्याञ्जन पाक्छ
सत्ता जब संकेत गर्छ
उसका बिरोधीको शिरमा लाठी बज्रन्छ
सत्ता जब आदेश दिन्छ
लुटको धन उसका अघि थुप्रन्छ
सत्ता जादुमय छ यहाँ
उसका लिखित वा मौखिक हर कुनै आदेशले
करोडौँ मान्छे मर्ने वा बाँच्ने बनाउन सक्छ
छ न त एउटा जादु
हामीसँग पनि छ पाखुराको
संसारका सातै आश्चर्य
सहरका झिलिमिली सुन्दरता
खेतमा झुलेका बालीहरुको लहलह
भव्य डिपार्टमेन्टमा आइपुग्नुअघि
कारखानामा हुँदै गरेको सामानको कलात्मक प्याक
यी सब जादुहरु
हाम्रै पाखुराका त हुन्
यिनै जादुमय पाखुराहरुले निकालेको
भोकको जुलुसमा
आऊ टकराऔँ हाम्रा जादुहरु
तिमीले सधँैझैँ लिएर आऊनू
लाठीको मार, अस्रु ग्यासको पिरो धुँवा
जेलसम्म लतारेर लाने हतकडी वा छाती छेड्ने गोली
हामी आउँछौँ सिर्फ
हाम्रा नाङ्गा पाखुराका साथ
तिम्रा सैनिकहरुले बोकेर आउने हर अस्त्रशस्त्र
कारखानामा बनाउने हामी नै हौँ
आफैँले बनाएको हतियार खोसेर
सत्ताको हर जादुमय दैत्यलाई बन्दी बनाउने
इतिहासका संवाहक पनि हामी नै हौँ
आऊ फेरि एकपटक भिडाऔँ
हाम्रा आ–आफ्ना जादुहरु
यहाँ केही वर्षपहिले
हाम्रा पाखुराको जादुले
धुलो चटाइसकेको छ श्रीपेचलाई
कुर्सीको जादु त के नै हो र
पाखुराको एक मारले
भत्काउनसक्छ जुनसुकै लालची सत्तालाई ।
-------------
अरु कविताहरु पनि पढ्नुहोस्
पृथ्वी/अपृथ्वी- मनप्रसाद सुब्बा
सुकुनाराँ ज्यापूको तीर्थस्थल- अभय श्रेष्ठ
जादु– कल्पना चिलुवाल
गिट्टी फोर्ने बालक – सरुभक्तको कविता
एउटा निमुखा बुढाको भविष्य - पारिजातको कविता
गलैंचा बुन्नेहरुको गीत - अविनाश श्रेष्ठको कविता
जुत्तामा पालिस लगाउने मजदुर - कृष्णभूषण बलको कविता
उसको भागमा जिन्दगी - जसराज किराँतीको कविता
एउटा मजदुर आफ्नो इतिहासको तीन अध्याय लेख्छ - विमल निभाको कविता