काठमाडौं– बाटोछेउको चिया पसलमा केही युवाहरू चिया खाँदै, दायाँबायाँ हेर्दै गफिँदै थिए । त्यतिबेलै केही महिला चिया पसलतिर आउँदै थिए । युवाहरू महिलातिर हेर्दै गलल्ल हाँस्न थाले । उनीहरूको हाँसोमा व्यंग्यभाव मिसिएको थियो । एक युवाले भनिहाले, ‘विकासे महिला आए ।’
महिलाहरू चिया पसल अगाडि टक्क रोकिए । युवाहरू चुपचाप भए । महिलाहरूले चिया मगाए । अनि, पसलको एक छेउमा बसे । युवाहरूले कानेखुसी गर्न थाले ।
एक युवाले साथीलाई भने, ‘हेर् न, विकासे महिलाहरू ! महिलाको विकास गर्न आएका ।’ उनको कुरा महिलाले प्रस्टै सुने । पसले हाँसे । केही बेरपछि ती युवा महिलातिर हेर्दै खितिति हाँसिरहे ।
पसलेले महिलाका लागि चिया ल्याइदिए । एक महिलाले पसलेलेलाई सोधिन्, ‘यिनीहरूले हामीलाई किन विकासे महिला भनेका ?’
‘तपाईंहरू महिलाको विकासका लागि आएकाले विकासे महिला भनेका हुन्,’ पसलेले प्रस्ट पारे ।
यो घटना ४४–४५ सालतिरको हो । त्यतिबेला साहित्यकार पद्मावती सिंह गोरखा पुगेकी थिइन् । स्थानीय युवाको कुराले उनको मनमा घोच्यो । उनले सोचिन्– बरालिएका युवालाई सुधार्नुपर्छ, कर्मशील बनाउनुपर्छ, यसका लागि उपयुक्त तरिका भनेकै संवाद हो । उनी संवादका लागि युवाहरूतिर फर्किँदै थिइन् ।
साहित्यकार पद्मावती सिंह युवा अवस्थामा
‘हामी त आइमाईलाई मान्छे नै गन्दैनौँ,’ एक युवाले प्वाक्क भने ।
पद्मा झन् तीन छक्क परिन् । (उनलाई ‘पद्मा’ सम्बोधन खुब मन पर्छ ।)
उनले भनिन्, ‘भाइले कति पढ्नुभएको छ ?’
‘हामीले एसएलसी पास गरेका छौँ,’ उनीहरूले सगर्व भने ।
‘एसएलसी पास गरेको (शिक्षित) मान्छेले यस्तो कुरा भन्न हुन्छ त ?’ पद्माले उनीहरूको अनुहार अन्वेषण गर्दैै भनिन् ।
‘आइमाईको के बुद्धि हुन्छ र ? हामी त आइमाईलाई मान्छे नै गन्दै गन्दैनौँ,’ यति भन्दै युवाहरू उठिहाले । पद्मा उनीहरूसँग अझ गफ गर्न चाहन्थिन् । तर, युवाहरू नै तर्किएपछि उनको उद्देश्य पूरा भएन त्यसबेला ।
युवाहरू ‘विकासे महिला खुब बाठी हुँदी रहिछे’ भन्दै चिया पसलबाट निस्किए । जुन कुरा पद्मालगायत सबैले सुने ।
पद्मा त्यतिबेला सेभ द चिल्ड्रेनमा कार्यरत थिइन् । कार्यक्रम कोअर्डिनेटर भएर उनी ४४/४५ सालतिर गोर्खा पुगेकी थिइन् । उनको कर्तव्य थियो– महिलाको स्वास्थ्य र शिक्षा सुधार्नु, महिला सशक्तीकरणका लागि काम गर्नु ।
त्यतिबेला उनी खटिएको क्षेत्रमा होटल खोलिएको थिएन । स्थानीयले उनलाई ‘हुने खोनको’ घरमा बास मिलाइदिन्थे । उनले त्यहीँ बसेर महिला सशक्तीकरणका लागि काम गर्नुपथ्र्यो ।
- उनलाई लाग्यो– आइमाईले घर धान्ने र खेतीपाती गर्ने । पुरुषचाहिँ हल्लिएर हिँड्ने । अनि, उल्टै आइमाईलाई मान्छे नगन्ने ?
ती युवासँग संवाद भएकै बेलुका पद्मालाई बासका लागि एउटा घरमा लगियो । बास दिइयो र मानमनितोसहित सत्कार गरियो । उनी खाना खाएर पिँढीमा बसिरहेकी थिइन् । एक युवा गीत गाउँदै आए । उनी तिनै युवा थिए, जसले बिहान पद्मालगायतलाई ‘विकासे महिला’ भनेर गिज्याएका थिए । घरमा पद्मालाई देखेर ती युवा झस्किए । अनि, अप्ठेरो मान्दै घरभित्र पसे ।
राति ९ बजेतिर एक महिला पद्माका लागि छुट्याइएको ओछ्यानमा तेल बोकेर आइन् । उनी निकै दुब्ली थिइन् । उनी तिनै युवाकी श्रीमती रहिछिन् । उनले पद्मालगायतको गोडामा तेल लगाउने सुर गरिन् । पद्मालाई निकै अप्ठ्यारो लाग्यो ।
‘हामी तेल लाउँदैनौं, तेल लगाउनुपर्दैन,’ पद्माले भनिन् ।
पद्माले ती महिलासँग भलाकुसारी गर्न थालिन् । कुराकानीकै क्रममा ती महिलाले भनिन्, ‘हजुरलाई एउटा बिन्ती गरूँ, मेरो लोग्ने बरालिएर हिँडेका छन् । एसएलसी पास भनेर खेतमा पनि काम गर्दैनन् । दिनरात तासजुवा खेलेर हिँड्छन् । जागिर मिलाइदिनुपर्यो ।’
उनले आफ्ना श्रीमान्का बारेमा पद्मालाई जानकारी गराइन् । जसबाट पद्मालाई समाज बुझ्न झनै सजिलो भयो । ती युवा ‘एसएलसी पास’ को ट्याग भिरेर दिनभर डुलिहिँड्दा रहेछन् । उनले घरमा आमा–श्रीमतीलाई कुनै काम पनि सघाउँदा रहेनछन् । आमा र श्रीमतीले खेतीपाती र घरधन्दा धानेका रहेछन् । पद्माले काठमाडौंमा महिलाको यस किसिमको दुःख देखेकी थिइनन् । महिलाका दुःख देखेर उनको चित्त फाट्यो । उनलाई लाग्यो– आइमाईले घर धान्ने र खेतीपाती गर्ने । पुरुषचाहिँ हल्लिएर हिँड्ने । अनि, उल्टै महिलालाई मान्छे नगन्ने ?
