२०१६ साल माघ २३ गते
प्रातः श्यामजीकहाँ । त्यहाँ प्यासीसँग पुनः भेट । आफ्ना रचनाहरु सुनायो । ‘हालखबर’को ग्राहक बनियो । प्यासीको कविता भैरवप्रसाद अर्याललाई दिएको ।
मेरो डायरीमा सर्वप्रथम यसरी अड्ढित भएको रहेछ भैरवप्रसाद अर्यालको नाम । हिजोझैं मेरा आँखाअगाडि घुम्छ कयौं वर्षअघिको त्यो दिन !
श्यामप्रसाद त्यस ताक ‘साहित्य’ पत्रिका निकाल्नुहुन्थ्यो । कमलपोखरी स्थित उहाँको निवास ‘साहित्य–सेवा–सदन’ त्यो बेला साहित्यिकहरुको बराबर जमघट हुने एउटा थलो नै भएको थियो । साहित्यतिर केही चाख भएकोले आफ्नो घर जाँदाआउँदा बाटैमा पर्ने त्यस ठाउँमा म पनि कहिलेकाहीं पस्ने गर्थें । पुरानो सुकुलमाथि ठाउँठाउँमा फाटेको मैलो टाट ओछ्याइएको, पूर्वपश्चिम लमतन्न परेर लम्बिएको त्यस कोठामा धेरैजसो म के देख्थें भने नाङ्गो आङमा खद्दरको बूढो कोट र खेसको शुरुवाल लगाएर घुँडा मार्दै बसेका श्यामजीलाई कोही लेखक आफ्ना कृति सुनाइरहेका हुन्थे र त्यसबारे उहाँको सल्लाह माग्थे । त्यहाँ कहिले वासुदेव लुइँटेललाई मोटरसाइकलपछाडि बोकेका कमल दीक्षित झुल्कन्थे त कहिले श्रीमतीलाई अघि लगाएका कृष्णप्रसाद सर्वहारा टुप्लुक्किन्थे ।
हानन्द सापकोटाज्यूलाई पनि पहिलो पटक मैले त्यहीं देखेको थिएँ । ‘साहित्य’लाई कविता दिन आनन्ददेव भट्टसँगै आएका ओखरकोट प्यूठानका मोहनविक्रम सिंहलाई पनि त्यहीं चिन्न पाएको थिएँ । तारानाथ शर्मा, बालकृष्ण पोखरेल, गोविन्द भट्ट, मुकुन्द ढुङ्गेल, के.पी. शैल, कृष्णभक्त श्रेष्ठ, बलराम श्रमजीवी, शक्ति लम्साल, तुलाराज विश्वकर्मा, जनकप्रसाद हुमागाई आदि त त्यहाँका नियमित आगन्तुक नै थिए । श्यामजीका नानीहरुलाई एक बट्टा ग्लाक्सो दूध कोसेली बोकेर आएका वालमुकुन्ददेव पाण्डेसँग पनि मेरो त्यसै कोठामा चिनजान भएको थियो । यति महङ्खवपूर्ण थियो श्यामप्रसादको त्यो कोठा ! सामन्त, सर्वहारा, बूढा, ठिटा, ठूला, साना सबैखाले साहित्यसेवी त्यहाँ देखिन्थे र सबैलाई समान स्वागत गथ्र्यो– साहित्य–सेवा–सदन ।
- पुरुषोत्तम रिसालसँग त्यो बेला मेरो सङ्गत हुन थालेको थियो । म ऊसँग ‘हालखबर’का व्यङ्ग्य लेखक बकम्फुस शर्माको तारीफ गर्थें र पुरुषोत्तम भन्थ्यो, “त्यो त हाम्रै भैरव दाइले लेखेको त हो नि !”
त्यस दिन म श्यामजीकहाँ बिहान साँढे नौ बजेतिर पुगेको हुँदो हुँ । कवि नीरविक्रम प्यासी पहिले नै विराजमान रहेछन् र श्यामजीलाई आफ्नो नयाँ हास्य–कविता ‘रोमान्टिक हिरो अफ काठमाण्डू’ हाउभाउसाथ स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै सुनाउँदै रहेछन् । म पुगेपछि प्यासीले फेरि त्यसै गरी मलाई पनि सो कविता सुनाए । श्यामजीकै सल्लाह अनुसार त्यो कविता ‘हालखबर’मा दिन हामी दुवै साइकल सवार प्यासी र म –पुग्यौं ‘हालखबर’ अड्डा । त्यो पनि त्यही कमलपोखरीमै थियो । सम्पादकज्यू आइपुग्नुभएको रहेनछ ।
हाँ देख्यौं एक जना लबेदा शुरुवाल, सूती कोट, कालो भादगाउँले टोपी लगाएको, निधारमा कालो कोठी र गालामा केही डण्डीफोर बोकेको, कलेटी परेका ओठमा चुरोटको सुर्ती टाँसिएको, लाटो लाटो अनुहार परेको मान्छे टेबुलमा निहुरेर कलम धस्तै रहेछ । उसको छेउमा पुगेर प्यासीले आफ्नो नाम र काम बताएपछि आफ्ना अमिल्दा र चुरोटले पहेंलिएका दाँत देखाएर ङिच्च हाँस्तै त्यसले आफ्नो परिचय दियो, “म यहीं काम गर्छु, मेरो नाउँ भैरवप्रसाद अर्याल हो ।” उसको मसिनु र बेछाँटको बोली सुनेर हामी छक्क परेका थियौं । प्यासीले फेरि उत्तिकै जोशका साथ त्यो कविता उसलाई सुनाए र ‘हालखबर’मा छाप्न छाडे । म पनि ‘हालखबर’को ग्राहक बनें अनि नक्सालमा प्यासीसँग छुट्टिएर घर फर्कें ।
पुरुषोत्तम रिसालसँग त्यो बेला मेरो सङ्गत हुन थालेको थियो । म ऊसँग ‘हालखबर’का व्यङ्ग्य लेखक बकम्फुस शर्माको तारीफ गर्थें र पुरुषोत्तम भन्थ्यो, “त्यो त हाम्रै भैरव दाइले लेखेको त हो नि !” पुरुषोत्तमको दाज्यूले यस्ता च्वास्स घोच्ने र मन छुने खालका सामयिक व्यङ्ग्य लेखेको थाहा पाउँदा मलाई झन् खुशी लाग्यो र बकम्फुस शर्मासँगै भेट्न मन लाग्यो । अनि मैले पुरुषोत्तमलाई भनें, “ए तेरो भैरव दाइसँग भेट गरा न, उनकै मुखबाट व्यङ्ग्य कविता सुनौं ।” उसले मान्यो र डिल्लीबजार कोशी प्रोजेक्ट अफिसनिर बाटैको एउटा घरमा लग्यो– २०१७ साल बैशाख १९ गते ।
