नेपालको पूर्वी उच्च पहाडी भेगमा पाइने चिराइतोको बारेमा धेरै चर्चा हुने गरेको छ । आयुर्वेदमा यस औषधिलाई किरात भनेर नामाकरण गरिएको छ । हाम्रै गाउँघरमा यसलाई स्वास्थ्यसम्बन्धी विभिन्न प्रयोजनका लागि सदियौंदेखि प्रयोग गरिदै आएको पाइन्छ ।
आधुनिक स्वास्थ्यप्रणालीको व्यापकतासँगै आयुर्वेदीय औषधीहरुको प्रयोगमा एकातिर कमी पनि आएको छ भने अर्कोतर्फ आजकल हाम्रै प्रकृतिमा सजिलै पाइने औषधिको प्रयोग किन नगर्ने भन्ने बहस पनि शुरु भएको छ । विशेषगरेर ठूला औषधि कम्पनीहरुको एकाधिकार अनि अस्वाभाविक मूल्यले गर्दा पनि धेरैभन्दा धेरै विरामीहरुको पहुँचभन्दा टाढा पुगेको यथार्थता पनि बहसको अर्को पाटो बन्न सक्छ ।
‘आधुनिक स्वास्थ्यप्रणालीले निर्देश गरेको औषधिको पहुँच नभएपछि वा त्यस्ता औषधीले काम नगरेपछि मात्रै आयुर्वेदिक औषधीको प्रयोग गर्न फर्किने हो र ?’ भन्ने अर्कोथरी बहस पनि हुने गरेको छ ।
यस आलेखमा यी बहसका पाटोहरुमा चर्चा गरिने छैन । चिराइतो के हो र आयुर्वेदिक ग्रन्थहरुले यसका बारेमा के कस्तो कुराहरु बताएका छन् अनि चिराइतोले स्वास्थ्यलाई के कति फाइदा गर्छ भन्ने बारेमा यस आलेखमा संक्षिप्तमा चर्चा गरिन्छ ।
सामान्य परिचय
सुश्रुतसंहिताको सूत्रस्थानको ४६ औं अध्यायमा अन्नपान विधिको व्याख्या गर्ने सिलसिलामा शाक वर्गको व्याख्या गर्दै किराततिक्त अर्थात् चिराइतोको बारेमा संक्षिप्तमा व्याख्या गरिएको छ । त्यसैगरी सन् १३०० को हाराहारीमा लेखिएको शार्ङ्गधरसंहिता (कालखण्डको बारेमा हेर्नुस् , भूजास्टिक, डोमिनिक, द रुट्स् अब् आयुर्वेद २००३ः २५५) मध्यखण्डको अध्याय दुईमा भूनिम्ब भनेर चिराइतोको बारेमा उल्लेख गर्दै ज्वरो निको पार्न एकदमै उपयोगी छ भनिएको छ । शार्ङ्गधरसंहिताको टीका, ‘दीपिका’मा आढमल्लले भूनिम्बको मतलब कैराँत अर्थात् किरात क्षेत्रमा पाइने उल्लेख गरेका छन् ।
इशाको १६ औं शताब्दीको अन्त्यतिर भावमिश्रद्वारा रचित ‘भावप्रकाश’मा चिराइतो अर्थात् किरातको बारेमा चर्चा गरिएको छ । यो औषधी अलि बढी तीतो हुने भएकोले यसलाई किराततिक्त पनि भनिएको छ । सायद नेपालको किराती भूभाग अनि हालको भारतमा पर्ने सिक्किमसम्म जहाँ किरातीहरुको बसोबास हुने ठाउँ छ त्यो भूभागमा पाइने भएर पनि यसको नामाकरण किरात गरिएको भन्ने एकथरिको भनाइ रहेको छ ।
आयुर्वेदिक साहित्यको इतिहास लेख्ने क्रममा यान गेरिट मूलेनबेल्ड्ले भावमिश्रको बारेमा विशद् अध्ययन पनि गरेका छन् (हेर्नुस्, मूलेनबेल्ड्, गेरिट यान, ए हिष्ट्री अब् इण्डियन् मेडिकल् लिट्रेचर, १९९९–२००२, ठेली २ ए, २३९–२४६)। उनका भनाइ अनुसार भावमिश्रले भावप्रकाश, गुणरत्नमाला र माधवनिदान ग्रन्थमा एक टीका समेत लेखेका थिए । यही भावप्रकाश ग्रन्थमा नै निघण्टु समावेश गरिएको छ । यसै निघण्टुमा सम्भवतः आयुर्वेदिक इतिहासमै पहिलोपटक चिराइतोको बारेमा चर्चा गरिएको होला ।
