काठमाडौं– मेडिकल शिक्षा सुधारको माग राख्दै २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सक संघ, गोविन्द केसी अलायन्स र नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीको अगुवाईमा नक्सालमा शान्तिपूर्ण प्रदर्शन भएको थियो । जसमा चिकित्सक र सर्वसाधरणको सहभागिता रहेको थियो ।
डा. केसीले भदौ २९ गते जुम्लाबाट अनशन थालेका थिए । त्रिवि शिक्षण अस्पतालमा अनशनरत उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ । डा. केसीको आठ वर्ष यता यो १९ औं अनसन हो ।
सहभागीले विभिन्न नाराहरु, ‘डा.केसी व्यक्ति होइनन्, आवाज हुन्’, ‘डा. केसी हामी तिम्रो साथ छौं’, ‘सेभ डा. गोविन्द केसी’, ‘भ्यू टावरलाई ३ अरब, मन्दिरलाई एक अरब, जनतालाई साउदी अरब’, ‘हाम्रो स्वास्थ हाम्रै हातमा, हामी डा.केसीको साथमा’ आदि लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।