- उनी भन्छिन्, ‘समाजमा घटेको घटनाले मलाई प्रभाव पार्छ । यसलाई कसरी लेख्ने भनेर विचार गर्छु । मलाई लेख्नुपर्छ जस्तो लागेपछि लेख्छु, समाज परिवर्तनकै लागि लेख्छु ।’
पद्माले स्थानीय महिलाको दिनचर्या नियालिन् । महिलाहरू बिहान ४ नबज्दै उठ्थे । र, बेलुका ९–१० बजेसम्म काममै खटिन्थे । तर, पुरुषहरू भने हल्लिएर हिँड्थे, जो एसएलसी उत्तीर्ण छ या पढेको मान्छे हुँ भनेर घमण्ड गर्छ ।
त्यतिबेला थोरै पढेका युवाहरू आर्मी पुलिसमा भर्ती हुँदा रहेछन् । पढे लेखेकाहरू युवाहरूचाहिँ तास खेलेर दिन बिताउँदा रहेछन् ।
‘महिलाहरू निकै पीडित थिएँ । उनीहरूसँग एक पैसा हुँदैनथ्यो । लोग्नेहरूले कुटपिट पनि गर्दा रहेछन् । महिलाहरू दिनभर काम गर्थे । बेलुका जाँड खाएर आएको श्रीमान्बाट पिटिन्थे,’ पद्मा सम्झिन्छिन् ।
उनी क्षेत्री–बाहुन समुदायका महिला नै घरेलु हिंसाको सिकारमा बढी परेको दाबी गर्छिन् । उनको यो तर्क ग्रामीण भेगको समाज अध्ययनबाट जन्मिएको हो । उनी गुरुङ र मगर समुदायका महिलाहरू हिंसामा कमै परेको बताउँछिन् । उनी भन्छिन्, ‘जनजाति महिलाहरू श्रीमान्सँगै चुरोट खान्थे, नाच्थे, गाउँथे । तर, क्षेत्र–बाहुन समुदायमा यस्तो अवस्था थिएन ।’
यस घटनाबाट पद्मा निकै प्रभावित भइन् । अनि, उनको मनमा जन्मियो– समानतामूलक समाज निर्माणको कथानक । र, लेखिन्– समानान्तर आकाश (उपन्यास) ।
सामाजिक घटनाले पद्माको मन निकै छिटो पग्लिन्छ । उनी भन्छिन्, ‘समाजमा घटेको घटनाले मलाई प्रभाव पार्छ । यसलाई कसरी लेख्ने भनेर विचार गर्छु । मलाई लेख्नुपर्छ जस्तो लागेपछि लेख्छु, समाज परिवर्तनकै लागि लेख्छु ।’
त्यस्तै, पद्माको पछिल्लो कथासंग्रह ‘एक झुल्को घाम’ बन्दाबन्दीकै अवधिमा प्रकाशित भयो । संग्रहको शीर्ष कथा ‘एक झुल्को घाम’ मा वृद्धाको कारुणिक कथानक प्रस्तुत छ । पद्माले काकी पर्ने वृद्धाको जीवनलाई विम्ब बनाएर कथा लेखेकी हुन् ।
उनले सहरी परिवेशका कथाहरू धेरै लेखेकी छन् । उनी भन्छिन्, ‘अब पिछडिएको समाजमा बसेर लेख्ने विचारमा छ ।’
उनलाई लेखनका लागि एकान्त चाहिन्छ । उनले धेरैपटक होटलमा ‘पेइङ गेस्ट’ बनेर कथा र उपन्यास लेखेकी छन् । उनले वृद्धाश्रममा बसेर लेखेको उपन्यास हो– निःशब्द । उनी भन्छिन्, ‘दसैँअगाडि सर्लाहीको मुसहर बस्तीमा गएर लेख्ने विचार गरेकी छु । हेरूँ, परिस्थिति कस्तो हुन्छ ?’
पद्माका कथादि, कथायाम, कथाकार, पद्मावती कथाहरू, समानान्तर आकाश, मौन स्वीकृति, समय–दंश, एक झुल्को घाम र पदमावती सिंहका प्रतिनिधि कथाहरू (कथासंग्रह) प्रकाशित छन् । उनका प्रकाशित उपन्यासहरू समानान्तर आकाश, मौन अक्षर र निःशब्द यात्रा हुन् ।