अँध्यारो छिडीबाट भर्याङ उक्लँदै हामी एउटा कोठामा पुग्यौं । त्यहाँ देख्छु पराले चारपाटेमाथि ओछ्याइएको लम्पटमा घुँडा मार्दै निहुरेर कलम घोटिरहेको उही हालखबरे कारिन्दो ! “उहाँ अर्याल दाइ” पुरmषोत्तमले भन्यो । मैले आफ्नो परिचय दिएँ । “हामी पहिले नै भेटिसकेका छौ नि, प्यासीजीसँग तपाईं ‘हालखबर’मा आउनु भएको हैन र ?” टाउको उठाएर हाँस्तै उसले भन्यो । बल्ल बुझें सक्कली बकम्फुस शर्मा त यो पो रहेछ ! मैले ‘हालखबर’का उसका व्यङ्ग्यहरुको बेलीबिस्तार लाएर तारीफ गरिदिएँ । आफ्नो नियमित पाठकै ठानेर होला उसले पनि मप्रति चाख देखायो । अनि त्यसै भेटघाटदेखि उसको र मेरो घनिष्ठता बढ्दै जान थाल्यो ।
- हामी एक छिन जानेहरुलाई त धूवाँको पीरो खारले त्यहाँ बसिसक्नु हुँदैनथ्यो भने त्यहाँका बासिन्दा भैरव र बलराम कसरी त्यत्रा दिन टिक्न सके अचम्मकै कुरा मान्नुपर्छ ।
भैरवसँग सत्र वर्षसम्मको लामो सङ्गतमा मैले उसको जीवनमा घटेका कतिपय दुःखद र सुखद स्थितिको साक्षी हुने मौका पाएको थिएँ । म काठमाडौं बाहिर गएको हुन्थें वा ऊ कतै गएको हुन्थ्यो भने पनि चिठी लेखेर मलाई आफ्ना व्यथा कथाहरु बताउँथ्यो । आफू ‘दीर्घसूत्री’ भए पनि मलाई चिठी लेख्दाचाहिं उसले अल्छी नगरेकै हो । चिठी लेखेर खाम र टिकट किनेर, टाँसेर, हुलाकसम्म धाएर खसाल्ने महाभारत गर्न उसको झार्लाङ्गी तालले कहिलेकहीं रोकेको बेला भने दुई, तीन महीनापछि भेट हुँदा एकैचोटि तीन–चारओटा चिठी दिन्थ्यो । तीमध्ये कोही टिकटविहीन खाममा बन्द गरिएका, कोही टिकटसमेत टाँसिएका र कोही भने गोरखापत्रे न्युजप्रिन्टका लंगौटीधरे कागजमा लेखिएका खुल्ला चिठी हुन्थे । म काठमाडौमै हुँदा पनि सोझै मलाई भन्न नसकेका र उसलाई घत लागेका कुराहरु चिठीमा लेखेर पोख्तथ्यो । उस सम्बन्धी उज्याला र अँध्यारा पक्षका बिर्सि नसक्ना सम्झनाका पोकाहरु मेरो मनमा खात लागेर बसेका छन् । तिनैमध्ये केही यहाँ फुकाउँदै छु ।
२०१८ सालमा ‘रचना’ निकाल्न सबभन्दा बढी चाख देखाउने र खट्ने भैरव नै थियो, तर यसको पहिलो अड्ढमा राख्ने आफ्नो हास्यव्यङ्ग्य लेख्न भने उसलाई ज्यादै सकस पर्यो । त्यो बेला भैरवको डेरा नक्सालमा थियो । चारढुंगेबाट कमलपोखरी जाने बाटाको मुखमै दाहिनेपट्टिको हलुवाइ पसलकै माथिल्लो तलामा ऊ बस्तथ्यो । तल मिठाई पकाउन आगो बाल्दा आउने धुवाँले उसको कोठा जुन बेला पनि कुइरीमण्डल हुन्थ्यो । त्यो पूरा घर नै धूवाँमय भएकाले उसले आफ्नो डेराको नाउँ नै राखेको थियो– ‘धूवाँ कुटी’ ।
हामी एक छिन जानेहरुलाई त धूवाँको पीरो खारले त्यहाँ बसिसक्नु हुँदैनथ्यो भने त्यहाँका बासिन्दा भैरव र बलराम कसरी त्यत्रा दिन टिक्न सके अचम्मकै कुरा मान्नुपर्छ । तल पसलमा बिहान सबेरैदेखि बालेको दाउराको धूवाँले कोठा कुइरीमण्डल भैहाल्छ त्यस्तो मथिङ्गल खलबल्याएर आँखा हेर्न नहुने धुवाँमा लेख्न सक्ने कुरै भएन । खाना पकाएर, खाएर अफिस हिंडेपछि अबेरसम्म पनि त्यहीँ घोटिई रहनुपर्छ अनि कुन बेला लेखोस् ऊ ! हामी अरु साथीले भने अड्डी नै लिएका थियौं उसलाई लेख्नै लगाउने । म बिहानै, बेलुकै उसलाई घचघच्याउन पुग्थें धुवाँ कुटीमा । पुरु पनि मेरो साथ दिन्थ्यो । “हुन्छ भरे राति त पक्कै लेख्छु” भन्थ्यो, तर सक्तैनथ्यो । म पनि छाड्दै छाड्दिन्नथें । लगातार आठदस दिन लखेट्ता पनि उसले लेख्ने सकेन । अनि म करकर गर्न आइपुग्छु भनेर दुई तीन दिन त डेराबाटै हरायो ।
एक दिन बिहानै ऊ मकहाँ आइपुग्योे र मैले झम्टनुभन्दा पैल्यै कोटको भित्री खल्तीबाट कापी निकाल्दै भन्यो, “तिमी हैरान पार्ने, आफूलाई र धुवा कुटीको धुवाँ र गोरखापत्रको जागिरले फुर्सदै नमिल्ने, लौ त भनेर दुई तीन दिन डेरै नबसेर घरैबाट धाउन थालें र बल्ल लेख्न सकें ल सुन !” उसले लेखको शीर्षक राखेको थियो– ‘टी पार्टी’ र लेखकको नाउँ दिएको थियो –भैरवप्रसाद अर्याल । छाप्ने बेलामा मैले यसबाट प्रसाद झिकिदिएको थिएँ । ‘टी पार्टी’ले नै उसलाई हास्य व्यङ्ग्कारको पगरी गुताइदिएको कुरा भैरव बराबर गर्दथ्यो ।
- खाना आइपुग्योे, भैरवको अगाडि सिङ्गो कुखुराको लम्बे सेकुवा । उसले भन्यो, “के ल्याएको यो ? मैले त रोस्ट पो माग्या !” विकलले भन्यो, “रोस्ट भन्या यै हो नि लाटा !” “ए, म त रोस्ट भन्या टोस्ट जस्तो पो होला भन्या त......”
