नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा लामो समयको विवादलाई स्थायी कमिटीले बैठकमार्फत् पार्टी र सरकार सञ्चालनको नेतृत्व छुट्टाछुट्टै तय गर्दै र पार्टीको सहमतिमा सरकार सञ्चालन गर्ने निर्णयका साथ तत्काललाई साम्य पा¥यो । यद्यपी पछिल्लो दिनहरुमा सरकारले छलफलविना महत्वपूर्ण पदहरुमा नियुक्ति दिएको भन्दै पुनः विवादहरु देखिन थालेका छन् । सँगै नेकपा सरकारप्रति आम रुपमा आलोचनाहरु पनि भइरहेका छन् । यसै सन्दर्भमा नेपाली पब्लिकका कृष्ण गिरीले नेकपा स्थायी कमिटी सदस्य मातृका यादवसँग गरेको कुराकानी-
पार्टी एकताको लामो समय भयो, यो बीचमा पार्टीको कामलाई कसरी हेर्नु हुन्छ ?
एकतापछि विभिन्न समस्या आए । यसमा पनि २ नम्बर प्रदेशमा समस्या भयो । जुन समस्या समाधान गर्न पार्टी संगठन विभागलाई जिम्मा दिएको छ ।
प्रतिवेदनमा राजनीतिक कार्यदिशा पूँजीवादमा नअड्की समाजवादमा जाने लेखिए पनि हाम्रो व्यवहार पूँजीवादमा नै रुमलिएको छ । यसकारण वैचारिक बहस गरेर दिशा प्रष्ट पार्नु पर्छ ।
कम्युनिस्ट आन्दोलनको माक्र्सवाद, लेनिनवाद र माओवादको विकाससँगै तत्कालिन माओवादीले माओवाद मान्थ्यो । अहिले माओवाद छोड्यौं, माओवाद छोड्नु ठिक भएन । अझ जनयुद्धमा प्रचण्ड–पथको विकास गरेका थियौं । जस्ताको त्यस्तै मान्नु पर्छ भन्ने होइन तर सबै कुरा छोड्दै जानुभन्दा विकास गर्नुपथ्र्यो । सर्वहाराको अधिनायकत्व, बलप्रयोगको सिद्धान्तनुसार बलप्रयोग कसले गर्ने, राज्यले कि जनताले ? यो सबै कुराको किटान भएको छैन ।
विचारको अस्पष्टता किन भएको हो त ?
महाधिवेशनमा गएर बहस हुनेगरी एक्काइसौं शताब्दीको जनवाद, माओवाद, जनताको बहुदलीय जनवाद स्थगित छन् । हाम्रो कार्यदिशा समाजवाद उन्मुख जनवाद हो । तर कागजमा जनवाद लेखेर मात्र पुग्दैन, कागजमा लेखेपछि व्यवहारमा उतार्नु पर्छ ।
हामीले आर्थिक क्षेत्रमा के गर्ने । राजनीति क्षेत्रमा के गर्ने ? साँस्कृतिक क्षेत्रमा के गर्ने ? हामीले मानेको दर्शन अनुसार कार्यक्रम बनेको छ कि छैन ? हामी भौतिकवादी हो तर व्यवहारमा धर्मवादतर्फ गइरहेका छौं । पूजापाठ गर्नेतर्फ जाँदै छौं । प्रतिवेदनअनुसार विधानअनुसार अगाडि बढेको भए समस्या हुँदैन थियो ।
नेकपाको समस्या नेतृत्व, विचार, संगठन अथवा कार्यदिशामध्ये केमा छ ?
