बैगुनी चुनाव । कमिला र फट्याङ्ग्राको एकतालाई ‘कता ?’ बनाइदियो । उनीहरूको मित्रतालाई ‘यत्रा !’ बनाइदियो ।
कुरो के भएछ भने, फट्याङ्ग्रा ढिस्कोमा उत्तानो पल्टेर उनीहरूको संयुक्त लगानीको रेडियोमा लोकगीत सुन्दै थिए । गीत सुन्ने कानलाई शक्ति दिन आँखा चिम्म थिए । गीतकै तालमा उनले उपरखुट्टी लाएको खुट्टा फिटफिट हल्लिरहेको थियो । गीतको टुक्का नाके स्वरमा मन्दसँग फुसफुस आइरहेकै थियो ।
त्यही बेला कमिला टुकुटुकु पारामा ढिस्कोमा आइपुगे । संयुक्त रेडियोको टुपी यताउति तान्दै कान बटारे । रेडियो टाइँटुइँ, टिनिनिनिऽऽऽ भएर गीतमा झुमिरहेका फट्याङ्ग्राको कानभित्र छिर्यो । उनको कान झ्याप्प बन्दा हुनासाथ आँखा र मुख फ्याट्टै खुले ।
- सहमति भन्ने अनि आफैँ ‘घर अगाडि’ तोक्ने । के पारा हो । त्यसो हो भने राजधानी ‘घर पछाडि’ हुनुपर्छ, ल हाम्रो अडान भयो ।चर्काचर्की चर्किँदै थियो ।
फट्याङ्ग्रा : (रिसाएर) हैन, के गर्छ यार ? यस्तो मस्तले सुनिराथें ।
फट्याङ्ग्राको चर्को आवाज सुनेर कमिला झसङ्ग भए । रेडियो फुत्त हातबाट खस्यो । टाइँटुइँ, टिनिनिनि बन्द भयो ।
कमिला : (रेडियो टिप्दै, फट्याङ्ग्रातिर पुलुक्क) ए तिमी निदाको छैन ? हैन देशमा चुनावी माहोल के हुँदै छ भनेर समाचार सुनूँ कि भनेर ।
फट्याङ्ग्रा : तिमी कस्तो कुरा गर्छौ, एकपटक सोध्न सक्दैनौ ? रेडियो चलाउँछु है भनेर ।
कमिला : हैन तिमी निदाको जस्तो लाग्यो अनि डिस्टर्भ नगरूँ भनेर...
फट्याङ्ग्रा : अझ मेरै उपकार गर्यौ हैन ?
फट्याङ्ग्रा एक्कासि रिसाएको देखेर कमिला ट्वाँ परे । फट्याङ्ग्राको चर्को आवाज सुनेर अघिदेखि परबाट छेपारोले ढिस्कोतिर घाँटी तन्काइरहेका थिए । हुन त चुनावी माहोल सुरु भएदेखि छेपारो घाँटी तन्काएर हेर्थ्यो । मौकामा चौका त के, छक्का नै हान्न जान्ने छेपारो उफ्रेर ढिस्कोमा आइपुगिहाले ।
- तपाईंहरू दुवैको हातमा भएको गुलेली पनि एकै कम्पनीको एकै मेसिनबाट एकै गुणस्तरमा निकालिएको हो । अब गुलेलीमा मट्याङ्ग्रा भर्दै रोस्ट्रमको माइकमा जसले बढी निसाना लगाउँछ, उसैले भनेको ठेगानामा राजधानी घोषणा हुनेछ
‘हैन केको चर्काचर्की हो, परम मित्रहरूबीच ?’ आउनेबित्तिकै छेपारो सुरो भइहाले । आँखा रातो बनाएर फट्याङ्ग्राले फ्याट्ट आफ्नो रिस सुनाइहाले । आफ्नो मित्रबाट छेपारोको अघि गरिएको व्यवहारले कमिलाको कन्पारो तातिहाल्यो ।
कमिला : बात कर्ता है, तिम्रो मात्र रेडियो हो ? मैले पनि पैसा हालेको छु ।