यसरी नै ‘रचना’ मा जति पनि उसका कृतिहरु छापिएका छन् ती सजिलै जन्मेका हैनन् । कतिसम्म भने घाँटी दुखेर उसलाई सताइरहेको छ, उता भाइ या अरु कोही बिरामी परेर अस्पताल कुर्न जानुपर्छ, गोरखापत्र र मधुपर्कका निम्ति चौबीसै घण्टा जसो दलिनुबाहेक थप रामभक्ति समेत गर्नु परेको छ, गोकर्णदेखि पैदलै हिंडेर अफिस धाउनुपरेको छ, सम्पादकज्यूकहाँ दुईतीन घण्टा थुनिएर गहकिलो ग्रन्थ लेखिदिनुपरेको छ, यस्ता सकसका वेलामा पनि म उसलाई सताउन छाड्दिनथें र ऊ हार्न सक्तैनथ्यो अनि लेख जन्मन्थ्यो । जन्मने मात्र हैन त्यो उत्कृष्ट जन्मन्थ्यो । यस्तै टाउको दुखेको पीडादायक स्थितिमा लेखेको एउटा व्यङ्ग्यको शीर्षक नै पनि उसले दिएको थियो– ‘टाउको’ । उसको व्यङ्ग्यका पात्र र घटनाहरु कोरा काल्पनिक हुँदैनथे । उसले सिर्जिएका कयौं पात्रहरुलाई म चिन्दछु र कति घटनामा त ऊसँगै म पनि सामेल छु ।
२०१९ सालमा उत्साहित हुँदै भैरवले प्रस्ताव राख्यो ‘रचना’ तीन महीने गराउने । तीन महिने ‘रचना’का निम्ति हामी नेपाल पे्रसमा खूव खट्थ्यौं र नजीकको उत्तम रेष्टुराँमा खाजा खान्थ्यौं । एक दिन हामी– भैरव, विकल, रमेश बाँस्कोटा र रोचक – उत्तम रेष्टुराँमा खाजा खान पस्यौं । मेन्यु हेर्दै भैरवले भन्यो, “आज त म रोस्ट खाने बा !” बाँस्कोटाले अर्डर गरे भैरवलाई रोस्ट र अरुलाई राबडी ।
खाना आइपुग्योे, भैरवको अगाडि सिङ्गो कुखुराको लम्बे सेकुवा । उसले भन्यो, “के ल्याएको यो ? मैले त रोस्ट पो माग्या !” विकलले भन्यो, “रोस्ट भन्या यै हो नि लाटा !” “ए, म त रोस्ट भन्या टोस्ट जस्तो पो होला भन्या त......” भैरवले कुरो पूरा गर्नै पाएको थिएन बेयरासहितको हाम्रो सम्मिलित हाँसोतिर छेउछाउका भलाद्मीहरुको समेत दृष्टि पर्न लागेको थियो । पछिसम्म पनि हामी चारै जना कतै खान जुट्ता यो घटना सम्झन्थ्यौं र त्यो बेलाको आफ्नो बेहोशी सम्झेर भैरव मरीमरी हाँस्थ्यो । भैरव बितिसकेपछि हामी त्यसरी जुट्नै सकेका छैनौं । कहिलेकहींं म एक्लै यो घटना सम्झन्छु, तर हाँस्न सक्तिनँ ।
२०२० सालको शुरुदेखि नै भैरवलाई घाँटी दुख्ने पुरानो रोगले निकै सतायो । डाक्टरको सल्लाहअनुसार उपचार गर्न दिल्ली जानुपर्ने भयो । राजदरबारका तत्कालीन जनसम्पर्क अधिकारी पूर्णप्रसाद ढुंगेलको सहयोगबाट दिल्लीमा उसको औषधी गराउने व्यवस्था राजदरवारबाट हुने भयो । दिल्ली जाने बाटोखर्च पनि उसको हात पर्यो । चाहिने अरु खर्च दिल्लीमै नेपाली दूतावासमार्फत प्राप्त हुने आश्वासन दिइएको थियो । बिरामी हुँदा एक्लै जाने आँट गरेन उसले । मेरा साथी बाबुराम पौडेल त्यो बेला दिल्लीमै पढ्थे र त्यहाँ उनबाट पूरा मद्दत पाइने हुँदा म पनि ऊसँग जान तयार भएँ ।
हामी पटनासम्म प्लेनमा गयौं । पटना एयरपोर्टमा ओर्लेपछि लाइब्रेरी साइन्स पढ्न दिल्ली जान लागेका एक जना नेपाली युवकसँग हाम्रो भेट भयो । उनी एक्लै भएका र चार भञ्ज्याङ कहिल्यै नकाटेका हुनाले दिल्लीसम्म जान हाम्रै पछि लाग्न थाले । जहिले पनि टोपी लगाइराख्ने यी महाशय काठमाडौमा बराबर देखिन्थे, तर हाम्रो परिचय भने थिएन । पटना एयरपोर्टमा ओर्लनासाथ सूटमा सजिएका उनले सबभन्दा पैले आफ्नो टोपी फुकाले । अचम्म ! पूरा खल्बाट् पो रहेछन् उनी त ! बल्ल उनको टोपीप्रेमको रहस्य खुल्यो हामीलाई । ती खल्वाट साथी एयरपोर्टबाट पट्ना रेल्वे स्टेसनसम्म हामीसँगै आए । एक्लै हिंड्न उनी डराउँथे, कारण उनलाई हिन्दी ठ्याम्मै नआउने, उनले बोलेको अंग्रेजी अरुले पटक्कै नबुझ्ने ! कुरैपिच्छे तिनको थेगो– “प्रेस्टिज राख्नुपर्छ है, नत्र इन्डियनले हेप्छ !”
