काठमाडौं– उत्तर कोरियाका एक वरिष्ट कुटनीतिज्ञ हाल दक्षिण कोरिया सरकारको संरक्षणमा दक्षिण कोरियामा रहेको एक सांसदले बताएका छन् । इटालीका लागि उत्तर कोरियाली ती कुटनीतिज्ञ सन् २०१८ को अन्त्यतिर इटालीबाट फरार भएका थिए ।
दक्षिण कोरियाली सांसदले सार्वजनिक गरेको तथ्य प्रमाणित भएमा उत्तर कोरिया परित्याग गर्ने जो सोङ गिल दोस्रो बरिष्ट अधिकारी हुनेछन् । उनी इटालीका लागि उत्तर कोरियाली राजदूत थिए ।
यसअघि सन् १९९७ मा सत्तारुढ उत्तर कोरियाली वर्कर्स पार्टीका वरिष्ट अधिकारी ह्वाङ जाङ–योप उत्तर कोरिया परित्याग गरेर दक्षिण पुगेका थिए । ह्वाङ जाङ–योपले स्वर्गीय नेता किम जोङ–इललाई पढाएका थिए ।
दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाली कुटनीतिज्ञ जो नोभेम्बर २०१८ मा आफ्नी पत्निसहित रोम निवास छाडेका बताएको थियो । युरोपेली मुलुकभन्दा बाहिरको मुलुकमा उहाँ रहनु भएको पनि गुप्तचर प्रतिवेदनमा उल्लेख छ ।
दक्षिण कोरियाली नेसनल एसेम्ब्लीको गुप्तचर समितिका सदस्य समेत भएका सांसद हा ताए–केयुङले उत्तर कोरियाली कुटनीतिज्ञ जो सोङ गिल गत वर्ष दक्षिण कोरिया पुगेका बताएका छन् ।
दक्षिण कोरियाली संचार माध्यमहरुले मंगलबार साँझ उत्तर कोरियाली कुटनीतिज्ञ दक्षिण कोरियामा रहेको समाचार प्रशारण गरेका थिए । सांसद हा ले कुटनीतिज्ञ जो को सुरक्षाका लागि थप विवरण दिन अस्वीकार गरे ।