काठमाडौं– नेपाल टेलिकमले सम्पूर्ण सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकलाई आवश्यकताअनुसार ‘पाठशाला सियुजी सिम’ (प्रिपेड मोबाइल सिमकार्ड) निःशुल्क उपलब्ध गराउने भएको छ । टेलिकमले नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ मा प्रस्तुत कार्यविधिअनुसार सार्वजनिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाइ सम्पर्क कायम गराउन पाठशाला सियुजी सिम निःशुल्क उपलब्ध गराउने भएको हो ।
पाठशाला सियुजी सिम लिने प्रक्रिया
१. सरकारी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, अध्ययनरत विद्यार्थी तथा तिनका परिवारका एक सदस्यले एउटा निःशुल्क सिमकार्ड प्राप्त गर्न सक्नेछन् । विद्यार्थीका लागि सिमकार्ड लिँदा विद्यार्थीको वा अभिभावकको नाममा लिन सकिनेछ ।
२. निःशुल्क सिमकार्ड प्राप्त गर्नका लागि शिक्षक तथा विद्यार्थीले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम रितपूर्वक भरी आफू संलग्न सार्वजनिक विद्यालयमा बुझाउनुपर्नेछ । यसरी आवेदन फारामका साथमा निम्नअनुसार कागजपत्र समावेश गरेको हुनुपर्नेछ :
- विद्यार्थीको परिचयपत्रको प्रतिलिपि
- विद्यार्थीको नागरिकताको प्रतिलिपी वा विद्यार्थीको नागरिकता नभएमा अभिभावकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- विद्यार्थीको एक प्रति फोटो आवेदन फारामको निर्धारित स्थानमा टाँस्नुपर्ने
३. विद्यार्थीले अभिभावकको नाममा सिमकार्ड लिने भएमा रीतपूर्वक आवेदन फाराम भरी आफ्नो नागरिकताको प्रतिलिपि संलग्न गरी सम्बन्धित विद्यालयमा बुझाउनुपर्नेछ ।
४. बुँदा नं. २ र ३ बमोजिम विद्यालयमा आवेदन फाराम प्राप्त भएपश्चात विद्यालयले आवेदन फाराम र संलग्न कागजात रुजु गरी स्थानीय निकायको सिफारिश पत्रसहित नजिकको दूरसञ्चार कार्यालयमा पठाई सबैजनाको सिमकार्ड एकमुष्ट लैजान सकिनेछ ।
विस्तृत जानकारीका लागि तलकाे लिंकमा क्लिक गर्नुहाेस् ः
https://www.ntc.net.np/post/paathshala-cug-sim-distribution