- यी महाशयलाई पछि पनि काठमाडौमा सुट र टोपीमा देख्दा भैरव र मलाई खूब हाँसो उठ्थ्यो । अब भैरव बितिसकेपछि तिनलाई देख्ता म एक्लै हाँस्न सक्तिनँ उल्टो भैरवको सम्झनाले बडो पिरोल्छ त्यो बेला ।
अब हाम्रा साथीलाई प्रेस्टिज राख्न सबभन्दा पहिले आफ्नो खल्बाट् छोप्नुपरेछ । नेपाली टोपी लगाउने कुरै आएन प्रेस्टिज डाउन भैहाल्ने ! प्लेटफर्ममा मलाई सामान कुर्न लगाएर भैरवलाई लिएर हिंडे उनी बजारतिर । पूरा दुई घण्टा बिताएपछि जिन्ना क्याप ढल्काउँदै आइपुगे प्रेस्टिज महाशय । टे«न त छुटिसकेकै थियो फेरि तीन घण्टा प्लेटफर्ममा चक्कर लगाएर बिताउनुप¥यो । जिन्ना क्यापधारी हाम्रा प्रेस्टिज महोदयलाई मुस्लिम फकिर र मगन्तेहरुले घेर्न थाले र भन्न लागे, “खुदा के लिए कुछ रहम् करो बेटा !” कतिसम्म भने साँझ घाम डुब्ने बेलामा प्लेटफर्मका मुस्लिम भाइहरु गम्छा ओछ्याएर पश्चिम फर्कंदै नमाज पढन थाले, हाम्रा प्रेस्टिज साथी बसेर फिल्मफेयर पल्टाइरहेका थिए । एक जना बूढो मुस्लिमले प्वाक्क भनिहाल्यो– “कैसे काफिर हो मियाँ तुम्, नमाज के वक्त को यूँ ही टाल रहे हो ?” बिचरा कुरै नबुझ्ने के भनुन् के गरुन् ! हामीलाई भित्रभित्र बडो हाँसो उठ्यो । खुलेर हाँसौं उनको प्रेस्टिज डाउन हुने, नहाँसौं थाम्नै नसकिने ! तै उनले हत्त न पत्त नजीकैको शौचालयतर्फ कुलेलम ठोके र मात्रै भैरव र मैले मरिमरी हाँस्न पायौं ।
भैरवलाई मभन्दा पनि सोझो देखेर दिल्ली पुगुन्जेल तिनले निकै सताए । एक पटक ट्रेनको माथिल्लो बर्थमा सुतेका उनका कयौं अनुरोध पूरा गर्दै तल बसेको भैरवसँग आफ्नो जुत्ता माथि उनलाई पुग्न दिन “प्लीज भैरवजी, त्यो जुत्ता.....” मात्र के भनेका थिए भैरवले आफ्नो भीषण रौद्ररुप नै देखाइदियो । अबचाहिं ती झस्के र भैरवलाई हेप्न सकेनन् । यसै गरी उनी जतिजति आफ्नो प्रेस्टिज राख्न खोज्थे उतिउति तिनको प्रेस्टिज खुस्कँदै जान्थ्यो । भैरवले ‘साथी, साथी र साथीमा प्रेस्टिज नामधारी यी हलो साथीलाई पनि पात्र बनाएको छ । यी महाशयलाई पछि पनि काठमाडौमा सुट र टोपीमा देख्दा भैरव र मलाई खूब हाँसो उठ्थ्यो । अब भैरव बितिसकेपछि तिनलाई देख्ता म एक्लै हाँस्न सक्तिनँ उल्टो भैरवको सम्झनाले बडो पिरोल्छ त्यो बेला ।
दिल्लीमा हामी बाबुराम पौडेलकहाँ बस्यौं । भैरवको उपचार हुन थाल्यो, तर दस पन्ध्र दिन बितिसक्ता पनि काठमाडौबाट खर्च आइपुगेन । दिनहुँ दूतावास धाउथ्यौं राजदूत यदुनाथ खनालज्यूले ताकिता गरिदिनुभएको हो तैपनि आइपुगेन । हामीसँग भएको खर्च सकिंदै आयो । अनि भैरवलाई बाबुरामकै जिम्मा लगाएर जनकपुरबाट केही खर्च पठाइदिने सुरले म यतातिर आएँ । म आइपुगेको चार पाँच दिनपछि नै भैरवको एउटा पोस्टकार्ड जनकपुरमा आइपुगेछ ।
म गाउँमै थिएँ । साथी दामोदर ‘नयन’ले आत्तिएर त्यो तत्काल मकहाँ पठाइदिनु भयो । हेरेर म खङ्ग्रङ्ग भएँ । त्यसमा हताश भएर उसले आफूलाई जमुनामा बिसर्जित गर्ने कुरा लेखेको थियो । मैले तुरुन्त उसलाई सम्झाएर चिठी लेखें । तै पछि यताबाट खर्च पनि पुगेछ र फेरि हस्पिटलको चक्कर शुरु भएछ, तर डाक्टरले निराशाजनक कुरा गरिदिएकाले ऊ ज्यादै नै विरक्त भएछ । यसै बेलादेखि नै उसमा आफ्नो जीवनदेखि पूरा वितृष्णा प्रकट रुपमा देखिन थालेको हो ।
- एक दिन राति पतिको अनुपस्थितिमा ती विचरीमाथि आफ्नै देवरको कुदृष्टि परेछ र भोलिपल्ट उनी भैरवसँग रोइछन् ।
पछि काठमाडौ फर्केपछि पनि ऊ भन्थ्यो, “दिल्लीकै जमुनामा, डुबुल्की लगाउने सुर थियो बाबुरामले छेके । बनारसमा पनि गङ्गामा हाम फाल्ने नै विचारले गएको थिएँ, तर पुगेदखि फर्कुन्जेल नै शिव भट्टराईले छाड्दै छाडेनन् र मौकै मिलेन । रक्सोलसम्म आउँदा पनि रेल दुर्घटना भैदेओस् भनेर कति चिताएँ, अहँ भएन । वीरगञ्जदेखि काठमाडौंसम्म आउँदा पनि बसमा नचढेर थोत्रो ट्रक खोजेर त्यसमा चढेर आएँ, त्यो पनि साबुतै आइपुग्योे । अझै कति सास्ती खानुपर्ने हो किन मर्थें चाँडै !”