विधि नसमात्नु, विचारमा नचल्नु नै मूल समस्या हो । विचारमा नचलेको नेतृत्वमा समस्या हुने नै भयो । व्यवहारमा चल्नुभन्दा पहिला विचारलाई दिमागमा सेट गर्नुपर्छ । ड्राइभिङ लाइसेन्स खल्तीमा हालेर मात्र हुँदैन गाडी चलाउनु पर्छ । लाइसेन्स खल्तीमा हुँदैमा गाडी चल्दैन । विचारमा मानिस नचलेपछि कसरी व्यवहार हुन्छ ? समस्या यही हो ।
हाम्रो निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद हो । यही मान्यतालाई मानेर जुन विचार हो त्यही अनुसार चल्नुपर्छ । समाजवाद उन्मुख भनेको उत्पादनमा समाजको स्वामित्व स्थापित गर्ने हो । उत्पादनमा व्यक्तिको स्वामित्व स्थापित गरेर समाजवाद आउदैन । यसको लागि त उत्पादनमा सामूहिक स्वामित्व नै स्थापित गर्नुपर्छ । त्यही भएर हरेक कुरा विचारबाट निर्देशित हुन्छ । उत्पादनमा कसको स्वामित्व स्थापित गर्ने भन्ने नै कुन विचारधारा अंगालेको छ भन्ने कुराले निर्धारण गर्छ ।
दस्तावेज झोलामा बोकेर मात्र क्रान्ति हुँदैन । विचारलाई व्यवहारमा फिट गर्ने हो । वर्ग विभाजित समाजमा कुन वर्गसंग सहकार्य गर्ने, कसको विरुद्धमा जाने, कुन वर्गलाई अगाडि बढाउने, कुन वर्गको नेतृत्वमा समाजवाद ल्याउने हो प्रष्ट हुनुपर्छ । अहिले यही प्रष्टता छैन ।
अहिलेको अवस्थामा नेकपाले नेतृत्व गरेको सरकार समाजवादमा जान सक्छ त ?
मेरो विचारमा माक्र्सवाद लागू गरौं भन्नेमा छु । बहुदलीय व्यवस्था आयो तर आनीबानी सामन्तवादी नै रह्यो । गणतन्त्र ल्यायौं तर श्रीपेचविनाको राजा बन्यौं । यसलाई के भन्ने सामन्तवादी गणतन्त्र भन्ने कि, संघीय लोकतन्त्र भन्ने कि, के भन्ने ? अझ हामी समाजवाद भनिरहेका छौं । लोकतान्त्रिक गणतन्त्र भन्ने तर नेतृत्व त्यो अनुकुल भएन भने के हुन्छ । यसमा लिडरसिपको पनि कुरा आउँछ ।
हामी कुन वर्गको पक्षपोषण गर्ने हो, त्यो स्पष्ट हुनुपर्छ । दलाल पूँजीवाद साम्राज्यवादसँग खतरा छ भने कुन साम्राज्यवाद हो, वर्गीय रुपमा किटान गर्नु पर्छ । यहाँ सबै समाजवादी छन् ? अहिले सबै पार्टी एउटै हुन् भन्दै छन् जनता । पार्टी दोषी हो कि विचार ? यो क्लियर हुनुपर्छ । पार्टी विचारमा विधिमा चलेमा मात्र समाजवादमा जान सकिन्छ । जाने नै समाजवादमा हो । तर अहिलेकै अवस्थामा त्यो बाटो तय भएको देखिदैन ।
भनेपछि नेकपामा कुन वर्गको पक्षमा काम गर्ने भन्ने प्रष्ट छैन ?
घालमेल नै छ नि । कार्यनीतिक हिसाबले कुन वर्ग हाम्रो मित्र र कुन दुश्मन किटान हुनुपर्छ । यो वर्ग पक्षधरताको कुरा हो । हामी नै घालमेलमा भए जनता दिगभ्रमित हुने नै भए । यसको बहस छलफलबाट हल गर्नुपर्छ । वर्ग दृष्टिकोण प्रष्ट नहुनु निर्देशक सिद्धान्त लल्कार्नु हो ।
कम्युनिष्ट पार्टीमा विचार, नेतृत्व र कार्यदिशाको भूमिका महत्वपूर्ण हुन्छ होइन र ?
एकदमै महत्वपूर्ण प्रश्न, दृष्टिकोण, नेतृत्व र कार्यदिशाबीच तालमेल नै कुम्युनिष्ट पार्टी हो । विचार ठिक भएर पनि नेतृत्व सही भएन भने गडबड हुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनमा मुख्य समस्या नै विचार एकको नेतृत्व अर्काको हुनु पनि हो ।
यो परिवर्तन कसको नेतृत्वमा भएको हो ? परिवर्तनको नेतृत्व एकले गरको छ, कार्यान्वयनको नेतृत्व फरक हुँदा समस्या आउँछ । परिवर्तनको महत्व, त्यसको अन्तर्यमा अरु पुग्नै सक्दैन । नेपालमा जहिलेपनि परिवर्तन भए तर नेतृत्व फरक भए । प्रजान्त्रतको लागि २००७ सालमा कांग्रेसले, ४६ मा बहुदल आएपछि तत्कालीन एमालेले दुःख गरेको थियो । त्यसपछि माओवादीले दुःख, संघर्ष गरेपछि गणतन्त्र आएको हो । हरेकपटक बलिदानीबाट परिवर्तन आएको हो । तर पञ्चहरु पनि शासक भए नि ।
मुखले गणतन्त्र भन्ने र लडेर गणतन्त्र ल्याउनेबीच फरक छ । लडेर ल्याउनेले जति गणतन्त्रको महत्व मुखले भन्नेले बुझ्दैन । जसले लडेर गणतन्त्र ल्यायो त्यसैको नेतृत्व हुनु आवश्यक हुन्छ ।
त्यसोभए नेकपाका विचार, नेतृत्व र कार्यदिशामा तालमेल छैन ?