फट्याङ्ग्रा : ए अब हामीबीच पैसाको पनि कुरा आउन थाल्यो हैन । (कमिलाको हातबाट रेडियो थुतेर) आधा पैसा फिर्ता देऊ, तिमी नै लैजाऊ थोत्रो ठाडो ।
कमिला : (रेडियो तानेर लिँदै) म किन पैसा दिऊँ, तिमी आधा पैसा मलाई देऊ, तिमी नै लैजाऊ तिम्रो ट्यारट्यारे रेडियो ।
दुई मित्रका राता आँखा र फुलेका गाला देखेर छेपारो मन्द मुस्कुराइराथे । उनी मौकामा छक्का हान्न तयार देखिए ।
सहयोगी व्यवहार र ‘भूत भगाऊ अभियान’बाट कमिला–फट्याङ्ग्राको घाँसेमाटेमा हाइहाइ थियो । त्यही हाइहाइ बेच्न चुनावी माहोल सुरु हुनुअघिदेखि नै च्याउ पार्टीहरू धाइरहेका थिए । कमिला–फट्याङ्ग्रा झ्याप्प कुनै पार्टीमा लागे भने आफ्नो पार्टी स्वाट्टै मरिच बन्ने खतरा बुझेका थिए ।
धेरैले उनीहरूमा उम्मेदवारको चकलेटी प्रस्ताव राखे । केही थान प्रस्ताव त छेपारोले उनीहरूसम्म बोकेर पुर्याए । छेपारो हरेकपटक आउँदा निधारमा फरक–फरक रंगको फेता बाँधेर आउँथे । तर कमिला–फट्याङ्ग्राले कसैको पनि चकलेट खाएनन् । तर छेपारोको घाँटी कमिला–फट्याङ्ग्रातिरै तन्काउने ‘इलेक्सन जब’ कायमै थियो ।
कमिलाको हातबाट रेडियो थुतेर छेपारोले रंग देखाउन थाले, ‘कमिलाले त्यसो भनेर कहाँ हुन्छ ? फट्याङ्ग्राले सुनिराको बेला आफैँ रेडियो टाइँटुइँ पार्ने अनि आफैँ पैसा माग्ने ?’ छेपारो एकैछिनलाई फट्याङ्ग्रातिर उभिए ।
कमिला : (कड्केर) हेर छेपारो, हामी दुईबीचको कुरामा तिमी नबोल । जे हो, हामी मिलाउँछौं, तिमी आफ्नो बाटो लाग ।
कमिलाको कड्काइले छेपारोलाई फट्याङ्ग्राबाट कमिलातिर उभिन ट्याम लागेन । ‘त्यही त फट्याङ्ग्रा, कमिलाको पनि रेडियो हो नि, तिमीले पैसा दिए नि हुन्छ । लौ खुरुक्क खनखनी गन,’ छेपारोले फट्याङ्ग्रालाई आदेश दिए ।
- उनले अलिअलि अर्जुन वाणको फिल पनि भरे र तनक्क गुलेली तन्काए । गुलेली माइकको निसानामा छोड्न छोड्न लागे । छोड्यो, छोऽऽड्यो, छोऽऽड्ऽऽयोऽऽऽ...
फट्याङ्ग्रालाई बाठो रिस उठ्यो र ठाउँका ठाउँ छपल जम्प मारे । अन्तिम जम्पमा जम्माएर छेपारोलाई एक किक दिए । किक खानेबित्तिकै छेपारोले हावामा कावा खाए । उनको हातबाट उछिट्टिएको रेडियो भुइँमा झर्नुअघि नै कमिलाले जम्प मारेर च्याप्प समाए र जोगाए ।
छेपारो ढिस्को छेउको पानीपोखरीमा छवाप्लाङ्ङ खसे । पोखरीबाट निस्कँदा छेपारोको रंग बेरंगी देखियो । फटाफट आएर कमिलाको हातबाट रेडियो थुतेर ढिस्कोको ढुंगामा थचारे, ‘यही हैन झगडाको बिउ, यही होइन मलाई पोखरीमा छवाप्लाङ्ङ पार्ने ।’ रेडियोको कान, मुख, टुपी, आन्द्रा, भुँडी छुट्टिएर हावामै छितरबितर भए ।