देख्ता भैरव सोझो र नपत्याउने खालको भए पनि ‘प्रेम’ गर्ने र ‘प्रेमिका’ पट्याउने कलामा चाहिं खपिस नै थियो । मलाई थाहा भएका उसका केही प्रेम प्रसँग यहाँ उल्लेख गरौं । ऊ बराबर मसँग अर्को बिहे गर्ने बारे सल्लाह माग्थ्यो । यस्तै कुरा डा. नवराज चालिसेसँग पनि गर्दो रहेछ । हामी विवाहित र केटाकेटीको बाबुसमेत भैसकेको उसका यस्ता कुराका विरोधी थियौं । मसँग चिनजान नहुँदै पन्ध्र–सोह्र सालतिरकै कुरा हो एक जना शिक्षित र सुशील युवतीलाई उसले मन पराएछ । युवती पनि ऊसँग आकर्षित भैछन् । बिहे गर्ने आँट्चाहिं भैरवले गर्न सकेनछ र पछि उसकै साथीमध्येका एक जनासँग ती महिलाको बिहे भएछ ।
तैपनि भैरवसँग ती महिलाको सम्बन्ध पहिलेझैैं मधुर थियो । योचाहिं मसँग चिन जान भैसकेपछि कै कुरा हो । आफ्नै साथीसँग विवाहित ती महिलालाई प्रेम पत्र लेख्ने आँटसमेत भैरव गर्दो रहेछ । यस्तै लेखेर तिनलाई दिन नसकेको एक पत्र मसँगै रहेको पनि थियो । ती महिला भैरवलाई आफ्ना अन्तरङ्ग कुरा बराबर भन्दथिन् र ऊ मलाई सुनाउँथ्यो । एक दिन राति पतिको अनुपस्थितिमा ती विचरीमाथि आफ्नै देवरको कुदृष्टि परेछ र भोलिपल्ट उनी भैरवसँग रोइछन् । भैरवले यसै घटनामा आधारित आफ्नो एउटा कथा ‘भाउजू’ शीर्षक दिएर ‘मुकुट’ (वर्ष २ अड्ढ १ )मा छापेको छ ।
उसले त्यसका पात्र र त्यो घटनालाई जीवन्त रुपमा आफ्नो कथामा उतारेको छ । नरोत्तमले त्यस कृत्यको पश्चात्ताप गरेर भैरवसँग माफी माग्दै लेखेको चिठी पनि मैले देखेको थिएँ । त्यस कथाका पात्र शीला र नरोत्तम आज पनि मेरो अगाडि देखा परिरहेका छन् । नरोत्तम त मसँग हच्कन्छ पनि त्यसको कर्तुत मलाई थाहा छ भनेरै होला, तर यसको सर्जक भैरव छैन र अब शीला आफ्ना अन्तरङ्ग कुरा आफैंभित्र गुम्स्याएर राख्ति होलिन् । म पनि त सामाजिक शिष्टाचारको बाध्यताले यो कुरा खुलस्त कसैसँग गर्न सक्तिनँ । जोसँग गर्थे त्यो भैरव बिलाइसक्यो ।
- उसको रुचि र संस्कारअनुरुप आफूलाई ढाल्न सक्नु भाउज्यू (श्रीमती भैरव) को बुता बाहिरको कुरा थियो । आफ्ना मन मिल्दा साथीहरुसँग भैरव यस्ता पारिवारिक असन्तोषका कुरा बराबर गर्दथ्यो ।
एक्काइस सालतिर उसको अर्को प्रेमचक्कर सुरु भयो । त्यस बेला ऊ नयाँसडक पारस एक होटल अगाडि सपरिवार डेरा गरेर बस्तथ्यो । एक जना काठमाडौं बाहिरकी उदीयमान लेखिका भैरवका कृति पढेर मुग्ध भैछन् र ऊसँग परिचय गर्न आइछन् । उनी केही सिक्ने निहुँमा भाउज्यू (श्रीमती भैरव) माथि बुइगलमा भान्साको तरखरमा भएको बेला पारेर दिनहुँ बिहानै बेलुकै आउँदी रहिछन् र भैरवलाई बराल्न खोज्दी रहिछन् । यिनको मुखमा मिर्जापुरी झर्काको थालको पछाडीपट्टि हुने जस्तै दाग भएकाले भैरव तिनलाई मिर्जापुरी भन्थ्यो । यी मिर्जापुरीले आफ्नो जाल निकै फैलाइसकेकी रहिछन् । कहाँसम्म भने यस्तो स्थिति खप्न नसकेर श्रीमती भैरवले आत्महत्यासम्म गर्न तम्सनुपरेको कुरा २२ जेठ २०२२ को मेरो डायरीका यी टिपोटबाट थाहा पाइन्छ –
“बिहानै भैरव आइपुग्योे । श्रीमती भैरवसँग उही कुरालाई लिएर ठाकठूक परेछ उसको, अनि गैछन् मर्छु भन्दै, विचरो अतालिंदै आइपुग्योे मकहाँ छन् कि भनेर, तर यहाँ थिइनन् र गयौं खोज्न दुवै जना । पुरु पनि सम्मिलित भो । काठमाडौं, ताहाचल, स्वयम्भू आदि मध्याह्नको टन्टलापुरे घाममा घुमियो, तर कहाँ भेट्नु ? हैरान भएर पुलिसमा रिपोर्ट लेख्ने सुरले आयौं भैरवकै डेरामा । उनी त त्यहीं पो बसिराखेकी !” ती मिर्जापुरीको अर्के व्यक्तिसँग बिहे भएपछि चाहिं भैरवसँग तिनको पिण्ड छुट्यो ।
मैले थाहा पाएकामा उसको तेस्रो र अन्तिम प्रेमप्रसङ्गचाहिं ऊ जर्मन जानुअघि २०२८–०२९ सालतिर उसकहाँ पढ्न आउने एक जना एस.एल.सी.की छात्रासँग शुरु भएछ । तिनीहरुमा सँगै सिनेमा हेर्न जाने, घुम्न जाने क्रम समेत शुरु भएछ र यसले पनि निकै चर्कोसँग पारिवारिक कलहको रुप लिएछ । जर्मनी पुगेर पनि भैरवले ती छात्रालाई प्रेमपत्र लेखेको मलाई थाहा छ । भैरव जर्मनीबाट फर्केपछि चाहिं यो प्रसङ्ग टुट्यो ।
भैरवको दाम्पत्य जीवन त्यति सन्तोषप्रद थिएन । उसको रुचि र संस्कारअनुरुप आफूलाई ढाल्न सक्नु भाउज्यू (श्रीमती भैरव) को बुता बाहिरको कुरा थियो । आफ्ना मन मिल्दा साथीहरुसँग भैरव यस्ता पारिवारिक असन्तोषका कुरा बराबर गर्दथ्यो । यस्तै असन्तुष्टिहरुले नै भैरवलाई यस्ता प्रेमप्रसङ्गहरुतिर डोर्याएको हुन सक्छ ।
केही कुरामा भैरव ज्यादै लापर्वाही गथ्र्यो र उसँग मेरो खट्पट पथ्र्यो, जङ्गाजङ्गी हुन्थ्यो । एक पटक उसले पढ्न लगेको मेरो दुर्लभ खाले पुस्तक ज्यादै दुर्गति पारेर फर्कायो –कयौं पाना नै गायब ! मलाई झोक चल्ने अर्को कारण त्यसै पटक के पनि थपियो भने एक जना साथीले विदेशबाट ल्याइदिएको गतिलै पार्कर कलम लेख्न भनेर उसले लिएको थियो, कुन सुरमा त्यो केटाकेटीको हातमा परेछ र त्यसको निबले फालीको रुप लिन पुगेछ । मलाई उसको यस्तो हुस्सुपन देखेर सार्है नै जङ चल्यो र झपारें । आँखाबाट आगाका फिलुङ्गा निकाल्दै ऊ गज्र्यो– “पढ्दा किताब च्यातिन्छन्, लेख्ता कलम भाचिन्छन् । शोकेसमा सजाएर ताल्चा मारेर राखे रहन्छन् !”