नेकपा निरन्तरतामा छ, क्रमभंगता छैन । सामन्तवादको आधार खतम भएको छ, तर उपरी संरचनामा परिवर्तन भएको छैन । यो कुरा फर्मुलामा हेर्नु पर्छ । तपाईंहरु आफै हेर्न सक्नु हुन्छ, मिलेको छ कि छैन वा के के गडबड छ ? मैले धेरै बोल्नु नै नपर्ला ।
‘नेकपाको नेतृत्व जडतामा जकडिएको छ’ भन्न खोज्नु भएको हो ? त्यसोभए नेकपाले कुन वर्गको नेतृत्व गर्छ ?
जडतामा बसेको छ भनेको होइन । अहिले ठूल–ठूला सामन्त छैनन् सबैले जग्गालाई पूँजीमा कन्भर्ट गरिसकेका छन् । तर राज्यमा उपरी संरचनामा परिवर्तन भएन ।
हिजो पञ्च भएर शासन गरेकाहरु अहिले कांग्रेस र कम्युनिस्ट भएर शासन गरिरहेका छन् । सँधै यसरी नै चल्दैन । दस्तावेजमा हाम्रो पार्टीले गरिब, किसान, मजदुर, उत्पीडित वर्गको नेतृत्व गर्छ । तर व्यवहारमा सबैलाई थाहा नै छ कुन वर्गको नेतृत्व गरेको छ भनेर ।
यति अन्यौलमा रहेको नेकपाले सरकार कसरी सञ्चालन गरिरहेको छ त । आम रुपमा सरकारको आलोचना भइरहेको छ । तपाईं सरकारको मूल्याङ्कन कसरी गर्नुहुन्छ ?
केही समय पहिला सकिएको स्थायी कमिटी बैठकले सरकारको कामको निर्णय गरेको छ । निर्णयमा सरकारले धेरै राम्रो काम गरेको छ भनेको छ । म पनि यही पार्टीको सदस्य हुँ, स्थायी कमिटीको निर्णयविरुद्ध बोल्न मिल्दैन । मैले पनि राम्रो काम गरेको छ भन्नुपर्छ, भनिरहेको छु ।
तर जनताले काम गरेन भनिरहेको सत्य हो । कोरोना महामारीमा सरकारले काम गर्न सकेन भन्दै छन्, तर हाम्रो नेताहरु काम धेरै गरेको छ भन्दै छन् । जनताको एक कुरा, पार्टीको अर्को कुरा ।
तपाईं त सरकारमा सहभागी भएर बाहिरिनु प¥यो, सरकार रहँदाको अनुभव कस्तो रह्यो ?
मलाई प्रधानमन्त्रीले निकाली दिनु भयो, मैले धन्यवाद दिए । कहीँकतै केही भनिन, म खुशी छु ।
मन्त्रीबाट निकालेपछि के कारणले खुशी हुनु भयो ?
मलाई नै थाहा छैन के कारणले खुशी भएँ, तर म खुशी छु, धेरै खुशी छु ।
विवादपछि बनाएको कार्यदलको प्रतिवेदन र स्थायी कमिटीका निर्णयमा पार्टी संस्थागत रुपमा सञ्चालन गर्ने भनियो । योसँंगै नेकपामा विवाद सकियो पनि भनियो तर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा राजदूत नियुक्त गर्नुभयो नि ?