कमिला र फट्याङ्ग्रा मूर्तिवत् शान्त भए । टुक्रे रेडियोतिर पल्याकपुलुक आँखा कुदाए । अनि एकअर्कालाई पुलुक्क हेरे । दुवैले रेडियोको टुक्राहरू बिस्तारै बटुले । शान्त भएपछि आफू अनुकूल छक्का हान्न नपाउने बुझेर छेपारोले रंग बदलिहाले । छुपछुपे पारामा कमिला र फट्याङ्ग्राको कानमा छुट्टाछुट्टै फासफुस गरे । छेपारोको फासफुसले छेपारोको होइन, कमिला–फट्याङ्ग्राको रंग बदलियो र बटुलेका रेडियोका टुक्राहरू दुवैले पोखरीमा छप्लाइदिए ।
अनि ढिस्कोमा छुट्टाछुट्टै पार्टीका दुई झन्डा गाडिए । कमिला र फट्याङ्ग्रा दुईतिर उभिए । छेपारो भने तीभन्दा अर्कै झन्डाले मुख छोपेर खितखिताए । लास्टाँ छेपारोले छक्का हानिछाडे । उनले त्यो छक्कालाई थुप्रै छक्काहरूले गुणा गरे, मोलमोलाइ गरे ।
घाँसेमाटेका दुई परममित्र दुई पार्टीका टक्करे उम्मेदवार बने । एकले अर्कोलाई उछित्तो काढ्न थाले । घाँसेमाटेवासी सुरुमा मित्रभंग देखेर ट्वाँ परे । तर, चुनावी माहोलमा घुलिहाले र कमिला र फट्याङ्ग्राको कित्ताकाँट गरेर कोही कमिला कित्तामा उभिए, कोही फट्याङ्ग्रा कित्तामा ।
कमिला पार्टीले ‘समृद्ध घाँसेमाटे’को नारा घन्काए र कमिलाले भाषण ठोके, ‘घाँसेमाटे समृद्ध नभई, घाँसेमाटेवासी सुखी हुन सम्भव छैन ।’
फट्याङ्ग्रा पार्टीले ‘सुखी घाँसेमाटेवासी’ नारा रन्काए र फट्याङ्ग्राले पनि भाषण ठोके, ‘घाँसेमाटेवासी सुखी नभई समृद्ध घाँसेमाटे असम्भव छ ।’
दुवै पार्टी चुनावी नारामा कुर्लिए, नारा फुक्दै घाँसेमाटेवासी उर्लिए । घाँसेमाटेका घाँसहरू राइँदाइँ भए, माटोहरू धुलाम्मे भए । कतै मासु–चिउरा भोज गरियो, कसैले सुरुवालको भित्री खल्ती भरेर मोज मनाए ।
- कमिला र फट्याङ्ग्राको हातमा थप मट्याङ्ग्रा राखिदिँदै छेपारोले नियम बताए, ‘अब तपाईंहरूको हातमा थप १०/१० मट्याङ्ग्रा छन् । यीमध्येबाट जसले माइकमा बढी ट्वाक हान्छ, उसकै राजधानी सदर ।’
भोटजात्रा पनि सकियो, भोटजात्राको रिजल्टजात्रा सुरु भयो । रातदिन लगाएर भोट गन्ती गरे । गन्तीको रिजल्ट सुन्न कमिला र फट्याङ्ग्रा दुईतिर फर्केर बसे । दुईतिर फर्के पनि दुवैको मुटुमा एकै खालको ढुंग्रो फुकेजस्तो भएको थियो । अन्ततः भोट गन्तीको रिजल्ट आयो । सबै घाँसेमाटे पालिकाहरूको क्रमशः रिजल्ट आउँदै गए ।
अनुपातका हिसाबले फट्याङ्ग्रा अगाडि थिए । कमिला ९९ मतले पछाडि थिए । अब एउटा मात्र पालिकाको रिजल्ट आउन बाँकी थियो, त्यो पनि सुनाउन चुनावकारी गन्ती कागज बोकेर निस्किए, छेपारोले कागजतिर घाँटी तन्काए ।