- हाम्रो प्रेसको किताब छपाइ, अधिकारीजीको भनाइ, अनि साथीका निम्ति मरिमेट्ने भैरवको हण्डर खुवाई सम्झेर आज पनि मन दिक्क हुन्छ मेरो ।
यस्तो जवाफ सुनेर म तीन छक परें र ठानें– आफ्नो मालको दुर्गति देखेर पनि मैले सहनशील हुनुपर्ने रहेछ ! उसले थप्यो, “मैले जानीजानी यसो गरें त ?” “चाहे जानेर गर या नजानेर, कसैको नासो लिएपछि त्यसको जतन गर्ने काम पनि त तिम्रै हो ।” मैले भनें ।
तर ऊ किन सुन्थ्यो र मेरा यी कुरा । के के फलाक्त्तै फन्केर हिंड्यो बस्तै नबसी । केही बेरपछि नै उसले हेर्न लगेका मेरा सारा किताबहरु आफ्नो भाइलाई बोकाएर फिर्ता पठाइदिएछ । मैले सोचें– गल्ती उसकै हो रिसाए रिसाओस्् ! भोलिपल्ट बिहानै ऊ आयो र भन्यो, “हिजो अधिकारीजी भेटिएका थिए, व्यास प्रेसका निम्ति किताब छाप्न मागेको छु हुन्छ भनेका छन्, हिंड आज जाऊँ साझा प्रकाशनतिर ।” ममा चाहिं हिजोको राप अझै थियो र बोलिनँ । उसले भन्यो, “छोड्देउ हिजोको कुरा, हिजो गल्ती मेरै थियो । जोसँग साधिकार सम्बन्ध हुन्छ फन्कने र रिसाउने पनि उसैसँग त गरिन्छ नि ।”
अब मेरो रीस मरिसकेको थियो । उसले मकहाँ नै खाना खायो अनि अधिकारीलाई भेट्न हामी गएका थियौं ।
अधिकारी भन्दा यहाँ अर्को प्रसङ्ग पनि सम्झिएँ । भैरवकै विशेष जोडले अधिकारीजीले हामीलाई ‘मसान’ नाटक छाप्न दिनुभयो । हाम्रो प्रेसको पहिलो उत्पादन भए पनि तयार हुँदा त्यो ज्यादै विरुप भएर निस्क्यो । किताब बुझाउन साझामा पठायौं, तर बुझिदिएनछन् । क्यै सीप नलागेर भैरव र म नै त्यहाँ गयौं । अनि अधिकारीजीले भलाद्मी पाराले हामीलाई भित्तो पुर्याएर भन्नुभो ।
हामीले गल्ती सकार्यौं, आइन्दा यस्तो नहुने बाचा गर्यौं । बाहिर निस्केपछि भैरवले भन्यो, “रोचक, आज मरेजस्तो लाग्यो मलाई त ! विचरा अधिकारीले के गरुन् उनले पनि न आफ्नो टाउको जोगाउनै पर्यो, नत्र उनीमाथिको घन्टाउकोले थिचिहाल्छ । कस्तो उत्साहले लिएको काम यस्तो नमज्जा भो ! हामीले पनि के काम गरेर खाउँला खै ?” यस्तो पीरको बेलामा पनि हाँसो निकाल्दै फेरि उसले भनेथ्यो, “हामी पनि त उस्तै नि पहिलो साइत नै मसानबाट गरेपछि भलो कहाँबाट होस् त !” हाम्रो प्रेसको किताब छपाइ, अधिकारीजीको भनाइ, अनि साथीका निम्ति मरिमेट्ने भैरवको हण्डर खुवाई सम्झेर आज पनि मन दिक्क हुन्छ मेरो ।
२०३३ साल भदौ महीनाको आखिरी कुनै दिन साँझ भैरव मकहाँ आयो र भन्यो, “तिमीसँग धेरै दिन भो कुरा गर्न नपाएको, भोलि बिहान मकहाँ खाने गरेरै आउ न !” मैले भने, “तिमी नै यहाँ आएका छौं आज यतै बसे भैहाल्छ नि !” उसले अन्कनाउँदै भन्यो, “हैन अहिले घरै जान्छु गइनँ भने कतातिर मर्न पो हिंड्यो कि भनेर आत्तिन्छन् फेरि । भोलि बिहानको रेडियोलाई सामयिक चर्चा पनि लेखेर दिनु छ भ्याइँदैन !”