किराततिक्तः कैरातः कटुतिक्तः किरातकः ।।
काण्डतिक्तोऽनार्यतिक्तो भूनिम्बो रामसेनकः ।।।।
किरातऽन्यो नैपालः सोर्ऽद्धतिक्तो ज्वरान्तकः ।।
(‘भावप्रकाश ’प्रथम खण्डबाट)
यसरी चिराइतोलाई विभिन्न नामले बताइएको छ । ती हुन्– किराततिक्त, कैरात, कटुतिक्त, किरातक, काण्डतिक्त, अनार्यतिक्त, भूनिम्ब तथा रामसेनक । साथै चिराइतो नेपालमा पाइने औषधी हो र यसलाई अर्द्धतिक्त र ज्वरान्तक पनि भनिन्छ ।
औषधोपचारमा चिराइतो
माथि उल्लेख भैसक्यो कि चिराइतोलाई स्वास्थ्य सम्बन्धी समस्याहरुमा निदानार्थ प्रयोग गरिन्छ । यसमा हुने रसायनहरुको कारण हाम्रो शरीरमा हुने अति ज्वलन अर्थात् इन्फ्लामेसनलाई कम गरी ज्वरो निको पार्न सहयोग गर्दछ । यदि धेरै ज्वरो आएको छ, अपच अनि दिसा खल्लास भैरहेको छैन, पेट गडबडी भैरहेको छ, भोक नलाग्ने, खानामा अरुची हुने जस्ता समस्यासँग जुध्न पनि चिरोइतो सहायक सिद्ध हुन्छ । चिराइतोलाई पानीमा पकाएर काँडा बनाएर पिउँदा उक्त समस्याहरुबाट सहज हुन्छ । तर उच्चरक्त चाप भएकाहरुको लागि राम्रो नहुन सक्छ ।
स्वास्थ्य फाइदाहरु
दैनिकरूपमा यस औषधिको प्रयोग गरेमा शरीरशुद्धि हुने, कलेजोले सहज रूपमा काम गर्ने हुँदा शरीरका विकारहरु सजिलै बाहिर निस्कन्छन् । शरीरमा अत्यावश्यक नयां सेलहरु पैदा गर्न सजिलो हुन्छ जब शरीरका विकारहरु सहजरूपमा बाहिर निस्कन्छन् । चिराइतो परजीवी प्रतिरोधी अर्थात् एन्टी प्यारासाइटिक हो जसले गर्दा हाम्रो शरीरमा रहेर हानी गर्ने परजीवीहरु जस्तै राउन्ड्वर्म र टेपवर्महरुलाई मार्न सहयोग गर्छ ।
शरीरको विकार हटाउन सहयोग गर्ने हुँदा यसको समुचित प्रयोगबाट त्वचामा विस्तारै चमक आउन थाल्नेछ । त्यसैगरी छाला चिलाउने, जनल हुने जस्ता समस्याहरुबाट पनि विस्तारै छुटकारा पाउन सकिन्छ । शरीरमा रक्तसंचार हुनलाई पनि मद्दत गर्दछ ।
चिराइतोको बारेमा व्यापक अध्ययन अनि अनुसन्धानहरु भएका छन् । ती मध्य सन् २०१६ मा विजय कुमार र दक्षिण अफ्रिकी प्राध्यापक जोहानिस् भ्यान् स्टाडेन् मिलेर गरेको एक अध्ययनले एक प्रमुख हो । ‘ए रिभ्यू अब् स्वेर्तिआ चिराइता (गेन्टिअनकिया) याज ए ट्रेडिस्नल मेडिसिनल् प्लान्ट भन्ने अध्ययन जुन ‘फन्टियस् इन् फार्मकोलोजी ’भन्ने जर्नलमा प्रकाशित भएको थियो । यस अध्ययनले चिराइतोलाई एक उपयोगी औषधिको रूपमा व्याख्या गरेको छ ।
हिमालय क्षेत्रको एक आदिवासी जडीबुटीको रूपमा धेरै कालखण्डदेखि प्रयोगमा आएको यस औषधीको प्रयोग कलेजोको गडबडीमा, मलेरियासँग जुध्न त्यसैगरी मधुमेयको लागि पनि प्रयोग गरिदै आएको कुरा यस अध्ययनमा उल्लेख गरिएको छ । उक्त अध्ययनले यो औषधिमा विशेष गरेर तीतो पदार्थ हुन्छ, त्यसमा विभिन्न सक्रिय जैविक यौगिकहरु हुन्छन्, जो प्रत्यक्षरूपमा स्वास्थ्य सुरक्षामा सहायक सिद्ध हुन्छन् भनिएको छ ।