कमिला निन्याउरो परेर थुच्च बसेका थिए, उनका समर्थक पनि कुत्रुक्क थिए । फट्याङ्ग्रा भने विजय जुलुसको तयारीसहित छप्पल जम्प मार्न रेडी थिए ।
चुनावकारीले अन्तिम रिजल्ट सुनाए । रिजल्ट सुन्नेबित्तकै लुत्रुक्क परेको कमिला फुत्रुक्क उफ्रे । फट्याङ्ग्राको जम्प र जुलुस खेर गयो । छेपारो साइड लागे ।
अन्तिम पालिकामा कमिला खर्लप्पै सय भोटले अघि परे र उनले मात्र एक भोटले जितेभन्दा पनि एक भोटले फट्याङ्ग्रालाई हराए । लास्टाँ एकाएक फट्याङ्ग्रा जुलुसका फट्याङ्ग्रे कार्जेकर्ताले आआफ्नो हातका मालाले कमिलाको घाँटी भरे, मुखै पुरे ।
कमिला : (मालाले लत्रक्क लुङ्गिँदै) यो सम्पूर्ण घाँसेमाटेवासीको जित हो ।
फट्याङ्ग्रा : (थच्च बसेर) आफ्नै पालिकामा सय भोटले कसरी हार्छु, यो धाँधली भयो ।
कमिला सांसद बनेर संसद् छिरे । छेपारोले कमिलालाई धाप मार्दै भने, ‘देख्यौ, मेरो कुरा सुन्याथ्यौ र सांसद भयौ ।’ फट्याङ्ग्रा हारको पीडा र धाँधलीको शंकाको पोको बोकेर टाउकेहरूको दुलो–दुलो पसे । छेपारो यसो परेलाछेउ थुकले भिजाएर भने, ‘चिन्ता नगर, दुलोको ढोकाहरूको चाबी मसँग छ ।’
कसो कसो गरी छेपारोले समानुपातिक सूचीमा एक उम्मेदवारको नाममा टिपेस्ट लगाउन सके र त्यसमाथि फट्याङ्ग्राको नाम लेख्न सफल भए, फट्याङ्ग्राबहादुर । यसबीचमा छेपारोले कता–कता के–के गरे, फट्याङ्ग्राले छेपारोलाई त्यसबापत कसरी–कसरी, के–के गरे, घाँसेमाटेका रेडियोले बजाउने आँट गरेका थिएनन् ।
जे सुकै भए पनि समानुपातिकबाट फट्याङ्ग्रा सांसद बनेर संसद् छिरे । संसद् छिर्नेबित्तकै फेरि नेतागिरीमा कमिला र फट्याङ्ग्रा नै देखिए । सरकार निर्माण भएपछिको पहिलो कार्यसूचीमै थियो– देशको नयाँ राजधानी तोक्ने ।
कतिले सम्भावित राजधानी क्षेत्रमा भूमि कित्ताकाँट गरेर तयारी अवस्थामा राखेका थिए । मालपोत कार्यालयहरूमा ‘माल’ र ‘पोत’ले तीव्रता पाएको थियो । त्यसको सिधा प्रभाव थियो, संसदमा ।
संसदमा सरकारले राजधानीको प्रस्ताव मखमलको कपडाले बेरेर ल्याए । राजधानीको ठेगाना ‘घर अगाडि’ तोक्ने कि ‘घर पछाडि’ तोक्नेबारे एकै पार्टीका सांसदहरू पनि दुई कित्तामा उभिए । संसदमा बहसको नाममा सांसदहरू कुर्लिन थाले ।
फट्याङ्ग्रा : उहाँहरू आफैँ ‘संसद् भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो’ भन्ने अनि सहमतिबाट निर्णय गरौं भन्दा नमान्ने ? के तरिका हो ?