- कुनै ठूलोबडो प्रकाशन संस्था आफू छाप्न भनेर किताब माग्थ्यो र छाप्थ्यो अर्केको नाउँमा । अनि कुनै प्रकाशकचाहि आफूले हजारौं कमाउन सक्ने किताब केही सय रुपैयाँ दिएर उसँग लिन्थ्यो र सर्वाधिकार प्रकाशकमा भन्ने कागजमा झुक्याएर सही गराउँथ्यो ।
मेरी श्रीमती सुस्मिताले पनि आग्रह गरेपछिचाहिं हार्न सकेन र बस्यो । त्यो राति हामी अबेरसम्म गफ गरिरह्यौं । उसले आफूप्रति धेरैले षड्यन्त्र गरिरहेका, धोका दिइरहेका, तालुमाथि तातो खरानी खन्याइरहेका, आफैले अफिसमा घुसाएका पुङमाडे पुरेतसमेत गजक्कसँग फुलेर आफ्नो दानापानी हर्न तम्सिरहेका, आफ्नो बौद्धिक श्रमको कमाइ डकारेर मोटाएका नकच्चराहरुका अगाडि मगन्तेका झैं आफूले दाह्रा ङिच्याउनुपरेका, आफ्नै स्वजन, मान्यजनहरुसमेत अप्रत्यक्ष्यमा यो बौलाहा भनेर आफूप्रति छेड हानिरहेका आदि अनेकौं कुरा गर्यो र अन्त्यमा भन्यो– “हेर मैले एउटा मान्छेले आफ्नो लम्बे जीवनमा भोग्न चाहने अनुभव जति भोगिसकें । दुख–सुख, नाम–बदनाम, नोकरी–चाकरी, देश–विदेश, घर–बास आदि सारा कुराको अनुभव मैले पाइसकें । अब रित्तो ठाँडो भैसकेको म तिमीहरु कसैको पनि साथ दिन सक्तिनँ ।”
शब्द केही फरक परे पनि मैले सम्झेसम्म उसले भनेका कुरा यिनै हुन् । उसले ज्यादै गम्भीर भएर गरेका यस्ता बैरागी कुरा सुनेर मैले आफ्नो बर्गतले भेटेसम्म उसलाई सम्झाएँ, जीवनका उज्याला पक्षहरु देखाउने प्रयास गरें, र भरोसा दिएँ ।
रात धेरै बितिसकेकोले हामी सुत्यौं । भोलिपल्ट ढिलै उठिएछ । हतार हतारमा उसले सामयिक चर्चा लेख्यो र त्यो पुर्याउन मैले वासुदेव पौडेललाई रेडियोतिर दौडाएँ । उसले नवराजकहाँ जाऊँ भन्यो र हामी चावेलतिर लाग्यांै, तर उनी भेटिएनन् । फेरि हल्लिँदै पुग्यौं बत्तीसपुतली अधिकारीकहाँ । त्यहाँ पनि भेट भएन र फर्कियौं मेरै घर । बाटोमा उसको सामयिक चर्चा रेडियोमा आइरहेको सुनेपछि ढुक्क भएर उसले भन्यो, “अबचाहिं ४० रुपैयाँ पाक्यो बा !” ११ बजे अफिस पुग्नुपर्ने भएकोले हतार हतार खाना खाएर ऊ हिंड्यो ।
भैरवले मसँग त्यो दिन पोखेका बहहरु सोह्रआना मनासिब थिए । हुन पनि उसको आर्थिक विवशता र सोझोपनको फाइदा धेरैले धेरै पटक उठाएका छन् । कोही वरिष्ठ सम्पादक कहलाएर मानसम्मान र पत्रकार संघको सभापति पद नै पड्काउँथे, तर तिनको हरेक अड्ढको सम्पादकीय भैरवले लेखिदिनु पथ्र्यो । कुनै महिला नेत्री महिला सम्बन्धी ग्रन्थ लेखेर सम्माननीया हुन पुग्थिन्, तर तिनको त्यस ग्रन्थको प्रमुख लेखक भैरव आफ्नो पारिश्रमिक नपाएर धाउँदैमा हैरान हुन्थ्यो । कुनै ठूलोबडो प्रकाशन संस्था आफू छाप्न भनेर किताब माग्थ्यो र छाप्थ्यो अर्केको नाउँमा । अनि कुनै प्रकाशकचाहि आफूले हजारौं कमाउन सक्ने किताब केही सय रुपैयाँ दिएर उसँग लिन्थ्यो र सर्वाधिकार प्रकाशकमा भन्ने कागजमा झुक्याएर सही गराउँथ्यो । यसरी सहस्स्रतिर हात मुख चलाएर, सहस्स्रातिर आफूलाई छरेर कमाउँदा पनि पैसाले उसका, स्वजन, मान्यजनहरुलाई कहिल्यै पुग्दैनथ्यो । घर व्यवहार चलाउन हम्मेहम्मे पर्दथ्यो ।
- बाटोभरि ऊ गम्भीर देखियो, बोलेन । उताबाट आइरहेका ध्रुव सापकोटाले हामीतिर हात उठाए, उसले वास्तै गरेन । इन्द्रपुरी अगाडि पुगेपछि भन्यो, “खाजा ख्वाउँदैनौ !”
आफ्नो पसिनाको कमाइले उसले दुईदुइटा घर बनायो, मान्यजन र स्वजनहरुप्रति आफ्नो कर्तव्यमा कहिल्यै चुकेन । यी सबै कुराको सट्टा भैरवले आफन्तहरुबाट चाहेको थियो– अलिकति स्नेह सद्भाव र सहानुभूति, तर उसले पायो तिरस्कार, ईष्र्या र घृणा ! उसका स्वजनहरु उसलाई उसकै अरु साथीसरह कमाउन, शहरतिर दुईतीनटा घर जोर्न, तराईतिर खेती जोर्न नसक्ने, विदेशबाट फर्कंदा डलरको पोको ल्याउन नसक्ने, हुतिहारा भनेर घोच्थे । आफन्तहरुको यस्तो चाल थियो भने अर्कोतिर उसको कुनै साथी जसलाई ऊ परम हितैषी र अभिन्न ठान्थ्यो भैरवको कुनै किताब पाठ्यक्रममा राख्न घूससमेत माग्दथ्यो ।
आफ्नो कार्यालयका हाकिम र केही सहयोगीहरुको व्यवहारबाट पनि ऊ वाक्क थियो । उसको श्रमको कदर गर्ने विवेकशील सम्पादक गोपालप्रसाद भट्टराई दुई अक्षरको सिकार भैसकेका थिए । यस्ता असहनीय र मर्मान्तक चोट उसले खप्नु परिरहेको थियो । उसको मानसिकता यिनै सब कारणले विचलित भैरहेथ्यो । उसले आफ्नो मन बुझाउने आधार कतैतिरबाट पनि पाइरहेको थिएन ।
७ असोज २०३३ का दिन साँझपख म नयाँसडकबाट काठमाडौंतिर जाँदै थिएँ भूगोलपार्क पुगेपछि भैरव देखिन्छ कि भनेर गोरखापत्र कर्पोरेसनको कौसीतिर मेरा आँखा स्वतः पुग्दथे । देखें भैरव त्यहीं उभिएर कसैसँग गफ गर्दै रहेछ । मलाई देख्यो र “पर्ख, आउँछु” भनेर इशारा गर्यो । म पारस होटलनिर पुगेर अडें । ऊ आयो । मेरो काठमाडौं गणेशतिरै जानु थियो ऊ त्यता जान मानेन । अनि पीपलबोट, महिला सङ्गठन पछाडिको बाटो हुँदै हामी खिचापोखरीतिर लाग्यौं । बाटोभरि ऊ गम्भीर देखियो, बोलेन । उताबाट आइरहेका ध्रुव सापकोटाले हामीतिर हात उठाए, उसले वास्तै गरेन । इन्द्रपुरी अगाडि पुगेपछि भन्यो, “खाजा ख्वाउँदैनौ !”