- मात्राको निश्चित सीमाको मारेमा अझै निर्क्योल नभैसकेको र अध्ययन जारी रहेको यस अवस्थामा आयुर्वेदिक चिकित्सकको भरपर्दो सल्लाहमा मात्रै यस औषधीको समुचित प्रयोग गरिनु लाभकारी हुन्छ ।
चिराइतोको स्वास्थ्य सम्बन्धी उपयोगको चर्चा गर्दै उक्त अध्ययनले अझै अगाडि चर्चा गर्छ । चिराइतोको उपयोग हेपाटाइटिस, अति ज्वलन अर्थात् इन्फ्लामेसनलाई र पाचनप्रणालीसँग सम्बन्धित रोगको उपचारको लागि पनि गरिन्छ । क्रोनिक ज्वरो, मलेरिया, रक्त अल्पता, दम, कलेजोको गडबडी, हेपाटाइटिस, ग्यास्ट्रीस्, कब्जियत, छालाको रोगहरु, अल्सर, अल्पमूत्र, मेलान्कोलिया र केही मानसिक विकार सम्बन्धी समस्या, पित्तको श्राव, रगत शुद्धीकरण, मधुमेय जस्ता रोगहरुको लागि चिराइतोको प्रयोग हितकारी हुन्छ ।
यसरी अन्य अध्ययनलाई उल्लेख गर्दै कुमार र भ्यान् स्टाडेन्ले यस औषधिको अझै बढी वैज्ञानिक अनुसन्धान गरिनुपर्ने आवश्यकता औल्याएका छन् । यसको प्रयोग स्वास्थ्यको लागि कत्तिको सुरक्षित भन्ने कुरा सुनिश्चित गर्न पनि अरु अध्ययन गरिनुपर्ने उनीहरुको तर्क रहेको छ ।
कसरी र कति प्रयोग गर्ने ?
चिराइतोको मात्रा कति र कसरी गर्ने भन्ने बारेमा चर्चा गर्नुपर्दा धेरै कुराहरुलाई ध्यान दिनुपर्ने हुन्छ । प्रयोग गर्ने व्यक्तिको उमेर, स्वास्थ्य अवस्था अनि यदि उक्त व्यक्तिमा अरु कुनै स्वास्थ्य समस्या छ कि छैन यी र यस्ता अन्य कुराहरुलाई ध्यान नदिई जथाभावी प्रयोग गर्नुहुदैन ।
चिराइतोले केही व्यक्तिमा रगतमा चिनीको मात्रा घटाइदिन पनि सक्छ । तसर्थ धेरै सावधानी पुर्याएर मात्रै उपयोग गरिनुपर्दछ । मात्राको निश्चित सीमाको मारेमा अझै निर्क्योल नभैसकेको र अध्ययन जारी रहेको यस अवस्थामा आयुर्वेदिक चिकित्सकको भरपर्दो सल्लाहमा मात्रै यस औषधीको समुचित प्रयोग गरिनु लाभकारी हुन्छ । स्वास्थ्य सम्बन्धी निर्देशिका तथा मान्यताप्राप्त आयुर्वेदिक चिकित्सकको सल्लाह अनि सुझाबमा मात्रै यस औषधीको प्रयोग गरिनुपर्दछ, अन्यथा स्वास्थ्यमा गडबढी आउनसक्छ ।
(आलेखकार आयुर्वेदिक स्वास्थ्य पद्धतिको ऐतिहासिक ग्रन्थका बारेमा अध्ययन अनुसन्धान गर्छन् ।)
मधुसूदन रिमालको ‘पब्लिक हेल्थ डिस्कोर्स’ पढ्नुहोस्,
- न ज्यादा न कम, मात्र सन्तुलनले ल्याउँछ खुसीको बहार
–मनको विकारले शरीर खान्छ, आयुर्वेदिक औषधीहरुले भर्छ तागत
- सातौं शताब्दीमै लेखिएको थियो हाच्छियुँ गर्दा मुख छोप्ने कुरा
- हातको बूढीऔंला फेदको धमनी मानव जीवनको साक्षी
- नव-उदारवादी अर्थ व्यवस्था महामारीसँग जुध्न सक्छ ?
- आयुर्वेदको ऐतिहासिक नालीबेलीः अभ्यास, संस्कृति र प्रभावकारिता