कमिला : संसदीय व्यवस्था मानिसकेपछि बहुमतको कदर हुनुपर्छ कि पर्दैन ? त्यसै मतदानबाट निर्णय लिनुपर्छ । जे हुन्छ, हाम्रो पार्टी स्विकार्छ ।
फट्याङ्ग्रा : तपाईंहरू त भनिहाल्नुहुन्छ नि । तपाईंकै सरकार, तपाईंकै सभामुख, तपाईंहरू नै बहुमतमा । जित पक्का भएपछि बोल्ने यस्तै होला । राष्ट्रिय सहमतिबाट देश यहाँसम्म आइपुगेको हो भने यति छिट्टै बिर्सन पाइन्छ । सहमतिबाट राजधानी ‘घर अगाडि’ नै हुनुपर्छ ।
कमिला : सहमति भन्ने अनि आफैँ ‘घर अगाडि’ तोक्ने । के पारा हो । त्यसो हो भने राजधानी ‘घर पछाडि’ हुनुपर्छ, ल हाम्रो अडान भयो ।
चर्काचर्की चर्किँदै थियो । फट्याङ्ग्रा पार्टीको भुसतिघ्रे सांसद चिच्याएर उठे । र, कुर्सीलाई टेबलमा ठोके । त्यसपछि अरूले पनि उनको सिको गरे । कमिला पार्टीका पनि के कम, कुर्सीले फट्याङ्ग्रा पार्टीतिर प्रहार थालिहाले । संसद् हलमा हानाहान र फालाफाल चले । कसैको नाक थेप्चियो, कसैको टाउकामा टुटुल्का उठ्यो ।
त्यही बेला ढ्यान्ट्यारानऽऽऽ पारामा दुईवटा बोरा बोकेर छेपारोको प्रवेश भयो । ‘यसरी हानाहान, फालाफाल गरेर संसदीय व्यवस्थाको गरिमा नघटाउनुस् । संसदको सान बढाउन मैले राजधानी छान्ने ‘न्यु आइडिया’ ल्याएको छु’ । ल यो आइडिया मान्ने हो र राजधानीको ठेगाना निक्र्योल गर्ने हो भने ‘न्यु आइडिया’को बोरा खोल्छु ।’
दुवै पार्टीका टाउकोले मान्ने छेपारोले भनेसी अकमकाउने कुरै भएन । सबैले मन्टो हल्लाएर स्वीकृति जनाए । छेपारोले बोरा खोले ।
बोराबाट दुई गुलेली झिकेर एक कमिलालाई, अर्को फट्याङ्ग्रालाई दिए, ‘ल अब एक एक बोरा लिनुस् ।’ छेपारोको आदेश कमिला र फट्याङ्ग्राले नमान्ने कुरै भएन ।
कमिलाले राजधानीको ठेगाना फिक्स गर्ने ‘न्यु आइडिया’ ठोकतान्त्रिक व्याख्या गरे । ‘यो दुवै बोरामा बराबर सय, सय मट्याङ्ग्राहरू छन्,’ छेपारोको मट्याङ्ग्रा सुनेर फट्याङ्ग्रा पुलुक्क फर्के तर केही बोलेन ।
‘यी मट्याङ्ग्राको आकार, प्रकार र गुणस्तर पनि एकै छ । तपाईंहरू दुवैको हातमा भएको गुलेली पनि एकै कम्पनीको एकै मेसिनबाट एकै गुणस्तरमा निकालिएको हो । अब गुलेलीमा मट्याङ्ग्रा भर्दै रोस्ट्रमको माइकमा जसले बढी निसाना लगाउँछ, उसैले भनेको ठेगानामा राजधानी घोषणा हुनेछ,’ छेपारोले संसदको सान बढाउने आइडिया छर्र छरे ।
फट्याङ्ग्रा : (जोसिएर) मन्जुर छ । यस्ता गुलेली कति खेलाइयो, खेलाइयो ! हाम्ले धेरै निसाना लगाएमा राजधानी ‘घर अगाडि’ हुनुपर्छ ।
कमिला : (खिस्याउँदै) यस्ता मट्याङ्ग्राले पहिला पनि थुप्रै फट्याङ्ग्रा ढालेकै हो । हाम्ले धेरै निसाना लगाएमा राजधानी ‘घर पछााडि’ हुनुपर्छ ।
निशानाबाजहरू उत्रिए रोस्ट्रमको माइकमा, अनि निसाना लगाउन थाले । कति मट्याङ्ग्रालले माइकलाई ट्वाकट्वाक पारे । कतिले रोस्ट्रमलाई ढ्वाकढ्वाक पारे । छेपारोले भने माइकमा ट्वाक पारेको गन्ती कापीमा लेख्न थाले । यतिबेला अरू सांसदहरू आआफ्नो कित्ताअनुसार हुटिङ गरिरहेका थिए– ‘कमिलाकमार, कमिलाकुमार’, ‘फट्याङ्ग्राबहादुर, फट्याङ्ग्राबहादुर’ ।