हामी भित्र पस्यौं र पुरी अडर ग¥यौं । भैरव चुपचाप रहेको देखेर मैले मौनता तोडें, “किन भैरव तिमीलाई सन्चो छैन कि कसो ?” उसले अनपेक्षित जवाफ दियो, “भैरव भन्ने तिम्रो कुनै साथी थियो भन्ने कुरा त बिर्सने बेला आइसक्यो, अब संचोसुविस्ताको के कुरा गर्छौ ! मलाई सञ्चै पो कहिले थियो र ?” “के बोल्छौ तिमी .....?” मैले कुरो पूरा गर्न नपाउँदै उसले भन्यो, “मेरो घाँटीबाट जर्मनीले हालिदिएको गधाको स्वर निस्के पनि यो मैले नै बोलेको हुँ !” त्यही सामुन्ने स्विस बस सर्भिसको अफिस देखिन्थ्यो त्यता आँखा परेपछि मैले भने, “साँच्ची म त पर्सि पोखरा जाँदैछु नि !” उसले चाख देखाएर भन्यो, “उसो भए मलाई पनि लग न त !” मैले खुसी हुँदै भने, “हिंड न त रमाइलै हुन्छ, केही दिन घुमौंला, अझ बिदा पाउँछौ भने त्यतैबाट भैरहवासम्म पनि पुगेर आउँला ।”
- छोराहरुतिर देखाउँदै उसले भनेछ, “यिनीहरुलाई घुमाउन ल्याएको, म बिस्तारै आउँछु तपाईंहरु जानोस् !” र ऊ टोलाउँदै त्यहीं बसेछ । घर आएर यी कुरा सुनाउँदै सुस्मिताले भनिन्, “किन हो भैरवजीको अनुहार र तिनको चाल त बेग्लै देखें है आज मैले !”
अब भने मैले देखें– उत्साहको सञ्चार भएको छ उसको हाउभाउमा । हाम्रो अर्डर पनि आइसकेको थियो । खाँदै गफ गर्न थाल्यौं । ऊ सेती, फेवा, माछापुच्छ«े र सब भन्दा बढीचाहिं अतीतमा आफूले मास्टर भएर पढाएको कन्धनी डाँडाको कुरा बडो रस लिएर सुनाउन थाल्यो । केही सम्झेझैं उसले भन्यो, “टीकापछि जाऊँ न हुँदैन ? म लामैविदा लिंदैछु ।” टीकाअघि नै पुगेर आइसक्ने मेरो विचार भए पनि सँगै जाने मन गरेर उसले कर गरेको हुँदा मैले मानें । होटलबाहिर निस्केर स्विस बस अफिसमा गयौं, त्यहाँका गोविन्द विष्टले चार्ट पल्टाउँदै टीकाको पर्सिपल्ट असोज १६ गतेलाई अगाडिकै दुइटा सिट मेरो नाममा राख्न टिपे । अनि हामी शहीदगेट, भद्रकाली हुँदै रत्नपार्कतिर लाग्यौं । बाटोमा पनि पोखराकै गफ चले । हामीले कुरो पक्का गर्यौं– अब यसबीच हाम्रो भेट भए पनि नभए पनि त्यसै दिन बिहान ७ बजे खिचापोखरीमा भेट्ने । त्यसपछि म उसलाई जोरपाटीको बसमा चढाएर छुट्टिएँ ।
दशैंको नवमीका दिन बिहान मेरा घरका जहान गुह्येश्वरी दर्शन गर्न गएका थिए । गुह्येश्वरीको मूल ढोका अगाडि वाग्मती किनारको चौतारोमा टुक्रुक्क बस्तै उत्तरतिर फर्केर टोलाइरहेको भैरवतिर सुस्मिताका आँखा पुगेछन् । उसँग दीपक र प्रकाश (छोरा) पनि रहेछन् । उनीहरु दर्शन गरेर फर्कंदा पनि भैरवलाई त्यसै गरी एकनाससँग बाग्मतीमा बगेको पानीतिर हेरिरहेको देखेर नजीक पुग्दै सुस्मिताले सोधिछन्, “किन बसिरहनुभएको जाने हैन ?” छोराहरुतिर देखाउँदै उसले भनेछ, “यिनीहरुलाई घुमाउन ल्याएको, म बिस्तारै आउँछु तपाईंहरु जानोस् !” र ऊ टोलाउँदै त्यहीं बसेछ । घर आएर यी कुरा सुनाउँदै सुस्मिताले भनिन्, “किन हो भैरवजीको अनुहार र तिनको चाल त बेग्लै देखें है आज मैले !”
चाडबाडको बेला उसकहाँ जाने कुरै भएन, पर्सि त पोखरा जाने पक्का छँदैछ भनेर बीचमा मैले उसँग भेट गरिनँ । असोज १९ गतेको दिन स्विस बस अफिस खिचापोखरीमा बिहान साढे सात बजेसम्म पर्खदा पनि ऊ आइपुगेन अनि म एक्लै गएँ पोखरा । २४ गते काठमाडौं फर्कें । बसबाट ओर्लने बित्तिकै बाबुकृष्ण विष्टले सुनाए, “भैरव बाजे त जानुभो सर !” मैले ठानें मसँग भेट नभएपछि ऊ अर्कै बसमा पोखरा गएछ । घर पुग्ने हतारले अरु कुरा सुन्ने मेरो फुर्सद थिएन र तुरुन्तै ट्याक्सी चढिहालें ।
घर पुगेर लुगा फुकाल्न नपाउँदै श्रीमतीतीले भनिन्, “भैरवको कुरो त थाहा पाउनुभो हैन ? नवराजजी दुई पटक आइसक्नुभो तपार्इंलाई खोज्न ।” बल्ल कुरो खुल्यो– मसँगै पोखरा जाने बाचा गरे पनि त्यो निठूरी त्यस दिन राति नै उठेर बाग्मतीतिर लम्केछ र आफ्नै इतिश्री गरिदिएछ ! भैरवले उसको जीवनमा मसँग गरेको पहिलो र आखिरी यही एउटा फट्याईंको सम्झनाले अहिले पनि म मर्माहत भैरहेछु र मेरो अन्तरमा उसैको सम्झनाका डोबहरु झन् झन् मार्मिक भएर गहिरिंदै गइरहेका छन् ।
(मञ्जरी पब्लिकेसनले बजारमा ल्याउन लागेको घिमिरेको कृति ‘सम्झनामा फक्रिएका थुँगा’हरुबाट ।)