हामीलाई केही थाहा छैन । सचिवालयबाट नेतृत्वले केही निर्णय गरेर स्थायी कमिटीमा ल्यायो त्यही पास गरेको हो । अन्तरविरोधले पार्टी विभाजन हुन थाल्यो भनियो, जुन माक्र्सवादी दृष्टिकोण विपरित थियो । अन्तरसंघर्षले पार्टी विभाजन होइन, एकता हुन्छ । हरेक वस्तुमा अन्तरसंघर्ष हुन्छ, अन्तरसंघर्षमा लोलोचोचो मिलाउनु गैरमाक्र्सवादी हो ।
पार्टीले ल्याएको निर्णय मान्नु भयो तर चित्त बुझेको चाहिँ होइन ?
चित्त बुझेको नबुझेको भन्दा पनि जे निर्णय पार्टीले गर्यो त्यो बहुमतले मानेको हो । लेनिनले भनेका छन्, बहुमतले गरेको निर्णय अल्पमतले स्वीकार्नु पर्छ । त्यही गरेको हुँ ।
सरकार त काण्डै काण्डमा फस्यो तर तपाईंको पार्टी ठिक काम गरेको छ भन्दै निर्णय गर्छ, विरोधाभास भएन र ?
म नेकपाको कार्यकर्ता हुँ, पार्टीको निर्णय मान्ने ठाउँमा छु । मैलेपनि मिडियामा पढेको हुँ ओम्नी काण्ड, तर हाम्रो प्रधानमन्त्रीले ओम्नीलाई चिन्नुहुन्न । ओम्नीले ठेक्कापट्टा प्रक्रियाबाट पाएको हो भन्नुहुन्छ प्रधानमन्त्री । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले भनेको कुरा पत्याऊँ कि मिडियाले भनेको कुरा ? प्रधानमन्त्रीले भनेको कुरा पत्याउँछु । रह्यो जनताको कुरामा जनतामै जान्छौं । जनताले भनेको कुराहरु पार्टीमा ल्याएर छलफल गर्नेछौं । पछिल्लो समयमा जनताको माझ गएको छु, त्यो कुरा अब पार्टीमा भन्ने छु ।
तपाईंलाई पार्टी पद्धतिभन्दा बाहिर गएर बोल्ने अराजक भन्छन् नि, हो त ?
देश र जनताको पक्षमा बोल्दा कसैले मलाई अराजक भन्छ भने म महाअराजक हुँ । म सबै काम जनता र देशको पक्षमा गर्छु । मेरो मूल्याङकन जनताले गर्छन् । जनता र देशले गरेको मूल्याङ्कन स्वीकार्य छ । देश र जनताविरुद्ध काम गर्ने अराजक हो, म होइन ।
तपाईं जनता र देशको पक्षमा बोल्छु भन्नुहुन्छ, कोरोना महामारीमा सरकारले काम नगरेको आरोप लाग्यो, किसानले समयमा मल पाएनन् अनि तपाईं चाहिँ कता बोल्नु भयो ?
मैले बोल्ने ठाउँमा बोलीरहेकै छु, पार्टीको बैठक, स्थायी कमिटीको बैठकमा बोलेँ । अब केन्द्रीय कमिटीको बैठकमा पनि बोल्छु । बाहिर जथाभावी बोल्ने भन्दा प्रक्रिया र पद्धति अनुसार जान्छु ।
सरकारले पार्टीमा नै छलफल नै नगरेर राजदूत नियुक्त गरेको भन्ने छ, यो स्थायी कमिटी र कार्यदलले दिएको सुझाव विपरित हो त ?
यो कुरा अब बस्ने सचिवालयको बैठकबाट थाहा पाउनु हुन्छ । सचिवालयले छलफल गरेर निर्णय गर्ला नि, के भएको हो भनेर ।
पार्टी एकता प्रक्रिया ६ महिनामा सकिने भनियो, तर अहिलेसम्म भाका सारेको सा¥यै भयो, यो कहिलेसम्म जारी रहन्छ ?
पार्टी एकता नै जटिल प्रक्रिया हो । तर पनि विधि र विधानमा नचल्दा यस्तो भएको हो । विधिबाट चलेको भए अहिलेसम्म एकता पूरा हुन्थ्यो । कहीँ न कहीँ विधि छोड्यौं । अब विधिमा चल्ने भनिएको छ । हेरौं छिटै एकताको काम सकिन्छ होला ।
तपाईंको विचारमा पार्टी, जनता र सरकार को, कहाँ, कस्तो अवस्थामा छन् ?
सबै एक ठाउँमा हुनु पर्ने हो, तर सबै अलग अलग छन् । एक ठाउँमा ल्याउने काम भइरहेको होला कि अब त ? आशा गरौं ।