दुवैको सय, सय मट्याङ्ग्रा सकियो । छेपारोले रिजल्ट सुनाए ।
‘हैट, माइकमा ३५/३५ ट्वाक्क हानेर दुवै कित्ताले बराबरी अंक पाएको छ । तसर्थः राजधानीको ठेगाना अझै कित्ताकाँट हुन नसक्दा अबको निर्णय ट्राइब्रेकरबाट हुनेछ ।’
‘ट्राइब्रेकर’ सुनेर सबै अलमलमा परे । खासखास खुसखुस चल्न थाल्यो । संसद् हल गुञ्जायमान भयो ।
‘हल्ला नगर्नुस्, फुटबल हेर्नुभाको भए ट्राइब्रेकर राम्ररी बुझ्नुहुन्छ । त्यो छ नि पेनाल्टी सुटआउटबाट अन्तिममा निर्णय गर्छ नि फुटबलमा,’ छेपारोले बुझाएपछि सबैले एकै आवाज र लयमा भने, ‘एऽऽऽ पेनाल्टी ।’
कमिला र फट्याङ्ग्राको हातमा थप मट्याङ्ग्रा राखिदिँदै छेपारोले नियम बताए, ‘अब तपाईंहरूको हातमा थप १०/१० मट्याङ्ग्रा छन् । यीमध्येबाट जसले माइकमा बढी ट्वाक हान्छ, उसकै राजधानी सदर ।’
- हाम्ले धेरै निसाना लगाएमा राजधानी ‘घर पछााडि’ हुनुपर्छ । निशानाबाजहरू उत्रिए रोस्ट्रमको माइकमा, अनि निसाना लगाउन थाले । कति मट्याङ्ग्रालले माइकलाई ट्वाक ट्वाक पारे ।
फेरि निसाना सुरु भयो, कमिला र फट्याङ्ग्राले ट्वाक–ढ्वाक गर्दै गुलेली ठोके । फेरि हुटिङ चलिरहेकै थियो– ‘फट्याङ्ग्राबहादुर, फट्याङ्ग्राबहादुर’, ‘कमिलाकमार, कमिलाकुमार’ ।
कमिलाले १० वटै मट्याङ्ग्रा सक्दा माइकमा जम्मा ४ ट्वाक लगाए । अरू सबै ढ्वाकमा खेर गए । उता फट्याङ्ग्राले भने ९ मट्याङ्ग्राले नै ४ ट्वाक लगाइरहेका थिए, बाँकी एक मट्याङ्ग्रा गुलेलीमा लोड गरे ।
कमिला : (मनमनै) ला, फट्याङ्ग्राले राजधानी लाने भयो ।
फट्याङ्ग्रा : (हात उठाएर) साथीहरू हुटिङ बन्द गरौं, एकछिन शान्त होऔं । यो अन्तिम गुलेली माइकलाई ट्वाक गरेर राजधानी ‘घरै अगाडि’ फिक्स गर्नु छ ।
फट्याङ्ग्राले मट्याङ्ग्रालाई फित्तामा मिलाएर निधार लगे र आँखा चिम्म गरेर ढोगे । कामना गर्दै लिप्रिक लिप्रिक गर्दै लिप्स चलाए । अनि जिब्रो निकालेर नाकतिर टुप्पाए, सिधा रोस्ट्रमको माइकमा आँखाको निसाना तेर्साए । उनले अलिअलि अर्जुन वाणको फिल पनि भरे र तनक्क गुलेली तन्काए । गुलेली माइकको निसानामा छोड्न छोड्न लागे ।
छोड्यो, छोऽऽड्यो, छोऽऽड्ऽऽयोऽऽऽ...
०००
अघिदेखि नै घुरिरहेको फट्याङ्ग्रा बर्बराउन थालेपछि कमिलाले फट्याङ्ग्राको कानैमा लगेर रेडियो चर्को बजाइदियो । फट्याङ्ग्रा झस्किँदै, कहालिँदै, चिच्याउँदै उठ्यो ।
फट्याङ्ग्रा : (आँखा मिच्दै), छोड्योऽऽऽ .... (संसद् भवन देखेन, आफू ढिस्कोमै देखेपछि, सुस्तरी) छोऽऽडेनऽऽ ... ।
फट्याङ्ग्राले छेपारोले फुटाएको रेडियो पनि सही सलामत देखे । आफ्नो परममित्र कमिलालाई पनि सँगै साथै पाए । अनि कमिलालाई गम्लम्म अँगालो हाले । कमिला भने फेरि अक्क न बक्क भई पक्क परे ।